विश्व शाक्यरामकुमार पाँडेसँगका चार दशक
यतिखेर सामाजिक र साहित्यिक गतिविधिबाट म निस्कृय र टाढा भएको भए तापनि रामकुमार पाँडे हीरक वर्षको उत्तरार्धमा पनि रजत वर्षको उमेरमाजस्तै जोश जाँगरका साथ लेखनीमा अझै सकृय हुनुहुन्छ ।

विश्व शाक्य :
बहुप्रतिभाका धनी प्रा. रामकुमार पाँडेसँगको मेरो झन्दै पाँच दशकदेखिको मित्रवत सम्बन्ध छ । व्यक्तिगतरूपमा म प्रा. रामकुमार पाँडेको नामसँग तीसका दशकको पूर्वार्धतिरबाटै परिचित थिएँ । स्कुले विद्यार्थीकालदेखि नै हास्यव्यङग्य लेखनमा मेरो विशेष रुचि थियो ।
स्कुलको पढाई सकेर तात्कालिक कलेजको विद्यार्थीकालमा हास्यव्यङ्ग्य लेखनतिरको मेरो रुचि अरू निख्रन थाल्यो । म पद्यबाट गद्य लेखनमा लहसिन थालेँ । मेरो यस लेखनको प्रेरणा, श्रोत र प्रभाव उनताक उपलब्ध भूतको भिनाजू (वासुदेव लुइँटेल)को ‘भीमसेनपाती’, केशवराज पिँडालीको ‘खै-खै’, भैरव अर्यालका ‘काउकुती’, ‘जयभूँडी’, ‘गलबन्दी’ र रामकुमार पाँडेको ‘ख्यालख्याल’, ‘सन्चै छ ?’ जस्ता हास्यव्यङ्ग्य पुस्तकहरू थिए । यी पुस्तकको अध्ययनले मेरो अवचेतन मनमा रहेको व्यङ्ग्यलेखन कौशल र चेतनालाई सतहमा ल्याउन निकै सघाएको थियो ।
साहित्यतिर मेरो अभिरुचि र सकृयता बढेसँगै तीसको दशकमा पत्रकार मित्र नारायण कार्की र मेरो सम्पादकत्वमा अरू दुई साथीको सहयोगमा पोखरामा ‘प्राङ्गण’ साहित्यिक त्रैमासिक प्रकाशनमा आयो । त्यसको प्रवेशाङ्क मुङ्सिर-माघ अङ्क वि.सं. २०३५ पुसमा प्रकाशित भएको थियो । ‘प्राङ्गण’ प्रकाशनमा आउनुभन्दा अगाडि वि.सं. २०३५ कात्तिक २० गतेतिर तात्कालिक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको निम्तामा पोखराबाट वरिष्ठ कलाकार दुर्गा बराल र म काठमाडौँ जाने सुअवसर जुरेको थियो ।
त्यतिखेरकै काठमाडौँ बसाइमा व्यङ्ग्य लेखकका हैसियतले रामकुमार पाँडे (पाण्डे)सँग र कला सहकर्मीका नाताले टेकवीर मुखियासँग मेरो पहिलो भेट रामकुमार पाँडेकै निवास तात्कालिक ‘पाँडे कुटी’ जावलाखेलमा भएकोे थियो । यस भेटघाटले हामीबीच परिचित मात्र होइन हिमचिम बढाउने अवसर पनि जुरायो ।
उनताक व्यावसायिक काम विशेषले मेरो काठमाडौँ जाउआऊ भइरहन्थ्यो । काडमाडौँ पुगेका अवसरमा प्रायसः म पाँडेकामा पुग्ने गर्थेँ । पचासको दशकयता काठमाडौँ जाने व्रmम टाढिएपछि हाम्रो भेटले पहिला झैँ निरन्तरता पाउन सकेन । तथापि, एकाध भेट त भइनै रहथ्यो । लामो समयपछि गएको वर्ष वि.सं. २०७९ मुङ्सीर १८ गते रामकुमार पाँडेसँग उहाँकै घर कोठा जाउलाखेलमा भेट भएको थियो । यतिखेर भने तीस साले त्यो कुटी जडीबुटी ख्वाएर हर्लक्क बढाएछन् र महल बनिसकेको रहेछ । यही मेसोमा २०७९ चैत ५ गने ९१ वर्षिय ज्येष्ठ कलाकार टेकवीर मुखियासँग पनि उहाँकै निवास भैंसेपाटीमा भेट्ने अवसर जुरेको थियो ।
त्यसो त साहित्यिक प्रकाशन ‘प्राङ्गण-२०३५’ प्रशासनमा आउनुभन्दा पहिला टेकवीर मुखियासँग वि.सं. २०३०मा नेपाल युनेस्को क्लब, पोखराको प्रकाशनमा निस्केको ‘प्रणय’ साहित्यिक त्रैमासिकको प्रवेशाङ्कको गातो बनाउने सिलसिलामा नेपाल प्रेस, काठमाडौँमा भेट भएको थियो । उतिखेरको हाम्रो त्यो भेट, परिचयात्मक मात्र थियो ।
रामकुमार पाँडेसँगको सामिप्यताले धेरै कुरा सिक्ने, बुझ्ने र अनुभव गर्ने अवसर मलाई जुरेको छ । पोखरबाट हामीले ‘प्राङ्गण’ साहित्यिक त्रैमासिक प्रकाशन सुरु गरेपछि रामकुमार पाँडेसँगको सामिप्यता र सम्पर्क अरू नजिकिन पुग्यो । उहाँ हास्यव्यङ्ग्य भनेपछि हुरूक्कै हुनुहुन्थ्यो । यसको सम्वर्धन र संरक्षणका लागि जेजस्तो सहयोग पुर्याउन पनि उहाँ अगि सर्नुहुन्थ्यो । यही कारण वि.सं. २०३७ मा तात्कालिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने गरेको प्रतियागितात्मक गाईजात्रे प्रकाशनहरूमा पोखराबाट प्रकाशित हुने ‘प्राङ्गण’ साहित्यिक त्रैमासिकको ‘गाईजात्रे अङ्क’लाई प्रथम पुरस्कार दिलाउनमा रामकुमार पाँडेकोे ठूलो सहयोग र योगदान रहेको थियो ।
प्राङ्गण प्रकाशनको कुरा उप्कँदा मलाई उतिखेरको एउटा रमाइलो क्षणको सम्झना हुन्छ । वि.सं. २०३६ तिर रामकुमार पाँडेका साथ लागेर पहिलो पटक म व्यङ्ग्य महर्षि वासुदेव लुइँटेललाई भेट्न उहाँकै निवास ललितपुर, पुल्चोकस्थित वज्रघर पुगेको थिएँ । उनताक म मेरा ठूला दाजू शान्तरत्न शाक्यलाई कपडाकोठीको काममा सघाउँथेँ ।
कपडाकोठीको व्यापारको सिलसिलामा वर्षको ४/५ फेर काठमाडाैँ जाउआउ गरिरहनुपर्दथ्यो । त्यतिखेर ‘प्राङ्गण’ साहित्यिक त्रैमासिक प्रकाशनमा आइसकेको थियो । उनताक विज्ञापन पाउनु त्यति सहज थिएन । विज्ञापन उठाउन राजाको जन्मोत्सव, दशैँ, नयाँवर्ष पर्खनुपर्ने हुन्थ्यो । पत्रिका प्रकाशनका लागि अर्को आयस्रोत हामीसँग थिएन । म व्यापारको सिलसिलामा काठमाडौँ गइरहने हुँदा व्यापारका लागि लगिएका पैसामध्येबाट केही पैसा प्रेसलाई कागज किन्न पेस्की दिएर बाँकीचाहिँ विज्ञापनबाट पैसा उठेपछि पठाउने गर्दथेँ । दुकानका पैसा पनि दाइले थाहा पाउनुअगावै विज्ञापनका पैसा उठाएर शोधभर्ना गरिदिइहाल्दथेँ । यसरी ‘प्राङ्गण’ प्रकाशन हुँदै आइरहेको थियो ।
ललितपुर, पुल्चोकको वज्रघरमा पहिलो पटकको भेटमै भूतको भिनाजू (श्रद्धेय वासुदेव लुइँटेल)ले हास्यव्यङ्ग्य लेखन र ‘प्राङ्गण’ प्रकाशनको कुराको सिलसिलामा ठाडो प्रश्न राखिहाले- ‘यो व्यापारी मान्छे; दिनभर व्यापार-व्यवसायमै फुर्सद हुँदैन, अनि फेरि पत्रिकाका लागि समय र पैसा कहाँबाट आउँछ ? कसले दिन्छ ?’ उहाँको यस प्रश्नको जवाफमा मैले अगि उल्लेख गरेको व्यापारिक काममा आउँदा व्यापारका केही पैसा लगानी गरेर शोधभर्ना गर्नेगरेको कुरा बताउँदा उहाँले ‘व्यापारका लागि दाइले पठाएका पैसा दाइलाई थाहै नदिई पत्रिकामा लगाएर पत्रिका चलाउने ? मान्छे त बहादुर हो, तर कति दिन चल्छ त्यसरी ?’ भन्नुभएको मलाई आजैजस्तो लाग्छ । नभन्दै ‘प्राङ्गण’ले लामो आयु पाउन पनि सकेन । मैले पछि पनि धेरैबाट सुन्ने गर्थेँ- उहाँ मेराबारे कुरा उठ्ता ‘दाइले व्यापारका लागि पठाएका पैसा पत्रिकामा लगाउने पोखराको बाँडा’ भन्नुहुन्थ्यो रे । उहाँको एउटा विशेषता नै थियो । उहाँसँग नजिकिएका जोकोहीलाई पनि उहाँ एउटा न एउटा उपनाम र परिचयले चिनाउने गर्नुहुन्थ्यो । यसरी रामकुमार पाँडेसँगको सत्सँगतले जिउँदैमा भूतको भिनाजूसँग उठबस गर्ने सुअवसर जुरेको थियो ।
यस्तै अवसरहरूको कुरा उठता रामकुमार पाँडेसँगको सँगतबाट प्राप्त भएको एउटा अर्को अवसरको पनि सम्झना मलाई यतिखेर हुन्छ । कुरा वि.सं. २०३७ को हो । म नियमित व्यावसायिक कामले माठमाडौँ पुगेको थिएँ । काठमाडौँ पुग्दा प्रायसः रामकुमार पाँडेकामा पुग्ने मेरो दस्तुर नै थियो । उनताक पनि म काठमाडौँ पुगेको भोलिपल्ट बिहान ‘पाँडे कुटी’ जावलाखेल पुगेको थिएँ । त्यो दिन के थियो थाहा भएन तर रामकुमार पाँडेकामा त्यस दिन केशवराज पिँडाली, घटराज भट्टराई, टेकवीर मुखियाको पनि उपस्थिति देखेँ । धेरै प्रशन्नता लाग्यो । उतिखेर हामीले एउटा सामूहिक फोटा खिच्यौँ । यतिखेर त्यो फोटा वास्तबमै स्मरणीय बनेको छ । उनताकतिरै मैले रामकुमार पाँडेका घरमा ज्येष्ठ हास्यव्यङ्ग्यकार दाताराम शर्मासँग पनि भेट्ने अवसर पाएको थिएँ ।
वि.सं. २०४० को दशकबाट म आफ्नै व्यावसायिक कर्म (फोटोग्राफी)मा व्यस्त भएँ । र पनि, लेखनी चलिरहेकै थियो । वि.सं. २०५१ मा काठमाडौँ गएका वेला ‘कृष्ण उवाच-२०३९’ प्रकाशनपछि दोस्रो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कस्तो गधा रहेछ ?’ लोकार्पणका सिलसिलामा म केशवराज पिँडालीज्यूलाई भेट्न उहाँको निवास पुतलीसडक पुगेको थिएँ । रामकुमार पाँडे उतिखेर बेफूर्सदी थिए । गोविन्द गिरी ‘प्रेरणा’ भाइको साथ लागेर म पिँडालीका घर पुगेको थिएँ । त्यतिखेर पिँडालीज्यू सायद असी वर्ष पुगिसक्नुभएको थियो । मेरा आँखामा तीसका दशकमा गोरखापत्र संस्थानमा देखे भेटेका पिँडालीमात्र देखिइरहेको थियो, यी वयोवृद्ध पिँडालीको अनुमान नै थिएन । उहाँ त साँच्चिकै वृद्ध भईसक्नु भएको रहेछ । तापनि हास्यव्यङ्ग्य लेखनप्रतिको उहाँको माया र जागरुकताले अझै पनि तन्नेरी बनाइरहेको अनुभव मलाई भएको थियो ।
बैठक कोठामा पिँडालीज्यूसँग देखभेटपछि नमस्कारको आदानप्रदान भयो । नजिकैको कुर्सीमा बस्न आग्रह भयो, बसियो । गोविन्द भाइले मलाई देखाउँदै “उहाँलाई चिन्नुहुन्छ ?” भनेर सोध्नुभयो । पिँडालीज्यूले सहज भावमा चिन्न नसकेको भन्नुभयो । गोविन्द भाइले “पोखराबाट आउनुभएका विश्व शाक्य दाइ” मात्र के भनेका थिए उहाँले हँसिलो अनुहारमा खुसी हुनुहुँदै “मैले विगत पन्ध्र-बीस वर्षदेखि यस नामलाई चिन्दै र पढ्दै आइरहेको छु” भन्नुभयो । वास्तवमा हो पनि । हास्यव्यङ्ग्य निबन्धतर्फ मलाई प्रशिक्षित र परिचित गराउने तात्कालिक ‘समाज दैनिक’का सम्पादक मणिराज उपाध्याय र ‘दी कमनर’का सम्पादक गोपालदास श्रेष्ठ थिए भने हास्यव्यङ्ग्य कविताका क्षेत्रमा परिचित गराउने केशवराज पिँडाली नै थिए । ‘गोरखापत्र’, ‘मधुपर्क’जस्ता राष्ट्रियस्तरका पत्रपत्रिकामा मेरा हास्यव्यङ्ग्य रचनाहरू प्रकाशन गरिदिएर निकै प्रोत्साहित गरिदिनुभएको थियो । ‘गोरखापत्र’ र ‘मधुपर्क’मा मात्र होइन, ‘साप्ताहिक विमर्श’मा हुनुहुँदा पनि उहाँले मेरा रचनाहरूलाई निरन्तर स्थान दिँदै रहनुभयो ।
केशवराज पिँडाली उमेर, व्यक्तित्व र साधना जुनसुकै हिसाबमा पनि मेरा अग्रज र सम्मानित व्यक्ति हुनुहुन्छ । म उहाँलाई भित्री हृदयदेखि सम्मान गर्छु । त्यही सम्मानस्वरूप मेरो दोस्रो हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कस्तो गधा रहेछ ?’ को लोकार्पणका लागि पोखरा आउने निम्तो दिन म उहाँका घर पुगेको थिएँ । कुराकानीपछि उहाँ साह्रै खुशी हुनुहुँदै सहमति पनि दिनुभयो । उहाँ साह्रै प्रसन्न र उत्साहित हुनुहुन्थ्यो । उहाँले आपूmमात्र होइन आफ्नी धर्मपत्नीलाई पनि लिएर दुई-तीन दिन पोखरा बस्ने योजना पनि सुनाउनुभयो । हामीले दिनको निक्र्योल पनि गर्यौँ । मनमा उत्साह र उमङ्ग लिएर हामी (गोविन्द गिरी प्रेरणा भाइ र म) फर्कियौँ । गोविन्द भाइ आफ्ना घर लागे, म होटल फर्किएँ ।
बेलुकीपख होटेलको कोठामा फोनको घण्टी बज्यो । उताबाट रामकुमार पाँडे बोल्दै हुनुहुन्थ्यो । उहाँले दिउसो केशवराज पिँडालीसँग भएका कुराबारे थप जानकारी गराउनुहुँदै- “दिउँसो केशवराज पिँडालीसँग किताब लोकार्पण कार्यक्रमका बारे कुरा भएको रहेछ । पिँडालीज्यूसँग जुन तिथिमिति तय भएको थियो त्यस मितिमा उहाँका आफन्तको बिहेवारीको काम रहेछ । सो कुरा बूढाले बिर्सेछन् । उहाँले मलाई विश्व शाक्यलाई यो कुराको खबर गरिदिनू भनेको हुनाले खबर गरिदिएको” भन्नुभयो । उहाँबाट पोखरा फर्केपछि अरू कुनै अनुकूल समय हेर्ने सल्लाह सुझाउ दिनुभयो । भोलिपल्ट पोखरा फर्किइयो । पोखरा फर्केपछि के-के भयो भयो; अनुकूल समय जुर्दै जुरेन । त्यसपछि त पिँडालीज्यू नै रहनुभएन ।
यसरी हास्यव्यङ्ग्य साहित्य सिर्जनाका क्रममा तीसको दशकबाटै रामकुमार पाँडेसँग व्यक्तिगतरूपमा मेरो गहकिलो सम्बन्ध रहँदै आयो । यो सम्बन्धमा हास्यव्यङ्ग्य लेखनी मात्र सीमित थिएन, यसमा चित्रकलाको नाता पनि जाडिएको थियो र छ । रामकुमार पाँडे तीसका दशकताकै हास्यव्यङ्ग्य क्षेत्र र शैक्षिक क्षेत्रमा मात्र नभएर चित्रकलामा पनि गहिरो रुचि राख्नुहुन्थ्यो र चित्र पनि बनाउनु हुन्थ्यो । उनताक (तीसका दशकतिर) पोखरामा चित्रकलातिर म पनि निकै सकृय थिएँ । हाम्रो जिविकाको कर्मक्षेत्र बेग्लाबेग्लै भए तापनि साहित्य र कलाको साधना क्षेत्र एउटै परेको हुँदा पनि लामो समयसम्म हामी बीचको सम्बन्ध सम्पर्क अगाध रहन गएको ठम्याई मेरो छ । पाँडेले नेपाली हास्यव्यङ्ग्य क्षेत्रलाई संगठित, विस्तारित र सिर्जनशील बनाउन उनताक नै ‘हासने’ (हास्यव्यङ्ग्य समाज नेपाल) अभियान चलाउनु भएको थियो । यही हास्यव्यङ्ग्य समाज नेपालले वि.सं. २०५४मा मेरो पहिलो हास्यव्यङ्ग्य कविता सङ्ग्रह ‘यमराजको निम्तो’ प्रकाशन गरी ‘लाटोबुङ्गो’ दिवसका अवसर पारेर पुस्तक लोकार्पण गरिएको थियो । यी यस्ता कार्यक्रममात्र होइनन् रामकुमार पाँडेका मगजले उनताकै हासने समाजका लागि एउटा ‘हासने घर’को परिकल्पना गरी डिजाईन पनि तयार गरिसक्नुभएको थियो । तर, उहाँको यो परिकल्पना कहिले पुरा हुने हो त्यो समयले बताउने कुरा भयो ।
रामकुमार पाँडे लेखेर, सोचेर र गरेर कहिल्यै नथाक्ने मान्छे हुनुहुन्छ । यसको लाभ समय समयमा व्यक्तिगत रूपमा मैले पनि उठाउने अवसर पाएको छु । चालिसका दशकयता म आफ्ना व्यावसायिक काममा व्यस्त रहँदा रहँदै पनि हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाइरहन्थेँ नै । मेरो कर्मक्षेत्र फोटोग्राफी भएको र फोटो पत्रकारिता पनि जनचेतनाको एउटा बलियो पक्ष भएको हुनाले फोटोग्राफीका माध्यमबाट पनि हास्यव्यङ्ग्य क्षेत्रमा केही गर्न सकिन्छ भन्ने मलाई उतिखेर लागेको थियो । यहीे लागेर आफूले खिचेका राजनैतिक, सामाजिक, साँस्कृतिक र विविध फोटाहरू सङ्कलन गरी ती फोटामुनि व्यङ्गात्मक टिप्पणीहरू दिएर फोटैफोटाको एउटा रमाइलो किताब निकाल्ने सोच बनाएँ । यसबारे रामकुमार पाँडेसँग पनि सरसल्लाह भयो । उहाँ निकै उत्साहित हुनुभयो र किताब निकाल्न सुझाउनुभयो । उहाँकै सुझाउ अनुसार र उहाँलाई नै भूमिका लेख्न लगाई वि.सं. २०७१ मा ‘सोझा तस्बिर : बाउँटा कुरा’ नामबाट नेपालको हास्यव्यङ्ग्य फाँटमा फोटैफोटाको एउटा नवीन हाँस्यव्यङ्ग्य पुस्तक प्रकाशित भयो । यसैगरी वि.सं. २०६१ मा निस्केको छोटा हास्यव्यङ्ग्य रचनाहरू र फोटाहरू सङ्कलित मेरो पुस्तक ‘ठेट्नैठेट्ना’को भूमिका पनि रामकुमार पाँडे आफैले लेखिदिनुभएको थियो ।
यसरी तीसको दशकदेखिको रामकुमार पाँडेसँगको लेखकीय र भावनात्मक सम्बन्ध, सम्पर्क अद्यावधि निरन्तर चलिरहेकै छ । यही चल्नेक्रममा पछिल्लो पटक वि.सं. २०७९ मंसिर १८ गते पाँडे निवास जाउलाखेलमा उहाँसँग भएको भेटमा पोखरामा भए गरिएका कला गतिविधि सम्बन्धिका मेरो पछिल्लो संस्मरणात्मक पुस्तक ‘सिर्जनाका डोबहरू’ उहाँका हात राखिदिन पाउँदा खुसी लागेको छ ।
पछिल्लो समय हाम्रो भेट सारै दूर्लभ भए पनि यो दूर्लभतालाई चिर्न सञ्चार जगतमा आएको नानाथरी सुविधाले भरथेग गरेको छ । स्वदेश होस् वा विदेश चाहेको वेला कुराकानी गर्न, क्षमकुशल आदानप्रदान गर्न सहज भएको छ । यतिखेर सामाजिक र साहित्यिक गतिविधिबाट म निस्कृय र टाढा भएको भए तापनि रामकुमार पाँडे हीरक वर्षको उत्तरार्धमा पनि रजत वर्षको उमेरमाजस्तै जोश जाँगरका साथ लेखनीमा अझै सकृय हुनुहुन्छ । यो उहाँको सकृयता र कृयाशीलता अझै उर्वर र उर्जाशील होस, मङ्गल कामना ।
०००
पोखरा/नवमी, बडा दशैँ/ ६ कात्तिक २०८०
Subscribe
Login
0 Comments
Oldest








































