दिव्य गिरीसम्वाद हिमालसँग
एकदिन हिमालले पहाडसँग सोध्यो–
किन तिम्रो अनुहारमा रगतका टाटाहरू छन्
किन तिम्रो छातीभरि आलोघाउका खाटाहरू छन्
किन तिम्रो आकाशमा कालो धुवाँ मात्र उडेको छ
किन तिम्रो आँगनमा खरानीको थुप्रो मात्र उठेको छ
हिमालको प्रश्न सुनेर पहाडले भन्यो–
तिमीले देखेका रगतका टाटाहरू मेरै सन्तानका हुन्
तिमीले देखेका आलोघाउका खाटाहरू
मेरा आफन्तले मेरै छातीमा पड्काएका
बम र बारुदका निसान हुन्
मेरो आकाशमा उडिरहेको कालो धुवाँ
मेरै सन्तानको अहंकार र अहम्को मुस्लो हो
मेरो आँगनमा थुप्रिएको खरानी
मेरै छोराछोरीको अवशेष हो
यतिखेर मान्छेले मान्छेकै अस्तित्वमाथि धावा बोलेको छ
यतिवेला मानवता धरापमा परेको छ
मान्छेले दया धर्म र मावनतालाई चटक्क बिसे्रर
पाप अधर्म र हिंसाको पछि दौडेको छ
अपहरण हत्या र आतङ्क
यौटा चटकेको खेल जस्तो भएको छ
मान्छेले मान्छलाई नै मार्नु ख्यालख्याल भएको छ
खोई कसले कसलाई अपराध नगर भन्न सकेको छ
खोई कसले कसलाई कर्तव्यको पाठ पढाउन सकेको छ
संसार आतङ्कमय बनेको छ
संसार मानवताविहीन भएको छ
ए हिमाल !
तिमी धेरै अग्लो छौ
मभन्दा धेरै माथि छौ
तिमी तल हेर
समथल र हरिया फाँटहरूमा हेर
त्यहाँ तिम्रै छाती पग्लेर बगेका असङ्ख्य खोलाहरूमा पनि
अहिले रगत मिसिएको पानी बगेको छ
अहिले आँसु मिसिएको पानी बगेको छ
ती समथल हरिया फाँटहरू पनि
म जत्तिकै दुखित पीडित र प्रताडित छन्
म जत्तिकै आतंकित र असुरक्षित छन्
ए हिमाल ! सुन
म यतिवेला
रगत मिसिएको पानीले मुख धुन सक्दिन
रगत मिसिएको पानीले घाउ पखाल्न सक्दिन
र म आँसु मिसिएको पानी प्यून पनि सक्दिन ।
ललितपुर
Subscribe
Login
0 Comments
Oldest








































