
वृद्धका जिन्दगानी
नजिक नजिकबाटै वृद्धका दुःख देखें सकस रुमलिएका शब्दले काव्य लेखें घरिघरि सब लेखून् वृद्ध गाथा कहानी सुखमय अब बनाेस् वृद्धका जिन्दगानी ।।

इन्दिरा प्रयास :
न त महसुस गर्छन् राेग लाग्दा थकानी
पुलकित मन पार्दै निख्रियाे त्यो जवानी
सुख र सयल भन्ने अर्थ के हाे नबुझ्दै
अनवरत खटेका हुन् कसैले नसाेध्दै ।।
अलिकति पनि एक्लै खान खान्नन् नख्वाई
रमझम अझ के हाे खै बुझे आफुलाई
कदम कदम झुल्थ्याे बाध्यता थे अनेक
कठिन कठिन लाग्छन् जिन्दगी एक एक ।।
उकुसमुकुस बढ्छन् अन्त्य सम्झी मलाई
धुरुधुरु मन राेयाे सम्झिदा सत्यलाई
सहृदय पनि छैनन् आँशु लाग्छन् मुहान
विरह बहुत बढ्छन् मध्य राती बिहान ।।
कति दशक छ हाेला आयु पट्यार लाग्दाे
नियति पनि सधैं लाग्ने दुखाएर भाग्दाे
तनमन सब गल्दै जान्छ व्याथा बढेर
मनुज किन नबुझ्ने वृद्ध बेला पढेर ।।
घरिघरि घरकाे बाटो निहाल्छन् ढुकेर
विगत झलक घुम्छन् याद रुन्छन् लुकेर
सकस पल उनैको याद बढ्छन् सचित्र
सकल समय खर्चे ख्याल गर्दै विचित्र।।
कपट रहित माया निर्झरीका समान
सलल सलल बग्छन् स्नेहका ती मुहान
जव थकित बनी खाेक्छन् उनी राेग लागी
करकर हुन थाल्यो बाहिरिन्छन् अभागी ।।
नजिक नजिकबाटै वृद्धका दुःख देखें
सकस रुमलिएका शब्दले काव्य लेखें
घरिघरि सब लेखून् वृद्ध गाथा कहानी
सुखमय अब बनाेस् वृद्धका जिन्दगानी ।।
०००
सानाेठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest