तिलक लुइटेलदेश चलाउने काम
देश चलाउँदा कुर्सीले आफूतिर तान्ने, घरका दाजुभाइले खुट्टा तान्ने र छिमेकीले मुन्ट्याउने चाहिँ किन हो बुझ्न सकिँदो रहेनछ ।

पुग नपुग चार वर्षदेखि नाराजुलुस, धर्ना आदि गरेर अस्पताललाई कायल पारिसकेका थिए बिरामीका आफन्तहरूले । कि सास कि लास देखाऊ भन्ने उनीहरूको माग थियो ।
हुन पनि हो । व्याधिग्रस्त मस्तिष्कलाई झिकेर विदेशको प्रयोगशालामा पठाई उचित मरम्मत गरेर ल्याइराखेको पनि चार वर्ष लगभग भयो तर बिरामीको अत्तोपत्तो छैन । पानीझैँ पैसा बग्यो । निराशा र व्याकुलताले सीमा नाघ्यो ।
अबको उपचार नाराजुलुस, बन्द हडताल, धर्ना, चक्काजाम, टायर बाल्ने, राँको बाल्ने, ढुङ्गा हान्ने, तोडफोड नै त हो । सृजनात्मक समाधान कहाँ सस्तो छ र यस मुलुकमा । त्यतै लागे बिरामीका आफन्तहरू । आखिर ठुलाले सिकाएकै यही हो । बरु पलायन सजिलो उपाय हो । कतिले त पलायन पनि गरिसकेका थिए ।
अचानक रोगी हस्पिटलको आफ्नै बेडमा देखियो । आफन्तका मुखमा झरीपछिको घाम जस्तै हाँसो देखियो । हस्पिटलले सन्तोकको सास फेर्दै बिरामी जिम्मा लगायो । पत्रकार बिरामीको अन्तर्वार्ता लिन खनिए । पत्रकारहरूले सोधे—
बिरामी मान्छे यतिका वर्ष कता हुनुहुन्थ्यो ?
उत्तर— काममा गएको थिएँ ।
प्रश्न— मस्तिष्क नै नभईकन कस्तो काम गर्नुभयो त ?
उत्तर— जानेको र सकेको ।
प्रश्न— कुन काम जान्नुभएको थियो र मस्तिष्कबिनै गर्न सक्नुभयो ?
उत्तर— देश चलाउन त सकेँ नि ।
प्रश्न— किन फिर्ता आउनुभयो त ?
उत्तर— मंसिर ४ को होमवर्क गर्न ।
प्रश्न— अन्तमा सबै पाठक दर्शकलाई केही भन्नु छ कि ?
उत्तर— छ नि, देश चलाउँदा कुर्सीले आफूतिर तान्ने, घरका दाजुभाइले खुट्टा तान्ने र छिमेकीले मुन्ट्याउने चाहिँ किन हो बुझ्न सकिँदो रहेनछ ।
बुझ्ने मस्तिष्क त हस्पिटलमै रह्यो अर्काकै लगाएर बुझ्न खोजेको तर ऊ पनि म जस्तै रहेछ ।
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest



































