रामशरण न्याैपानेछन् वृद्ध ओछ्यानमा
सम्झी यो सपना हरे ! कपुतको साह्रै रिसाए बुढा गग्रेटोतिर नीर खान बिचरा टेक्दै हिँडे ती घुँडा भन्छन् वृद्ध खुबै निराश मनले गोडा बने यी डुँडा पत्नीले अनि झट्ट सो बखतमा ल्याई बसाइन् मुढा॥

रामशरण न्यौपाने :
गोडाको उपचार गर्न नसकी छन् वृद्ध ओछ्यानमा
जोत्दाखेरि हलो पसेर सुइरो घाहा बन्यो ज्यानमा
केही काम गरेन झारफुकले बेसार दल्दा जति
पैसा छैन र अस्पताल नजिकै छैनन् गरौँ ओखती॥१
भन्छन् मानिसले भयो सइन रे बन्दैन जाती अब
होला काम कसो गरेर घरको चिन्ता छ ज्यादा तब
बस्छन् पुत्र बधू उता सहरमा आउन्न भन्छन् घर
धान्नै आज गृहस्थ मुस्किल भयो टेवादिने को छ र?॥२
छोरो भन्दछ गाउँ गोठ घर यो चाहिन्न केही भनी
बस्छन् पुत्र बधु दुवै सहरमा अत्यन्त मोजी बनी
भन्दैछन् खुद राजतीति अहिले फुल्दैछ यो देशमा
मालामाल बनेर थोर दिनमै बस्छौँ ठुला ऐसमा॥३
लाग्छौँ दाम बटुल्न उच्च तहमा नेता रिझाईवरी
आफ्नै हात लिएर कानुन अरे बस्छौँ तहल्का गरी
होला सुन्दर शान्त कान्तिपुमा प्रासाद जस्तो घर
हाम्रा चाकर भै पछाडितिर नै हुन्छन् हजारौँ नर॥४
सम्झी यो सपना हरे ! कपुतको साह्रै रिसाए बुढा
गग्रेटोतिर नीर खान बिचरा टेक्दै हिँडे ती घुँडा
भन्छन् वृद्ध खुबै निराश मनले गोडा बने यी डुँडा
पत्नीले अनि झट्ट सो बखतमा ल्याई बसाइन् मुढा॥५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































