सुलसुलेअधिकारीको प्रतिनायक विमोचन
काठमाडौँ, १८ जेठ । शिखा पुस्तक प्रकाशनले हरि अधिकारीले लेख्नुभएको ‘प्रतिनायक’ शीर्षकको कथासङ्ग्रह बजारमा ल्याएको छ । पुस्तकमा समाजमा चलिरहेको बेथितिलाई प्रहार गर्नाका साथै हिमालपारि, तराईको उब्जनीय फाँट तथा समकालीन मानवीय जीवनका सजीव चित्रणयुक्त १५ कथा समेटिएका छन् ।
विमोचन कार्यक्रममा प्रकाशनका अध्यक्ष पुष्पराज पौडेलले पुस्तक प्रकाशनमा ठूलो लगानी गर्ने प्रकाशकको महत्वपूर्ण भूमिकाबाट नै पाठकले पुस्तक पढ्ने अवसर पाउने बताउनुभयो ।
समालोचक मोहनराज शर्माले कुनै पनि पुस्तक पाठकको हातसम्म पुग्न लेखकले चलाउने स्तरीय कलममा निर्भर रहन्छ भन्दै विदेशी पुस्तक तथा टेलिसिरियल माझ नेपाली पुस्तकको बजार विस्तार चुनौतीपूर्ण रहेकाले लेखकहरूले थप मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
पत्रकार नारायण वाग्लेले पुस्तकको प्रकाशनबाट नेपाली साहित्य भण्डारमा एउटा इँटा थपिएको बताउँदै कृति गौरव गर्नलायक छ भन्नुभयो ।
लेखक तथा पत्रकार हरि अधिकारीले आफू पुस्तक लेख्ने कलाको सिकाइमा रहेको र अब आफू पूर्वकालीन लेखक हुने प्रक्रियामा रहेको बताउनुभयो ।
यसअघि लेखक अधिकारीका ‘रामलालको आकाश’ कथासङ्ग्र्रह, ‘एक्लो नायक’ उपन्यास, ‘हरि अधिकारीका कविता’, ‘संसदमा एक दिन’ तथा ‘गार्मेन्टकी गायत्री’ कवितासङ्ग्र्रह प्रकाशन भइसकेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































