डा. गोविन्दराज भट्टराईबाह्रपल्ट साउतीको समीक्षा
तपाईंको अब खूब नाम चल्छ। सिलगढी खर्साङ दार्जेलिङ हुँदै निकासीसम्म पाठकले थाहा पाउने छन्। गोविन्दराज भट्टराई क्या खुंखार व्यक्तित्व ! कसैलाई सोध्लान् अझै ज्यूदै छन् ?

साउतीको नवौँ भाग मेरो हात परेको थियो । मलाई यसबारे थाहै थिएन, नगेन्द्रदाइले त्यो अङ्क थमाउनुभयो । यसको पृष्ठभूमिमा सिलगढीका मुक्तिप्रसाद उपाध्याय हुनुहुँदोरहेछ । थाहा पाउँदै गएँ।
सन २००५ देखि सिलगढीतिरबाट प्रत्येक वर्ष प्रकाशित साउती। हास्यव्यंग्य कविता बोकेर आउँदोरहेछ । कहिले कहाँ कहिले कहाँ गोष्ठीको आयोजन गर्दै कविता वाचन गर्दै तिनैलाई साउतीले छाप्तोरहेछ।
सन् २०१७ लाग्नै आँट्यो। भनेपछि यसको निरन्तरता देखेर म अत्यधिक खुसी भएँ। अनेक व्यक्ति संलग्न भए पनि प्रधान व्यक्तिको रुपमा संयोजक, संकलक, सम्पादक, प्रकाशक अनेक मान पद्वीको माला भिरेर मञ्चासीन व्यक्ति हुनुहुँदो रहेछ उनै मुक्तिप्रसाद । मलाई थाहै भएन नत्र विगतका १२ वर्षमा म पनि एक दुई रचना छपाइमाग्दो हुँ।
यसपालि मुक्ति दाइले बाह्रै अंकको प्याकेट सिलाई गरेर मलाई थमाउँदै भन्नुभयो यी पढ्न काम लाग्लान् भनी ल्याइदिएको छु अनि मैले उत्तरमा बोलें आम्मै नि हास्यव्यंग्य रहेछन् । पढ्न भनेपछि ता म हुरुक्कै हुन्छु। म एकएक गरेर पढिहाल्छु नि ससाना
त्यै त, तपाईंले रुचाउनुहुन्छ अरे भनेर । त्यसपछि फेरि थप्नुभयो साथै बाह्रौँ अंकका रचना पनि यहीँ छन्; यस अंकको भूमिका पनि तपाईंबाटै लेखाउने निणर्य अनि चाखसिके परें। मनमनै सम्झें मलाई अब थला पारेछन् । यी ११ थान पशु, यो पाण्डुलिपि समेत पढ्नु लेखनु टाइप गराउनु । बेलाबेला साहित्यकार हौसिन खोजछन्, उसले भेट्छ यस्तै भयो मेरो दशा भनी चूप लागे । साउतीको पुलिन्दाले त्यो साँझ घरमा झण्डै दंगा उठायो । मैले सुनें- यतिबेला तरकारी शब्जी लिएरै आउँ भन्ने वाचा थियो तिमेर्का बाको। जहिले पनि कितापकापी बाहेक केही आउँदैन। के आज त्यही पकाउनु ? घरमा खुट्टा टेक्ने ठाउँ डेन फेरि पुलिन्दा को पुलिन्दा आमा ?
तेरे बालाई सोध नानी । उही कागजको पुलिन्दा ।
म अलिकति कम्पित अवस्थामा थिएँ । छोरीले थपिन्- घरमा फ्रुट सिद्धियो भने बुबाले मै ल्याउँछु भनेकाले म पनि यसै आएँ । त्यसो भए आज फलफूल तरकारी केही भएन ।
यसरी घरको वातावरण साउतीले बिगारेको थियो । तर तत्काल एउटा बुद्धि पस्यो- गोब्रे भाञ्जाकाे लिफ्ट मागेर आउँदै थियौँ । यहाँ कम्पनी साँइलाको घर पछाडिको मोडमा एउटा ट्याक्टरले हान्यो र हाम्रो गाडी उचालियो, भान्जा मूर्छा परे र शब्जी फलफूलका झोला चुँडिएर सबै नालीमा पर्यो । छ्या, कस्तो दशा रछ । तपाईंलाई केही भोकि ? मलाई भाको छैन, भाञ्जा र मोटरसाइकल ठानामा पुगे । यसरी त्यो दिन जोगिएँ ।
त्यसपछि कोठामा लगेर पुलिन्दा खोलें। अंक १ देखि १२ सम्मका साउती हार लागेर बसेका थिए । पहिलो अंकमै रामलाल अधिकारीको कविता र दान खालिङको समीक्षा रहेछ । दुवैजना चिनेजानेका स्रष्टा, दानसर बितेको त झन् भरखरै हो । यस पत्रिकाको ऐतिहासिक आरम्भ कत्रो ।
पत्रिकाको आकार ससानै छ । त्यसको पनि विवरण दिन मन लागेको छ यसरी :
पहिलो भाग पृ. ४०-२००५
दोस्रो भाग पृ. ४८-२००६
तेस्रो भाग पृ.४८-२००७
चौथो भाग पृ. ५६-२००८
पाँचौँ भाग पृ ३७ -२००९
छैटौँ भाग पृ ४०-२०१०
सातौं भाग पृ ४८-२०११
आठौं भाग पृ ४८-२०१२
नवौं भाग पृ ४९-२०१३
दशैँ भाग पृ ३८-२०१४
एघारौं भाग पृ ६२-२०१५
यसरी एघार वर्षमा छाप्ता जम्मा ४९७ पृष्ठ कागज छापिएछन् । यसको निर्माण ढाँचा पनि प्रत्येक पल्ट एउटै छ भनौ कि बेग्लै छ । त्यस भित्र हास्यव्यंग्य कवि गोष्ठी गरेका स्थान, कविता सङ्कलन, तिनको पाठ गरिएका कविता, तिनको प्रकाशन सबै बेग्लै छन् । कहिले आयोजक प्रकाशक फेरिन्छन् । तर यसका संयोजक सङ्कलक सम्पादक भने लालमोरियन पुजारीझैं उनै मुक्ति उपाध्याय बराल । कतिपल्ट ता यता नेपालका पनि नाम जोडिएका छन् । जस्तै सातौँ भागको आयोजक तथा प्रकाशकमा नेपाली साहित्य विकास समिति मेची, विर्तामोड, झापा, अन्तर्गत महानन्द पुरस्कार रहेको देखिन्छ भने आठौंको समाज सेवा समिति सिलगढी । यसरी एउटै फर्म्याट डिजाइनमा विगतका १२ वर्षदेखि अटूट रुपमा यस्तो सेवामा लागिरहने संयोजक मुक्ति उपाध्याय धन्यवादका पात्र हुनुहुन्छ । मैले ता उहाँका व्यक्तित्वको यो पाटो अघि थाहा पाएको थिइनँ । बरु नाटक र बाल उपन्यासबारे धेरै अघिदेखि पढे बुझेको हुँ ।
उतातिर ख्याल ठट्टाको मूल छ जस्तो लाग्थ्यो । तीस चालिस वर्षअघिदेखि हलुका हास्यप्रधान मसला बोकेर हम जाएगा आउँथ्यो, अलिक स्तरीय बैसालु आउँथ्यो तर यतिका वर्षदेखि साउतीको अस्तित्वबारे अनुभव भएन । यो पनि कालेबुङको विचलनसँगै आरम्भ भएको होला। विचलन साहित्यिक नवीन विचारप्रधान थियो र आकर्षित गर्यो। चारपाँच अङ्क पछि ता देख्तिनँ पनि तर कुरा के छ भने हास्यव्यंग्य कतिपल्ट गम्भीर साहित्यको छेउमा पुग्दैन । पुऱ्याउनु पर्ने हामीले सकेको छैन। स्रष्टाहरूले त्यो तहसम्म सोचेका छैनन्। यो विनोदप्रियहरूले विशेष बाङ्गाटिङ्गा कुरामा घोचपेच गर्दै हास्य उत्पन्न गर्ने कला जस्तो मात्र ठानिन्छ र यो उच्च साहित्यभन्दा अलिक पर्तिर बस्ने जनसाधारणको लागि प्रिय तत्व हो भन्ने ठानिन्छ तर त्यो मात्र सत्य होइन । हास्यव्यंग्यले ठूलाठूला परिवर्तन ल्याएको छ । साहित्यका अद्भूत थाप्तछ । तर यसको रचनास्तर उच्च भिन्न र सामान्य भन्दा माथि, हल्का हाँसोभन्दा शक्ति माथ हुनुपर्छ । सुधारात्मक उपाय (करेक्टिब मिजर्स) को तीतो दबाइ गोली हुनुपर्छ। साउतीका सबै अंक पढें । घरमा ठाकठुक उत्पन्न भइसकेपछि जे पर्ला पर्ला भन्ने भयो र पढ्दै गएँ । प्रत्येक अंकमा स्थायी स्तम्भ जस्ता कविता मुक्तक आदि र सम्पादकीय अनि एक दुई विशेश लेख रहेका छन् । उदाहरणको लागि पहिलो अंकमा-
क) मुक्ति उपाध्यायको सम्पादकीय ख) रामलाल अधिकारीका यशोधरा प्रमदा संवाद शीर्षक कविता ग) दान खालिङको साउतीको साउती शीर्षक समीक्षा घ) सानु लामाको सभापतिको व्यक्तित्व यस्ता कुराले साउतीको उद्देश्य आकांक्षा र सो प्राप्तिमा गरिएको अठोट र प्रस्तावना प्रष्ट हुन्छन् । त्यसैगरी पहिलो भागमा १२ वटा कविता छन् भने दोस्रो भागमा ११ वटा । प्रत्येक अंकले गद्यमा लेखिएका केही विशेष व्यक्तिका लेख रचना धारणा वा समीक्षा लिएर आएको छ । दोस्रो अंकको लामो र अनुशन्धानात्मक आलेखमा डा. भीमकान्त उपाध्यायको हास्यव्यङ्ग्य र यस सङ्कलनका कविता : एक विहङ्गम दृष्टि अनि पद्मश्री सानु लामाको सभापतिको भाषण ।
तेस्रो अङ्कमा नियमित कोलमका अतिरिक्त १२ थान कविता छन् । यस अंकमा नव सापकोटाको लामो समीक्षा आलेख छ- तेस्रो हास्यव्यंग्य कवितागोष्ठीका कविताको एक फन्को र सानु लामाको गोष्ठीको तेस्रो वर्षमा शीर्षक आभार ज्ञापन। नव दाइको आलेखमा प्रस्तुत अङ्कको राम्रो समीक्षा छ ।
अब चौथो वर्ष पूरा भएपछि साउतीको रिभ्यू हुन थाल्यो । अतीतको मूल्याङ्कन गर्दै महासचिव चुडामणि खतिवडा, सम्पादक मुक्ति उपाध्याय बरालका आफ्ना स्तम्भ, सदस्य तुलसी भट्टराईको साउतीका पुराना अङ्कहरूबारे शीर्ष लेख समेत हेर्दा अब साउतीको अस्तित्व सुदृढ हुँदै गएको देखिन्छ ।
यस पल्टका गद्य लेख अलिक छोटा छन्-ज्ञानेन्द्र खतिवडाको समीक्षा र कुबेर दाहालको सभापतिको मन्तव्य । पाँचौ भागमा सभापति सानु लामा र तुलसी भट्टराईको समीक्षालेख साउती पाँचौँ भागका कवितालाई सरसर्ति हेर्दा । त्यसका अतिरिक्त यसमा १६ वटा कविता छन् ।
साउतीको छैटौं भागका समीक्षक लोकनाथ चापागाइँ र सभापति सानु लामा। लोकनाथजीको समीक्षालेख साधारण साहित्य विषयदेखि समीक्ष्य अंकमाथि राम्रो दृष्टिपात छ। यसमा १८ कविता सङ्कलित छन्।
सातौं भाग युवराज काफ्लेको भागमा परेको छ। साउतीका हास्यव्यग्य कविताभित्र पस्दा शीर्षकमा सोही अंकको विश्लेषण, व्याख्या र विस्तार छ । राम्रो व्याख्या र सन्दर्भले जोडिएको यो लेख धेरै महत्वको छ । सानु लामाको सभापतिको मन्तव्य अनि १७ वटा कविता छन् ।
आठौं भागमा पुगेपछि साउती निकै दहिएको देखिन्छ । यसपल्ट साउतीका आदरणीय संरक्षकवर्ग भनी नगेन्द्र शर्मा, पद्मश्री सानु लामा, सीपी गिरी, कुबेर दाहाल र तुलसी भट्टराईको नाम विज्ञापित छ । यसपालिको अंकमा गद्य समीक्षक बढेका छन् रोहिणविलाश लुइँटेलको समीक्षा, डा. मोहन दाहालको मुख्य अतिथिको वक्तव्य, पद्मश्री सानु सानुलामाको सभापतिको वक्तव्य छन् भने सम्पादकीय नित्य नै मुक्तिप्रसाद उपाध्यायको हुन्छ ।
सम्पादकीयको अन्त्यमा एउटा सूचना र निवेदन प्रस्तुत छ : यसैपालिदेखि साउतीले आदरणीय शर्माज्यू, आदरणीय पद्मश्री सानु लामाज्यू, आदरणीय सी.पी. गिरीज्यू, आदरणीय कुबेर दाहालज्यू तथा आदरणीय तुलसी भट्टराईज्यू जस्ता व्यक्तिहरूलाई संरक्षकका रुपमा पाएर साउती गौरवान्वित भएको छ। साउती एउटा सामूहिक प्रयासको प्रतिफलन हो । साउतीले हास्यव्यंग्य कविताको विकासमा एउटै बिन्दु समान कार्य गर्न सक्यो भने आफूलाई धन्य सम्झिने छ ।
साउतीले सबैको सुझाउ र सहयोगको कामना गर्दछ। साउतीले नवौँ भागदेखि नयाँ निर्णय यस्तै गर्ने भएको छ । अघि सातौँ अङ्कमा सोफिया शर्माको एक कविता र उनीप्रतिको समवेदनता प्रकाशित भएकोमा विस्तारै सोफियाका पति नगेन्द्र शर्मा पनि त्यतै आकर्षित भएको खबर आएको छ । प्रस्तुत अंकको सम्पादकीयमा एउटा जानकारी छ-सोफिया शर्मा स्मृति साउती कवि सम्मान र सोफिया शर्मा स्मृति साउती श्रोता सम्मान पुरस्कार प्रदान गरेर साउती हास्यव्यंग्य कविगोष्ठीलाई एउटा अर्कै सुगन्ध र आकर्षणमा लुटुपुटु गराइदिनुहुने आदरणीय निबन्धकार नगेन्द्र शर्माज्यूको नैसर्गिक भावनाप्रति साउती परिवार नतमस्तक रहने छ ।
प्रत्येक अंकका सम्पादकीय महत्वपूर्ण छन् । एउटै उद्देश्यलाई हास्यव्यंग्य कविता संकलन प्रकाशनलाई एउटा नियमित उत्सवको रुपमा स्थापित गर्दै लाने लक्ष्य भएका सम्पादकले आफ्नो टीम र रणनीति झन्झन् बलियो पार्दै लगेका छन् प्रस्तुत अंकमा शिशुपाल शर्माका सभ्यताको उदाहरण बनौं, ज्ञानबहादुर क्षेत्रीको एक पाठक प्रतिक्रिया र तुलसी भट्टराईको सभापतिको वक्तव्य शीर्षकमा एकएक आलेख लिएर आएका छन् । यसपालि कविता बढेका छन्; अंक अलि मोटाएका छन् । २५ कवितामध्ये एक लोकनाथ उपाध्याय चापागाईंको साउती महिमाले सवाइ भाकामा साउतीकै गीत गाउँछ यसरी :
सुन सुन कविहरू मेरो सानो गाथा !
ठेली यौटा ल्याएको छु ओडाएर छाता,
दुनियामा कस्ता कस्ता कामहरू हुन्छन्
म खोल्दैछु अब यहाँ रहस्यको पाता ।
साउतीले कान फुक्ने कति बाठा ’मुक्ति’’
कविलाई लट्याउने निकालेछन् जुक्ति
धूर्त र कपटीको भाँचिसके ढाड
साउतीले मनाउँछन् बर्षेनी यो चाड
(साउती महिमा)
मलाई साउतीका अहिलेसम्मका अङ्कमा देखिएको विविधायुक्ता कर्मले तान्दै थियो । साउतीका प्रकाशनहरू भिन्न मितिमा नियमित निस्कनु एउटा कुरा हो तर प्रत्येक पल्ट आयोजक र कविता वाचन स्थान पनि बेग्लै छन् । यसको पनि ठूलो महत्व छ । प्रत्येक वर्ष बेग्लै आयोजक संस्था छन्, प्रत्येक वर्ष बेग्लै कार्यक्रम (कवितावाचन) छन् । यसबारे उल्लेख गरौंला भन्ने लाग्दै थियो दशौं भाग पुग्दा सम्पादकले आफैँ त्यसका तालिका दिएछन् । धेरै कार्य ता सिलगढीमै भएका छन् तर त्यहाँबाट फड्केर कहिले आसाम, कहिले कालेबुङ फेरि विर्तामोड झापा र एकपल्ट नयाँ दिल्ली पुग्नुले कत्रो विविधता र व्यापकता देखाउँछ ।
दिल्लीमा पाठ गरिएका कविताको स्वाद भिन्न छ । देहरादूनका साहित्यकार भूपेन्द्र अधिकारीको समीक्षा छ बडो जुक्तिपूणर् अनि सभापति तुलसी भट्टराईको छोटो मन्तव्य । यस अङ्कमा १८ वटा कविता प्रकाशित छन् ।
अहो, यसपालिका एघारौं अंकमा उत्तरोत्तर प्रगति पनि थपिएका देखिन्छन् । एघारौं अंकमा कोही स्वजनको मृत्युमा अनि महाभूकम्पको विनाशमा संवेदना प्रकट गरेका छन् । यो प्रगति निणर्ायक मण्डलीको प्रतिवेदनमा यसरी प्रस्तुत छ ः निणर्ायक मण्डलीमा वरिष्ठ साहित्यकार र नेपाली भाषा-साहित्य वाङ्मयका प्रकाण्ड विद्वान् श्री नगेन्द्र शर्मा (काठमाडौँ), लेखककवि लोकनाथ उपाध्याय चापागाइँ (सिलगढी), वरिष्ठ साहित्यकारपत्रकार र हिमालय दर्पणका भाषा-साहित्य फाँटका सम्पादक युवराज काफ्ले (सिलगढी), वरिष्ठ लेखक निबन्धकार र पूर्व विधायक तुलसी भट्टराई (सिलगढी) र साथै साउतीका सम्पादक-प्रकाशक वरिष्ठ लेखक नाटककार मुक्ति उपाध्याय बराल (सिलगढी) । यी पाँच जनाको निर्णायक मण्डलीले निर्णय गरेर साउतीका यस अङ्कमा समावेश गराएका यी कविताहरूले प्रवुद्ध पाठक र श्रोतालाई नयाँ अनुभूति प्रदान गर्नेछन् भन्ने आशा गर्दै अनि सम्पूर्ण हास्यव्यङ्गय कविहरूलाई आन्तरिक शुभेच्छा अघि सार्दै यो प्रतिवेदन टुक्र्याउँदछु ।
यस अंकको आरम्भमै विभिन्न क्षेत्रका तीनजना दिवंगत आत्माको स्मरणमा पुष्पार्पण गरेका छन् सोफिया शर्मा, एल कान्त सुके-चम्पासरी र रत्नादेवी शर्मा (सुब्बा) को परिचय र योगदान अंकित छ । भूकम्प विषयको सम्वेदनालाई आन्तरिक गुहार भन्ने शब्दले कसरी छोएका छन् मलाई धरणीधर कोइरालाले प्रयोग गरेको गुहारको उचित प्रयोगको सम्झना हुन्छ । डुबेको समाज उठाउन उनले गुहार दाजु भाइ गुहार भनेका थिए ।
यसपालिको एउटा महत्वपूर्ण कुरा यहाँ श्री लीलबहादुर क्षेत्रीको समालोचना परेको छ, निकै लामो र सटीक । दान खालिङबाट आरम्भ भएको यो विशेष स्तम्भ लीलबहादुर क्षत्रीसम्म पुगेको छ । यसो हेरेँ त्यसपछि ता यो गोविन्दराज भट्टराई पनि जोडिने छ भन्ने आशाले यति गरेको हुँ । यो १२ वर्षे यात्राले एक गौरवमय इतिहासको स्थापना भइसकेको छ । उनै तुलसी भट्टराईको सभापतित्वमा यो समाप्त हुन्छ ।
गर्दै लाँदा अन्त्यमा यसपालि यो कडा काम आफ्नै काँधमा आइलाग्यो । ११ वर्षको विस्कुन त फिँजाएर कसो कसो चलाएँ अब विट मार्नु कति सारो छ नि । आयोजकको भनाइ राख्ने निहुँले गाम्नागेले विताएरै छोडेका छन् । त्यसमा घान हाल्ने मुक्ति उपाध्याय बराल समेत छेउमा लाठा बोकेर उभिएकाले मलाई त्यता प्रवेश गर्न निकै डरलागेको छ । त्यतिले नपुगेर साउतीका ब्राण्डेड सभापति तुलसी भट्टराईको छेउमै अर्का सहसुर व्यक्ति अर्जुन पराजुली पोजिशन बनाएर बसेका छन् । यसरी अनेक प्रकारको योद्धा देखेपछि मलाई छोडौं कि भिडौं भन्ने द्विविधाले छोपेको पनि छ ।
लगायतका धेरैजना महसूर उभिएको ठाउँमा मैले बोल्नु अनर्थ पो हुने हो कि । त्यसो त यो समीक्षाको मैले उसै रहर गरेको हुइनँ । एकदिन सम्पादकजीले फकाउँदै भन्नु भो-गरौँ सर गरौँ, जोडतोडले समीक्षा गरौँ । यसबाट के कत्रो लाभ हात परेछ भन्ने कुरा अन्त्यमा थाहा हुनेछ / दमक बजारमै आएर उनले यसो भनेका थिए ।
यी शब्दले म हौसिएँ र ठानेँ अलिकति कमाई अवश्य हुने रहेछ । कविता संख्या यसपालि १७ थान जसमध्ये पुलिङ्गी लेखक ११ जना स्त्रीलिङ्गीहरू छ जना छन् । उही एक तिहाइ अर्थात् झण्डै साठी चालीसको रेसियो छ । तर नारी स्रष्टा एकदमै ज्वालिस र खपिनसक्ना छन् । तिनका प्रहारले कति ठहरै होलान् भन्ने भय पनि छ ।
गायत्री परिरोशनीले आफ्नै जातीय चरित्रलाई हिर्काइन् । ता पनि तिनीहरूका तिघ्रामा भनेजति सुम्ला उठेनन् जस्तो लाग्छ । जयन्ता पोख्रेलले भने एक आदर्श भिनाजुको चरित्र प्रस्तुत गरेर एक खालको रड्डी टाइपका पुरुषलाई सखापै पारेकी छन्। यस्तो भिनाजु व्यक्तिविशेष भन्दा पनि टाइप हुन् । सुमी लोहनी र गायत्री परिरोशनी दुवैले मास कल्चरलाई उपहास गरेका छन्; दुवैका बीच धेरै समता छ। किनभने राष्ट्रिय चरित्रकै निन्दा वा उपहास छ । हरिकला उप्रेतीको रचना पनि त्यही हारमा छ । राष्ट्रभित्र खेल्ने अनेक कुतत्वको भण्डाफोर यहाँ अलिक तीक्ष्ण छ । हरिमाया भेटवालको पनि राष्ट्रको साझा चरित्रमाथि व्यङ्ग्य र उपेक्षा छ । वास्तवमा फोस्रो व्यक्तिवाद भिरेर हिँड्ने मुसाहरूले भित्रभित्रै यसरी राष्ट्रमा छौंड पार्दैछन् :
ढाकाटोपी लौरो टेकी दार्जेलिङतिर लागे
पासपोर्ट जति अझै पर खाडीतिर भागे
टाईसुट जति पजेरो चढी चाइनातिर लागे
अस्पतालले माइकिङ गर्दै तातो रगत मागे
(कठै मान्छे…)
अन्त्यकी स्रष्टा हुन् गान्टोककी उषा शर्मा । भिनाजू जस्तै कविताका मूल पात्र छन् एक कविवर । यस कवितामा एक भुक्तभोगीले सुनाएको कविको मर्म छ । झण्डै खुस्केको जस्ता कवि परिवारलाई कविता बोलेर बोर गर्छ । यसरी तीन नारीले पुरुष वर्गका प्रतिनिधि पात्रलाई गोबरमा चिप्ल्याएका छन् तीनवटीले राष्ट्रिय चरित्र देखाएका छन् । लेडिज फष्ट, नारी पहिले । छजना यसरी छ वटी देवीको पूजा गरेर अब भाले कवितिर लाग्न चाहन्छु ।
पहिला देखिका अर्जुन पराजुली बहुत कडा र निर्दयी कवि हुन् । उनले अनेकौँ वर्षदेखि दयामाया नराखी देशको सरकारलाई शरम मर्नु पारेका छन्; त्यो चलाउने व्यक्तिलाई तोजहरान पारेका छन् । देशका ठोगदार दलाल सबै त्यसै तर्छेका होइनन् ।
चट्याङ माष्टर नेपाली व्यंग्य कविमा एक अग्र पंक्ति हुन् । उनले बोलेपछि सुन्नेको परान खुस्काउने कलाले उनी वशीभूत छन् । उद्योग नखोल् पार्टी खोल् भन्ने कवितामा उद्योग खोल्ने र पार्टी खोल्ने बीचको संवादको तीव्रता बडो कटिलो छ :
कर्तव्यका कुरा गर्लास्, ऊ अधिकारका कुरा गर्छ
काम सिकाउलास् ऊ सिद्धान्त सिकाउँछ
तँ अनुशासन खोज्लास् ऊ त्यसमा दमन र दासत्व भेट्छ
व्यक्ति व्यवस्थाका कुरा गर्लास्,
ऊ राज्य व्यवस्थाका कुरा गर्छ
ए बाबु, घुस र करको चेपुवामा परेर मर्लास् है,
उद्योग नखोल, पार्टी खोल्
(उद्योग नखोल् पार्टी खोल्)
टंकराज पनि सिस्नोपानी दलकै एक सुपर हिट हस्ती हुन् । चरित्र समाप्त गर्दै लगेका मस्तिष्कशूण्य नेपाली जातिलाई आह्वान गर्दछन् आऊ मिलेर घाँस चरौं । त्यसपछिका तेजपुरका दीपक दवाडी भने आन्द्राभुँडी बटार्ने गरिको हाँसो उठाउँन सफल छन् …
लोग्ने मरेको उहिले भन्छेस्
काखमा छोरो छ त !
आइमाई भन्छे..
लोग्ने पो मन्यो
मरेकी छैन म त !
(हास्यव्यङ्ग्यः केही मुक्तकहरू)
आफ्नो उच्च कलाले मान्छे उफार्ने कवि धीरेन्द्र प्रमर्षिको पनि नेपाल शहरमा ठूलो हल्ला छ । उनको व्यङ्ग्य कला कहिल्यै नथाक्ने गला मिलेर धेरै वर्षदेखि मान्छेलाई थला पार्दै आएका छन् । फित्कौली जस्तो (हास्यव्यंग्य प्रधान) पत्रिका चलाउँदै आएका नरनाथको लामो योगदान छ । उनी नरम चिप्लो जान्दैनन्, त्यसैले मान्छेलाई थला पर्नेगरी हान्दैछन् । यहाँ पनि राष्ट्रसेवकहरू उच्च पदस्थहरू देशपालक महापुरुषहरूको चरित्र गान गरेका छन् । अहिलेसम्मका सबै रचना राजनीतिक व्यङ्ग्य हुन् भने प्रेम ओली ढकलपुरेले चाहिँ एक सांस्कृतिक व्यंग्य लेखेका छन् । उनको बाको श्राद्धमा हाम्रा अन्ध परम्परामाथि प्रहार छ ।
डा. बम्बहादुर थापा जितालीले ’आलु’ शब्दको व्यङ्ग्यार्थ दिई हाम्रो देशको सामूहिक चरित्र नै आलुमय भएको चित्र दिएका छन् । लक्ष्मण गाम्नागेको व्यंग्यकला, अत्यन्तै सूक्ष्म र थलान्तक छ । तीन दशकदेखि खारिएर आउँदा आउँदा अब उनी पछि फर्किन नसक्ने आशनमा पुगेका छन् । उनका लिखित-वाचित दुवै कलाले धेरै मान्छे मुर्छा परेका छन् । उनी वर्तमान हास्यव्यंग्य अभियानको एक शीर्ष व्यक्तित्व हुन् प्रस्तुत रचनामा हाम्रो जातिको खोक्र्याइँ र वृथा आडम्बर देखाएका छन् । हाम्रो हुंकार यस्तो छ :
हामी यहीँको यहीं लुटेरा रोबोट जोडेर
पेट्रोलपम्पलाई पैसा लुट्ने भाँडो बनाउन सक्छौँ
कसका पिताको तागत हामीलाई रोक्ने
नयाँ नयाँ आविष्कारहरूको बाटो छेक्ने
हामी यहीँको यहीँ सलाई कोरेर
शहरमा आगो बाल्दिन सक्छौँ
हेदहिदै मुलुकको सरकार अहिल्यै ढाल्दिन सक्छौँ
हामी सक्छौं
हामी सक्छौँ सक्छौँ सक्छौं
(हामी सक्छौँ सक्छौँ सक्छौँ)
सिलगढीका लोकनाथको शुरुतिर एक अंश उद्धृत गरेको थिएँ । यस अंकमा उनले नोबल प्राइजको परिकल्पना गरेका छन् । विपनामा त्यो असम्भव छ किनकि साहित्यकारभन्दा अरु धेरै बाठा र लुटाहा बाटैमा उभिएका छन् । बरु सपनामा आशा गर्न सकिन्छ । त्यसपछि खर्साङका सुदर्शन अम्बटे आउँछन् । मुक्तक लहरी लिएर नारीले लेख्ता पुरुष नै बाधक, बाङ्गो र नमिल्दो देख्छन् र अधपिल्टे पार्छन् । पुरुषले देख्ता नारी खासगरी लोग्ने स्वास्नीका अडबाङ्गे सम्वाद धेरै आउँछन् । सधैँभरि सँगै त यिनै हुन्छन् तसर्थ एकअर्काको स्वभाव खोस्रेर धुलो उडाउन जान्दछन् । बडा राम्रो हाँसो र व्यङ्ग्यको रमरम उनकोमा गहिरो छ जस्तै :
अचेल मेरी श्रीमती
भाले मौरी जस्तो भइसकी
मह पार्न त परै जावोस्
खील मात्रै गाड्न जान्दछे ।
(अचेल मेरी श्रीमती)
यसरी यसपालिको कर्म बडो उत्साहले सकेँ । अंक बारौँ परेको छ । मनमा अलिक शंका थियो आफ्नो भागमा ८-१२ परेछ । तर पनि एक दुई साथीभाइलाई भनिसकेको थिएँ- यसपालि सिलगढीदेखि आएको निकै गतिलो काम तह लाग्यो । काठमाडौको जाडोमा द्वारा किटेर त्यो गरें। कुछ होला जस्तो छ । कसरी काका ?-देब्रेले त सोध्यो ।
कसरी भनौ बाबु ! उतातिर डिमोनिटाइजेशन छ । पैसाको भेलु खत्तम छ / रातारात बोरीमा लोठ भरेर नालीमा फ्याँक्छन् अरे । इलिगल नोट कता गाडौं भा’छ। यस्तो बेलामा यता आफूलाई खर्चको शटेज । ससुराल जान नपाको दुई वर्ष भाए यार। यस्तो बेलामा मुक्ति दाइले भने गरौं है गरौं, केही त अवश्य भइहाल्छ । हाम्रातिर रुप्या लुकाउन नसकेर हैरान छ ।
त्यसपछि मरेर गरे । पुस लाग्नासाथ सात दिन सात रात गरेर यो काम सकी बुझाउदै भने दाइ समीक्षा ता यसपालिको दामी भाछ, खुल्ला मिहिनेत गरेँ । आजसम्म मैले कुनैमा यति परिश्रम गरेको थिइनँ, धरोधर्म /
त्यसपछि यसो मुक्ति दाइको अनुहारतिर हेरे झन् फुस्रो देख्छु । अन्त्यमा ओठको एकछेउ हाँसेजस्तो गरी दाइले भने- यो बहुत राम्रो भो । तपाईंको अब खूब नाम चल्छ। सिलगढी खर्साङ दार्जेलिङ हुँदै निकासीसम्म पाठकले थाहा पाउने छन्। गोविन्दराज भट्टराई क्या खुंखार व्यक्तित्व ! कसैलाई सोध्लान् अझै ज्यूदै छन् ?
यस्तो कीर्ति सुवास चल्नेछ । तपाईंले आफैँ कतै जानु पर्दैन । पानीटंकी नकटी निकासी पुगिन्छ । हेर्नोस् आफ्नो मान्छे भनेर यो चानस परेको तपाईंलाई फेरि पनि यस्तो समीक्षा कविता जे मन लाग्छ भन्नोस् म निशुल्क साउतीमा छपाइदिन्छु ।
त्यो सुनेपछि १२ वटा अंक पढाइ खर्च तीनदिन लेखाइ तीनदिन टाइपिङ त्यसपछि प्रूफ रिडिङ सबै हिसाब गर्दा रिँगटा चल्ला जस्तो भो । उनले माइतीमा फोन गरिसकेकी रहेछन्- यसपालि त सिलिगुढीको साढी र ओढ्ने मिल्ला जस्तो छ । तपाईंको ज्वाइँलाई एउटा प्रोजेक्ट आएको छ । उहाँ रातदिन घोप्टो परेको नौ दिन भो । त्यो चलाउन अलिकति पैसा पनि सापटी दिएकी छु । कैले सम्ममा आउला भाउजू ? अब प्रोजेक्ट सकिएपछि तिम्रा दाजुलाई उतै बोलाउने चानस छ ।
मंगलीको बिहेसम्म आए त म त्यही लाउँथेँ भाउजू, एकदिन त हो नि हुन्न र ? भइहाल्छ नानी तर रंग मिल्छ मिल्दैन । यसरी मुक्ति दाइको दशागरह बुझाएँ । त्यसपछि एक फोन छैन । त्यसैले उहाँलाई निराश पार्न केही शब्द लेखेरै छोड्ने विचार गरेँ । यो उत्तम कर्म छ । यसले साहित्यको एक विशेष विधामा लागेका एक विशेष स्रष्टा पाठकलाई जोड्छ । तर हास्यव्यंग्यमा हुन सक्ने शक्तिको दोहन हुन सकेको छैन । सामान्य ठट्टा र हल्का व्यंग्य हाँसोमा कलम ज्यादा गाडियो । एक परिहास शाखाको विभाग स्थापित यो । तर काव्य कविताको लेखको संरचनामा भित्रैदेखि पसेको हास्यव्यंग्य चढ्ने डाइरेक्ट भज्याङ देखाउनु पर्छ । बाह्रवर्षे तपस्या पूरा गरेका अथक साधक मुक्तिदाइमाथि यति प्रहार गर्न पाउँदा यो दुःखको पैचो तिरेँ जस्तो लागेको छ । मनमा ढुक्क छु । अब जो हुन्छ चूप रहन्छु ।
०००
११ पौष २०७३ त्रिवि, कीर्तिपुर
‘साउती’बाटै तानतुन
Subscribe
Login
0 Comments
Oldest







































