विष्णु प्रभातशैलेन्द्र सिंखडाको हास्यव्यङ्ग्य कला
वास्तवमा कुरा छान्न र तान्न, फित्कौली हान्न र नयाँ पुराना मान्छेलाई आफ्नै ठान्न शैलेन्द्र खप्पिस छन् ।

तरवारको छोरो दरवारको पाले भन्नुहुन्थ्यो दुर्गा बाले तर विडम्बना के भयो भने सिम्खडालाई सिङ् खडा बुझ्ने मान्छेका बीच ऊ त कविता कोर्ने सुकुमबासीलाई बन्न पुग्यो अब त्यस्तालाई कसरी ‘ब्रह्मास्त्रु सुम्पने ?’ अठार सालको सुरुमै फागु खेल्दै दार्खा झरेका शैलेन्द्रलाई धादिङको उपज मान्नुपर्छ भन्नेहरू पनि छँदैछन् तर उनलाई सिङ्गै नेपालीहरूको नाक ठड्याउने एउटा घेउटा लेखक मान्नेको पङ्क्ति पनि छँदैछ । आई.ए. गरी ‘बिहे’ गरेका शैलेन्द्रले ‘पञ्चायती व्यवस्था फाल्ने कि सच्याउने ?’ भन्दै जनमत सङ्ग्रह गर्दा पक्क परेर पहिलोपल्ट कविता कोर्दै भानु पत्रिकामा छपाए । नाटकहरूमा खेल्दै हात-मुख जमाए । जिन्दगीलाई अघि धकेल्दै आफ्नो इतिहास रचे । उनले ‘प्रजातन्त्रको पास्नी’ नगर्दै ‘ग्य्राण्डडिजाइन’ देखेका थिए, त्यसैले पछि ‘एक्सरे’ मा पनि ‘प्रजातन्त्रको भूत’ देखा पर्यो ‘सिंहदरबारको गेट’ माथि ‘नाइटभिजन’ कराउँदा उनका गीतिचक्काको साथमा चित्रचक्काको मेल भएको थियो ।
महेन्द्रले थापना गरेको लेखक-अड्डामा जागिरे भएपछि शैलेन्द्रका दिन खुले । सुधाले ‘सौरभ’ ‘सौगात’ दिइन् र ‘सञ्जिता’ पाएपछि ‘मधुसूदन’ले पनि नमस्कार भन्न आइपुगे । चालीस-पचासवटा नाटकमा अभिनय गरेको भए पनि, प्रहसन लेखेको भए पनि उनको चिन्हारीमा न कथाकार टाँसियो न नाटककार । रङ्गकर्मी नै रहिरहे, बरु कालान्तरमा त ‘हास्यव्यङ्ग्य कवि’ पो भए । त्यही चिनारीमा उनी हास्यबहारमा गए र थरमा सिम लेखे पनि अब्बल दर्जाका भए । यस्ता मान्छेले साहित्य सेवा गर्न थालेपछि अक्षताले पनि रङ फेर्यो र अचम्मको आकृति लिएर देखा पर्यो- कालो अक्षता ।
कालो अक्षता (२०६५) नामै उदेकको लाग्छ । पुरेतले नाम जुराएको भए पो होडाचक्र हेर्छ । शैलेन्द्र शब्दकै अर्थ बहुरूपी भएपछि रातो-सेतो अक्षताले भेट्ने कुरै भएन । पाँडे कुरा गर्ने हो भने यी गाली खानेको पङ्क्तिमा पर्दैनन् तालीखानेको पङ्क्तिमा पर्छन् । तर तालिम नपुगेको सिपाहीझैँ भद्रगोल तरिकाले गोली ठोक्ने यिनको तोपमा कुनखाले चोप पसेर हो कतैकतै निसाना नै चुक्न पुगेको पनि पाइन्छ । कविताभन्दा बित्ताबित्तामा फित्ता लगाउने बानी यिनको छैन । त्यसैले हिटर तातेझैँ मिटर मिटरमा अप्ठेरा प्रश्न गर्दै स्रोतालाई औँला ठड्याउँछन् । उनले आँैला ठड्याएपछि जाँचकी पनि डराउँछ । अनि त राष्ट्रिय कविता महोत्सव भए पनि दोहोर्याएरै पुरस्कृत गर्छ । राष्ट्रिय प्रतिभाको सम्मान होस् वा गाईजात्रे ‘हास्यमान’ उनको ‘बल्छी’मा नपर्ने को भयो ? त्यसो भएर नै ‘कालो अक्षता’ (२०६५) मा चेतन कार्कीले धाप मार्दै सोध्दछन्- “शैलेन्द्र सिम्खडाका छेउछाउसम्म पुग्न सक्ने कतिवटा हास्यव्यङ्ग्यकार छन् ?”
वास्तवमा कुरा छान्न र तान्न, फित्कौली हान्न र नयाँ पुराना मान्छेलाई आफ्नै ठान्न शैलेन्द्र खप्पिस छन् । कालो अक्षता कवितासङ्ग्रह चार खण्डमा प्रबन्धित छ र पछिल्लोमा ‘नारी’ नामक एउटा लामो कविता रहेको छ । पहिलो व्यङ्ग्यात्मक छ भने अरू सामान्य शैलीका रचना हुन् ।
मिलेको जाती, नमिलेको नजाती धेरैले भन्ने गर्दछन् तर शैलेन्द्रका लागि सङ्गतिका कुरा भन्दा असङ्गतिका कुरा ऊर्जा बनेको हुन्छ । उनका कविता सङ्ग्रहको खण्ड एकले त्यही भन्छ । ‘आत्मबोध’ मङ्गलाचरणको रूपमा देखा पर्दछ र निकै राम्रो पनि छ । त्यसपछिका सात कविताले असङ्गति उधिन्छ र उफार्छ । ‘सुन र श्रीमती’मा उनी मान्छेको ‘सुनतृष्णा’ प्रति वितृष्णा मात्र होइन कठोर व्यङ्ग्य गर्दै हँसाउँछन् । रामचन्द्र पनि स्वास्नीका मागसामु लत्रेर सुनको मृग लखेट्न गएको लीला लेख्दछन् । मुक्तक, गद्य कविता र गीतसमेत मिसाएर लेखिएको यो कविता भित्र प्रयोगधर्मी विशेषता व्यक्त छ । हँस्यौलीसँगै मर्मभेदी प्रहार पाइन्छ । वणर्नात्मक अभिव्यक्तिमा कविता बगेको छ । ख्यालख्यालमै गम्भीर कुरालाई फिँजार्नु उनको विशेषता हो । सामाजिक विसङ्गतिपरक रचना भएर पनि पौराणिक पात्र, मिथक र आख्यानलाई उदाहरण बनाउँदै व्यङ्ग्य प्रहार गर्नु यस कविताको खूबी हो ।
‘अंशबन्डा’ संवादपरक अभिव्यक्तिमा संरचित छ । गीतिलयमा लेखिएको यो कविताले चारखुट्टे र दुईखुट्टेको द्वन्द्वात्मक भावका माध्यमबाट मान्छेको पाशविक प्रवृत्तिमाथि बज्रप्रहार गरेको छ । भाषिक विचलनसँगै विराम प्रयोगमा विसङ्गति यसको विशेषता देखा पर्दछ । ‘बाङ्गा टिङ्गा नाङ्गा भुतुङ्गाको देश’ शीर्षक कविता चार प्रकरणमा प्रबन्धित छ र देशभक्ति पूणर् भावसँगै शृङ्गारिक भाव मिसाइएको छ । कविता व्यङ्ग्यात्मक छ तैपनि सामान्य लाग्दछ । ‘प्रार्थना’ कविताको विषय पनि ‘भुतुङ्गा’ प्रकरणसँग मिल्दो छ ।
‘पाठेघरमा चलखेल’ आत्मपरकतासँगै वस्तुपरकतालाई घोलिएको कविता बन्न पुगेको छ । राजनीतिक विसङ्गतिलाई नङ्ग्याइएको छ र सामन्तवाद तथा साम्राज्यवाद विरोधी चिन्तनलाई समयको प्रभाव स्वरूप अङ्गिकार गरिएको छ । लेखकले निष्ठापूर्वक त्यसो गरे अथवा यथार्थबाट च्यापिँदा त्यसो लेखे समयसँगै प्रष्टिने छ । परन्तु उनको यस अभिव्यक्तिले पाठकलाई सोच्न कर लगाउँछ ।
मेरो देश फिरङ्गीले विचरण गर्दा
विकृतिको बिम्ब हल्लिने
चार आनाको चारो हालेर
चौध किलोको माछा पक्रने । आदि
देशलाई पाठेघरको बिम्बमा व्यक्त गर्दै सिंहदरबारको सभास्थलमै नअटाउने सङ्ख्यामा बग्रेल्ती सांसद थुपार्नुजस्ता राजनीतिक विसङ्गतिप्रति उनी चिन्तित छन् । ‘वेदव्यासका मूर्ख पाठक’ शीर्षकको कवितामा नारी अधिकारको नाममा देखापरेका विसङ्गतिमाथि प्रहार गर्दछन् । शृङ्गारिक रसिलोपनसँगै शास्त्रीय पुराकथाप्रति प्रश्न गर्छन् । धनवाद र जनवादको द्वन्द्वमा अघिल्लो पक्षको पैरवी गरेर बोलेका कुरालाई पनि जो कोहीले ठम्याउनै नसक्ने गरी भन्ने खूबी शैलेन्द्रमा देखिन्छ । पुराणकथाका घटनावृत्तमा स्रोता वा पाठकलाई भुलाएर कतै ‘स्वास्नी कुट्ने गफ’ गर्न पुग्छन् भने कतै खेत जोतेर सीता निस्किन् अरे भन्दै रामायणलाई नै उडाइदिन्छन् र रावणको पक्षपोषण गर्दछन् । हास्य उत्पन्न गर्नका लागि रतिरागी लेखनकै आवश्यकता पर्छ भन्ने पक्षमा उनी छैनन् । बरू शास्त्रका कथा खोतल्दै विपर्यासी भावमा तर्क गर्न सिपालु छन् । साँच्चीकै वेदव्यासले पाठकलाई मूर्ख बनाउनै अठार पुराण लेखेको होला त ?
नावरहरू पुच्छरले इज्जत छोप्छन्
नेताहरूको पुच्छर पनि छैन
इज्जत पनि छैन
त्यसैले मरेपछि झन्डाले लास छोप्छन्
जति सजिलोसँग भनेको भए पनि बोलीमा चिप्लिएको सङ्केत यसमा पनि पाइन्छ । इज्जत भन्ने कुरा जनावरको पुच्छरले छोप्ने अङ्गसँग तुलना हुन सक्छ ? अथवा आलु नङ्ग्याउनु र मान्छे नङ्ग्याउनु उस्तै हुन सक्छ ? उनको अभिव्यक्ति वक्रवाणीमा छ । त्यसैले आशय वा सन्दर्भले सोझो बोल्दैन, घुमाउरो बोल्दा श्लेषार्थ मात्र होइन कहिले कतै क्लेशार्थ पनि व्यञ्जित भएको हुन सक्छ । सामाजिक विसङ्गतिको चित्रण गर्दै त्यसमा फेरबदल चाहियो भन्ने सन्देश दिनु नै हास्यव्यङ्ग्य कविता लेखनको पनि लक्ष्य हो ।
खण्ड २ मा नौ कविता छन् र पहिलो खण्डको भन्दा दुईवटा बढी छन् । ‘गाली गर्दा पनि अगतिलो हुन्न आमा र देश’ भन्दै एकमुष्ट भावसन्देश शीर्षकमा गुम्फित गरिएको यो कविता छन्दोबद्ध छ, मीठो र मर्मस्पर्शी छ । पाँच श्लोकमध्ये पुछारको यस्तो छ-
देऊ भारा तरूण तनमा कार्य सन्दर्भ तोकी
पैयाँ ठोकून् नवयुवकले काँधमा देश बोकी
छायाँ छाप्ने रविशशी दुवै भागमा देऊ आमा
चुम्दैघुम्दै जतनसितले राख्छु तिम्रै ध्वजमा ।
स्रष्टाको युवा चेतनाभित्रको दियो देशभक्तिपूणर् छ भन्ने सङ्केत यसले गर्दछ । जिन्दगी कविताले जीवनको बहुरूपी यथार्थ चित्रण गर्दछ भने अस्मिता कविताले गतिशीलताको पक्षपोषण गर्दछ । पन्ध्र दिनमै परिवर्तन हुने कृष्णपक्ष र शुक्ल पक्षले अँधेरो र उजेलोको सङ्केत गरेजस्तै जिन्दगीको यात्रामा अस्मिताबोधको यथार्थ पनि द्वैध रहेको दर्साउँछ । देवत्वलाई आरोहित गरेर ठड्याइएका मूर्तिहरूलाई उनी ढुङ्गा देख्छन् परन्तु बुद्धलाई विस्थापित गर्ने धुन्दुकारी मान्छे उनका नजरमा विध्वंशवादी पात्र हो र त्यसले नेपालीलाई विखण्डनतर्फ धकेल्दो छ । शान्तिको आवश्यकता बोध गर्दै कवि भन्दछन्-
जिब्रो भाषा बनोस् मेरो, शान्तिको गीत गाउन
तिघ्राबाट बजोस् ढोल राष्ट्रियता जगाउन
वास्तवमा समाज र राष्ट्र्रका लागि सबै चिन्तनशील हुनैपर्छ । विदेशी हस्तक्षेपको विरोध गर्नैपर्छ । त्यसैले देशका लागि मर्ने सपुतको खाँचो छ । नेपाललाई मुटुको गोजीमा राखेर हिन्दै कविले देश सोच्दछन् र भन्दछन् – भ्रष्टहरूलाई देशले माफ दिन्न । उनी हिंसा र युद्धको विरोध गर्दछन् । फूलबारीमा बुद्ध र युद्धको द्वन्द्व चर्कंदा भाइबैनीको बिचल्ली भएको तस्वीर उतार्छन् । पीडा पोख्छन् । शान्ति प्रार्थना गर्दछन् । ‘मुकुन्डो, म र मेरी आमा’ कवितामा उनी जन्मभूमिप्रतिको प्रेमानुराग पस्कन्छन्, समाजको विवशता दर्शाउँछन् र धर्ती नटेक्दै ऋणी बन्नुपर्ने वेदना बोल्दछन् ।
खण्ड तीनमा दस कवितामा छन् । ‘दल्सिङ, तल्सिङ र खेतालाहरू’ पहिलो कविता हो । गद्यरूपको पद्य आफैमा असद्दे त होइन, तर जति लालित्य लयमा लहरिन्छ त्यति यस ढाँचामा फक्रन्न । ‘समय’को सीमाले सबैलाई बाँध्दछ, हामीहरू समय चिन्न नसकेर पनि पछि परेका छौँ । ‘मृगस्थलीमा नाटक’ मञ्चन हुँदा आर्यघाटका मलामीहरू हाँस्दैनन् । वेदना र हर्षको पृथक परिवेश हुन्छ । धरातल प्रत्येकको पृथक हुन्छ । विश्वासको धरातलमा आफ्नो ‘देवता’लाई नै मान्छेले फूलपाती चढाउँदै आयो । आज हामी मन्दिरका घण्टसँगै ब्युँझन्छौँ तर भोलि भन्न सकिँदैन । हिजो एक थरीले घण्टा चोरेर बन्दुकका छर्रा बनाएकै हुन् । हाम्रा पुर्खाको विश्वासमाथि समयले बाँओरो सल्काइरहेको छ । त्यसैले भविष्यको भविष्यवाणी गर्नु कठिन छ । कविताको प्रस्तुति राम्रो छ, कामना शान्तिकै छ । त्यसैले कवि कुर्लन्छन्-
हामीहरू आमाको विश्वासमा
साइतको घडा थापेर
ओम् शान्तिको अभिषेक गर्दै
कर्मशखाको प्रतीक्षामा छौँ !
हामी त आणविक भट्टीको रसायनले हैन
गहतको झोलले
ढुङ्गा पगाल्न सिकाइदिन्छौँ !
खाडीको तेल तलाउमा हैन पसिनामा पौडेर
नदीको पानी बालेर देखाइदिन्छौँ ।’
भावना र यथार्थको झोलुङ्गोमा झुल्ने कविहरू आफ्नो लोरी आफै गाउन सक्छन् । सिर्जनाको एकान्तस्थल धाउन सक्छन् ।’ तर त्यो शान्तिको कामनाबाट सहज-असहज नतिजा निस्कँदा फगत विसङ्गति भोग्नुपर्यो भने के होला ? ‘श्रीमान् जो आदेश’ भन्दै चुपचाप सहनु एउटा विकल्प होला, अथवा प्रचण्ड-विद्रोहको अराजक यात्रामा सामेल हुनुपर्ला ? यद्यपि कविले ‘मैले द्यौता बेहोरे’ भन्दै श्रमशील जिन्दगीको जय गान गर्दछन् र भन्दछन् । ‘चुँडेको फूल, जकडिएको जीवन : हरि ओम् तत्सत् ।’
सन्देशमूलक अभिव्यक्तिको प्रबलतासँगै प्रयोगपरक हुनु शैलेन्द्रका कविताको विशेषता हो । मोफसलको उपदेशमा सूक्तिमय प्रस्तुति पाइन्छ भने खण्ड चारको ‘नारी’ कविता भारी अर्थमा आमा, पत्नी र छोरीको बहुव्यक्तित्व, भूमिका र यथार्थको अङ्कनमा प्रवाहित छ । भाषामा विचलन, सहजभावमा व्यङ्ग्यमिश्रण, रसिकतापूणर् अभिव्यक्ति, दायित्वप्रति सजग र नारीवादी ढोङप्रति प्रहारजस्ता विशेषता नारी कवितामा रहेका छन् । मृदु व्यङ्ग्य, उद्दीप्त भाव र उपमा अलङ्कारको प्रयोगले पनि यस कवितालाई सुन्दर बनाएको छ ।
अन्त्यमा, कालो अक्षता (२०६५) कृतिका आधारमा भन्दा शैलेन्द्र सघन सृष्टिचेतका उदीयमान प्रतिभा, हास्यव्यङ्ग्य शैलीका सुन्दर स्रष्टा र आफ्ना भाव-भावनालाई शब्दकलाको मूर्तिमा मर्मस्पर्शी झलक दिन सफल हास्यव्यङ्ग्य कवि हुन् । हास्यव्यङ्ग्य शैलीको कविता कलामा अझ निखार आओस् र उनको कलमले सबैलाई लोभ्याओस् भन्दै आगामी दिनमा कालो अक्षताको सट्टा सप्तरङ्गी टीका लगाइदिन पाइओस् । धन्यवाद । जयनेपाल ।
(०६७ को भैरव पुरस्कार वितरण समारोहमा प्रस्तुत)
Subscribe
Login
0 Comments
Oldest





































