बूँद रानाकप्टी कान्छाले
घाम छँदै बत्ती बाल्छ कप्टी कान्छाले
द्युँसै तारा गन्न थाल्छ कप्टी कान्छाले ।।
गर्दा गर्दा कत्ति पनि दाल नगल्दा
आफ्नै हाडखोर गाल्छ कप्टी कान्छाले ।।
बोलिहाल्दा कसैलाई पोल्छ कि भनी
हत्तपत्त मुख टाल्छ कप्टी कान्छाले ।।
बाटो सबै बन्द हुँदा भिर भन्दैन
आँखा चिम्ली कदम चाल्छ कप्टी कान्छाले ।।
लाग्छ त्यहीं अल्झेकोछ उसको ढुक्ढुकी
जेथासरि बेथा पाल्छ कप्टी कान्छाले ।।
च्यातिएको मुटु टाल्न क्यै नभेटिंदा
कलेजोको टालो हाल्छ कप्टी कान्छाले ।।
अस्मिताको धरहरा ढल्न दिंदैन
बरू आफैलाई ढाल्छ कप्टी कान्छाले ।।
भन्दैन ऊ तर यस्तो भन्छन् अरूले –
“जिन्दगानी खेर फाल्छ कप्टी कान्छाले ।।”
Subscribe
Login
0 Comments
Oldest








































