सुलसुलेराप्ती साहित्य परिषद्लाई एक लाख पुरस्कार
दाङ, २६ माघ । राप्ती अञ्चलकै जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद्लाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिने भएको छ ।
साहित्यिक क्षेत्रमा क्रियाशील भएको भन्दै उक्त पुरस्कार परिषद्लाई कास्की पोखरास्थित हेमराज पहाडी स्मृति प्रतिष्ठानले प्रदान गर्न लागेको हो ।
कास्की पोखराका साहित्यकार हेमराज पहाडीको स्मृतिमा उहाँकी श्रीमती रीता पहाडीले २०६७ सालमा स्थापना गर्नुभएको हेमराज पहाडी स्मृति पुरस्कार यस वर्ष राप्ती साहित्य परिषद्लाई प्रदान गर्ने निर्णय गरिएको संस्थापक पहाडीले परिषद्लाई जानकारी गराउनुभएको हो । पुरस्कारको राशी रु। एक लाख रहेको छ ।
पुरस्कार छनौटका लागि साहित्यकार हरिप्रसाद भण्डारीको संयोजकत्वमा गठित समितिले परिषद्लाई पुरस्कृत गर्ने निर्णय गरेको थियो
हरेक दुई–दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि २०६९ मा संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।
पुरस्कार प्रदानका लागि यही फागुन १७ गते आइतबार प्रतिष्ठानको टोली दाङ आउने र घोराहीस्थित परिषद्कै सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
२०३४ सालमा स्थापना भएको राप्ती साहित्य परिषद्ले स्थापनाकालदेखि नै नियमित साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
परिषद्ले हरेक महिना पुस्तक समीक्षा, छन्द संगम, एकल रचना वाचन, रेडियो कार्यक्रम साहित्यिक डबलीका साथै राष्ट्रियस्तरका गोष्ठीहरू सञ्चालन गर्दै आइरहेको छ । हाल राप्ती अञ्चलका पाँचवटै जिल्लाहरूमा संस्थाका जिल्ला शाखाहरू पनि क्रियाशील रहेका छन् ।
परिषद्को घोराहीमा केन्द्रीय कार्यालय निर्माणाधीन अवस्थामा रहेको छ भने संस्थाले भवन निर्माणसँगै पुस्तकालय तथा साहित्यिक संग्रहालय स्थापना गर्ने लक्ष्य लिएको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
Subscribe
Login
0 Comments
Oldest











































