तिलक लुइटेलतन्नेरीमै बितेछ बिचरा !
तन्नेरी छोरो गुमाएका बाउलाई के भएर बित्यो कसो भयो भनेर सोध्न आँट पनि आएन । आफैँलाई दिक्क लाग्यो । बुढाले यति भनिसक्ता मकरे कान्छाको छोरो त्यहाँबाट बेपत्ता भइसकेको थियो ।

ए बा यता नआउनू न । बुहारी र नातिनातिनाले देखे के भन्लान् भनेर छोराले घरभित्रै पस्न नदिई पाले बस्न बनाएकै कटेरामा बास बस्न दिएछन् । भोलिपल्ट बुढा बिहानै उठेर आफ्नो बाटो लागे र आफ्नै गाउँका घरमा फर्किए । ती बाको नाम मकरध्वज थियो । अलिक आर्थिक निम्छरो हुनाले गाउँलेहरू मकरे कान्छो भनेर चिन्थे ।
केही दिनपछि पल्लो गाउँबाट अरु दुई जना मानिस सहरमा आए । उनीहरू आफ्नै छोराहरूलाई भेट्न आएका थिए । मकरे कान्छाको छोरो र ती पल्लो गाउँका केटाहरू एउटै ठाउँमा काम गर्ने नजिक नजिक बसोबास गर्दा रहेछन् । आफ्ना छोराहरूलाई भेट्ता सँगै मकरे कान्छाको छोरो पनि साथमै भेटिने सम्भावना थियो । मकरे कान्छालाई चिनेको भए पनि छोरो अलिक पहिले नै सहर आएको हुनाले बुढाहरूले चिन्ने सम्भावना थिएन । उसले पनि आफ्ना साथीहरूका बालाई चिन्दैनथ्यो ।
भेट भएका मानिससँग घरथर सोध्ने बुढापाकाको स्वभाव नै हुन्छ । त्यसैले मकरेका छोराले साथीहरूलाई भन्यो— तिमीहरूले आफ्ना बाहरूसँग मलाई मकरे कान्छाको छोरो नभन्नु है भनेर अथ्र्यायो । केटाहरूले सहमति जनाए । एकै छिनमा बाहरूसँग छोराहरूको भेट भयो । मकरे कान्छाको छोरो पनि थियो । बुढाहरूले आआफ्ना छोराहरूलाई भलाकुसारी सोधे । घर जाऊँ भन्ने कुरा पनि हुँदै थियो ।
त्यही बेलामा एक जना बुढाले आफ्ना छोरालाई सोधिहाले— ए त्यो मकरे कान्छाको छोरो पनि सहरमा बसेर निकै ठुलोबडो मानिस भएको छ भन्ने सुनिन्थ्यो । होइन के भएर बितेछ है । बिचरा अकालमै गएछ । मैले त हिजोअस्ति पो उसकै बाउले भन्दा पो थाहा पाएँ । तन्नेरी छोरो गुमाएका बाउलाई के भएर बित्यो कसो भयो भनेर सोध्न आँट पनि आएन । आफैँलाई दिक्क लाग्यो । बुढाले यति भनिसक्ता मकरे कान्छाको छोरो त्यहाँबाट बेपत्ता भइसकेको थियो ।
०००
कपन, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































