दीनानाथ पाेखरेलबा ! (काव्यअंश- ६)
आई काल चपाउँदो छ मनुवा भेटिन्न कैल्यै तर । जान्ने विज्ञ बडो भनोस् मनुजले त्यो काल को देख्छ र ? खोजी गर्न जुटेँ खटेँ हरघढी यो चाल निम्जो भयो । पोखेँ तर्क अनेक स्रोत बटुलेँ रित्तो निशाना छ यो ॥

दीनानाथ पोख्रेल :
खाना खान सकिन्न त्राण तनमा राख्ने कसो के गरी ?
चिम्लन्छन् किन नेत्र दर्द छ बडो ? देखेँ दयाला हरि ॥
खोकी जोड थियो चिसो पथ हिँडी चिन्ता उहीँ पोखिए ।
जाँची विज्ञ बुझेर ओखतमुलो गर्ने गरेस् बोलिए ॥४५॥
छाती दर्द बढ्यो त्यहीँ हृदयले गाँठो बनायो अनि ।
छन् सङ्कष्ट बडा हियारतलमा यो हाल हेर्दा पनि ॥
आफू कालसमान दर्द तनका खेपेर सामान्य छ ।
कोही सन्तति दुख्नु कत्ति नपरोस् यो भाव प्राधान्य छ ॥४६॥
खोक्दै यो किन बस्छ ? ओखतमुलो गर्नै पर्यो लौ छिटो ।
मेरा दर्द र कष्टमा मन दिई बेकार लिन्छन् भुटो ॥
पापी रोग छिरेर कष्ट तनका आक्रान्त पार्छन् मन ।
खैनी कक्कड त्याग गर्नु बढिया भन्छन् बुझेका जन॥४७॥
लाग्छन् अर्वुद प्राणघातक बडा छन् रोग जेजे कडा ।
सूर्तीजन्य नसा सबै पर रहून् पीयूषझैँ छन् घडा ॥
यस्तो ज्ञान अमूल्य मिल्छ र कहाँ ?बाबा हराएपछि ।
उम्दा कर्म हुनेछ ज्ञान मनमा जागा गराएपछि ॥४८॥
जे होस् जेसँग आइयो अवनिमा भोग्नै छ मैले पनि ।
अर्काका अवहालमा मन गढोस् सेवा उज्यालो गनी ॥
कष्टैकष्ट छ यत्रतत्र भवमा योद्धा सरीको बनी ।
लड्दै मर्नुछ दृश्य छैन तर त्यो खाँदो छ मान्छे जुनी ॥४९॥
आफ्ना पूर्व क्रिया थिए चलन जे पूरा गराएपछि ।
आयो काल लग्यो गयो पर भयो त्यो प्राण चल्ने गति ॥
बाबाको तनमात्र साथ छ भनी आयो बितेको कुरा ।
भागी शान्तपना गयो पलकमै चिन्ता छ काट्ने छुरा ॥५०॥
आँखा बन्द भए डुलून् रवि शशी गल्दै गयो यो तन ।
जाऊँ सद्गत गर्न लाग्छ मन ता रोगी असाध्यै तन ॥
गर्ने कर्म रहेन शक्ति दिलमा घोचेर चस्काउँछ ।
हेर्दा मृत्यु हुनेछ झैँ क्षणिक यो के चाल झस्काउँछ ? ५१॥
आफ्नो चेतदशा घटी तल झर्यो अज्ञान बढ्छन् दर ।
मान्छे छौँ तर छैन सार्थक मियो रित्तो सरी भो घर ॥
झुल्के सूर्य खुलेन दृष्टिपथ क्यै कालो अँधेरो बढी ॥
पार्छन् नेत्र झरी दुखेर दिल यो उठ्दैन झैँ भो ढली ॥५२॥
लेखा छन् उनका अनेक हितका पक्रन्न यो चेतले ।
बढ्छन् मार्मिक भावना दिलविषे धोका दिँदा दैवले ॥
मेरा बा अघि नै बिते शिशु थिएँ बुझ्नै नसक्ने अरे ।
दोस्रा हुन् घरका बुबासम उनी पालेर हेर्ने हरे ॥५३॥
आई काल चपाउँदो छ मनुवा भेटिन्न कैल्यै तर ।
जान्ने विज्ञ बडो भनोस् मनुजले त्यो काल को देख्छ र?
खोजी गर्न जुटेँ खटेँ हरघढी यो चाल निम्जो भयो ।
पोखेँ तर्क अनेक स्रोत बटुलेँ रित्तो निशाना छ यो ॥५४॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































