साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली : आत्मसमीक्षाको क्षण

बुढेसकालीन जीवन भोगिरहेका जो कोही पनि वृद्धवृद्धाले यतिखेरको यस बुढ्यौली समयलाई चिन्ता र छटपटाहटको पट्यारलाग्दो क्षणका रूपमा नलिएर आत्मसमीक्षाको सुनौलो अवसरका रूपमा लिनुपर्छ ।

Nepal Telecom ad

वासुदेव गुरागाईं:

कतिपय मान्छेहरू भन्छन् – ‘बाल्यावस्था र वृद्धावस्था उस्तै हो । स्वभावका हिसाबले बालक र वृद्धवृद्धा उस्तै हुन् । यी दुवै अरूका सहारामा बाँच्छन् । आफ्नै बलबुताले केही गर्न सत्तैmनन् । जो सक्षम छन् उनीहरू तिनैलाई पिर्छन् ।’

बुझेर वा नबुझेर पारम्परिक रूपमा यसो भनिँदै आइएता पनि यी दुई बालक र वृद्धवृद्धाबिचमा स्वाभाविक रूपमा समानताभन्दा भिन्नता बढी छन् । सोझो अर्थमा पनि बालक र वृद्ध यसै पनि फरक विषय हुन् । त्यसमाथि उमेरगत हिसाबले पनि यी दुई प्रस्ट रूपमा फरक छन् । स्वभावका हिसाबले मिहिन रूपमा विश्लेषण गर्दा थोरै समानता भेटिए पनि यिनीहरूमा भिन्नता नै बढी पाइन्छ । प्रामाणिक रूपमा खोजी गर्दा यी दुईमा के भिन्नता रहेछ भनेर सर्वप्रथम त नेपाली भाषाको प्रचलित शब्दकोश नै पल्टाउनु सान्दर्भिक हुन्छ ।

बालकका सम्बन्धमा कोश भन्छ – केटाकेटी, बच्चा, नानी, शिशु, बालख, पुत्र, छोरो, अनजान मान्छे, नासमझ व्यक्ति । यसरी नै बाल्यावस्थालाई कोश यसरी परिभाषित गर्छ – सोह्र वर्ष नपुगेसम्मको अवस्था, बालककाल, बालकपन । बुढोका सम्बन्धमा कोशको मत छ – धेरै उमेर पुगेको, पचास नाघेको, वृद्ध, प्रौढ । बुढ्यौली शब्दका सम्बन्धमा पनि कोश बोलेको छ । उसको परिभाषा अनुसार बुढ्यौली भनेको बुढो अवस्था, बुढेसकाल, अनुभवले भरिएका उपदेश वचन र पारिवारिक नाता सम्बन्धमा लोग्ने, पति । यसरी बालक, बाल्यावस्था, बुढो, बुढ्यौलीका सम्बन्धमा खोजी र विश्लेषण गर्दा बाल्यावस्था र बुढेसकाल पृथक विषय हुन् । सामान्य स्वभावका आधारमा यी दुईको स्वरूपलाई एकै किसिमको भनेर विश्लेषण गरिनु सर्वथा उपयुक्त होइन । हठी याने कि जिद्दी स्वभाव, कचकचे प्रवृत्ति, अरूको सहारामा आहाराको खोजी, र्‍याल, सिँगान र अन्य किसिमका फोहोर व्यवस्थापन तथा नुवाइधुवाइलगायत सरसफाइका विषयमा परनिर्भरता, आसे आनीबानी जस्ता कतिपय अवस्थामा केही सामान्य समानता होलान्, होइन भने त्यहाँ असमानताकै अधिकता रहन्छ ।

भोक, प्यास, तिर्खा, आराम, खेलकुद, कुराकानी, रिस, क्रोध जस्ता विषय बालकमा पनि हुन्छन्, वृद्धवृद्धामा पनि हुन्छन् । तर फरक के हुन्छ भने बालकमा भएका यी अवस्था छिनभरका लागि हुन्छन् । ती आवश्यकता पूरा भएपछि ती चुपचाप हुन्छन् । त्यही विषयलाई मनमा खेलाइरहँदैनन् । रिस, क्रोध जस्ता विषय पनि क्षणिक नै हुन्छन् । एकैछिनअघि रिसाएका बालक एकैछिनपछि खुसाउँछन् र केहीबेर अघि रिसाएका कुरा बिर्सन्छन् वा त्यसलाई मनमा लिइरहँदैनन् । तर वृद्धवृद्धाहरूमा यस किसिमको स्वभाव हुन्न जुन बालकमा हुन्छ । जस्तो कि भोक, प्यास, तिर्खा आदि आवश्यकता भए पूरा भए पनि वृद्धवृद्धामा भरे कसले खुवाउला, भोलि कसले यसको व्यवस्थापन गर्ला, खानपानमा यस्तो भयो, उस्तो भयो । उसले खुवाउँदा वा दिँदा यस्तो हुन्थ्यो, गथ्र्यो तर उसले यस्तो गर्‍यो वा उस्तो गर्‍यो जस्ता कुरा मनमा पालिरहन्छन् । अनावश्यक विश्लेषण गरिरहन्छन् । वर्तमानको आवश्यकता पूरा भइसक्दा पनि भविष्यको चिन्ताले उनीहरूलाई गाँजिरहन्छ । अनावश्यक छटपटाहट पैदा भइरहन्छ । कसले माया गर्‍यो ? कसले रिस गर्‍यो ? जस्ता विषय पनि नजिकबाट नियालिरहन्छन् ।

केलाइरहन्छन् । बाह्य रिस, क्रोध जस्ता विषय पनि उनीहरू मनमा पालिरहन्छन् । लिइरहन्छन् । मौका पर्दा प्रसङ्ग भेट्ट्याउने वा मिल्नेबित्तिकै त्यसलाई ओकलिरहन्छन् । समय र सन्दर्भअनुसार पुनरावृत्ति गरिरहन्छन् । बाह्य रूपमा सामान्य जस्तो देखिए पनि भित्री रूपमा असन्तोष पालिरहन्छन् । उनीहरूमा पलाउने त्यस्तो असन्तोष घरव्यवहार र परिवारप्रति हुनसक्छ, टोल छिमेकीप्रति हुनसक्छ, समग्र समाजप्रति हुनसक्छ, राज्य र राज्यव्यवस्थाप्रति हुनसक्छ, विगत र वर्तमान अवस्थाको तुलना तथा सुखद भविष्यको चिन्ताका विषयमा हुनसक्छ । तर, बालकहरूमा भने वृद्धवृद्धाको जस्तो यस्तो स्वभाव पटक्कै हुन्न । कथङ्कदाचित विशेष स्वभावका बालकमा यस्तो अवस्था भए पनि त्यो अत्यन्त न्यून हुन्छ ।

अब बालकको प्रसङ्ग छाडेर वृद्धवृद्धाका विषयमा मात्र कुरा गरूँ । समग्र सारमा भन्ने हो भने वृद्धवृद्धाको बुढ्यौली समय भनेको आफ्नै विगतका अनुभूतिहरूको संस्मरणमा रमाउने वा कथा हाल्ने अवस्था हो । त्यस्तो संस्मरण वा कथासँग विद्यमान अवस्थाको तुलना वा विश्लेषण गर्नु हो । विश्लेषण सकारात्मक भए खुसी हुने र नकारात्मक भए चिन्तित हुने अवस्था हो । मैले यति गर्नुपर्ने थियो गर्न सकिनँ, उति गर्नुपर्ने थियो गर्न सकिनँ । फलानाले यति गर्‍यो, उति गर्‍यो मैले गर्न सकिनँ वा मैले यति गर्दा वा उति गर्दा उसले केही गर्न सकेन जस्ता भावनालाई ठेकीमा भएको दहीलाई मदानीले मथेजस्तै मानसिक रूपमा मथ्नु हो । देशका लागि मैले यति गरेँ वा मैले सम्पादन गरेका यति कामबाट राज्य वा सरकारलाई यति मद्दत पुग्यो, मैले यो वा त्यो काम बिगार्दा राज्य वा सरकारलाई यति हानी नोक्सानी भयो । मैले यसो गर्न नसक्दा छोराछोरीको यो अवस्था भयो वा मैले यति गरेको थिएँ र छोराछोरीले यति प्रगति गर्न सके वा यो अवस्थामा पुगेजस्ता विषय उनका मनमा व्यक्त वा अव्यक्त रूपमा उम्लिरहन्छन् । छड्किरहन्छन् । दायाँबायाँ कसले के भन्यो वा भन्लान्तिर त्यति ध्यान जाँदैन । एकसुरले अव्यक्त अवस्थामै गुनगुनिइरहनु बुढेसकालको विशेषता हो । समग्र समाजको अध्ययनले त्यही भन्छ, परिणाम त्यही देखाउँछ ।

बालककालको अर्थात् बालपनको आप्mनो सम्झनामा रहेसम्मका कुरा वृद्धवृद्धाका मनमा एकपछि अर्को गरी निरन्तर आइरहन्छ । नियमित खेलिरहन्छ । मिल्दोजुल्दो प्रसङ्ग आउनासाथ उनीहरू त्यस्ता कुरा मनमा उतारिहाल्छन् । तुलना गर्न थालिहाल्छन् । कारण उनीहरूमा फुर्सदीपनको उपलब्धता बढी हुन्छ । काममा लागेका मानिसमा विगतका यस्ता कुरा सम्झने र मनमा खेलाउने, त्यस्तो स्मरणलाई विश्लेषण गर्ने र चित्तबुझाइ वा चिन्तित हुने अवसर नै जुर्दैन । सायद त्यही भएर होला ‘खाली दिमाग सैतानको घर’ भन्ने आहान चलेको पनि । हुन पनि फुर्सदकै बेलामा हो अरूका कुरा काट्ने वा प्रशंसा गर्ने, अरूका कमी कमजोरी केलाउने र त्यसैका आधारमा धोइपखाली गर्ने, आफू हरहमेसा सज्जन र अरू हरहमेसा दुष्ट देख्ने, आपूmले गरेका सबै काम ठिक र अरूले गरेका सबै काम बेठिक देख्ने ।

कतिपय वृद्धवृद्धा विगतका समयमा ठुलो बिन्द्रालोमा रहेबसेका हुन्छन् । समयान्तरमा ती सबै कुरा हटेर अहिले एकाकी जीवन व्यतीत गरिरहेका पनि हुनसक्छन् । छोराबुहारी, छोरीज्वाइँ विदेश वा स्वदेशमै पनि अलग अलग स्थानमा वा एकै स्थानमा हुँदा पनि अलग अलग कोठामा आआप्mनो व्यवहार चलाइरहेका हुन्छन् । ‘मेरा सन्तान छन्, मलाई रेखदेख गर्छन्’ को खासै अनुभूति हुँदैन त्यतिखेर । यस्तो अवस्थामा एक्लै हुँदा आँखाबाट आप्mना पिरव्यथा निस्सृत गराउनुको खासै विकल्प हुँदैन उनीहरूसँग । त्यसैले त्यस्ता अवस्थामा प्रायशः सबै वृद्धवृद्धाको आँखा रसाएकै हुन्छ आँखामा शीतको स्रोत छउन्जेल ।

स्वाभाविक रूपमा फुर्सदकै बेला हो विगतलाई सम्झने । मानिसका लागि यस्तो फुर्सदको अवस्था भनेको बुढ्यौली, अर्थात् बुढेसकालको समय हो । जतिखेर ऊ शारीरिक रूपमा परिश्रम पर्ने ठुला काम गर्न सक्तैन । बौद्धिकता भए पनि त्यसलाई सही रूपमा उतार्न सत्तैmन । भावना व्यक्त्याइमा पनि अलमल वा दोहोरोपनको उपस्थिति रहन्छ । सहज स्मृति हुँदैन, समय समयमा विस्मृतिले गाँज्छ । शारीरिक रूपमा आपूm त कमजोर छँदैछ त्यसमाथि साह्रै अपवाद अवस्थामा बाहेक अर्काका दृष्टिमा पनि कमजोर र पृथ्वीको भार भएजस्तो अनुभूति हुने स्थिति पैदा हुन्छ त्यतिखेर ।

विरामी वा ओछ्यान परेकै अवस्थामा पनि विरामीका सामुन्नेमा केही हुँदैन, ठिक छ, आत्तिनुपर्दैन, उपचार भइरहेको छ, पहिलाको भन्दा निकै सुधार आएको छ, अनुहार फिरेको छ जस्ता सान्त्वना वा ढाडसयुक्त कुराकानी आफन्त वा अरू जो कोहीले गरिरहँदा पनि तिनै व्यक्तिहरू विरामीका पर्दापछाडि पुगेपछि विरामीको अवस्था ठिक छैन, रोगले च्याप्दै ल्याएको छ, ग्रस्त पार्दै ल्याएको छ, बाँच्ने सम्भावना निकै कम छ, सास छउन्जेलको आस मात्र हो, कति दिन दुःख पाउनु लेखेको छ त्यो भोग्नैपर्छ, विरामी त विरामी भयो-भयो अरू पनि विरामी पर्लान् भन्ने डर, यस्तो दुःख पाएर बाँच्नुभन्दा त बरु प्राण गएकै ठिक जस्ता कुराकानी गरिरहेका हुन्छन् । त्यसैले मानिसको यो बुढ्यौली समय भनेको विगतका आप्mना सुकृत्य र कुकृत्यका विषयमा आत्मबोध गर्ने समय हो । आत्मसमीक्षाको घडी हो । आप्mनो पराक्रम र पौरखका विषयमा विश्लेषण गर्ने समय हो । राम्रो, नरामो वा अरू के हो केलाउने पल हो । सुध्रिने अवसर नभए पनि सम्झने अवसर भने पक्कै हो । आप्mना र अर्काको भेद खोज्ने अनि माया र घृणा पस्कने अवसर हो ।

यी सबै कुरा सुन्ने कोही हुँदैनन् । सुने पनि त्यसबाट ज्ञान, सिप प्राप्त गरी स्वहितका पक्षमा उपयोग गर्न कोही तत्पर हुँदैनन् । फेरि अर्को कुरा जन्मदेखि वर्तमानसम्मका यी सबै कुरा विश्लेषणात्मक तरिकाले आत्मबोध गरिए पनि ती कुरा दोस्रो व्यक्तिमा सर्दैनन् । कतिपय सार्न हुने र कतिपय नहुने पनि हुन्छन् । जति व्यक्त हुन्छन् वा सर्छन् ती विषय पनि प्रायः त्यस व्यक्तिको अहंताका प्रतीक बनेर प्रकट भएका प्रतीत हुन्छन् । कसैलाई सुनाउने प्रयास गरियो भने पनि त्यो सुन्नेका लागि झिँझ्याउने विषय बन्न पुग्छ । बुढाबुढीका उपदेशात्मक कुरा हितकारी हुने नै भए पनि सुन्नेका लागि यसबाट कसरी फुत्किउँ जस्तो अवस्था सिर्जना भइरहेको हुन्छ । त्यसैले यो समय भनेको फुर्सदिलो जिन्दगीको नितान्त मौन अवधि हो । यतिखेर मौनतामा जति आनन्द आउँछ त्यति आनन्द बोलाइमा आउन्न ।

सामान्यतया मनमा लागेका कुरा व्यक्त गरेपछि मन शान्त हुन्छ भनिए पनि अनावश्यक रूपमा बढी बोलेर कसैको छलफल वा बहसको विषय हुनुभन्दा मौन बसेर आत्मसन्तुष्टिमा रमाउनु नै बुढ्यौली जीवनका लागि श्रेयस्कर हुन्छ । र, यही कदम नै स्वहितकारी र परहितकारी पनि हुन्छ । त्यसैले बुढेसकालीन जीवन भोगिरहेका जो कोही पनि वृद्धवृद्धाले यतिखेरको यस बुढ्यौली समयलाई चिन्ता र छटपटाहटको पट्यारलाग्दो क्षणका रूपमा नलिएर आत्मसमीक्षाको सुनौलो अवसरका रूपमा लिनुपर्छ । किनकि, सबै हिसाबले अलिक अशक्तता वा परनिर्भरता महसुस गरी बुढ्यौली जीवन व्यतीत गरिरहेका सबैको कल्याण यसो गर्नुमै छ । सबैको बुढ्यौली जीवन पारिवारिक वा अन्य हिसाबले सदैव सुखमय होस् । सबैमा शुभकामना ।

०००
२०८०/८/५
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x