विष्णुहरि पाैडेलबुढेसकालको थक्थकी
सधैँ रहन्न साथमा वसन्त,वैँस चक्चकी । अतीत वर्तमानमा नितान्त मान्छ थक्थकी । थला परे नि बिस्तरासँगै रहन्छ वासना । अशान्त चित्त शान्तिको उपाय हो उपासना ।

विष्णुहरि पौडेल :
बुबा चिनेँ, मुमा चिनेँ, चिनेँ सबै सहोदर ।
म जन्मिएँ, यतै भुलेँ, जगत् रहेछ सुन्दर ।
अतृप्त चाहना छँदै गली गयो कलेवर ।
चिरायु को छ ? सोधनी, गरेँ मिलेन उत्तर ।१।
गरिन्छ स्वर्गका कुरा, अनेक लोक छन् अरे ।
स्वरूप के लिँदै कता पुगिन्छ आखिरी भरे ।
विकल्प क्यै सुझोस् भनी गरिन्छ साधु-सङ्गत ।
विदेह रम्दछन् कहाँ ? कता गए तथागत ?।२।
मुहार हेर्न सक्छु म, दराजमा छ दर्पण ।
निधार पढ्नु के गरी, दिँदैन भाग्य दर्शन ।
हुँदैन छट्पटी खरो, छँदा जबान यौवन ।
बुढेसकालको व्यथा हुने अरण्य रोदन ।३।
इमान बेचियो हिजो, कमाइयो निकै धन ।
मुठी गएन दानमा, भएन ध्यान, कीर्तन ।
सकिन्न लान घाटमा, न जान्छ सासको सँगै ।
नखाइयो न लाइयो, कमाइ लाखुको मकै ।४।
शरीर, चित्त छन् दुवै गुलाब झैँ सुकोमल ।
कुरा छुरा बिझे गढे बहन्छ आँसु भल्भल ।
हुरी बतास ढाल्दछन् समस्त जीणर् पीपल ।
विना सहानुभूतिले विषाद हुन्न शीतल ।५।
सधैँ रहन्न साथमा वसन्त,वैँस चक्चकी ।
अतीत वर्तमानमा नितान्त मान्छ थक्थकी ।
थला परे नि बिस्तरासँगै रहन्छ वासना ।
अशान्त चित्त शान्तिको उपाय हो उपासना ।६।
निकास छैन उम्कने न चल्छ जादु मन्तर ।
प्रयाण ब्रह्मनालको न टार्छ कण्ठ जन्तर ।
शरीर पञ्चतत्व हो, चिदात्म हो अजम्बरी ।
समुद्र राम तार्दछन्, जपौँ सदैव श्रीहरि ।७।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































