डा. मुकेशकुमार चालिसेहामीलाई फुर्सद छैन, के गर्नु ?(१)
हामी सबैलाई थाह छ, बाहिरको काममा अवकास भनिए पनि नीजि तथा सामाजिक कामबाट अशक्त बाहेक कस्ले फुर्सद पाएको छ र ? मैले त पाको छैन । लौ, एकछिन यता तपाईंलाई थप बेफुर्सदी बनाउँ है त !
पाको उमेर भएपछि प्रायः मानिसहरू अब कामकाजबाट अवकास पाउँछ भन्छन् । एउटा उमेर पुगेपछि सङ्घ, सँस्था, कार्यालयहरूबाट उमेरहदले अवकास भनिने पत्र थमाउँछन् । लाग्छ, अब अमुक महिला वा पुरुष काम गर्न अयोग्य छ अथवा काम गर्नै सक्दैन । शारीरिक असक्षमतामा पनि मानिस बौद्धिक काम गर्न त अयोग्य सावित हुन ुनपर्ने ! सकृय रहँदै कस्ले र किन चलायो होला कामदार मानिसलाई ग्लानी हुने नियम ? हुन त अरुलाई पालो दिन होला ! बरु काम नै बढाएर सकुन्जेल काम लगाए त काम गर्ने पनि खुसी हुन्थे । पाका मानिसको ज्ञानबाट सम्बन्धित संस्थाले पनि फाइदा पाउने र नयाँ भर्तीले उनीहरूबाट काम सिकेर ज्ञान र शिपको पुस्तान्तरण पनि हुने । हामी सबैलाई थाह छ, बाहिरको काममा अवकास भनिए पनि नीजि तथा सामाजिक कामबाट अशक्त बाहेक कस्ले फुर्सद पाएको छ र ? मैले त पाको छैन । लौ, एकछिन यता तपाईंलाई थप बेफुर्सदी बनाउँ है त !
म आफूलाई लामो हिँडाई बाहेक सबै कुराले सक्षम भन्न रुचाउँछु । त्यसैले, घर वरपर नजिक र सवारीसाधनको सुबिधामा केहि टाढा पनि शयर गर्छु । हो, आराम गर्नु र बिसाई बिसाई परेको काम गर्न सक्छु र मलाई आनन्द लाग्छ । भन्न त भन्छन् उमेर पाको भएपछि कर्मेन्द्रिय मात्र होइन ज्ञानेन्द्रिय पनि कमजोर हुन्छन्, तर होइन रहेछ । आफ्ना त कान झ्न टाठा, आँखा झन रौँ पनि देख्ने र छाला तातोचिसो तुरुन्त थाह पाउने भएका छन् । त्यसैले त, अचेल झन फ्ुर्सद नै हरायो । धेरै मेरा दामली वा दौँतरी वा मभन्दा बरिष्ट पाका मानिसहरूलाई यस्तै होला भन्ने पुरा विश्वास छ । दैनिक भए पनि मलाई फुर्सदबिहिन बनाउने कामको फेहरिस्त क्रमैसँग सुनाउँछु ।
बिहान
यो उमेरमा सजिलै निन्द्रा लागे पो बिहान उठ्न नियमित हुन्थ्यो, तैपनि कोशिस जारी छ । फेरि राती लघुशङ्काले थपभार बनाएर निद्रा चैट, उस्तैपरे दुईदुई घण्टामा तारीख धाउनु पर्छ । अनि फेरि पुरानो बानी कुखुरोको डाँकमा निन्द्रा खुल्ने, छिमेकीको भाले शुभप्रभात भन्दै हाँक लगाइहाल्छ चारबजेतिरै । के चाहियो अब, यसो आँखा खोल्न कोशिस गर्यो, घरी दाहिने खुल्छ, घरी देब्रे । अब, मन नलागे खुलेको पनि बन्द गर्यो । आँखा नखुले पनि मनमा हिजोको काम, आजका काम अनि हुनसक्ने कामका हुण्डरी मडारिन्छ । थप कोठेसाथी छ भने उसको घुराईले बिहानीको मन्द तापक्र्मको सुताई बिगारी दिन्छ । त्यसो गर्दा नै घण्टौँ बित्छ । मनलागे नखुलेको आँखा खोल्ने प्रयाशमा केहि समय जान्छ । आँखा खोल्यो यति बिहानै गर्ने के ? होइन, जाड्जाडै छ भने हिजोदेखि राखेको तातो पानीको थर्मस कता छ भनि हेर्यो । आफैं नआउने क्रियानै खाएजसरी थर्मस त टस्मा मस हुँदैन बा । मलाई चाहियो भनेपछि आउनु नि ! नजिक गए त आज्ञाकारी छ, भनेअनुसार नै गर्छ । ज्या, उ त मुख आँआँ लगाएर जिस्किन पो खोज्दै छ ।
राती शौचबाट फर्केपछि तातोपानी अलिकति कचौरामा हाल्न खोलेँथेँ, खुल्लै पो रहेछ । अब के गर्नु ? पानी तताएर एक घुड्को पिउँदा त् मज्जै हुन्थ्यो । पानी तताउन उठ्नु पर्यो, अर्को साथी कोठामा भए पनि घुरानमा छ, कस्तो फसाद ! मनतातो पानीको तृष्णा लागिहाल्यो, अब मन बेचैन, बिस्तारै खुट्टा कता छन् तन्काउने प्रयाश गर्यो । हात ओढ्ने बाहिर निकालेर सोच्यो, कोठाको तापक्रममा उठन त सकिएला कि ! निश्चित नगरी उठ्न पनि त् भएन, केही भए को जिम्बेवार ? आफ्नो सुरक्षा त आफैं गर्नुपर्यो नि । निकै सोचबिचार गरेर उठ्ने बिचार आएपछि थप लुगा हेरेको अलि परतिर मलाई हेरेर झुण्डिरहेका रहेछन् । उठ्ने थाहा पाएपछि ओच्छ्यानमै आइदिए हुने नि ! के हेरिरहेका होलान् ? म उठेको चाँहि थाहा पाएको जस्तो गर्छन् तर एक बित्ता सर्दैनन् । जसोतसो उठ्यो, अनि लगाउनलाग्दा चाहिँ खुसिखुसी आआफ्ना ठाउँमा मिलेर बस्छन्, खुट्टातिर खुट्टै जान्छ, हात हाततिर । अब, फेरि सुद्धपानी, तताउने भाँडो र बाल्ने जिनिसको व्यवस्था गर्नुपर्यो । पानी तताउने भाँडो बडो बिनयपूर्वक हेरिरहेको थियो, कहिले आदेश देला र तुरुन्त काममा लागुँला भनेर । चिसो पानी खोत्याई दिएर त्यस्को निधारमा भएको ‘सुरु’ भन्ने थिचिदियो, बस् । आज्ञाकारी छ, एकैछिनमा सुसाउन थालिहाल्छ । अहा, चिसोचिसो मौसममा तातो पानीको क्या मज्जाको आनन्द ! घाँटी साफ्, पेटको वायुसमन, अझ प्रभाव त निन्द्रा लाग्ला जस्तो पो हुने ।
‘ए, खालीपेटमा किन तातो पानी, भन्दै परिवारका एकजना आएर कालो चिया दिए । एक सुरुप्प के पारेथेँ, अर्कोले फेरि कालबेला अनुसार जडिबुटी र सख्खर हालेको चिया पो फइदा हुन्छ उहाँलाई भन्दै ल्याए । म परिवारको मायाले पुलकित भई हत्तरपत्त नसक्ने हातले कप लिएर सुक्र्याउन लागेको हातैमा पर्यो ।’ आत्था भन्दै उठेँ, तन्द्रा लागेछ, एक्लै लम्पटासनमा, तन्द्रा पनि मजै आउने भन्या ।
गर्दाभन्दा भालेले पाँच बजेपछिको डाँक लगाई हाल्यो । सुतौँ, भुसुक्कै भएर सात बजेको औषधी छुट्ला भन्ने पिर, नसुतौँ कति आनन्द आको भन्या ! दोमन दोमनमा कुरा खेल्दाखेल्दै छ त बजि सकेछ । अब एक घण्टालाई के सुत्नु, सात बजे औषधी खानुपर्यो नि ? ए बाबा ! मगजमा कुरा सगसग रगरग गरेपछि त सोच्ने काम गर्नै पर्यो । बरु त्यतिन्जेल जाँगर लागे परिबारलाई पानीको व्यवस्था, ट्याङ्की र ईनारतिर पानी के छ ? त्यो पनि हेर्नु पर्यो । हुन त, आजकालका आठ नबजी के उठ्लान् ! सात बजेपछि हेर्छु । भन्दाभन्दै सात त बज्न लाग्यो, आफ्नो औषधी खाएर, यसो बाहिरी थप लुगा लगाउन उठ्छु । एकछिन भए नि श्वास फेर्न दियो, थिचेर मार्नै लागिसक्यो भनेझैं ओच्छ्यान चर्याक्क गर्छ । म पनि ‘तुरुन्त आउन्न तन्किराख’ भन्छु, मानेझैं चुप रहन्छ । उठ्यो, फेरि लुगा राखेको ठाउँमा पुग्नुपर्यो, तँ चिता म पुर्याउँछु भन्ने कोही ओल्टोकोल्टो भए पो, सबै आफैं गर्नुपर्छ, अनि फ्ुर्सद हुन्छ भन्या ? फेरि पानी तताउनु लगायत कति गहन चिन्तन पलपलमा गरेको छु ।
अठोटेको काम सकेपछि भान्छातिर गयो, बेलुकाका जुठा भाँडा रैमट्ट, आँ गरेर मलाई पो हेर्छन् । बुझ्ेँ भन्दै माझ्ने ठाउँतिर सङालिदियो, खात लागेर खुसीहुन्छन् । अरु ढिलो उठलान्, के खाने हुन् टुङ्गो छैन । चियाको पानी, दुध र भाँडो एकातिर अलग्याईदियो, र्देिखएका तरकारी धोई पखाली एकातिर राखिदियो । आठ पो बज्न लागिसकेछ । अरु उठेर ‘काम छैन, के मिस्मास पारेको फेरि’ भन्लान् भनि लाग्यो आफ्नो लम्पटासन कक्षतिर । कोठासाथी मेरो आईजाईको बिरालो चालले पनि बाधा भएझैं चलमलाउँदे उठ्छन्, ‘आज के भएछ, निन्द्रै लागेन बिहानीपख सुतेको’ भन्दा हिजो मभन्दा अघि घुरान सुरु गरेको सम्झें । राती शौच गर्न उठ्दा मस्त आधुनिक सङ्गीतबद्ध लयमा अर्को सुर सुनेको थिएँ र बिहान म उठ्दा अर्को थरी । ओल्टोकोल्टो गर्दा फरकफरक घुरान नै सुनेको म बबुरोको झण्डै खित्का छुटेको । तर केहि भन्ने आँट नभए पनि ‘ए, थाह नै पाईन्’ भनि लोली मिलाउँछु ।
एकछिन सुस्ताएर बिहानको कलिलो घाममा ढाड सेकाउन जाउँ कि भनेर सोच्दै थिएँ, चिया बास्ना फैलाउँदै कोठा प्रवेश गर्यो । अब, पाएको कुरा तात्तातै बुत्याउने जमर्को नगरे केहि हुनसक्छ भनेझैं समाती हालेँ । मरिच र तेजपात मिस्सिएको चिया सुरुप्प पार्दा त के भन्नु ? सन्तोष नै ठूलो । अनि अगाडिको दैनिकीबारे चिन्तनमा लागेँ । यसो दीर्घसङ्काको प्रयाश, अनुहार धुन र मुख खोकल्न त परी हाल्यो । त्यस बेलासम्म एकसरो बिहानको खानाको (दाल, भात र तरकारी) जनाउ आउन सक्छ तलमाथि नपरे । समय अड्कलेर र अरुलाई अप्ठ्यारो नपारी कसरी काम फत्ये गर्ने भन्ने त योजना बनाइरहनु पर्यो नि । नत्र आफैंलाई सास्ती हुन के बेर ?
जानीजानी दुख पाउनु त म जत्तिको पाकोले भएन नि ! अरुले ‘कता छु’ भनि थाहा पाउने गरेर ती काम पनि सम्पन्न गरी कोठाकै घाम आउनेतिर बसी उप्रान्तका कामबारे निमग्न हुनथाल्छु । आज खानापछि औषधि खाएर आई एकछिन आराम अनि एउटा लेख लेख्ने मसला फुरेको छ, टिप्नु पर्ला । मनका कुरा मनमा नै राखे कस्ले थाहा पाउने ? मेरा कुरा अरुलाई काम लाग्ने पनि त हुनसक्छन्, कम्तीमा मजस्तैलाई । बरु कुन लय र तालमा लेखौँ, त्यो चैँ छनोट राम्ररी गर्नुपर्ला । के विषय भन्ने पनि महत्व राख्छ, त्यसमा पनि हेक्का राख्नु पर्छ । अँ…. ‘के टोलाई राख्या, उहाँ भान्छा तयार भइसक्यो रे । घरका मान्छे काममा जान हतार हुन्छ रे । चाँडै गाँस टिपेर आउनु नि’ को हकारले तर्सेर जर्याकजुरुक उठ्न खोजे पनि सक्तिन र हातले भित्तो समातेर उठ्छु । साँच्चै, गाँस छुट्ने त भयङ्कर सङ्कट नै हो नि यो उमेरमा ।
भान्छामा कि खटाएको ठाउँमा कि अरुलाई बाधा नपर्ने गरेर एकातिर बसेर पाको खवाई समय लगाएर गर्छु । कतिपय बेला अरु खाएर बाटो लागिसक्छन् । आफू मतापले खान्छु अनि दिउँसोलाई चाहिने पानी एउटा नीजि बोतलमा हालेर लस्किन्छु प्रिय शयन कक्षतिर । औषधि सेवनपछि आराम गर्छु । अहिलेसम्म अरु काम गर्ने फुर्सद त निन्द्रा खुलेदेखि पाएकै छैन त्, के गरुँ ? लौ भन्नुहोस् त, बिहान चारबजेदेखि मलाई फुर्सद कहिले देख्नु भयो ?
क्रमशः …..
लेखकका यस्तै सामग्रीहरू
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाइन, २०२१ नेभेम्बर २७
२. हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाइन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाइन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाइन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाइन, २०२२ फरवरी ९
ल.पु. चालिसेडाँडा
Subscribe
Login
0 Comments
Oldest



































