कविराज घिमिरेबाबा
हुन् शक्तिका पुञ्ज बुबा सबैका खोसेर टाढा नलगुन् कसैका संसारका सार बुबा भनेर सन्तान आश्वस्त बनौँ चिनेर ।

कविराज घिमिरे :
यो सूर्यको ताप भएर डेरो
लाग्दै छ कालो दिनझैँ अँधेरो
जाँदै छ झन् दूर उता पँधेरो
बाबा हुँदैनन् जब सामु मेरो ।।१
बिर्सिन्छु मैले करवरा सिकेको
मस्तिष्क खालीसरि भो झिकेको
छन् वेदनाका दहमाथि चाङ
बाबाविना आतुर बन्छ आङ ।।२
बन्दो छ निस्पट्ट स्वयम् घडेरी
कौमार्य उत्साह भयो खडेरी
छन् बिघ्नबाधा बलिया भएका
बाबा हुँदा पूर्ण थिए दबेका ।।३
आत्मा भयो शून्य मलीन जाबो
आवास नासिन्छ ढलेर खाँबो
यो जिन्दगीको गहना उतार्दा
पाइन्न बाबा अब ता पुकार्दा ।। ४
ती शैल झन् आज दबेर झर्छन्
पाखा पखेरा पनि दुःख भर्छन्
पानीविनाका नद छन् बिहाल
खोजेर बाबा नगरुन् कुचाल ।। ५
हुन् शक्तिका पुञ्ज बुबा सबैका
खोसेर टाढा नलगुन् कसैका
संसारका सार बुबा भनेर
सन्तान आश्वस्त बनौँ चिनेर ।। ६
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































