वासुदेव पाण्डेयमान्छे
(गाईजात्रा– २०७३)
डुङ्गामाथि रहे नि प्वाल पिँधमा पारेर डुब्ला बरु
खोचे थाप्न छ तम्तयार कहिले सोच्दैन राम्रो गरुँ ।
आफ्नो मात्र सुयोग्य देख्दछ भने खोटी अरूका कुरा
गर्दा स्वार्थ पुरा छ मौन, नभए सुर्किन्छ ऊ पाखुरा ।।
छेपारो रङ फेर्छ, सर्प खतरा भन्छन् यहाँ मानिस
साँच्चै हो कि भनाइ मात्र जनको बुझ्ने गरेँ कोसिस ।
हाँसो उठ्छ मनुष्य कर्तुतहरू देखेर केही रिस
छैनन् सर्प विषालु घोर कलिमा ओकल्छ मान्छे विष ।।
पत्नी सुन्दर छन्, कुरूप निजका सन्तान होलान् बरु
आफ्ना सन्तति मात्र भन्छ प्रिय छन्,राम्रा परस्त्रीहरू ।
मान्छेभित्र ‘अहम्’ छ लोकहित के सोच्थ्यो र स्वार्थी, छली
हिंसा गर्न सदैव उद्यत छ यो मान्छे चढाई बलि ।।
आधा आयु बितेर जान्छ उसको गर्दै खिसी आह्रिस
गाई, गोरु, गधा, गजादि सबको स्वामी बन्यो मानिस ।
धोका, जाल र झेल, विप्लव बढी विध्वंस गर्ला तर
काला कर्तुत गर्न माहिर भयो बेह्रे नि पीताम्बर ।।
मान्छे धूर्त छ स्वार्थले कलुषता गर्दै छ सञ्चालन
मौरीको मह खोस्छ, दूध पशुको, मान्छेहरूको श्रम ।
आफ्नो कार्य भुलेर विज्ञ सरि ऊ कर्तव्य सम्झाउँछ
आमा बाबु समेत बोझ उसले मानेर पन्छ्याउँछ ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest





































