साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री पदको शपथ ग्रहण नगर्दै

हद्द होला यस मन्त्री परिषद्ले काम गर्न सकेन भन्ने आरोप लाग्ला, केही फरक पर्दैन, हामी काम गर्न आएका होइनौ, यस्तो खिचडी मन्त्रिमण्डलले कुनै ठोस काम गर्न पनि सम्भव छैन, यो कुरा सबैले बुझेकै छन् ।

Nepal Telecom ad

मन्त्रीमा आफ्नो नाम परेको सुन्नासाथ नामुद क्रान्तिकारी कहलिएका सर्वहारावादी ने पहिले आफ्नो जीउ डालसँग मिल्ने अर्का सर्वहारावादी मित्रसँग दौरा सुरुवाल, कोट, टोपी माग्नुभयो । अरू बेला भाको भए उहाँ संसदमा समेत आफूखुशी पोसाकमा मुडुल्लै पुग्नुहुन्थ्यो । अहिले पार्टीले औपचारिक राष्ट्रिय पोसाकमा तयार भएर बस्ने कडा उर्दी जारी गरेकोले मन्त्री पदका अगाडि पोसाक सम्बन्धी उहाँको उग्र क्रान्तिकारिता कता हरायो कता ? उहाँले श्रीमतीलाई बोलाए सोध्नुभयो “गार्ड र गाडी आए कि आएनन् है ?” श्रीमतीले जवाफ दिइन्- “पहिले रेडियोले नाम भनोस् न । के ठेगान र लास्ट मुमेन्टमा काटिएको पनि त हुन सक्छ नि ।” नेताले भन्नुभयो- “असम्भव, ल मेरो नाम काटियोस् त एक घण्टाभित्रै अर्को पार्टी “काले” (कार्लमाक्र्स-लेनिनवादी) वा “साले” (स्टालिनवादी-लेनिनवादी) जन्मिने छ । त्यसै “कापु” (कांग्रेसको पुच्छर) बन्न लागिएको होइन बुझ्यौ ? हामीलाई गार्डको र झण्डाको मोहले मात्र त्यसो गर्न लगाएको हो ।

आफ्ना कान्तिकारी श्रीमानको सम्पूर्ण बानी बेहोरा थाहा पाएकी श्रीमतीले नपत्याउने कुरै थिएन र भनिन्- “गार्डलाई कहाँ राख्ने मोटरलाई कहाँ पार्क गर्ने ? म त ठाउँ नै देख्दिन । अ बरू पीए त मेरैे दाइको छोरालाई नै बनाउनु पर्छ है, अहिले नै भन्दिया छु । बिचरो दुई दुई पटक म्याट्रिकमा फेल भइसक्यो, उसले अन्त कतै जागिर पाउन पनि त सक्तैन ।”

नेता मुसुक्क हाँस्नुभयो र भन्नुभयो “तिम्रो भदोलाई कतै अल्झाइदिने काम मेरो भयो । मैले भनेपछि कसले उसको योग्यता खोजिरहन्छ ? म्याट्रिकमा फेल भएर के भो त युनिभर्सिटीका कुलपति हाम्रै मान्छे हुन्, नक्कली प्रमाणपत्र बनाएर भए पनि उसलाई कतै मोफसलका क्याम्पसमा उपप्राध्यापक बनाएर पठाइदिने काम मेरो भो । पीए त तिम्रै बहिनीलाई बनाउँछु, भिनाजु भनेपछि मप्रति हुरूक्क मरिमेट्छे विचरी, राम्री पनि क्या हिस्सी परेकी छे । हामी सर्वहारावादी नारी स्वतन्त्रताका कट्टर समर्थक हुन्छौं हाम्रो दृष्टिमा नारी स्वतन्त्रता भनेको यौन स्वतन्त्रता हो । श्रीमतीले जवाफ दिन सकिनन्, मन्त्री हुनै आँटेका श्रीमानलाई चिढ्याउने कुरो पनि आएन । यतिकैमा रेडियोले मन्त्रिपरिषद्को घोषणा गर्‍यो, हाम्रा नेताज्यूले कमाई राम्रो हुने मन्त्रालय पाउनु भएछ । अहिले भने श्रीमान श्रीमती दुवै प्रशन्न भए ।

रेडियोबाट नाम आउनासाथ उहाँको टेलिफोनको घण्टी लगातार बज्न थाल्यो । कहिल्यै मुसो पनि झुक्किएर नपस्ने उहाँको निवासस्थानमा चाकडीवाजहरूको भीड जम्न थाल्यो । घरमा नोकर थिएन, श्रीमती आफै तिनलाई चिया बनाएर ख्वाउन थालिन् । भीडमा एकजना अलि भिन्नै खालका रोबदार व्यक्ति पनि थिए, ती सचिव रहेछन् । मन्त्रीले तिनलाई माथि सुत्ने कोठामा बोलाउनुभयो । नयाँ मन्त्री आउनासाथ कतै सरुवामा परिने हो कि भन्ने जुन डर सचिवलाई थियो नयाँ मन्त्रीज्यूको यस व्यवहारले उनी ढुक्क भए । उनले बिन्ति चढाए “को को न आउलान् भनेर डराइरहेको थिएँ, हजुर आउनुभो, पाथी भात खाको जस्तो खुसी लाग्यो । हजुरसँग मिलेर काम गर्न पाएपछि यस सेवकको निम्ति साह्रै राम्रो हुने भो ।”

मन्त्रीज्यू मुस्काउनुभो र भन्नुभो “मबाट तपाईंले धन्दै मान्नु पर्दैन । मलाई पनि तपाईं जस्तै अनुभवीको खाँचो थियो । अँ बरू हाम्रो मन्त्रालय अन्तर्गत कतिवटा विभाग र संस्थान छन् हैं ?- के गर्नु हामी राजनीतिमा लाग्या मान्छे, जागिरका आशामुखीहरू थुप्रै हुने नै भए, तिनलाई जसरी पनि अल्झाउनै पर्‍यो । चुनाव चाँडै हुँदैछ, त्यसका निम्ति अहिलेदेखि नै तयारी गर्ने पर्‍यो । पार्टीलाई लेभी बुझाउनै पर्‍यो । यो मन्त्री पद धेरै दिन रहला जस्तो छैन, मौकामा सबै बन्दोवस्त गरेन भने बेवकुफ होइन्छ ।”

सचिवले दुवैहात जोडेर भने- “अहिलेसम्म धेरै मन्त्रीको अन्तर्गत बसिसक्या छु । मन्त्रीको वचनलाई भुइँमा खस्न नदिनुलाई आफ्नो ठूलो कर्तव्य मानेको छु । हजुरले कुनै धन्दा मान्नु पर्दैन । हजुरले अडाए मात्र पुग्छ । मान्छे भर्ना गर्ने कुरा चाहिँ अलि अप्ठ्यारो देख्छु । यस अधिका.मन्त्रीज्यूले तिलको गेडा जति पनि नअटाउने गरी जताततै आफ्नो मान्छेले भरिसक्नुभाछ । तर केही छैन, अस्थायी र ज्यालादारी पद सिर्जेर भए पनि यो समस्या हल गरौंला । विकास र निर्माणका निम्ति हाम्रो मन्त्रालयलाई राम्रै बजेट छुट्याइएको हो, तर यो चौमासिकका निम्ति निकासा भएको बजेट पनि धेरै बाँकी छैन । तर धन्दा मान्नु पर्दैन, पेश्की निकालेर भए पनि हजुरको मनोकांक्षा पूरा गरौला । जसरी भए पनि हजुरलाई सन्तुष्ट पार्ने अभिभारा मेरो भो । मन्त्रीज्यूलाई खुसी तुल्याउन सके नै हामी जस्ता सेवकको पनि भलाई हुन्छ ।”

सचिवका कुरा सुनेर नयाँ मन्त्री प्रसन्न हुनुभो । “आहा, सचिव भन्या तपाईंजस्तो नै हुनुपर्छ । मैले छ महिनाभित्र धेरै नभए पनि पन्ध्र करोड जति आम्दानी गर्नैपर्छ, त्यसमा पार्टीलाई पाँच करोड़ बुझाउनै पर्छ नत्र म नालायक ठहरिने छु । हाम्रो पार्टी टाट पल्टेको छ, भन्या ठाउँमा गतिलो अफिस पनि राख्न सकेको छैन । जुन मन्त्रीले पार्टीलाई घेर लेभी बुझाउँछ, पार्टीमा उसकै धाक फुर्ति बढ्छ । विकास निर्माणका निम्ति छुट्याइएको रकम हुन्छ नि, त्यसमा दश प्रतिशत जति खास काममा खर्च गर्नुपर्छ बाँकी आफैले सोहोर्नुपर्छ । काम गर्‍या जस्तो पनि देखाउनुपर्छ । समय कम छ, यही कम समयमा धेरैभन्दा धेरै कमाउनुपर्छ । तपाईंहरूको भाग पनि लाग्छ, धन्दा मान्नै पर्दैन । हद्द होला यस मन्त्री परिषद्ले काम गर्न सकेन भन्ने आरोप लाग्ला, केही फरक पर्दैन, हामी काम गर्न आएका होइनौ, यस्तो खिचडी मन्त्रिमण्डलले कुनै ठोस काम गर्न पनि सम्भव छैन, यो कुरा सबैले बुझेकै छन् ।

मन्त्री एकोहोरो भाषण दिँदै हुनुहुन्थ्यो, सचिव सबै बुझे झैँ हात जोडेर टाउको हल्लाइरहेका थिए । छिनछिनमा श्रीमती आउँथिन्, ठाउँठाउँबाट टेलिफोन आएको, तल शुभकामना टक्राउन आउनेहरूको भीड निकै बढेको कुरा सुनाउँथिन् । मन्त्रीज्यूले वास्तवमा सुन्न चाहेको यस्तै शुभ समाचार नै थिए । श्रीमती जति पल्ट पनि कोठामा पस्थिन्, हाम्रा सचिवज्यूले उति पल्ट उनलाई नमस्ते गर्थे । एकै छिनमा मन्त्रीज्यूले एउटा महत्वपूणर् कुरा सम्झेर सचिवसँग मधुरो आवाजमा सोध्नुभयो- “अँ, हामीले पन्ध्र दिनभित्र आफ्नो सम्पत्तिको विवरण दिनुपर्छ, अहिले सम्पत्ती नै छैन भने हुन्छ, पछि मन्त्रीबाट विदावारी हुने बेलामा औलादौला सम्पत्ति हुनेछ । मैले भष्टाचार नगरेको प्रमाणित गर्न अहिले नै हुँदै नभएको सम्पत्तिको विवरण दिन के गर्नुपर्ला ?”

सचिव खिसिक्क हाँसे र भने- “यो कुनै समस्या नै होइन । अहिलेसम्म मन्त्री हुँदा सम्पत्तीको विवरण दिने, अवकाश पाउँदा नदिने यहाँको चलन नै छ । तै पनि यस मामिलामा केही चनाखो त हुनै पर्ला । अहिले नै रकम बढाएर दिनु पर्ला ।”

मन्त्रीले अलि संकोच मानेर भन्नुभो- “म पार्टीमा सर्वहाराको रूपमा प्रख्यात छु । फेरि नक्कली सर्वहारा रहेछ भने भने के गर्ने नि ? बडो अपठ्यारो पर्‍यो ।”

सचिव अहिले भने खित्का छोडेरै हाँसे र भने- “हाम्रो नेपालमा सवभन्दा सम्पन्न तिनै छन् जो आफूलाई क्रान्तिकारी र सर्वहारा भन्छन् । झन हजुर त मन्त्री समेत भइसकेको मान्छे । यो कुनै समस्या नै होइन ।”

सचिवको कुरा सनेर मन्त्रीज्यू अत्यन्त खुशी हुनुभो । सचिवलाई सम्मानपूर्वक विदा गर्दै उहाँले श्रीमतीलाई बोलाउनुभो र भन्नुभो “तिमीले इष्टमित्रहरूसँग केही दिनका निम्ति भनेर सुनका गहना मागेर लगाउनु पर्‍यो । अहिलेको जस्तो नाक कान बुचो नराख । पछि आफ्नै गहना लगाउली । सालीलाई बोलाएर टेलिफोन सुन्ने काम गरिहाल भनेर अह्राऊ ।

०००
सिस्नुपानी- बोट १, बोट २, (२०५५ असोज)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महानगरबाट जीउँदै फर्कें म

महानगरबाट जीउँदै फर्कें म

बालमुकुन्द देव पाण्डे
चुनाव जिताउने संघको स्थापना

चुनाव जिताउने संघको स्थापना

बालमुकुन्द देव पाण्डे
मेटिन नसकेका डाेबहरू

मेटिन नसकेका डाेबहरू

बालमुकुन्द देव पाण्डे
गोड्से साहित्यकार जिन्दावाद

गोड्से साहित्यकार जिन्दावाद

बालमुकुन्द देव पाण्डे
केही नयाँ लोकगीत

केही नयाँ लोकगीत

बालमुकुन्द देव पाण्डे
रुई फुई उई दुई ! 

रुई फुई उई दुई...

बालमुकुन्द देव पाण्डे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x