साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय संस्थापन !

Nepal Telecom ad

नेपालमा सत्ता र शक्तिको भजन कीर्तन र नमन गर्ने सामन्ती सोचमा नयाँ क्रान्तिको खोज गरियो भनेर ओज भर्ने बतुराहरू जतिसुकै बकबास मच्चाइरहे पनि अर्वाचीन चिन्तनको झोजबाट डेग चल्नै सकेको छैन हाम्रो समाज । नेपालका हरेक पार्टीहरू गुटहरूको महासंघ वा मोर्चाको रुप धारणा गरेर राजनीतिमा असाधारण समस्या बल्झाएको बल्झाएकै छन् गाँठे ! एउटै दलभित्र संस्थापन पक्ष र प्रतिपक्ष वा प्रतिस्थापना कित्ता स्थापना गरेर फित्ता र बित्ता नाप्नेको भीड उत्तिकै छ । द्वन्द्वात्मक भौतिकवादलाई ओठे भक्तिमा गम्लङ्ग अँगालो हाल्ने एकाथरी छन् भने अर्का थरी आन्तरिक लोकतन्त्रको अभ्यास भनेर झिल्के कभर दिने पनि छन् ।

त्यस्तै बाहुबली युद्धलाई समेत क्रान्तिकारी र जुझारुपन भनी कुतर्कमा रमाएको भान गर्ने राजनीतिक अभिकर्ता बग्रेल्ती भेटिन्छन् । पाखुरा सुर्किने प्रतियोगितादेखि भौतिक आक्रमण गर्ने भिल्ल रमिता सम्मका दन्त्तबझान र हातहालाहाललाई ‘अन्तर्किया’ नामको टीका लगाइदिएर लोकतान्त्रिक मूल्य मान्यताका सभ्यता तथा भव्यतामाथि बलात्कार गर्ने साँढेवादकै हावी मच्चाउँदै छन् पाँडेहरूले दल नामधारी क्लवभित्र । एकता, संघर्ष, रुपान्तरणको त्रिभुज खडा गरेर वाद विवाद गर्न खप्पिस बूढो बोकाझैं गनाएका, भोकाएका र चटारिएर छेक््रयाउँदै हिँड्ने नाथेंहरू नाथ बन्ने सपनामा आफ्नै माथ काटिरहेका छन् । रचनात्मक, सिर्जनात्मक र सकारात्मक वाद विवाद वा संवादलाई खेल्न दिने हाम्रो पार्टी मैदानको विशेषता हो भनेर पैरवी छेड्नेहरू काल भैरव र भैरवी भएर आफ्ना सहयोद्धामा महाकाली , महारौद्र र दुर्वासाको औतार लिएर तडक भडक गरेको देख्दा दिक्कै लागेर आउँछ बा !

संस्थापन पक्ष जहिले पनि मौका मिल्ने दित्तिकै राज्यसत्ताको कक्षमा रसबस गर्न पाइहाल्छ । हाम्रो जस्तो भागबन्डावादले गाँजेको हाम्सुरवादीतन्त्रमा यो गोल्डेन चान्समा डान्स गर्ने प्रायः डनपति , धनपति , चाकरमति र आफ्ना ज्ञाति कै ताँती हुन्छन् । भूमिगत काल र प्रतिबन्धित समयमा प्रहरी यातना खाएका , जेलको चीसो छिंडी कुरेका , अराष्टिय तत्व भनेर खेदिएका जुझारुहरू संस्थापन पक्षमा टिक्नै नसकेर विस्थापन कक्षतिर कतिपय हाम फालेका पनि छन् । केही बाँचिबसेका पनि चैते र कात्तिकेहरूको घेरामा निरीह भिक्षुकझैं दयनीय देखिन्छन् । नक्कलीहरूकै हाकोडाकोमा पेलिएर पुराना लडाकूहरू नयाँ शुण्डमुण्डको रखबारीमा बेग्लै खालको नरकास्वादन लिन बाध्य छन् बा !

आज भोलि कुने पनि पार्टीको संस्थापन पक्ष भनेर बुझ्नु पर्दा प्राविधिक रुपले दलको झण्डा र डण्डा हात पारेका जथ्था जससित आफ्ना नातागोता, अनुचर, दासानुदास अनि चैते कात्तिके जस्ता आयातीत आततायीहरूको लामै लर्को प्लस भएको हुन्छ । आदर्श र सिद्धान्तको रक्तरञ्जित इतिहासको झण्डा बोकेर सीमित झुण्ड पार्टीको बक्रतुण्डलाई आफ्नै स्वार्थको कुण्डतिर डुबाउन औधी जन्ड भएका छन् । हिजोदेखिका योद्धा, लडाकु र बलिदानी आत्माका जीवात्मालाई दलको परिसर वा कार्यालय टेक्न सम्म पनि दिंदैन बा ! विगतका चारचक्षु र वर्तमानका काला बनियाँ—गणले पार्टी नेतृत्वलाई मोहनी अवतारले झैं लठ्याएर सहयोद्धाहरूलाई निकाल्बास गर्ने तुच्छ परिवेश खडा, तगडासँग भैरेहछ पार्टी पार्टीमा ।

यहाँ संस्थापन पक्षमा रहेका कारण रुझेका बिराला र स्यालहरू पनि घोर्ले सिंह र हिंस्रक बाघ बनेका छन् । मरन्च्याँसे, लिखुरे र लिखे पनि जुरे हाम्रा पालाको दारासिंह पहलमान झैं अभिमान पोख्छ गाँठे ? पञ्चायती कालमा सीडीओसित भत्ता बुझ्ने , जनयुध्द समयमा कमिसन खाएर माओवादीको चन्दा उठाउन हिँड्नेहरू संस्थापन पक्षका पिलर भएर ठडिएका छन् भनेर आक्रोस छादिरहेको थियो कथित जनयुध्दबाट पीडित ।

विडम्वना ! प्रतिपक्षका कित्तामा पुर्याएर हिजोदेखिका लडाकुहरूलाई तोर्मे स्याल र दयापात्र पो बनाउँछन् बा ! बा ! कस्तो अचम्म ? विगतको तानाशाही व्यवस्थाहरूमा त्यसका पृष्ठपोषक एवं उद्घोषक बनी हिंड्ने निशाचर तथा भुँइफुट्टा आज पार्टी्भित्र पसेर धमिरावाद थोपरी रहेका छन् । यी आततायी कुकृत्यबिरुद्ध न्यायिक लडाइँ गर्नेहरू बिचरा भएर टुलुटुलू हेर्ने स्थिति खडा भएको छ । बाघको छालामा स्यालको रजाइँ मजैले चलेको छ ।

त्यसैले अहिले संस्थापन पक्षमा अवसर छोपुवा , शुद्धिहीन बुद्धिजीवी, अशान्ति, भ्रान्ति र स्वार्थ बोकेका कथित क्रान्तिकारी आयातीत वर्ग, नाता चाकडी र दासानुदास प्रकृतिका भेडाका बथान, कालो बजरिया तस्कर र बाहुबलीहरूको हुल टन्न छ भनेर जताततै सुनिन्छ । मात्रा नमिलेको जात्रामा यी विभिन्न खाले नशालु नश्ल लिएर लामो कालखण्डदेखिका सहयोद्धालाई वाइवाई गरी हाइफाइ गर्ने लचकदार नेतृत्वकै बोलबाला छ भन्ने आरोप छ आजलाई । यसैले संस्थापन पक्षलाई आँखा चिम्लेर जिन्दावाद नभन्ने मान्छे मुर्दाबाद नै बन्छ । कुनै पार्टीको संस्थापन पक्षमा रहन नसके वरको सिन्को पर पनि सर्दैन, नागरिकता प्रमाणपत्र, पारपत्र, भूकम्पपीडितको सिफारिस वा रोजगारीका विविध अवसरमा कडा शर वर्षा हुन्छ प्रतिपक्षको कित्तामा कित्ताकाट हुँदा । संस्थापन पक्षमा बस्दा अपराधी र आततायी भए पनि न्यायपालिका, कार्यपालिका र व्यवस्थिापिकासमेत निरीह भएर टुलुटुलु हेर्न विवस हुन्छन् भनी एक अविरे गम्कँदै थिए । देखेको नदेख्यै भएर मुद्दा मामिलाको झन्झट पनि तिनीहरूलाई पर्दैन । ठेक्कापट्टा पार्ने , त्यसमा दुइ नंवरी सामान भर्ने, सबारीमा सिण्डिगेट चलाउने , नाकाबन्दी र वर्तमान मन्दीलाई हेरी कालो बजारको भदौरे राँगो बन्न पाउने, वित्तीय संस्थाबाट सहजै सुविधामा लोन लिन सकिने जस्ता थुप्रै सुविधा दुविधा नभै मिल्ने हुँदा संस्थापन पक्षको मूल प्रवाहमा खुसी भई राइँदाइँ गर्नु सुखको दैलो उघार्नु हो भनेर एक भुक्तभोगी रोगीझैं गनगनाउँदै थिए ।

त्यसैले बुद्धि भएका वा नभएका, स्वाभिमानले अग्लिएका वा लोभलालचाले पग्लिएका सबैलाई संस्थापन पक्ष जिन्दावाद भनेर समयमै रौरब, अन्धतामिश्र जस्ता ठाउँमा बस्ने मौका नगुमाउन न्वारदेखिको बल झिकेर आह्वान गर्दै म पनि भन्छु– संस्थापन पक्ष जिन्दावाद ! प्रतिपक्ष वा विस्थापन कित्ता मुर्दावाद ! जय संस्थापन !! रोग, भोक र शोकको विस्थापन । न्वारनदेखिको बल झिकेर घन्काउँदै बोलुम् — जय संस्थापन ! जय संस्थापन ! !

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x