देवीप्रसाद मिश्रबुढ्याैली यात्रा
समस्यामा लड्दै प्रहर सुखका खाेज गरिए । अझै झन् अप्ठ्यारा,दिन नयनमा देखिन गए। छचल्केका तृष्णा सकल अधुरा छन् विवशले। खपेका छन् पीडा निशिदिन कठै ! वृद्धजनले।।

देवीप्रसाद मिश्र :
सदिच्छा वैलाई अब बलबुता छैन तनमा ।
सबै छाेराछाेरी परमुलुक छन् कार्यतहमा
बुढ्याैलीकाे यात्रा असहज भयाे ठान्छ मनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।१।।
त्यसै गाँज्याे हेर्दा अब प्रतिपला राेग छलले ।
भयाे साथी लाैराे अनुचर हुँदा दूर अहिले।।
सहाराको खाँचो अति छ सँगमा हुन्न धनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।२।।
निराशाकाे घारी परिधिबिचमा झन् लहरियाे।
त्यसैका हातामा अलमल हुँदा त्रास भरियाे।।
भए टाढा बस्ने अनुचर सबै हाय ! अहिले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।३।।
सदिच्छाका भारी अझ नबनिदा पूर्ण अघिका।
अनिद्रामा बित्छन् ,छटपट गरी रात कतिका।।
छ गाँजेको आफ्नाे विपुल तनमा राेग छलले ।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।४।।
समस्यामा लड्दै प्रहर सुखका खाेज गरिए ।
अझै झन् अप्ठ्यारा,दिन नयनमा देखिन गए।
छचल्केका तृष्णा सकल अधुरा छन् विवशले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्धजनले।।५।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































