प्रकाश चापागाइँआमा थलामा परिन्
कल्ले हेरबिचार गर्दछ कठै आमा बिरामी भइन्
चल्नै मुस्किल पक्षघात हुनगै उठ्नै नसक्ने भइन्
बारम्बार शरीर काम्दछ अरे चिप्लेर लिस्नो झरिन्
छानो छैन उदाङ्ग ओत नहुँदा आमा थलामा परिन् ।
लाली छैन मुहार फुङ्ग बिचरा आँखा प्रभाहीन छन्
बोली छैन सिकिस्त छन् र शिर नै लत्री उदासीन छन्
छाती भत्भत पोल्छ लौ न किन हो भन्दै बिलौन गरिन्
डुब्दै सागर शोकमा पिरलिँदै आमा थलामा परिन् ।
सग्ला हात छियाछिया छ उनका रक्ताम्य छन् पाखुरा
फोक्सोमा अबरुद्ध सास अधुरो चल्दैन नाडी पुरा
फुट्दै फुट्न सकेन वाक्य उनको आँखा नराम्रो गरिन्
आफ्नै जीर्ण शरीर थाम्न नसकी आमा थलामा परिन् ।
छोरीको घरबार ध्वस्त हुनगै भत्केर छानो झर्यो
छोराका परिवार बेखबर छन् अन्यौल चर्को पर्यो
बन्दै पर्वत कोखकी हिमनदी पग्लेर आँखा भरिन्
आफ्ना सन्तति सम्झिई विरहिणी आमा थलामा परिन् ।
यो संवेदनशील काल गतिमा छोरा अघोरी जति
गोही झैँ मुख बाउँदै सदनमा कुम्ल्याउँछन् ओखती
यस्ता निन्दित कार्य हेर्न नसकी फर्केर कोल्टे सरिन्
छोराकै बदनाम शासन हुँदा आमा थलामा परिन् ।
Subscribe
Login
0 Comments
Oldest







































