भत्ता नदेऊ बरू
केले औषध किन्नु त्यो धनविना के मान्दछन् उत्सव मेरो राज्य छ भनेर गर्नु कसरी यो देशमा गौरव । सत्ताको मधुमासमा दिनदिनै भुल्दै छ तिम्रो मन बाबा हुन् मुटु सास तुल्य जननी भन्ने भुल्यौ धड्कन ॥
उत्तम विचार :
चल्दा हात र पाउ ससक्त रहने आमाबुवा कर्ममा
चल्दैनन् जब हातपाउ थलिँदा पर्छन् बडो मर्ममा ।
पर्दा राज्य रहेन यो मुलुकले मर्दा गरोस् उत्सव
भन्छन् ज्येष्ठ असाध्य दिक्क मनले चाहिन्न भत्ता अब ॥१।
नौला अड्चनका पहाड चुलिँदा चढ्नै नसक्ने भए
के हो राष्ट्रिय पत्र बन्छ कसरी बढ्दै गयो संशय ।
टोपी सान थियो झिकेर भनियो फोटो खिचाऊ जब
भन्छन् ज्येष्ठ असाध्य दिक्क मनले चाहिन्न भत्ता अब ॥२।
आमाका गहना फुकाल्न भनियो पोते र मुन्द्रीहरू
गद्धा आशनमा बसेर नभुलौँ राडी र गुन्द्रीहरू ।
सारा जैविक कार्डमा जकडिए जो गोप्य आफ्ना थिए
नेपालीपन झल्किने छ कसरी नेपाल नैँ बेचिए ॥३।
केले औषध किन्नु त्यो धनविना के मान्दछन् उत्सव
मेरो राज्य छ भनेर गर्नु कसरी यो देशमा गौरव ।
सत्ताको मधुमासमा दिनदिनै भुल्दै छ तिम्रो मन
बाबा हुन् मुटु सास तुल्य जननी भन्ने भुल्यौ धड्कन ॥४।
छैनन् सन्तति साथ बाहिर गए होला भनी आर्जन
छैनन् उद्यम चल्न मुस्किल भयो यी वृद्धको जीवन ।
चर्को व्याप्त अभाव खप्न नसकी भन्छन् अकालै मरूँ
आफ्नो भोट बढाउने लहडमा भत्ता नदेऊ बरू ॥५।
०००
काठमाडौं
सुन्दर सिर्जना । हार्दिक नमन !