दुर्गाप्रसाद ग्वालटारेराग महँगो भो
बाचा सस्तो, विश्वास महँगो भो
भाखा सस्तो, निकास महँगो भो
सपना बुन्न र बेच्न सजिलो
खाका सस्तो, विकास महँगो भो
आडम्बर नै संस्कृति बन्यो
चाका सस्तो, पराग महँगो भो
आउरे बाउरे सबै नै गायक
गला सस्तो त राग महँगो भो
भएको ‘नाथे’ र नभएको ‘गाँठे’
साँप सस्तो र ‘नाग’ महँगो भो
मासिने भए खेती गर्ने जति
सस्तै बारीमा साग महँगो भो
कृत्रिमताको राज भो सर्बत्र
जङ्गल सस्तो र बाग महँगो भो
प्लटिङ र कट्पिसको समय
सिङ्गै सस्तो तर भाग महँगो भो
धुत्र्याइँको पो पूजा हुन लाग्यो
चिभे सस्तो र काग महँगो भो
क्या विज्ञापनको जमाना आयो वा !
भाषण सस्तो, तर त्याग महँगो भो
जीवनको खोइ र मूल्य यहाँ ?
आयु सस्तो, तर छाक महँगो भो
२०७१ कात्तिक
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































