दीनानाथ पाेखरेलसर्वोच्च बाबुआमा
आफूले कृत पक्रेर, अरूलाई हिँडाउँछन् । संसारभरका ज्येष्ठ, ज्ञान ज्योति फिँजाउँछन् ॥ के हो संसारको सार ?, सङ्लो जीवनपद्धति । सिकाए वृद्धले बाँच्न, पक्रियो ज्ञानले गति ॥

दिनानाथ पोखरेल :
धेरै समय लाएर, पाक्दछ्न् पोषिला फल ।
त्यस्तै ज्ञान दिने वृद्ध, नभुलौँ कर्मका बल ॥०१॥
मूलबाट बग्यो पानी, देख्दछन् जन तैपनि ।
जन्मिएको स्वयम् मूल, टोक्दछन् माकुरा बनी ॥०२॥
जगहीन हुँदा गेह, ढलेका देख्दछौँ तर ।
ज्येष्ठ जग नकारेर, घर के बन्छ सुन्दर ?०३॥
साना हामी हुँदा जल्ले, हेरचाह गरे खटी ।
उनैका खुसीमा ध्यान, ज्ञानी दिन्छ सधैँ डटी ॥०४॥
जराले रसको वर्षा, गर्दा वृक्ष बढे उता ।
आफ्नो फेद भगाएर, स्वयम् मूर्ख बनेँ यता ॥०५॥
बुझ्ने या नबुझी लड्ने, साथै छ चेतमा मति ।
बुझी ज्येष्ठ हँसाएमा, सप्रियो घरको गति ॥०६॥
हेला फोहोरको थुप्रो, माया, मान छ सुग्घर ।
वृद्ध हाँसून् सफाइले, बढाऊँ खुसीका दर ॥०७॥
बीजहीन भए केके, फलेका देख्तछौ तिमी ।
उम्रिएको भुले बीज, सत्यको भत्कियो जिमी ॥०८॥
बाबुआमाविना मान्छे, उम्रिएको कहाँ छ र ?
उनैका त्यागले हुर्केँ, सम्झी राखून् सधैँ घर ॥०९॥
वृद्धाश्रम लगी छोडे, पालो फिर्दा स्वयम् तिर ।
सन्तति सिक्दछन् यस्तै, फर्केर घोच्छ यो पिर ॥१०॥
चेतभित्रै छ अज्ञान, ज्ञान यो पनि साथ छ ।
चिनेर ज्ञान रोजेमा, सुयोग्य प्राप्ति हात छ ॥११॥
आमाको ममता पाएँ, बाबाको त्याग उच्च छ ।
सम्मान प्रेमले पाल्नू, आफ्नै दायित्वभित्र छ ॥१२॥
वृद्ध हुन् प्रेमका योग्य, तिरस्कार अयोग्य छ ।
पस्किऊँ मानसम्मान, यो कृत्य पुज्न योग्य छ ॥१३॥
विना ज्येष्ठ हुने वृद्धि, विश्वभित्र कहाँ छ र ?
उद्गम मूल ती हाम्रा, रमे रम्छ सधैँ घर ॥१४॥
आफूले कृत पक्रेर, अरूलाई हिँडाउँछन् ।
संसारभरका ज्येष्ठ, ज्ञान ज्योति फिँजाउँछन् ॥१५॥
के हो संसारको सार ?, सङ्लो जीवनपद्धति ।
सिकाए वृद्धले बाँच्न, पक्रियो ज्ञानले गति ॥१६॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































