साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निद्रापक्षघात/ऐँठनले पाकालाई किन छोप्छ ?

पाकाकाे स्वास्थ ठिक दुरुस्त राख्न परिवार र ईष्टमित्रले शिष्टतापूर्वक ध्यान पुर्‍याउनै पर्छ, सँस्कार नसिकेका तथा आफैँ मपाइँ भन्ने परिवार र आफन्त छन् भने पाका आफैँ जोगिन कोशिस गर्नुपर्छ नत्र भड्खारोमा पर्न के बेर ?

Nepal Telecom ad

डा. मुकेश चालिसे :

पाका मान्छे जति उमेरिदै जान्छन् त्यति अनौठा र पहिले कहिल्यै नदेखाएका आनीबानी विकसित गर्दैरहेका भेटिन्छन् । सामान्य भाषामा हामीले मस्त निदाउनु अघि, निन्द्रा नलाग्दै गरेको अवस्थामा मानिस चलहल र बोलचाल नगरेको समय उँघ लागेको बेला तन्द्रामा परेको भन्छौँ । त्यतिखेर मानिस सचेत त हुन्छ तर गतिबिधि गरिरहेको हुँदैन साथै अनौठा कल्पनामा मस्त भएर बिपनामा केही गरिरहेको जस्तो आनन्दमा पनि रहन सक्छ । धेरै मान्छेलाई बेलाबेला आलश्यको तन्द्रामा झुल्नु चिन्ताको विषय भएको हुन्छ भने त्यसले मस्त सुताई र भावनात्मक स्वास्थलाई बाधा गरिरहेको अनुभूत भएको हुन्छ । निदाउनु र तन्द्रामा रहनुमा भिन्नता चाहिँ निदाउँदा तत्काल सोचेकोभन्दा पृथक सपना आउन सक्छ तर तन्द्रामा मनमा खेलिरहेका कुरानै निरन्तर भएको पनि हुनसक्छ भने तन्द्रामा तुरुन्तै व्युँझिन सक्छन् तर निदाउँदा बिउझिँन ढिला हुनसक्छ । ऐँठन हुँदा मानिसलाई छाती वा घाँटी थिचेर स्वास फेर्न गाह्रो भएको, रगत सञ्चार नभएर कुनै भाग गरुङ्गो जस्तो भएको र तन्द्रामा आफू अभरमा परेर उम्कन खोजेको अनुभूति भएकोले कराउने साथै अनौठो आवाज निकाल्ने हुन्छन् । नेपालमा यस्तो भएको थाह पाउँदा प्राय त्यसो भएकालाई उठाइदिने चलन छ र धेरैजसोले ‘छातीमा हात राखेर निदाएमा त्यस्तो हुन्छ’ भन्छन् ।

छोप्न वा ऐँठन हुने बारेमा हार्वाड मेडिकल प्रकाशनका सहनिर्देशक जेनेट रेस्टिभोले सन २०२३ अक्टुबरमा निद्राको पक्षघातको कारण, लक्षण र उपचार बारेको लेखमार्फत आफ्नो विशद व्याख्या अघि सारेका छन् । सामुदायिक स्वास्थ्यका चिकित्सक डा. सोगोल जाभाहेरीले सबै उमेरसमुहलाई काम लागे पनि पाका मान्छेका उमेरिएका उमेरसमुहलाई विशेष काम लाग्ने लेख भनि समीक्षा गरेका छन् । त्यस लेखले ऐँठन वा तन्द्रालाई निदाउन बाधा पुग्ने निद्रापक्षघात अवस्थाको असामान्यता र आक्कल-झुक्कलको भनि दुई प्रकारका भनि विभाजित गरेका छन् ।

किन हुन्छ ?
१) एकाम्य ऐँठनः निद्रा गडबडीको कुनै समस्यानै नभईकन पनि लगातार थप लक्षण जोडिएर आउने नदेखाई एकाएक ऐँठनमा जाने, स्नायुजन्य असामान्यता भएका मानिसमा कुनै पनि समय सुत्नासाथ निदाई विविध तन्द्रामा अल्झिने हुनेगर्छ । यस्ता मान्छेले पल्टिनासाथ बारम्बार ऐँठन भएको विभिन्न प्रतिक्रिया देखाउँछन र घनिभूत मस्त निद्रामा बेहोस भएजस्तै सहजै जाने गर्छन् । प्रायः त्यस्तो ऐँठन हरेक सुताईमा एक पटक र कहिलेकाहीँ मात्र हुनेहुनाले अरुले थाह पाउँदा उठाई ढाडस दिए त्यही रात नदोहोरिन सक्छ ।

२) नियमित ऐँठनः निदाएको केही समयमानै तन्द्रामा अल्झिने वा ऐँठन भएर विभिन्न लक्षण देखाउने र एक पटकको सुताईमा धेरै पटक त्यस्ता प्रक्रियामा लगमतार जाने स्नायुका समस्याभएका मानिसमा हुन्छ । स्नायुको गडबडीले पल्टिनासाथ निदाउने र एक पटकको सुताईमा बिश्रामगर्दै बारम्बार ऐँठनका घटना धेरै चोटी भइरहेको हुन्छ । यस्ता मानिसलाई एक पटक झकझकाएर उठाए पनि अरु सुतेपछि नउठिदिने र बारम्बार हुने भएकाले निकै अप्ठ्यारो सुताईमा बिताउने हुन्छन् ।

धेरै मानिसलाई दुबै प्रकारका समस्या हुनेहुनाले प्रायः ऐँठनसाथै तन्द्राको त्यस्तो प्रशङ्ग बारम्बार हुने र एकपछि अर्को प्रकारले हैरान पारिरहेको हुन्छ भने त्यस्तो अवस्थालाई छुट्ट्याई खास उपचार गर्न अन्यौल हुन्छ । वास्तवमा ऐँठन र तन्द्रामा मान्छे कस्तो बेलामा बढी प्रभावित भएको हुन्छ त ? जेनेट र सोगोलको बिचारमा पल्टनासाथ निदाउने प्रक्रियामा मानसिकरुपमा तयारी नगरी तुरुन्त मस्त निद्रामा जाने र सामान्य चलहलनै नगर्ने मानिसमा यस्ता समस्या देखिएका छन् । निदाएको बेला सानो सामान्य आवाज, शरीरको कुनै भागमा असजिलो हुनासाथ, सपनाका विभत्सता र अति मनछुने दृश्यका कारण तुरुन्त ढुनमनाउँदै उठिहाल्ने मानिस पनि पछि निदाउँदा तन्द्रा र ऐँठनको शिकार बन्छन् ।

यस्ता दुबै थरिका स्वभाव भएका र स्नायुका थपसमस्या सहितका मानिसमा एक वा अर्को प्रकारको ऐँठन भएको पाइन्छ । निद्रामा हिँड्ने, बर्बराउने, अचम्मका सपना देख्ने, निद्रामा ओछ्यानमै पिसाव फेर्ने, अति घुर्ने, निद्रामा श्वासप्रश्वास अड्किने, दुश्वप्नको प्रभावमा रहने र उठ्नासाथ बिना कुनै कारण कतै हुर्रिन खोज्ने स्वभाव भएकामा बढि ऐँठन साथै घरीघरी तन्द्रामा जाने स्वभाव विकसित भएको पाइन्छ । यस्ता मान्छेले मस्त निदाउँदा पनि चिम्लिएका आँखा हल्लाइरहन्छन् र ‘दुधे बालबालिकालाई कुटुनीले खेलाएको’ भन्ने जस्तै हाउभाउ अनुहारमा गरिरहेका पाइन्छन् । यस्तो अनौठो प्रक्रिया मस्त निदाउने समय भित्रको सुताइ चक्रको उपज र मस्तिष्कमा जम्माहुन आएका कुराको परावर्तित क्रियाको रुपमा निदाउने क्रममा हुन्छ साथै निदाउने महत्वलाई कम आँक्नेलाई बढि हुनसक्छ ।

ऐँठन भएर छोपेकोजस्तो एकोहोरो हुँदा आँखा ढकनीले ढाकेको भए पनि मज्जाले छिटोछिटो चलेको देखिन्छ भने त्यहिबेला विविध अनौठा सपना आइरहेको हुनसक्छ । सुतेको हुनाले शरीरका सबै मांसपेशी आराम गरिरहेका हुनाले उनीहरूका गतिविधि हुँदैनन् । त्यस अवस्थामा खुकुलो भएका मांसपेशी मस्तिष्कको नियन्त्रणमा भए पनि आँखाका मांसपेशी चल्ने प्रक्रियानै ऐँठनको सुरुवात हो भने त्यसो हुँदा सपनामा देखेको कुरा सजिवझैँ उक्त मानिसले गर्न थाल्दछ र बिउँझेमा त्यस्तो व्यवहार सिद्धिन्छ । त्यसैले धेरै मान्छेलाई निदाउँदा अनौठो व्यवहार देखाएमा ‘छलेको, सञ्चो नहुने लक्षण’ भन्दै उठाउने चलन छ । अचानक उठाउँदा मान्छे अलि झुनी लागेजस्तो, धरमराएजस्तो र पुरा नबिउँझिएजस्तो क्षणिकरुपमा हुनेचाहिँ मांसपेशीहरू आराममै रहेर अझै सक्रिय नभइसकेकाले हो भने सपनाको मानसिकता बिउँझिसक्दा पनि धङधङती बाँकी रहेकैले हुन्छ । त्यसैले एक छिन मानिस एकसुरे भई टोलाएजस्तो र आँखा खोले पनि धेरै प्रतिक्रिया देखाइरहेको हुँदैन भने अगाडि परेकाले सोधपुछ गरेमा उसले ऐँठनकै कुरा भन्नसक्छ ।

कस्तो हुन्छ ?
तन्द्रामा परेको मानिस विभिन्न राम्रा नराम्रा तरङ्गमा रमाउने र अति डराएर आत्तिने गरेको पाइन्छ, एकसरो सपना देख्नुभन्दा फरक उसले कल्पनातीत अनेक भ्रमहरूमा जेलिएको हुन्छ । कतिपय मानिस दैनिक जीवनमा भोगेका बिब्ल्याँटा बिरुद्ध आफ्नो हितमा अरुले गरिदिने मिठो बचन र कामको तरङ्गमा रमाउँछन् भने कतिजना आफ्नो बिगतका गल्तीका फल पाइने अव्यक्त दुश्वप्नले डराएर पानीपानी हुन्छन् । भ्रमपूणर् चिन्ता बढाउने अचम्भका कल्पनामा रमाउने राम्रा नराम्रा तन्द्रा वा ऐँठनलाई रेस्टेभोले मोटामोटी तिन बर्गका भनि विभाजित गरेर प्रष्ट्याएका छन्ः

१. बाह्य हस्तक्षेपकारी तन्द्राले खराब कुराले हमला गरेको, राक्षस कोठाभित्र छिरेको र बिस्तारै आफ्नो ओछ्यानमा आएर आफूलाई हलचल गर्न अप्ठ्यारो हुने गरेर अँठ्याएको जस्तो लाग्नसक्छ । चलाउन खोज्दा हातपाखुरा नचलेको र लात हान्न खोज्दा खुट्टा नउठेको केही कुराले बाँधेको वा जालमा अडकेकोजस्तो भान पर्छ ।

२. छाती थिचेको, तन्द्राले छातीभरी थिचेको, स्वास फेर्न गाह्रो भएको, स्वासनै लिन नसकी फुस्कलाजस्तो भएको वा गह्रौँ बस्तुले पुरै जीउ थिचेर स्वास फेर्न नसकि निस्सासिएर एक्कासी झस्केर उठ्न खोज्नेजस्तो हुन्छ । तन्द्रामा देखिएको सामान्य र सानो आकारको बैरीले घाँटीमानै थिचेर स्वास फोक्सोमा नगएको र मरिन्छ भनेर अत्तालिएको अवस्था अनुभूत भएको हुन्छ । सपनामै सानो आकारको शत्रु तुरुन्तै ठूलो भई आफूलाई निल्न खोजेको, फुत्कन नसकि कष्ट भएको आदि अनुभूत हुन्छ ।

३. उडन्ते तन्द्रामा आफ्नो शरीरले अचम्भका काम गरिरहेको, माथिमाथि बादलतिर उडेको, जीउ एकदम हलुको भई जमिनमा भन्दा आकासतिर उफ्रन खोजेको, तन्द्राकै सुरको ईच्छा अनुसार शरीर एक्कैचोटीमा घरको छानामा पुगेको र शरीर मरेको जस्तो जमिनमा लडिरहँदा पनि आफू त्यसबाट निस्केकोजस्ता अनौठा कल्पनातीत भ्रमहरू ऐँठन हुँदा देखिएको हुन्छ । कहिले विश्वासनै नगरिने बल निकालेर एक्लै पहाड उचालेको र शत्रु छकाएको अचम्मका घटना गर्न सक्षम भएको देखिन सक्छ ।

ऐँठनले मरिन्छ ?
धेरै समय तन्द्राको पक्षघातमा अल्झिने र ऐँठनले दुख दिएकोमा रमाउने वा डराउने मानिसलाई तत्काल हुने भ्रम तथा मानसिक कष्टले के हुन्छ होला ? वास्तवमा स्नायु र मस्तिष्कको असामान्य अवस्थाले उपज गराउने त्यस्ता मनावैज्ञानिक असरले भोग्ने मानिस त्यस्को केही बेर अति तर्सिने हुनसक्छ र भावनात्मक हिसाबले निराश गराउने कारण बन्नसक्छ । चिकित्सा विज्ञानले त्यस्ता लक्षण तथा आनीबानीलाई सधैं भएर स्वास्थमा उल्लेखनिय खराब असर नगरेसम्म असामान्य भन्नुबाहेक खासै ओखतिनै गर्ने रोग ठहर्‍याउँदैन । बरु जुन मान्छेमा डर लाग्नेगरी तर्साउने ऐँठन साथै तन्द्रा बारम्बार भइरहन्छ उसले सुबिस्तासँग नियमित निद्रा पुरा गर्न सक्दैन र अनिद्राबाट हुने स्वास्थ समस्या निम्त्याउन सक्छ । हरेक दिनरात तन्द्रा वा ऐँठनले दुःख दिने भएर त्यस्ता मानिस सुत्नै नखोज्ने अथवा कुनै न कुनै काम गरेर निद्रा नलाग्ने उपाय गर्नसक्छन् भने कोही मस्त ननिदाएर होला भनि आफैँ निद्रालाग्ने ओखति सेवन गर्न थाल्छन् । यस्तो भएमा कसैको पनि स्वास्थ सामान्य नभई देखिने गरी नकारात्मक दिशामा ओरालो लाग्न थाल्दछ र जैविक प्रक्रियामा बाधा परेर विभिन्न रोगले आक्रमण गर्न सक्छ ।

बारम्बार र नियमित निद्रापक्षघातमा अल्झने वा ऐँठनले तर्सिने मानिसमा बिस्तारै सामान्यभन्दा फरक आनिबानीका लक्षणहरू देखापर्न थाल्छन् । त्यस्ता लक्षणहरूमा निद्रामा निश्चल रहने र बिउँझिदा एकछिन भए पनि हात, गोडा, शरीर र टाउकोसमेत अररो भएझैँ नचल्ने हुनसक्छ साथै उठ्नासाथ एकोहोरिएको जस्तो स्वभाव देखाउन सक्छन् । ननिदाउँदा वा भर्खर बिउँझदा बोल्न सक्दैनन् र बोल्न खोज्दा नबुझिनेगरी लरबराउन सक्छन्, वरपरको वातावरण कम्तिमा बिउँझदा सबै हेक्का राख्न सक्छन् तर प्रतिक्रिया कुनै देखाउन नसक्ने अवस्थामा रहेका देखिन्छन् । यस्ता प्रक्रिया सँगसँगै विभिन्न भ्रमका तन्द्राले घर गरेर अनौठो आनीबानी व्यक्त गर्न सक्छन् भने जीवनमा एकपटक केहि निमेष त्यस्तो नहुने मानिस कमै होलान् तर लगातार भ्रममा दुख पाउने कमनै हुन्छन् ।
केही कारणहरूः
ऐँठनले दुख पाउने वा घरीघरी निद्रापक्षघातमा अल्झिने कारण अनुसन्धानले अझै ठम्याउन सकेको छैन, तर सुताइको तरिका र निद्राको मात्राबाट केही सूत्र जोड्न सकिन्छ । यस्ता समस्याबाट आजित भएका मानिसहरूको अध्ययनपछि के एम काँठे भन्छन्, सुताइको मात्रा पर्याप्त नमिल्दा तथा सुताइको तालिका नियमित र एकै किसिमको नभएर फेरिइरहँदा पनि बेलाबेला तन्द्रामा झुल्ने साथै ऐँठन भएर विभिन्न समस्या आएको हुनसक्छ । उत्तानो सुत्ने, नाक बन्द भइरहने, हातगोडा खुम्च्याएर सुत्ने वा केही खप्ट्याएर निदाउने बानीपरेका मान्छे पनि ऐँठनको शिकार भएका पाइन्छन् । सुत्ने प्रक्रियामा नियन्त्रक भूमिका निर्वाह गर्ने मस्तिष्कको भागले मस्त निदाउने बानीमा स्नायुजन्य प्रतिकुलता उब्जाउँदा ऐँठन हुने सम्भावना रहन्छ । निदाउने प्रक्रियाको असामान्य कारणले निदाएर आरामीभन्दा हैरानीको अवस्था आएको छ भने पनि निद्रापक्षघातको समस्या रहिरहन्छ ।

दिग्भ्रमित मानसिकता भएका मानिसले घरी उत्तेजित हुने र घरी सल्याकसुलुक गल्ने आनीबानी भएकाले पनि सुत्ने क्रममा ऐँठन अनुभूत गर्छन् भने आफूले गरेका दुईअर्थी व्यवहारले तन्द्रामा अल्झन पुग्छन् । धेरै चिन्तित, अति आत्तिने, शरीर ज्यादै पीडामा रहेका, कुनै कुरामा साह्रै चित्त दुखाएका र घटना घटेको केही समयसम्म निदाउनेभन्दा तन्द्रामा रहने साथै निदाएमा ऐँठनले बरबराउने, कराउने गरी अनौठो प्रक्रियाले उठिहाल्छन् । ध्यान केन्द्रीत नहुने र मानसिक रोगीले प्रयोग गर्ने कतिपय ओखतिले नकारात्मक असरको रुपमा मान्छे घरीघरी निदपक्षघातमा जाने वा ऐँठनले दुख पाउने हुनसक्छ । लागुपदार्थ, मादक पदार्थ सेवन गर्नेले धान्नेभन्दा बढि सेवन गरेमा स्नायुहरू र मस्तिष्कले ठिकसँग काम गर्दैन साथै सुत्दा-उठ्दा बेहोसीजस्तै भई व्यवहार गर्नसक्छ । कतिपयमा कारण र प्रक्रियाको विशेषता अनुरुप चिकित्सकहरू वंशानुगत कारणले पनि पाकाहरू ‘तन्द्राको बेहोसी स्वभाव देखाउने र बेलाबेला ऐँठनले परिवार तर्साउने हुन्छन्’ भनि भन्दछन् ।

ऐँठन/तन्द्रा न्युनीकरणः
ऐँठन वा तन्द्रा कहिलेकाहीँ अल्पअवधिको भएमा डराउनु हुन्न बरु सुताई सकेसम्म आरामदायी बनाउने र चिन्तारहित जीवन बिताउन खोज्नुपर्छ । चिन्ता नगर्ने मानिस त्यसमाथि पाको उमेरमा आफ्नो मतोअनुसार परिवार नचल्दा बढ्न सक्छ, तर आफ्नो अदब हराउन थालेको साथै आफूले नियन्त्रण गर्न नसक्ने अवस्था छ भने पिलपील गरेर जीवन बिताउनु मूर्खता हो । ‘चिन्ताले जीउँदो शरीर जलाउँछ, चिताले मरेको लाश जलाउँछ’ भन्ने कुरा भित्री मनदेखिनै बिचार्नु पर्छ । एक पटक हरेक प्राणी मर्छन्, पलपल पिर गरेर किन पलपल मर्ने ? भन्ने सोचेर सकेसम्म हरेक बाधाअड्चन हाँसीहाँसी व्यहोर्ने बानी उमेरिदा सबैभन्दा काम लाग्ने स्वभाव हो र स्वस्थ रहने ओखति हो । स्वस्थकर सुताईका केही तरिका दैनिक लागु गर्नाले सुताई पक्षघातमा अल्झिने र ऐँठनले ङ्याक्ने सम्भावनमा कमी आउँदै जान्छ ।

सुताईको गुणस्तर कायम गरेर दैनिक चाहे राती होस् वा काम विशेषले दिउँसो सुत्नुपरेमा सातदेखि नौ घण्टा मज्जाले आराम हुनेगरी निदाउनुहोस् । हरेक दिनरातमा आफ्नो सुताईको तालिका बनाउनुहोस्, समय अनुकुल हेरेर उत्तिनै समय सुत्नको लागि ओछ्यानमा पल्टने र समय पुगेपछि बिउँझने बानी बसाउनु होस् । जैविक घडी अर्थात तपाइँले ठम्याएको ठिक्क समय सुत्ने बानीले तपाइँलाई मानसिक रुपले बलियो बनाउँछ र त्यो सचेतनताले ठिक समय व्यतित भएपछि व्युझाउँन स्नायुहरू सचेत हुन थाल्छन् । यो अनुशासित क्रम कामकाजीनै रहेकाले सप्ताहान्त र बिदाको दिनमा पनि आफैँ लागुहुन्छ । आफू सुत्ने कोठामा निदाउने वातावरण हुनुपर्छ, जस्तो बत्ती निभाउने, तेजिलो प्रकाश हुनुहुन्न, तापक्रम ठिक्क र शान्त अवस्था रहनुपर्छ । सुत्दा ओछ्यानको डसना शरीरलाई आरामी दिने, तकिया मुण्टो र टाउको धेरै नउठ्ने साथै सिरक, दोलाइँ मौशम अनुसार ठिक्क बाक्लो हुनुपर्छ । अचेल बजारमा विभिन्न गुणका ओच्छ्याउने नरम डसनाहरू रोग अनुकुलका पनि पाइन्छन् जसले सुताई आरामदायी बनाउँछ, सम्भव भएमा उपयोग गर्न कञ्जुस्याइँ नगर्नुहोस् ।

विविध खालका मानसिक चिन्ता बढाउने, मनलाई खलबल्याउने, विक्षिप्त बनाउने, तर्साउने, डर उत्पन्न गराउने र पिरलाग्ने खालका समाचार, कथा, कुराकानी र प्रशङ्ग सुत्नु धेरै अघिदेखि सुन्ने, भन्ने र हेर्ने नगर्नोस् । निदाउनु अघिसम्म बिद्युत यन्त्र, उपकरण तथा सहयोगी सामग्री पनि प्रयोग नगर्नोस् बरु साँझ परेपछि त्यस्ता कुराबाट टाढा रहने गर्नुहोस् । आफूलाई मन पर्ने, आनन्द लाग्ने सङ्गीत, धुन र पठन सामग्री पढ्ने, सुन्ने गर्नुहोस् र सुत्नुअघि नुहाउँदा पनि निदाउने क्रियामा फाइदानै पुग्छ । सुत्दा सकेसम्म उत्तानोभन्दा देब्रे कोल्टो सुत्नु पाचन प्रक्रियामा सहयोगी भूमिका खेल्न सक्छ, एकोहोरो सुत्न अप्ठ्यारो लागेमा ओल्टोकोल्टो गरेर सुत्दा बेफाइदा हुँदैन । यसरी निदाउँदा ऐँठन हुनसक्ने सम्भावना र घुर्ने समस्या हल गर्न सकिन्छ ।

सकेसम्म मादक पदार्थ र धुमपानजन्य बस्तुहरू प्रयोगलाई नियन्त्रण गर्नुहोस्, हटाउन नसके घटाउने कोशिस गर्नुहोस्, यसले स्नायुका समस्या कम हुने र ऐँठन घटाउन मद्दत गर्छ । विशेषगरी साँझ र राती सुत्नु अघि त त्यस्ता पदार्थको सेवन बर्जितनै गर्नु स्वास्थको हिसाबले राम्रो हुन्छ । क्याफिन र चियाजस्ता पेय पदार्थ घटाउनु राम्रो हुन्छ, छोड्नै नसक्नेले पनि मध्यान्हसम्म एक दुई कप पिए पनि त्यसपछि नपिउनु राम्रो हुन्छ । साँझ पखका त्यस्ता पदार्थ सेवनले रातमा निद्रा गडबडी र तन्द्रा साथै ऐँठनको समस्या हुनसक्छ । निद्रा यथेष्ठ नलाग्ने र त्यहिबेला विभिन्न असम्भाव्य चिन्तामा परी ऐँठन बारम्बार हुने पाका मान्छेले निद्राविज्ञ वा मनोवैज्ञानिक औषधोपचार गर्ने चिकित्सकको परामर्श लिएर ओखती गर्नु राम्रो हुन्छ । मनोविज्ञानसँग सम्बन्धित मस्तिष्कको समस्या, चिन्ता, उन्माद र द्विअर्थी शरीर सन्तुलनको समस्या भएमा त् ओखतिसाथै आनीबानीको उपचार गर्नुअघि बढी चिकित्सकको भेटघाट नियमित र उनको क्रियाशिलताले तपाईं निको हुन सक्नुहुन्छ ।

अहिलेसम्म तन्द्रामा रुमल्लिने तथा ऐँठनले दुःख पाएका बिरामीको सोझो उपचार कुनै पनि चिकित्सकले गर्न सकेका छैनन् । किशोरकिशोरी उमेरसमुहमा भविष्य र आफ्नो स्थितिमा चित्त नबुझेर अनिदो हुने साथै असम्भाव्य चिन्ता परिणामले मानसिक बेचैनी भएर तन्द्रा लाग्ने तथा ऐँठनले बेलाबेला सताउन सक्छ । पाका उमेरका महिला र पुरुष दुबैलाई आफ्नो स्थितिमा चित्त दुखाउने तर परिवारलाई भन्न नसकेर तथा कमजोर भएको मानसिकताले ईष्टमित्र, जोरीपारीले हियाउँदा अगाडि भन्न नसकि एक्लै पर्दा तन्द्राले घेर्ने, ऐँठनमा छटपटिने हुनसक्छ । जिम्बेवारीको बोझ तथा आफ्नो अशतmताको प्रतिबिम्ब उमेरिदा धेरै पाका मान्छेको मानकिताको विचलन ऐँठनको तहमा देखिन सक्छ । अहिले उपचार गर्ने सजिलो तरिका हुने अवस्था, बेला, सन्दर्भ र मानसिक स्वास्थको स्थिति हेरेर अप्रत्यक्ष उपचार पद्दती लागु गरेर घटाउन वा हटाउनतिर लाग्नु बेश हुन्छ भन्ने तथ्य जेनेट तथा पाका मान्छेका स्वास्थबारेका अनुभवी के.एम.काँठेको रहेको छ ।

अन्त्यमा,
तन्द्रामा प्राय मान्छेले मनले खोजेको तर परिस्थितिले बिपरित भकुरेकोले भङ्कजाहा हुन नसकि कल्पनामा आनन्द लिन चाहेका कुरा बढि देख्छन् । त्यसो गर्दा शायद धेरैलाई स्वान्तसुखाय हुन्छ होला, तर पाका मान्छे भबितव्यका कुरा पनि यस्तोमा देख्छन् र देखेका कुरा लच्छिन अलच्छिन भएकोमा जानकारी गराउन सक्छन् । ऐँठन धेरैजसो कष्टसाध्य र निदाउन प्रयाश गरेकालाई अप्ठ्यारोमा पारेको हुन्छ र निद्रापक्षघातको बेला दाह्रा किट्ने, बरबराउने, तर्सिने, हातगोडा फाल्ने, हातगोडा एकै ठाउँ ककक्रिएर सुत्ने, हाँस्ने, रुने, ओछ्यान मुत्ने, सराप्ने, अचानक उठेर हिँड्ने, दिउँसोका चित्त बुझेका नबुझेका कुरा दोहोर्‍याउने, निद्राबाट व्युँझदा जुरुक्क उठन नसक्ने, टोलाएर एकछिन बस्ने आदि लक्षणहरू देखाउन सक्छन् ।

मनोवैज्ञानिक कारण, मानसिक रोग, परिस्थितिजन्य, पारिवारिक झमेलामा आफू अपमानित भएको तथा कसैले आफूप्रति देखाउनुपर्ने दयामाया नपाएको पिरलोले घात परेको अनुभूतिले पाका मान्छेमा ऐँठन भएको धेरैमा देखिन्छ, सुनिन्छ । उमेरिदा पाकाको शारीरिक मानसिक स्वास्थ ठिक दुरुस्त राख्न परिवार र ईष्टमित्रले शिष्टतापूर्वक ध्यान पुर्‍याउनै पर्छ, सँस्कार नसिकेका तथा आफैँ मपाइँ भन्ने परिवार र आफन्त छन् भने पाका आफैँ जोगिन कोशिस गर्नुपर्छ नत्र भड्खारोमा पर्न के बेर ? त्यसैले विभिन्न उकाली-ओरालीको अनुभव बटुलेका पाकाहरू जीवनको उत्तरार्धमा आफैँ कसरी खुसी रहने तथा सकेको स्वावलम्बी भई बाँच्ने भनेर उदाहरण बन्न कोशिस गरेमा यस्ता झिनामसिना असामान्यताले दुःखदिने मौकानै पाउन्न र सोचेजस्तै आनन्द हुन्छ ।

०००
असार २३, २०८१
चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
अब म केही बोल्दिनँ

अब म केही बोल्दिनँ

वासुदेव गुरागाईं
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
वृद्ध मनोविज्ञान

वृद्ध मनोविज्ञान

बद्रीप्रसाद ढकाल
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x