पुण्यप्रसाद खरेलम ठुटो हुँ
म ठुटो हुँ
हिजोअस्तिको आगलागीमा
आफ्नो ऊर्जा जति डढिसकेको म कालो ठुटो
कुनै आराले चिरेर पनि
कामलाग्दो टुक्रो निकाल्न नसकिने ठुटो
जीवनको हरियालीले विदाइ गरिसकेको
सिरिफ यति मात्र कि
यहाँ एक दिन बलभद्रजस्तै वृक्ष थियो भन्ने
भीमसेन थापाजस्तै विशाल रुख थियो भन्ने
एउटा थोत्रो प्रमाण
एउटा सडेको अभिमान
म ठुटो हुँ ।
त्यतिबेला अहा !!
जुनबेला म बलभद्रजस्तै
भीमसेन थापाजस्तै विशाल वृक्ष थिएँ
सिंहहरू बाघ भालूहरू हात्ती गैंडाहरू
मेरो सियाँल ताप्थे
मेरो ओतमा बच्चा जन्माउँथे चाट्थे ।
कसले सक्थ्यो मलाई उताको सरहदमा पार्न
कसको पिताम चल्थ्यो मेरो वतन साट्न ?
कुन बाबुको छोरो सक्थ्यो मेरा आँखामा आँखा जुधाउन ?
थुइया आज !!
आज फिस्टे चरो मेरा थाप्लामा बसेर बिस्ट्याउँछ
एउटा छाउरो मेरा मुखैमा तुर्क्याउँछ ।
त्यो मेरो सियाँल
मैले नै खाएँ कि के ?
त्यो मेरो भीमकाय उचाइ
मैले त्यस्सै गुमाएँ कि के ?
आज मलाई नै उताको सरहदमा पारिँदैछ
मेरो वतन साटिंदैछ
यस्तो बेलामा म मुकदर्शक भएको छु
म त ठुटो हुँ
म त भष्मेकै कालो ठुटो
अहा !
मलाई उताको सरहदमा पारिंदा
मेरो वतन साटिंदा
मैले अकास छेड्ने नारा उराल्नुपर्थ्यो
मैले मुठी उजाएर ‘जिन्दावाद ! मूर्दावाद !!’ घन्काउनुपर्थ्यो
क्रोधित भएर सगरमाथासमान उफ्रनुपर्थ्यो
मैले त्यसलाई स्वाद चखाउनुपर्थ्यो ।
केले अँठ्यायो मलाई ?
केले डुँडो र लङ्गडो पार्यो मलाई ?
थुइया !!
थुइया !! ठुटो भष्मेको कालो ठुटो !
पदले ? पैसाले ? पिरले ?
केको लोभले यस्तो पार्यो मलाई
थुइया !!
म त कालो ठुटो हुँ !
भष्मेकै कालो ठुटो हुँ !!!
मेचीनगर, झापा
Subscribe
Login
0 Comments
Oldest






































