नन्दलाल आचार्यबुढेसकालको बाटो
हजुरबाले टोलाउँदै भने, "गाडीले गन्तव्य पुर्याउँछ, खुट्टाले जिन्दगी दिलाउँछ ।" पवनले एकटकले हेर्दै झिनो स्वरमा भन्यो, "तपाईंको अनुहारको मुस्कान नै त हाम्रो पाठशाला हो हजुरबा !"

नन्दलाल आचार्य
“बिहानदेखि नै खनजोत गर्दै हुनुहुन्छ, हजुरबा ?” पवनले आफ्नै थाप्लोमा हात राख्दै सोध्यो ।
“बिहानबिहान हल्लिनु पर्छ नि बाबु । यी हातगोडा थन्किए भने मन पनि थन्किन्छ, अनि शरीरलाई रोगले कब्जामा लिन्छ ।”
पवनले मुस्कुराउँदै भन्यो, “पानी ल्याइदिऊँ कि, तिर्खा लाग्या छैन भन्नुहुन्छ फेरि !”
“नलागे पनि पिउनु पर्छ बाबु, पानी नपिएरै त थुप्रै बुढा मान्छे झुक्किएका छन् र असली जीवन बाँच्नबाट चुकेका छन् ।”
“हिजोको भोजमा तपाईंले खासै खानु भएन, रुचेन कि क्या हो ?” पवनले अर्को जिज्ञासा उठान गर्यो ।
“रुच्न छोडेको होइन, अब पेटको शक्तिको कुरा छ । पचास कटेसी बानीको कुरा त्याग्नुपर्छ । थोरै खाँदा पेटलाई सजिलो हुन्छ, बुढ्यौली पसेका अङ्गप्रत्यङ्गलाई काम गर्न सहज हुन्छ ।”
“कहिलेकाहीँ साथीभाइसँग बजारसम्म त जानुहुन्छ । तर, किन हिँडेरै जानुहुन्छ ?”
हजुरबाले टोलाउँदै भने, “गाडीले गन्तव्य पुर्याउँछ, खुट्टाले जिन्दगी दिलाउँछ ।”
पवनले एकटकले हेर्दै झिनो स्वरमा भन्यो, “तपाईंको अनुहारको मुस्कान नै त हाम्रो पाठशाला हो हजुरबा !”
०००
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
२०८२/०३/०७










































सुन्दर बुढ्यौली कथा !