साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवीको पुच्छर कस्तो छ ?

Nepal Telecom ad

मुन भन्नु र जून भन्नुमा कुन अन्तर छ भनेर सोध्नेलाई हात्ती र हात्तीछाप जस्तै हो भनिदिए फरक पर्दैन । भाषा फरक भाव एउटै भन्ने हो भने पनि अङ्ग्रेजी र नेपाली सम्झे हुन्छ । तर, जुन मुनको कुरा आज हुन गइरहेको छ, ती अलि भिन्न छन् । कान्तिपुरमा झरेका भए पनि जनकपुरमा जागिर गरेका गोत्रेभाइ भएको हुँदा उनीप्रति स्नेहले हाँस्नु, सद्भावले माया गाँस्नु मेरा लागि असहज भएन । पद्मानन्दले लेखन्दास बनाएको हुनाले हो या ‘सफलताका तीन मन्त्र’ (२०५६) हात परिसकेकाले हो उनी बुद्धिजीवीमा दरिएका दारीवाल मानिन्छन् । नेपालीहरूले जुँगादारी नपलाएका युवालाई केटौलेपनमै अड्िकएका अल्लारे माने पनि थुप्रै अधबैँसे नरनारीको अनुहारमा मैले जुँगादारी उम्रेको देख्न पाएको छैन । आफ्नाे वंश–लहराको संस्कारले होला, मङ्गोल मूलका मान्छेका बारेमा मेरो ज्ञान गहिराइमा पुगेको छैन । तैपनि बुद्धिजीवी र पुच्छरको सम्बन्ध अटुट छ । कसैको पुच्छर अगाडिपट्टि उम्रन्छ त कसैको पछाडिपट्टि अर्थात् पिठ्युँतर्फ लर्कन्छ । हामी मनुष्यको कुरा गर्दैछौँ । त्यसो त बाँदर र पशुपन्छीसँग पनि पुच्छरको साइनो जोडिन्छ । दारी पनि त सारी नलाउनेको पुच्छर मान्न सकिन्छ । पुच्छर जो छ त्यो पछाडि नै हुनुपर्छ, ढाडतर्फ नै उम्रनुपर्छ भन्ने होइन । बुद्धिको पोको मानिसको टाउको हो भने टाउकामै पुच्छर लर्काएर हिँड्ने जनानाजी र घाँटीमा गलसुर्के झुन्ड्याएर हिँड्ने मर्दानाजी दुवै बुद्धिजीवी हुन् । दुवैको विशेषता परस्पर हेप्नेमात्र होइन, हेर्ने र घुर्ने, मिल्ने र थुर्ने पनि रहिआएको छ । बुद्धिजीवीको पुच्छर थर गोत्रमा भन्दा विनयस्तोत्रमा झुन्डिन्छ । डिग्रीका दम्भमा होस् वा दिमागी आलम्बमा होस् अगाडितिर डा प्रा झुन्डिएमा साप्रा दारेर हाँस्ने अवसर प्रशस्तै मिल्छ । परिश्रमको नाममा जिरो भए पनि परिपञ्चले ती हिरो बन्न पुग्छन् र माथितिर पुच्छर हल्लाउँछन् । तपाईं–हामी सबैलाई थाहा छ– माथितिर पुच्छर हल्लाउनेले तलतिर सिङ नचाउँछन् । त्यसो त प्रार्थना भनेकै कामनाको पुकार हो र त्यसको सोझो अर्थ दयाको भीख माग्नु हुन्छ । गणेशलाई लड्डु चढाएर बुद्धि माग्ने बुद्धिजीवीहरू के बिर्सन्छन् भने स्वयं गणेशको सल्लाहकार मुसो थियो । मुसाको बारेमा धेरैलाई थाहा छ– खेतबारी, घरआँगन, सडक र संसद् सबतिर यो भेटिन्छ । तर, मुन जुन छन्, ती कहिलेकाहीँ गजल महोत्सवतिर फेला परे पनि साहित्यका सबै विधामा फेला पर्दैनन् ।

नाममा मात्र कुमार झुन्ड्याएर सुकुमार देखिन चाहने अधबैँसे हुन्– मुनकुमार पौडेल । त्यसो त उनलाई कतिपयले शर्माजीका नामले पनि जान्दछन् । श्रीमतीसँगको ठाकठुकले उनलाई पत्नीपीडित पुरुष ठान्नेहरू भेटिए पनि पतिपीडित पत्नीहरूको वेदना बोकेर आएको हुँदा दुवै ध्रुवका मनुष्यले उनलाई माया गर्ने गर्दछन् । पुरुष ध्रुवमा उनको स्वर मुकुश पौडेल हुन्छ । यहाँ नझुक्किनु होला उकुसमुकुस पौडेल होइन । त्यसो त जीवनमा भोगेका उकुसमुकुसकै बिटो त हास्यव्यङ्ग्यबन्छ भन्न सक्नुहुन्छ । ‘मनको बह कतै नकह’ भनेर चुपचाप बसेका बुद्धिजीवी र त्यसलाई सामान्य बनाएर बताउने खूबी भएका बुद्धिजीवीमाझ निकै अन्तर छ । एउटासँग कला र गला दुवै टालिएको अवस्था हुन्छ, अर्को सँग प्रभावकारी संरचनाको सीप हुन्छ । त्यसकारण त साँच्चैका बुद्धिजीवीको पुच्छर उम्रन्छ । चौबीस रचनाको बिटोलाई एक पार्दा ‘बुद्धिजीवी र पुच्छर’ बन्न पुगेको छ । मतलबी बुद्धिको वर्गीकरण गर्दा सरकारी पक्ष र गैरसरकारी पक्षमा विभक्त गर्नु, हास्यभावको प्रादुर्भावका लागि रतिराग प्रयोग गर्नु र आफ्नाे पुच्छर उम्रेको श्रीमतीलाई हेर्न लगाउने कामद्वारा त्यसलाई रोचक बनाउनुले उनको रचनाकौशल प्रस्तुत गर्दछ । नयाँ राष्ट्रिय खेलको प्रस्ताव झनै राम्रो र मीठो छ । जुवाडे प्रवृत्तिसँगै कर्मचारीहरूबीच फस्टाएको ‘तास’ निबन्धमा व्यङ्ग्यको मिठास भेटिन्छ । यसले प्रभातको ‘तेल घस्ने खेल’ सम्झाउँछ । सरल प्रस्तुति र गम्भीर सम्प्रेषण भाव उनका रचनाको क्षमता बनेको छ । माइत गएकी श्रीमतीलाई पत्र लेखेर हिनासँग हिनहिनाउने बानीका आधुनिक श्रीमान्हरूको पोल खोल्दा सहरी सभ्यताको बजारूपनमा रमाउने वर्गले बुट हान्ने खतरा पैदा हुन्छ । तर, हामी बियरमा आत्मनिर्भर छौँ, त्यसैले अन्डरवियर खुस्के पनि पिइरहन्छौँ । प्रजातन्त्र पारदर्शी हुन्छ, बलियाबाङ्गालाई मस्ती दिन्छ, निर्धाङ्गालाई सास्ती दिन्छ । भन्नेहरूले भन्दै गर्दछन्, गुन्द्रुक–ढिँडेले के पो गर्छन् । आवश्यकता त बियरमरुवाको छ । ‘चियर चढ्न होस् वा डियर, एउटा एक्सपोर्ट अर्थात् ‘गलत बिसौनी नसम्झनुहोला, पानीभन्दा बियर उत्तम हो भन्ने पौडेल–वाणी सम्झनुहोला । जलस्रोतको धनी देशमा पानीको अभाव भएपछि बियरको प्रभाव बढ्नु स्वाभाविक हो । त्यसमाथि चक्कर चलेपछि अक्करमा परे पनि मान्छे निस्फिक्रि भइजान्छ । मुन पौडेलजीको चक्कर कपालको छ । त्यसो त कपालको मोह तालुखुइलेहरूलाई नै बढी हुन्छ र विशेषगरी तिनका श्रीमती यस मामिलामा चनाखो भेटिन्छन् । पुच्छर उमार्ने परिकल्पनाकार रौँ उमार्ने अक्करमा च्यापिएपछि नपाउनु सास्ती पाउँछन् । आखिरमा जुक्ति लगाएर बेलमुण्डनको खेल जितेपछि मात्र बबुराको व्यक्तित्व बन्न पुग्छ ।

नयाँ पुस्ताका वक्र–लेखन्ताहरूमा मुन पौडेल जून बनेर झुल्किएका छन् । उनको छेप्पनमा सामयिकताको लेप्पन छ । नरम–नरम तर गरम कुरा गर्दै, अलिकता छाँसो छर्दै र अलि बढी हाँसो हुल्दै रेकर्ड तोड्ने सुर लिएर डुल्दैछन् । संयुक्त लेखनको जँड्यौली हिस्सेदारीमा उनी रमाउँदैनन् । यसकारण जङ्गलमा गएर कविता पाठ गर्नुभन्दा सादा कागजलाई नै अतुलनीय कविता बनाएर पेश गर्दछन् । साहित्यिक चोरी अघोरी आदत हो । मर्यादा हनन् विधागत अज्ञानताको उपज हो । गुटबन्दीले प्रतिभा उब्जाइरहेको वर्तमानमा प्रायोजक व्यवसायीबाट पद, प्रतिष्ठा र पुरस्कारको किनबेच भइरहेको छ । त्यसैले मुन पौडेलले साहित्यका क्षेत्रमा पसेको यो घुन उधिन्छन् र भन्छन्– ‘यस्तो साझेदारी प्रथाले साहित्य फस्टाउने भए कथा कविता निर्माण कम्पनी, खोलेर मान्छेहरू मालामाल भइसक्ने थिए । एक थोक हराउँदा दुई थोक हात पार्ने हैसियतवाला हाकिमको कुरा पासपोर्ट–काण्डले उहिल्यै वर्णन गरेको थियो । तर मुनले जुन कला देखाएका छन्, त्यो भने विशिष्ट छ । सुरक्षाको ठेकेदार बनेका लुटपिट कम्पनीका ‘साब’हरू कतिसम्म मूर्ख हुन्छन् भन्ने चित्रण यस कथामा छ । यसलाई व्यङ्ग्यकथा मान्न सकिन्छ । सम्पादकप्रति पनि तिखो छेप्पन हानिएको छ । सर्वसाधारण जनतामा इमान्दारिता बाँकी छ भन्ने तथ्य सङ्केत गर्न पनि यो रचना सफल छ । ‘कालोमोसोको व्यापारिक सम्भावना खोजमूलक समीक्षा भने हुन्छ । यसमा उनले प्रजातन्त्रको नाममा बढेको अराजकता, विकृति र बिब्ल्याँटोप्रति प्रहार गरेका छन् । युवाहरूको स्तुतिगानले जङ्की–पङ्की बनेका बैँसमत्ता मक्खी– हरूमाथि मार हानेको छ । पढ्न–लेख्नमा जिरोहरू नै आधुनिक हिरो बनेको यथार्थ अघि सारेर परिश्रम गरेर मुलुक सपार्ने आह्वान गर्दछन् । पार्टी खोल्ने मानिसहरूमा हुनुपर्ने ठूलो गुण अवसरवाद हो भन्ने तथ्यबोध गरेका भए पनि बहत्तरौँ पार्टीमा समावेश हुनका लागि आप्mनो योग्यता प्रदर्शन गर्दछन् – ‘खानदानमा कोही पनि वाम छैन, शरीरमा कतै नीलडाम छैन ।’ यसले सुविधाभोगी नेताको रइसीचाल र दुःखभोगी कार्यकर्ताको पीडातर्फ ध्यानाकर्षण गराउँछ । आखिरमा ‘च्याँखेदाउ पार्टी’ उनको अभीष्ट बन्न पुग्छ । यो स्वयम् चोटिलो व्यङ्ग्य हो, जनआधारबिना राजधानीमा गठन भएर निर्वाचन आयोगमा विसर्जन हुने विराट–विराट भुरे पार्टीलाई ।

स्वतन्त्र देशको आप्mनो अलग पहिचान दिने एउटा मुख्य आधारविन्दु हो – सीमा । सीमा हुनुको अर्थ हो – राहदानी प्रथा अर्थात् सर्वसाधारणदेखि असाधारण आगन्तुकसम्मको व्यवस्थापन । घरमा को आयो को गयो भन्ने जानकारी रहेजस्तै देशमा पनि के आयो के गयो, सँगै को आए को गए – को जानकारी जरुरी हुन्छ । तर चौतर्फी खुला ह्वाङ्गै हुनु कुनै छेकबार तगारा नहुनुले गर्दा देश चौपट भएको, खुलादेश बनेको, जो जे आए पनि केही नहुने र त्यसरी आएका आगन्तुक नै अधिपति बन्ने अवस्थाप्रति मार्मिक, रसदार एवम् खुला व्यङ्ग्यभरिएको रचना बनेको छ– ‘खुलादेश’ । राष्ट्रिय भावनाको अभिव्यक्ति केलाउँदा यसलाई निकै राम्रो व्यङ्ग्यमान्न सकिन्छ । परन्तु बन्दको सङ्गीतमा भने सामयिकताप्रधान रचना हो । अचम्मको रोगमा श्रीमती–प्रसङ्ग आइदिन्छ । नआओस् पनि किन ? जब मान्छे हाँस्नै बिर्सिदिन्छ, तब भैरवको ए ज्या भुसुक्कैले के लछार्छ र ? निधार त खाली नै छ ले सिउँदो खाली छ भन्ने गीत होइन पोष्टर टाँसको चुनावी बालीका रखवाली बनेको पार्टीप्रति व्यङ्ग्य गर्दछ । दुलाहा विक्रिमा छ ले दाइजो तिलक प्रथालाई सिस्नुपानी लगाउँछ । ‘छापा किन्न लाप्पा’ दुई मनोवृत्तिको चित्रण हो । हँस्यौलीप्रधान भएर पनि राशिफलका भक्तमण्डलीको अज्ञानतामाथि यसले चोटिलो व्यङ्ग्यगर्दछ । मुन पौडेल भाषामा खेल्छन्, भावमा दगुर्छन् र सुधारका लागि सन्देश दिन्छन् । थुप्रै झर्रा शब्दको प्रयोग, लोकोक्ति र उपमाले उनको लेखनलाई निकै माझिएको, सुकिलो मात्र होइन सुन्दरसमेत बनाएको छ । चुनाव जितिसकेको नेताजस्तो, सुनसान र खाली–खाली सडक लमतन्न मुर्दाजस्तो र एकलात दिए पनि आनन्द आउँलाजस्तो कुरा गर्न उनी खप्पीस छन् ।

श्रीमतीलाई उपहारमा रल्लिँदा पीर परे पनि क्यान्सर प्रबद्र्धन उद्योगमा हल्लिँदा उनलाई आनन्द नै लागेको छ या छैन, त्यो सोध्न बाँकी छ । उँभौली उँधौली व्यहोर्न नपेरको हुँदा उपभोक्तावादी संस्कृतिले श्रीमतीलाई डोर्याउँछ, तर श्रीमान्हरू धुरुधुरु रुन्छन्, निराश हुन्छन् र फ्रिजमा जमेर मुक्त हुन चाहन्छन् । यो वेदना बुझेपछि भने तपाईं–हामी सबैले टाउको समाउनुपर्ने हुन्छ । मुनकुमारको जय होस् !

इतिहास भनेको विजेताहरूको भजनमाला ठान्ने हो भने जितुवाहरूलाई बधाई दिनु असहज लाग्दैन । चितुवा स्वभावका मनुष्यले दानको महिमा गान गरेजस्तै स्वाभिमानका बेपारीले धोती लगाए पनि, सुरुवाल लगाए पनि अभ्यन्तरको अभिमान शुभलाभमा झुन्डिएको हुन्छ । नाल–नाता ओहोदामा पुगेपछि आम्दानी थन्क्याउन सम्झिने र बिहेवारीमा विगोत्री सम्बन्ध जोर्न खोज्ने चलनमा अडिएको छ, सुखदुःखमा होइन । नाफा र फाइदा नहेरी कसले पो काम गर्र्छ ? बजारवादका जमानामा । त्यसैले बसको यात्रा जात्रा हुनुमा हैसियतको अभाव मात्र होइन, हैकमवालाको भ्रष्टाचारले पनि बल पुर्याएको छ । पिँडालीको ‘शूरवीरको नरक यात्रा’ हँस्यौलीप्रधान छ भने मुनको बसयात्रामा व्यङ्ग्य बाहुल्य पाइन्छ । त्यसो त हाम्रो देशको राजमार्गको विशेषता भन्नु नै खाल्टाखुल्टीको जोल्ठ्याङ–पोल्ठ्याङ त हो । हवाईजहाजमा त हर्नको खाँचो छ भने ओजनकै भोजन गर्ने पङ्क्तिबाट शान्तिको आशा कसरी गर्ने ? त्यसकारण थोत्रा नेता ग्रसित नेपाल र कोत्रे पेट ग्रसित नेपालीबीच गौतमजीको वेदना मार्मिक बन्दछ ।

अन्त्यमा कान्छीको खुट्टासौन्दर्यमा रमाउने कि कलाको बुट्टासौन्दर्यमा ? त्यो आफ्नाे वर्गबानाको गाना हो । जतिसुकै सिँगारपटार गरे पनि विचार नै कलाको छाना हो । त्यसकारण मुन जून बन्दा मधुरदीप्ति छर्ने प्रकाश भइदिन्छन् अर्जुन बन्दा हास्यव्यङ्ग्यमा महाभारत जन्मन्छ । बाँकी कुरा आफैँ पढेर हेर्नोस् । बुद्धिजीवीको पुच्छर कस्तो छ ?
‘कान्तिपुर’ २०५९ साउन २५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सुनको फुल पार्ने पोथी’ कृतिमा मजगैयाँकाे हास्यव्यङ्ग्य शिल्प

‘सुनको फुल पार्ने पोथी’...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x