सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौलीमा हामीले गर्ने काम

ज्येष्ठनागरिकले पनि आफ्नो ज्ञान र शिपलाई समयसापेक्ष, परिस्थिति र स्थान अनुसार प्रयोगमा निरन्तरता दिइरहनुपर्छ ।

Nepal Telecom ad

पूर्व कूरा
संसारका सबै प्राणीहरूको आवश्यक्ता र सामाजिक बनावट अनुसार आआफ्नै सङ्गाती हुन्छन्, त्यसरीनै समुह निर्माण हुन्छन् । मानिसहरू सामाजिक प्राणी भएकाले ऊ विभिन्न कालखण्डमा सामाजिक अवस्था अनुसार समुहमा रहेको प्रमाण यथेष्ठ पाइन्छ । घुमन्तु शिकारी अवस्थामा रहँदा पनि समुहको आकार अनुसार आ-आफ्नो बगालमा गुफा, कन्दरा र ककारोहरूमा घामपानीबाट जोगिन वा विश्राम गर्न आश्रय लिए होलान् । जीउको कुनै भाग छोईँदा र काउकुतीलाग्दा हिहि गरि गिल्लीनसक्ने क्षमता भएका प्रागऐतिहासिक मानव समुहमा मष्तिस्क क्षमता आजका बनमान्छे जति भएको अनुमानमा उनीहरू बिचमा एकआपसमा ईसारा र सामान्य आवाजमा भावना आदानप्रदान गरिने थियो होला ।

त्यस समाजमा पनि शिकार गर्न जुक्ति लाउन सक्ने, बन्यजन्तुको आनिबानीका अनुभवी, पाका र बलिया चाहिने हुनाले ज्येष्ठ नागरिकको निकै खातिरदारी हुन्थ्यो होला । आदिमानवले आफूलाई साहसी, बलशाली र आक्रामक देखाउन अरु जीवजन्तुको नक्कल गरेर विभिन्न आकारप्रकार र रुपरड्गलाई मानक बनाए होलान्, त्यसै समाजको बक्यौता गुण अझै मानिसले विभिन्न गरगहना लगाएर र रड्गरोगन शरिरमा पोतेर गरिरहेकै छन् । शरिरका नरम र महत्वपूणर् मानिएका भाग विशेष र खास मानिने प्रवृत्ति विकास भएको होला ।

त्यसैले त, धेरै तागत लाग्ने मानिएको बन्यजन्तुका भागहरू- मगज, राजखानी, कलेजो, मृगौला र हाडको मासी समुहमा नेतृत्व गर्ने वयस्क र मूलीबुढाहरूले खाने चलन चलाए होलान् ! यसैको प्रतिरुप अनुमान गरेर जिन एम आउल लिखित आदिममानव गतिविधि चित्रित औपन्यासिक किताबहरू ‘द क्लान अफ द केभ बियर’, ‘द ल्याण्ड अफ द पेन्टेड केभ्स’, ‘द भ्याली अफ हर्सेज’, ‘द म्यामथ हन्टर्स’, ‘द शेल्टर अफ स्टोन्स’ आदिमा युरोपको कहिँकहिँ त परिवारमुली ज्येष्ठ सदस्यको मृत्युपछि हुनेवाला मूलीले ज्ञान ग्रहण गर्ने र अनुभव सार्ने भनेर निजको मष्तिस्क खाएपछि मृतकको अन्तिम संस्कार गर्ने चलन उल्लेखित भएको छ ।

सन्तान जन्माउने हुर्काउने गहन जिम्बेवारी भएपनि तत्कालिन मानवका कतिपय समुहमा चाहिँ अनुभवि र लडाकु महिला पनि नेतृत्वमा बसेको पाईन्छ । त्यस्ता वर्णनबाट आदिम मानव समाजमा बलमात्र होईन ज्ञान, क्षमता, शिप र उमेरको ठूलो मानमनितो रहेको प्रष्ट हुन्छ । त्यसैलेत बुध्दिसार्नु पर्छ भनेर अनेक गतिबिधि गरेका होलान् ।!

दोस्रो कुरा
जनसङ्ख्या बृद्धिको चापले बनैया स्रोतको अभावमा घुमन्तु मानव धेरै लामो यात्रापछि पनि आप्mनो समुह कतिदिन भोकै बस्नुपर्ने, सञ्चित फ्याँकिएको स्रोत समेत उपभोग गर्नुपर्ने बाध्यता भएको विभिन्न घटना तथा अनुभवबाट सिक्तै वार्षिक कृषिप्रणाली सुरुआत भयोहोला । त्यस्तो समाजिक व्यवहार भएपछि रैथाने बन्ने प्रक्रियामा अघि बढे होलान् । छरपष्ट कृषिप्रणाली पनि ऋतु अनुसार क्रमैसँग फरकफरक गर्नुपर्ने र जग्गाको तयारी, रोप्ने, छर्ने र तिनको नियमित अनुगमनसाथै उपयुक्त समयमा बाली उठाउने काम अल्पसमयमा नै निणर्य गरिसक्नुपर्ने आवस्यक्ताको लागि मिहनत र जनबलको मागलाई ध्यानमा राखेर नै ठूल्ठुला संयुक्त सामुहिक परिवार बने होलान् । ठूलो पारिवारिक जनबल स्रोतको आधिपत्य, रेखदेख, अन्य जीवबाट सुरक्षा र बिमतहरूसँगबाट परिवार तथा स्रोत जोगाउन पनि कामलाग्ने नै भयो ।

नेपालमा नै बिसको दशकमा बाँकेको खजुरा छेउ पिँडारी भन्ने एउटा गाउँ नै एकै परिवारको बनेको थियो । गाउँ बन्नु अघि ५ सय सदस्य भएको उक्त चौधरी परिवार बस्ने लामो टहराजस्तो घरमा सय ढोका थिए रे र सय भाइ छोरा निश्चित काममा आआप्mना ढोकाबाट निस्केर सय हलगोरु नार्थे रे । दस/पन्ध्र महिलाहरू प्रति छाक भान्छा चलाउने, प्रतिदिन दस पुरुषहरू गाईगोरु चराउने, पाँच पुरुष भेडाबाख्रा चराउने र दुई पुरुष सुँगुरको हेरचाह गर्ने गर्थे रे । रोपाई र कटाई ताका करिब ५०० जना थप पर्म/ज्यालादारी थपिँदा भान्छामा थप महिला हुन्थे रे । यो सबै कामको सँयोजन परिवारमूलीको आदेश तथा निर्देशनमा हुन्थ्यो रे । यो परिवारको व्यवस्थापन हेर्न तत्कालिन नेपालका राजासमेत भ्रमणमा आएको कुरा त्यस क्षेत्रका ज्येष्ठनागरिक अझै पारिवारबारे सन्दर्भमा सुनाउँछन् । त्यस्तै, बर्दियाको मैनापोखर ३, फुलपुरमा जनमत संग्रह ताकासम्म १३० जनाको परिबार रहेको थियो । नेपालमा धेरै पछिसम्म बिभिन्न जातका मानिसहरूका ५०/६० देखि सयको हाराहारीमा परिवार सङ्ख्या भएका सबैतिर पाइन्थे । यस्तो परिवार अनुभवी ज्येष्ठसदस्यको अगुवाईमा खेती धान्न अथवा खेती र पारिवारिक व्यवसायसमेत चलाउन भएको आवस्यक्ताको उपज थियो ।

ठिक समयमा मलबिऊ छान्नु, गोडमेल गर्नु, काट्नु, थन्क्याउनु तथा वार्षिक पारिवारिक आपूर्ति सहज बनाउन चोखिनीति र जतन गर्न यथेष्ठ ज्ञानी/अनुभवीको आवस्यक्ता हुन्छ नै । परिवारमूली बन्नु लरतरो जिम्बेवारी र व्यवस्थापनले संभव हुँदैनथ्यो, त्यसैले ज्ञानको त्यो स्तर परिवारमा आदरसाथ कायम गर्नु नै सबैको हितमा हुन्थ्यो । समुहमा पाको सदस्यको एक प्रकारको साशन प्रणाली वा व्यवस्थापन नभए र त्यो अनुसाशन नमाने जीविका नहुने, लोकलाज हुने र सामुहिक हितको भावना नभए ‘एक्ले ढेडु’, ‘एकल काँटे’ भई ‘एक्लो मान्छे के गरोस्, एक्लो काठ के बलोस्’ भन्ने उखान खप्नुपथ्र्यो, यस्तो हुन कोही चाहँदैनथ्यो । बरु जनबल नै बाँच्ने र बचाउने मुख्य आधार हो तथा जति हुन्छन् असल र कर्मठ होउन भनेर नै ‘सन्तानले डाँडा काँडा ढाकुन्’ ‘कसौँडीमा मानो पकाउने होईन, खड्कौँलोमा खोले घोट्ने परिवार’ भन्ने आहान चलेको होला ।

हो, व्यवस्थापनमा व्यस्त भएकाले मूलीले अरु सरह काम गर्न भ्याएनन् होला तर उनको ज्ञान र शिपको कदरस्वरुप नै विशेष स्थान र मानमनितो हुन्थ्यो भन्नेकुरा लोकोक्ति र रहलपहल अहिलेसम्म चलिआएका गुठी प्रणाली जस्ता केही चलनले पनि प्रष्ट्याउँछन् ।

तेस्रा कुरा
कृषिबाट उद्योग व्यवसाय तथा पूँजिको कारोबार हुने पूँजिवादउन्मुख समाज व्यवस्थामा पनि ज्ञान र शिपको पुस्तान्तरण तथा विभिन्न अरु मानविय कारणले पनि जनबल भएको परिवार नै धेरै बिकसित भई प्रचार, प्रसार र बिस्तार भएको देखिन्छ । आफ्नै उद्योग वा व्यवसायको सामान प्रयोग गर्दा पनि मूल्य तिरेर तथा अभिलेख राखेरमात्र प्रयोग गर्ने मूलीको आदेश कार्यान्वयन भएको प्रसस्त उदाहरण सुन्न/देख्न पाइन्छ ।

सङ्घ, संस्था र विभिन्न सङ्गठन निर्माणमा पनि समुहलाई अगुवाई गर्नसक्ने, सबैको भलाईमा काम गर्ने बिचार अघिसार्ने र व्यवस्थापन गर्न सक्षमनै नेतृत्वमा हुन्छन् । त्यस्तो गर्न नसक्ने अगुवाईमा परे त अन्ततोगत्वा समुहका सदस्यको चिल्लीबिल्ली र बिल्लीबाठ पारिहाल्छ नि ! हरेक कुरामा ज्ञान, शिप र कुशल व्यवस्थापननै प्रमुख हुने हुनाले त ‘देश खाई शेष भएको’, ‘घामपानीले मात्र कपाल सेतो भएको होईन’, ’कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको’ र ‘अनगिन्ती भोटो फटाएको’ भन्नेजस्ता उखान र लोकोक्ति चलेका होलान् ।

व्यवस्था बिग्रेको छैन भने शिप, योग्यता र अनुभव मुल्याङ्कन गरेरनै अमुक व्यक्तिको ईज्जत, प्रतिष्ठा र पद भएको हुन्छ । यस्तै गम्भीर कुरालाई ध्यानमा राखेर नै बिग्रेको पत्रु व्यवस्थामा पनि ज्ञानको कदरस्वरुप पाका मानिसहरूलाई ’ज्येष्ठ नागरिक’ भनि विभिन्न प्रयोजनमा मुखले भए पनि प्रयोगमा ल्याउन सुरु भएको छ । त्यसैले, ज्येष्ठ नागरीक जसरी भए पनि ज्ञान र परिपक्वताको खातिर हरेक समाजमा स्तुत्य व्यक्तित्व हुनुपर्छ र हुन्छन् ।

वर्तमान
क्रमैसँग विकशित समाजमा आज पनि ज्ञान र उमेरले पाका मानिसको कम्तीमा मान नै छ, देखाउनकै लागि पनि अरुहरूको अगाडि भए पनि मानगरी टोपल्छन् । एकछिन भए पनि जेष्ठनागरिक मख्ख पर्ने संभावना छ । राजनीतिक आस्थाको कारणले बहुसङ्ख्यक जनताको हितमा सम्पूणर्रुपले उलटफेर भएका देशमा ज्येष्ठ नागरिकको ईज्जत ज्ञानको पुञ्जकोरुपमा लिइएको देखिन्छ, त्यसैले ती देशहरूमा सय वर्ष नाघेका धेरै मानिसहरू भेटिन्छन्, आत्महत्या अथवा बृद्धबृद्धाको मुद्दामामिला नगन्य हुन्छन् । कोही अरिष्ठनै रहेछन् र आफ्ना अग्रजहरूलाई दुःख दिएछन् भने सरोकार र सम्बन्धित गर्नुपर्ने सबै दण्डभागी हुन्छन् ।

जतिसुकै भौतिक विकास गरे पनि संस्कारगत हिसाबले माथिल्लो श्रेणीमा व्यवहारिक अभ्यासमार्पmत सुखद सामाजिक परिवेश निर्माण गर्न कानुनी व्यवस्था समेत बनाएको देखिन्छ । सर्वसाधारणको मनोविज्ञान नै अदबपूर्ण देखिन्छ भने अपरिचित भएपनि पाका नागरिकलाई हरेक सामाजिक गतिविधि र सेवामा प्राथमिकता दिने प्रचलन रहेको पाइन्छ । उनीहरूमा अहङ्कारपूर्ण ‘अधिकारबादी’ सोच होइन, उमेर र शारीरिक अवस्थानुसार व्यवहार शिष्ट बनाउने प्रतिस्पर्धा नै भएझैं देखिन्छ । हाम्रै पनि गाउँघर र घरानियाँ परिवारहरूमा त्यति समस्या छैन । समस्या त निम्नपूँजिवादी, नवधनाढ्य वर्ग र तथाकथित आधुनिकताउन्मुख परिवारमा जेष्ठनागरिकप्रति गरिएको व्यवहार दुखदरुपले रहेको देखिन्छ र सुनिन्छ ।

प्रायः यस्तै वर्ग र समुहमा पाका र अशक्तहरूको बिजोक हिजोआज सर्वसाधारणका कथाव्यथा बनेको बर्तमान साहित्यहरूमा असरल्ल पाइन्छ । अझ, नेपाली परिप्रेक्ष्यमा गत शताव्दीदेखि करिब छ-सात पटक शासकहरू फेरिए पनि संस्कार उँभोलाग्नु पर्नेमा झनै बिग्रँदैगएको र अधिकारबादीहरूको रोइलोको बाबजुद कम सप्रेको सबैले अनुभव गरेकै हुन् ।

आजका ज्येष्ठ नागरिकले हिजो पैत्रिक सम्पती बेचेर हुन्छ कि ऋण काढेर हुन्छ, बोर्डिङ्ग नभएका बोर्डिङ्गमा पढाएर हुन्छ कि दस पास गर्दा नगर्दा भट्भटे किनेर हुन्छ जोरीपारीमा धाक लगाएकै थिए र छन् । भएको सम्पती र आम्दानी धरौटी राखेर भए पनि उमेरदारको घुर्की र उडन्ते सुखद भबिष्यको कल्पनामा कल्पेर घरमुलीहरूले अष्टे्रलिया, अमेरिका, जापान, कोरिया वा युरोपतिर योग्यता र छात्रबृत्तिमा होइन आप्mनै तोडा खर्च गरेर नीजि उत्कण्ठा पुरा गर्न पठाएकै छन्, समाज र देशको आवस्यक्ताले होइन । अनि बेलाबेला तेल भिसामा (कि विदेश गएको नाममा अर्को यताको त्यस्तै परिवारसँग नाता जोडेर वा उतै मनपरेको भनि जोडा बाँधिएकाको सन्तान भएपछि हुर्काउन झञ्झट भई बाबुआमा बोलाउने छ महिने भिसा) छोराछोरीको स्नातक उत्सवमा गएर आएको भनि जमघटमा धाक लगाउँँने रुञ्चे बाध्यतामा छन् ।

चलनचल्तीका टाईँफाईँ गर्ने र बडप्पन देखाउने त्यस्ता खासखास परिवार, समुह र त्यस्तै क्षेत्रमा त हिजोआज अदब, आदर, शिष्टता, उमेरजन्य बोली र व्यबहार, मानवीय स्नेह र दयाभाव, कर्तव्य, सामाजिक सद्भाव, सामुहिक कर्तव्य, ठिक-बेठिक, लाज, सरम, जस्ता शव्दहरू शव्दकोशतिर सिमित हुन पुगेका हुन् कि जस्तो पो लाग्न थालेको छ । समाजप्रतिको दायित्व लत्याउने त्यस्ताहरूमा पारिवारीक मर्यादा के निर्वाह होला ? ‘अधिकार’ जान्ने तर ‘कर्तव्यको क’ पनि पालनगर्नु नपर्ने सँस्कारले जरा गाडेको त्यस्तो हुर्काई र व्यवहारमा दीक्षित परिवारका सदस्यहरूबाट थप के आश गर्नु र ? कण्टकारी रोपेर गोलभेडा फलेन भनेजस्तै भएन र ? त्यस्ता परिवारमा ज्येष्ठ नागरिक छन् भने त कन्तबिजोक नै भएको होला !

आधुनिकताको नाममा व्यक्तिबादले चरित्रकोरुपमा मुन्टो उठाउँदै बिस्तारै सरगरेको हाम्रो समाजमा लाग्छ घरघरमा यस्ता रछ्यान भित्रिएको पाईन्छ नै । हो, हरेक परिवारले आप्mनो नीहित स्वार्थमा अमुक व्यवहारको नाम र आवश्यक्ता भनिएको फोस्रो धाक फरक-फरक हुनसक्छ । यस्तो परिस्थितिमा पाका, सारिरीकरुपले सक्षम, फरक सक्षम, अशक्त वा पारिवारीक स्थान वा हैसियत गुम्दै गईरहेको अवस्थाका महिला र पुरुष ज्येष्ठ नागरिकले धेरै होसपुर्‍याएर बाँकि जीवन सन्तोषपूर्ण बनाउनु पर्छ । सामान्य कुरामा पनि घुर्की, छनक, खिसिटिउरी, घृणा, ओठेजवाफ, वेवास्ता जस्ता मनदुख्ने व्यवहार आशागरिएका आफन्तबाट नपाउन यदि सारीरिकरुपले आँसिक भए पनि सक्षम भए गर्न नछोडौँ ।

तपाइँले गर्दा राम्रो
१. विद्यमान सामाजिक, प्रसाशनिक र राजनीतिक प्रणाली देशभित्र भएसम्म ज्येष्ठ नागरिकहरूले गर्नुपर्ने पहिलो काम विभिन्न किसिमको जेजस्तो सम्पति आर्जेको छ, त्यसलाई आफ्नो अधिनमा नै राखिरहुँ । यस्तो आशय व्यक्तिगत रुपमा सुन्दा असजिलो लागे पनि समाजमा विकसित भइरहेको व्यक्तिवादी चरित्रलाई हराउन यहीमात्र उपाय छ । हिजो सगोल वा परिवार संयुक्त हुने प्रचलनमा रहेर चलअचल सम्पति बेचबिखन गर्दा पारिवारिक उमेरदार सदस्यको सहमति र संलग्नता आवस्यक रहेकोमा हिजोआज जस्को नाममा लिखत छ उसले निर्बाध बेचबिखन गर्न पाउँछ । हकवाला वा एकाघरका भनि खासै नियमले बाध्यकारी नभएकाले कैयौँका परिवार छिन्नभिन्न र समस्याग्रस्त भएको समाचार बग्रेल्ती दैनिकरुपले छापामा भेटिन्छन् ।

त्यस्तो दयनीय अवस्थाबाट जोगिन त्यसैले निस्कृय र काम नलाग्ने भनि होच्याइएका पाका मानिसहरूको शक्तिनै धन हो । ‘जनैको साँचो’ अथवा ‘ढुङ्गाइँटा राखेर ताल्चा मारिएको बृद्धाहरूको कन्तुर’को कथा सुन्नु भएको होला नि ! हो, सम्पति मोहले गर्दा ज्येष्ठनागरिक प्रति कम्तीमा ‘आफ्नै बाबुआमा पनि नहेर्ने, कुलङ्घार !’ अथवा ‘सम्पति खानसक्ने कर्तव्य नगर्ने बेईमान’को सामाजिक आरोपबाट बच्नकालागि झारा टार्ने भए पनि सुखसुविधा हेरिन्छ र अति असहज नहोला, फलस्वरुप त्यतिविधि दुःख नपाउने हुनसक्छ ।

त्यसैले, आफ्नै मनोगत भ्रम, लालसा, मोह, अति माया र विश्वासमा सबै सम्पती अरुको मातहत नराख्नुहोस्, आफ्नो अधिनमा अनुमानित आयुका लागि सहजरुपमा प्रयोग गर्न मिल्नेजति सबै राख्नुहोस् । बरु प्रचलित कानुन अनुसारनै आफ्नो शेषपछि पाउनेको निश्चय गर्नु भए पनि हुन्छ । नियमित निबृत्तिभरण वा भत्ता पाउनुहुन्छ भने सकेसम्म एक्लै वा बाटोसाथी लिएर आफैँ लिन जानुहोस्, आफूजस्तासँग भेटघाट, अनुभव आदानप्रदान र समय कटाउन सजिलो हुन्छ । यसरी तपाईँ आफ्नै पौरखमा केहि भौतिक सहयोग अरुबाट लिएर जीवनको उत्तरार्ध सहजरुपमा बिताउन सक्नुहुन्छ ।

२.सकेसम्म आफ्ना काममा स्वाबलम्बी हुनु पाका उमेरका मानिसलाई इज्जतिलो हुन्छ । आफ्ना आवस्यक्ता सकेको आफैँ पूरा गर्न सक्नु आनन्द र सन्तोषको विषय हुनेरहेछ । ती आवस्यक्ता सकेसम्म सिमित गर्नुहोस् र अति आवस्यक कुराहरूमात्र गर्ने बानी विकसित गर्नुहोस् । होला, तपाईँको दशकौँको घामपानीले सेकेर जम्मा भएका बहुमूल्य अनुभव तर सुन्नेले झर्को माने, बेवास्ता गरे र मुखै फोरेर नकार्ने अवस्थामा सँगै बाँकि जीवन बिताउनु छ भने किन भएको चित्त पनि दुखाई गर्नु ? आखिर, तपाईको यस्तो सारीरिक अवस्था हुन थाले पछिका दिनहरूमा तपाईलाई केही चाहियो भनि सोध्नखोज्दा वा मनमा लागेको भन्न थालेपछि सुन्या नसुने झैं गर्ने, तर्किने, ‘आफूलाई थाहा नभएको कुरा नगर्नु नि’ वा ‘उहिलेका कुरा खुइले’ भनि गिल्ला गर्ने वा ‘कति गनगन गर्न सक्या’ भनि तपाईँलाई नकार्ने पछिल्ला अनुभवले तपाई उनीहरूको लागि ‘तेतव्य’ अर्थात तेस्रो तहको व्यक्तित्व हो भन्ने कुरा किन बिर्सनु हुन्छ ?

आफ्नो मौजुदा तह र सक्षमतालाई बिर्सने नगर्नोस् । सिमित कुरा गर्ने बानीले धेरै र अवाञ्छित छलफलको झन्झट र आफूले देखेको/भोगेको परमसत्य भनिएको अनुभव आफूभन्दा साना वा कम योग्यले मानेनन् भनि दिक्कलाग्ने हैरानीबाट मुक्त होइन्छ । हो, त्यस्तो छलफलमा राम्रा कुरा सुनेमा प्रशंसा गर्नुहोस् बरु उपयुक्त समय हेरेरमात्र, यसले सम्बन्ध सुधारमा मद्दत पुग्नसक्छ । तपाईँको स्वभाव समुहमा रमाउने छ र जमघटमा भाग लिन हुरुक्क हुनुहुन्छ भने सामान्यतया अँ, अँ, हँ, हँ जस्ता उपस्थिति सूचक प्रतिक्रिया व्यक्तगरेर सहभागी हुनु लाभदायक हुन्छ । तर बिर्सेर पनि एकापट्टी ओडढाक्ने, सल्लाह दिने, मिलाउन खोज्ने र विकल्प दिने नगर्नोस्, अझ अक्षम्य गल्ती हुने र ठूलो नोक्सान हुने सम्भावना नभएसम्म खण्डन त ज्यानगए नगर्नोस् ।

यसरी ‘बस्तु बुढोभए भिर खोज्छ, मान्छे बुढोभए निहुँ खोज्छ’ वा ‘पाकेको खानु र चुपोलागेर बस्नु नि’ जस्ता अनावस्यक आरोपले हुने चिन्ता र त्यसबाट उत्पन्नहुने मनोगत समस्याबाट तपाईँ जोगिन सक्नुहुन्छ । आफूलाई गन्न छाडेकाहरू सामु हाम्रा पालामा यस्तो थियो, हामी यसो गर्थ्र्यौँ भनेर राम्रा कुरा पनि नगर्नोस्, उनीहरूको आक्रामक र अशिष्ट व्यवहारले तपाईँ आफैं लज्जित हुनुपर्ला । तपाईँप्रतिको अनास्था र अनादर जागिसकेकाहरूसँग तपाइँका तर्क र सल्लाह बेकाम र किचलो थप्ने हुनसक्छन् ।

३. तपाईं कुराकानी गरिरहन मन पराउने स्वभावको भएर कुरा गर्न साथी नभएको र त्यसोगर्दा बिव्ल्याँटो अपजस आउने फत्तुर सहन नसक्ने हो भने सार्‍है मुख चिलाउँदा कोही वरपर घरमा नहुँदा भित्ता, किताब, ओछ्यान, लुगा र औषधिसँग धितमरुन्जेल गफ्फिनु होस्, बाहिर घुमफिर गर्न निस्कन सके रुखपात, चराचुरुङ्गी र गाईवस्तुहरूको नजिक गएर आफ्ना कुरा सुनाउनुहोस् । मन कति हलुङ्गो हुन्छ ?

एकजना ज्येष्ठनागरिक मसँग सार्‍है चित्तदुखाई गर्न आउनुभयो । उहाँको गुनासो थियो, ‘नव्याउने र बुढीभएर भएको एउटा गाई पनि बेचिदिए, म के गरेर बसौँ ? म कोसँग समय काटौँ ?’ मैले उत्सुक हुँदै सोधेँ, ‘बेकामे गाई नभएर के भो त ?’ उनले आफ्नो पिर बिसाए, ‘घरकाले भनेको मान्ने त कुरै छोडौँ, सुन्दा पनि सुन्दैनन् । म खान पाउँदा घरभित्र पस्ने बाहेक अरुबेला त्यही बुढीमाताको छेउ बसेर आफ्ना कुरा भनिरहन्थेँ, तिनी बेलाबेला हँहँ गरेर मन्टो हल्लाउने, अँअँ भनेको जस्तो आवाज निकाल्ने गर्थिन्, म एकछिन कतै गए आब्बाँ आब्बाँ गर्थिन् । अब मेरो कुरा सुन्ने कोही छैन, कसरी बाँचौँ ?’ उनको अवस्थामा मैले सुईई सुस्केरा हाल्नु बाहेक केही भन्न सकिन ।

ज्येष्ठनागरिकको यस्तो मनोदशा धेरै तथाकथित नवधनाढ्य परिवारमा होला । उहाँहरूलाई मेरा केही उपाय काम लाग्न सक्छन्— बसेको घरमा बिरोध नभए घरका ससाना बाबुनानी बटुलेर कथा सुनाउनु होस्, उखान र लोकोक्ति सोधेर कौतुहलताको रमाइलो लिनुदिनु गर्नुहोस् । दिनभरीमा जतिखेर अरुको काम पर्छ र केटाकेटीलाई पञ्छाउन खोज्छन् त्यतिखेर त्यसोगर्दा ‘अझै यस्तो मान्छे कामलाग्दो रहेछ’ भन्ने सम्झन सक्छन्, यसबाट तपाइँलाई राम्रै हुन्छ ।

हाम्रा अनौठा दन्त्यकथाहरू मोबाईल, कम्प्युटर र भिडियो गेमका काल्पनिक खेलमा नबिग्रिएका बालबालिकाहरूलाई निकै मनपर्छ । तपाईँले गर्ने उनीहरूप्रतिको मायाले, केटाकेटीले त पाको मान्छे तपाईंलाई आदर नै गर्लान् ! तर कथा र कुराहरू उनीहरूका लागि सँधै नयाँनयाँ भन्न सम्झनु होस्, साथै सकेसम्म वैज्ञानिक तथ्यमा आधारित, चरित्र विकास गर्ने संस्मरण राम्रो हुन्छ । उनीहरूमा सामाजिक दायित्व बोध गराउने प्रसङ्ग, समाज विकासका घटना आदि भन्नु राम्रै कौतुहलतापूर्ण होला । साना बालबालिकामा बेठिक प्रभाव पर्ने, गलत बाटोलिने, काँतर बनाइदिने, भ्रमपूर्ण, अवैज्ञानिक, अन्धविश्वासी कुराहरू बिर्सेर पनि नगरौँ । हाम्रो काम र कर्तव्य आर्जित ज्ञानको बत्ति बालिरहनु हो, अघिल्लो पुस्ताको अनुभव नयाँ पुस्तामा सार्नु हो, साँच्चो अर्थमा आफ्नो ज्ञान नयाँ पुस्तामा सार्नु हो ।

होला, समयसापेक्ष धेरै अनुभव नहोला, किनकि हामी हुर्केको र दुखजिलो गरेको परिस्थिति र अहिले फरक छ तर सन्दर्भ पनि नमिल्ने होला र ? हामी केही नभए पनि वर्तमान मानव सभ्यताको जग र यसको विशाल भवनका एक बहुमूल्य तह हौँ, हामी बेकामे भए यो भवन कतिखेर लड्छ ठेगान छैन । हामी आफ्नो कर्तव्यमा एकचित्त भई लागिरहौँ, यशअपयश देखाजाला !

४. घरमा कुराकानी गर्न अनुकूल नमिले र जानसके प्राथमिक विद्यालयतिर सम्पर्क बढाउनोस् । पछिल्ला केहि दशकदेखि सामाजिक अराजकताले गाँज्न थालेकाले धेरै विद्यालयमा जिम्वेवारहरू विभिन्न किसिमले अनुपस्थित भएर कक्षा खाली हुने गरेको अनौठो छैन, त्यहाँ तपाईंले आफ्ना बेलाको केटाकेटीका कुरा, विद्यालयको अवस्था, पढाईका कुरा, समाजव्यवस्था, बजारभाउ, सहरबजार, वस्तुहरूको मूल्य, भोगेका राम्रा अनुभव आदि भनेर विद्यार्थीहरू अल्मल्याई दिनुभए उनीहरू खुसीनै होलान् । विद्यार्थीहरू पनि आजको समाजसँग तपाइँका कुरा सुनेर र मनमनै दाँजेर अर्कै ग्रहबाट आएको प्राणिको भनाई कथाको रुपमा रसस्वादन गर्दा मख्ख पर्नेछन् ।

हो, त्यहाँ पनि तपाइँलाई बिझाउने पोसाक, स्वभाव र बोलीको लबज सुन्नसक्नु हुन्छ, तर वास्ता नगर्नुहोस्, तपाईँ समय कटाउन गएको हो नि ! किन वास्ता गर्नु ? नबिर्सनुहोस् तपाईँको पुस्ता सार्वजनिक ठाउँमा आफ्ना अग्रजलाई सास्टाङ्ग दण्डवत् गर्ने समयको हो, त्यसपछि ढोग, दर्शन, नमन, नमस्कार हुँदै हात मिलाएर अभिवादन गर्न जान्ने पुस्ता हो । तपाईँका अगाडि कुरा सुनिरहेका चाहिँ ‘हाई हल्लो’ पुस्ता छन् । सोझै अगाडि नराम्रो त भनि नहाल्लान् उनीहरूले, राम्रो माने भन्ठान्नुहोस् र मख्ख पर्नुहोस् ! आउन जान त्यतैबाट साथ कोही आए त बाटोभरी गफ्फिन पाइहाल्नुहुन्छ, त्यसदिन वा रमाइलो भए अरु दिन पनि सम्झेर दङ्ग पर्नुहोस्, अझै तपाइँलाई पत्याउने मानिस संसारमा छन् भनेर । तपाईंका कुरा ठिकै भए एक कान दुकान मैदान भएझै अरु विद्यालयबाट पनि निम्ता आउन सक्छ, त्यसो भए त तपाईंलाई भ्याई नभ्याई भइहाल्छ, सँधैको ‘घरबुढो खाना काल’को आरोप सुन्नै परेन् ।

५. आफ्ना केही काम त आफैं गर्ने बानी सुरु गर्नोस् पहिला नगर्ने भएपनि । लुगाधुने- लाउने र फेर्ने सकेसम्म दुईतीन जोर लुगाफाटोमा गुजारा गर्नुहोस्, र आप्mनो पहुँचमा राख्नोस् । सकेमा आफूले प्रयोग गर्ने सबै लुगा, ओढ्ने, सिरकका खोल, तन्ना, रुमाल आदि धुने, सुकाउने उठाउने गर्नोस् । बरु धेरै मिचिमिची धुन नसके लुगा धुने धुलो ल्याएर केही समय ढड्याएर राख्नोस् । उपयुक्त समयमा हातले नसके खुट्टाले मिच्नोस् अनि निचोरेर सुकाउनोस् । सुकाउँदा पनि घामतिरको भाग सुकेको अन्दाज गरेर गएर फर्काउनोस्, त्यसो भए चाँडै सुक्छ, बेलैमा उठाउनोस् । धेरै धुन नसके फेरिरहने भित्रीलुगा र प्रयोग गर्ने रुमाल नियमित धुने, सुकाउने र उचित स्थानमा राख्ने गर्नुहोस् ।

आफ्ना वरपर, बस्ने, सुत्ने ठाउँ वा प्रयोग गर्ने चिजबिज सफा राख्नोस्, सामान्य फोहोर राख्ने र फाल्नुपर्ने चिजबिज हाल्ने एउटा डालो वा भाँडो पायक पर्ने ठाउँमा नजिक राख्नोस् । आफूले प्रयोग गर्ने र तुरुन्त आवस्यक पर्ने सबै सरसामान मिलाएर राख्नोस्, चाहिएको बेला कसैलाई नअर्‍हाई लिन र उपयोग गर्न सकियोस् । सकेसम्म प्राथमिक उपचारको व्यवस्था कोठामा नै होस्, सामान्य दुर्घटनामा तुरुन्त प्रयोग गर्न सकियोस् । आफूलाई चाहिने औषधि किन्न आफैं जानुहोस्, त्यसोभए कुनै फरकभए थाह हुन्छ र त्यही निहुँमा खुट्टा तन्काउन पाइन्छ । तपाईंको अवस्थाले छुट मूल्यमा पाउन सक्नुहन्छ कहिलेकाहीँ ।

आफूलाई आवस्यक पर्ने ससाना सामान जस्तो नङ्कट, दाह्री काट्ने पत्ती, अवाञ्छित रौँ काट्न सानो कैँची, मनपर्ने साबुन, तेल, चियापत्ती, मसला, मौशमी फलफूल आदि आफै किनिल्याउने गर्नुहोस् । यस्ताकुरा अरुलाई अर्‍हाउँदा नमान्ने हुनसक्छ वा भएर प्रयोग गर्न माग्दा नदिने वा घिनमान्ने हुनसक्छ । त्यो ठस्को किन सुन्नु ? जाडो गर्मी तपाईँलाई जस्तै अरुलाई सारीरिक कारणले नलाग्न सक्छ, सम्भव भए सानो पङ्खा र हिटरको व्यवस्था गरिरहनु राम्रो हुन्छ । समयसमयमा पढ्न र समय बिताउन केही किताब, मनमा लागेको कुरा लेख्न कागज र कलम पनि नजिक हुनु राम्रो हुन्छ ।

अलि सहुलियतमा हुनुहुन्छ र काखे कम्प्युटर छ भने तार, बिजुली जोड्ने प्लग आदि पनि नजिक राख्नु राम्रो होला, ईच्छा लागेको बेला प्रयोग गर्न । विशेषगरी प्रत्यक्ष सुनिदिने अरु नहुँदा वा सँधै भन्दा झर्को मान्नसक्ने खतरालाई ध्यानमा राखी सकेदेखि आफ्ना अनुभव तथा लागेका समाज उपयोगी बिचार लेख्दैजानु राम्रो हुन्छ । तपाइँको बालापन देखिको कुरा एउटा जीवित इतिहास हो, तपाइँसँगका मानिसलाई ती कुरा अर्थहिन लागे पनि इतिहास खोतल्ने र बुझ्नखोज्ने धेरैलाई तपाईँका सामान्य कुरा पनि महत्वपूर्ण ऐतिहासिक प्रमाण हुनसक्छ । कैयौँ दिन लगाएर बासबस्दै पुगेका ठाउँहरूमा हिजोआज बाटोको सुबिधाले एकैदिन वा घण्टामा पुगिने कुरा अचम्भ लाग्दो नै हुन्छ ।

हिजोका बाघलाग्ने जङ्गलको ठाउँमा आज नगरपालिका हुनु उदेकलाग्दो नै हुन्छ । हिजो पैसामा कतिवटा पाइने चिजबिज आज एउटाकै सैयौँ पर्ने कुरा गर्दा अनौठो हुन्छ । त्यसकारण, तपाईंका ज्ञान बहुमूल्य छ, फगत त्यसलाई अभिव्यक्त गर्ने र लिपिबद्ध गनुपर्ने खाँचोमात्र छ, त्यसैले उपयुक्त स्थान र सङ्कलन गरिदिने पात्र पहिल्याउनुहोस् र सक्रयतापूर्वक आफ्नो ज्येष्ठनागरिकको कर्तव्य पुरा गर्नुहोस् ।

बिसाउनीमा
दशकौँका अनुभव र ज्ञानका स्रोत ज्येष्ठनागरिक मानव समाजका अभिन्न र मार्ग निर्देशक ज्योतिपुञ्ज हुन् । सामाजिक उतारचढावमा नबुझेर अस्थाई छेउकुना पारिएका हुन् । शारीरिक कारणले कमजोरी भौतिक कुरा हुन्, त्यसैले उमेरदारले अवश्य अहिलेका स्वप्नील तन्द्राबाट ब्युँझनेछन् र बाटो पहिल्याउनेछन् । हो, आफ्नो उमेरले भोगिनसकेकोले प्राथमिकता नदिएका होलान्, तर फर्कनेछन् । ज्येष्ठनागरिकले पनि आफ्नो ज्ञान र शिपलाई समयसापेक्ष, परिस्थिति र स्थान अनुसार प्रयोगमा निरन्तरता दिइरहनुपर्छ । बत्ति निभ्यो भने त अन्धकार हुन्छ, हामीलाई आफ्नो कर्तव्यविमुख हुन र काल पर्खने त हो भनि निराश हुन सुहाउँदैन ।

चालिसेडाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
‘बा’ काव्यांश (२१)

‘बा’ काव्यांश (२१)

दीनानाथ पाेखरेल
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी