ठुलै बन्छु ठानी
छिरेँ राजधानी ठुलै बन्छु ठानी
बसे गाउँमा जो तिनै भाग्यमानी ।
कतै छन् बिलौना कतै अट्टहास
सबैको कहाँ हुन्छ एकै कहानी ।
सिकारूहरूमा बढी जोश हुन्छ
’नयाँमा बढी धस्छ जोगी खरानी ।’
कुरा बुझ्न सक्छन् विवेकीहरूले
ठुलो हुन्छ गल्ती भए अल्पज्ञानी ।
उधारो र धारो बढी चल्छ आमा
म प्यासी सधैँको नपाएर पानी ।
न आधार राम्रो न पैसा न शान्ति
कहाँसम्म पुग्ला र यो जिन्दगानी ?