दुर्गाप्रसाद ग्वालटारेमेरो काठमाण्डु
लस्याङ पस्याङ गर्दै बस्छ, हस्याङ फस्याङ गर्दै उठ्छ
भाग मिल्दा स्वाट्टै मिल्छ, त्याग चाहिए फ्याट्टै फुट्छ ।
मेची–काली तमाम अट्ने, तन्नाम मेरो काठमाण्डु
बढार्नलाई श्रोतै अभाव, भतेर गर्न आफैं जुट्छ ।
अजबको नियतिमा बाँच्छ गजब काठमाण्डु
एकैछिनमा हिलो हुन्छ, एकैछिनमा धुलो उड्छ ।
गजधम्म नाङ्गै बस्छ, लाजैपचुवा काठमाण्डु
सडक हुन्छ साँढेलाई, जथाभाबी गाडी गुड्छ ।
आफू सहि अरू बेकुब, ठान्छ मेरो काठमाण्डु
कर्तब्यको साउती गर्छ, अधिकारको बिगुल फुक्छ ।
हीनतामा बसी घुट्ट, थुक निल्छ काठमाण्डु
छाती ठोक्दै मै हुँ भन्छ, फुत्त लुक्दै दिल्ली पुग्छ ।
संसारका राजधानी सँगै हेर्दा काठमाण्डु
सिकारूको चित्र लाग्छ, कताकता भित्रै दुख्छ ।
२०७२ श्रावण
काठमाण्डु ।
Subscribe
Login
0 Comments
Oldest








































