तिलक लुइटेलउनीहरू पाँचदस हुलका हुल आए
प्रश्न- लाखौँको मानवसागर पाँचदससँग किन भाग्नुभयो त ? उत्तर- उनीहरू पाँचदस हुलका हुल आए, हामी लाखौँ एक्ला एक्लै भाग्यौँ ।

लर्को लागेर सबै गुडुडु कुद्दै थिए । हाँप र झाँप गर्दै कोही धकेका थिए । लखतरान भएर कोही थाकेका थिए । लुगाको हालत हेर्ने होस कसैमा छैन । वीरभद्रले दक्षको यज्ञ ध्वंश गर्दाको जस्तो त्राहिमाम मच्चियो ।
जालियाँवाला बागको विध्वंश हो कि बहत्तरको भुईंचालो हो भन्नै सकिएन । नकुदी भएको छैन । कुद्ने सुरमा कसैको सुरुवालको इँजार चुँडियो । कसैको दौरा थाहा नपाई कतै छोडियो । कसैको हात, खुट्टा त कसैको मुन्टै मुडियो । नाकमुखमा रालसिँगान कसको कति थियो । कसैलाई अर्काको हेर्ने फुर्सत थिएन ।
नभागौँ भने चुट्छन् मजैले- शङ्कै थिएन । खलाँती बजेझैँ आवाज गर्दै सास सबैको फुलेकै छ । जिउभन्दा पहिले ज्यान नै टुङ्गामा पुग्ला कि भन्ने त्रास बनेको छ । खुट्टाका जुत्ता चप्पलले कहिले साथ छोडे थाहै भएन । जे होस् कुरो भागाभागकै थियो । लखेट्नेहरू अवैध संरचना भत्काउन लागेको कर्मशील जनप्रतिनिधि जस्तै दृढसङ्कल्पमा थियो । भाग्नेहरू हारेको राँगो जस्तो आक्रोश र त्रासको भारीले थिचिएका थिए ।
बल्ल अलिकति छलिन पाएका एक जना भगौडाले टुसुक्क बस्न खोजेका के थिए, क्यामेरा घाँटीमा झुन्डाएर पत्रकार आइपुग्यो र सोधिहाल्यो पनि ।
प्रश्न- किन थाक्नुभयो ?
उत्तर- भागेर ।
प्रश्न- कोसित भाग्नुभयो ?
उत्तर- काँचा ठेट्नाहरूसित ।
प्रश्न- उनीहरू कति थिए ?
उत्तर- उनीहरू पाँच दस थिए ।
प्रश्न- तपाईंहरू कति हुनुहुन्थ्यो ?
उत्तर- हामी हजारौँ लाखौँ, मानवसागर नै ।
प्रश्न- लाखौँको मानवसागर पाँचदससँग किन भाग्नुभयो त ?
उत्तर- उनीहरू पाँचदस हुलका हुल आए, हामी लाखौँ एक्ला एक्लै भाग्यौँ ।
पाँचैका लाठा एउटैमाथि बर्सिंदा त्यसको बातो बस्दो रहेछ । अनि अर्कामाथि खनिँदा रहेछन् । पत्रकारको अझै होस आउन सकेको छैन अरे ।
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































