नन्दलाल आचार्यभोलिको भविष्यद्रष्टा : आजका पाका मान्छे
भोलिको भविष्यद्रष्टा आजका पाका मान्छे हुन् । उनीहरू न त स्वार्थी छन्, न अहंकारी—उनीहरू केवल सम्झनाको ढोका हुन्, जहाँ जीवनको वास्तविक अर्थ झल्किन्छ । उनीहरूको मौनता भित्र इतिहास लुकेको छ ।

नन्दलाल आचार्य :
“उज्यालो भो भन्थे, तर त्यही उज्यालो बन्न सक्थ्यो कि आजको सानो छायाँ, थाहै भएन…”
यो एउटा वृद्धको ओठबाट लम्किएको वाक्य थियो, जुन कुनै उपदेश, तर एउटा चुपचापको गर्जन थियो ।
समय बग्दो छ- जस्तो चुपचाप खोला बग्छ तर किनाराहरू बिर्संदैन, उस्तै बगिरहेछ जीवन- बग्दा बग्दै बिर्सिदैछौँ हामी आफ्ना ती किनाराहरूलाई, जो हामीलाई टिकाइरहेका छन् । आजका पाका मान्छेहरू, जो कहिल्यै नथाकेका समयका यात्री हुन्, हामीले उनीहरूलाई कहिले ‘बूढो’ भन्छौँ, कहिले ‘थकित’ ठान्छौँ, तर हामी बिर्सन्छौँ, उनीहरू नै हाम्रा भविष्यद्रष्टा हुन्- भोलिको आँखीझ्याल ।
पाका मान्छेहरू कुनै वृद्धश्रममा थन्किएका काया मात्र होइनन्, उनीहरू समयका जिउँदा काव्य हुन् । हरेक झोलिएको अनुहारमा कथा हुन्छ, हरेक काँपिएको स्वरमा सन्देश, र हरेक ओइलिएको आँखामा आँसु साट्ने आँसपास ।
बाले मलाई एक दिन भनेका थिए,
“छोरा, म पढ्न नसके पनि समय पढ्थें ।”
त्यो वाक्य मलाई ‘समयचेतना’ को जस्तै लाग्यो ।
आजका पाका पुस्ता पढेका थिए आफ्नै रीतिमा- कुञ्जी नभएका जीवनका किताबहरूमा । उनीहरूले घर बनाउने मात्र होइन, मूल्य बनाएका थिए—जहाँ सादा जीवन र उच्च सोचाइ थियो । आज हामी जुन डिजिटल युगमा आफूलाई आधुनिक ठान्दैछौँ, त्यही आधुनिकताको बीउ उनीहरूले पाखामा छरेका थिए, खेतमा हलो हाँकेर, मेलामा लोक सुनाएर, र असिनपसिन पसिना बगाएर ।
एक पटक म एक वृद्ध गृह पुगेँ । त्यहाँका एक ८५ वर्षे बाजेले हात समाएर भने,
“हामी सुस्ताउँदैनौँ है, हामी बस्छौँ ।”
त्यो ‘बस्नु’ र ‘सुस्ताउनु’ को फरक बुझ्न मलाई दुई दिन लाग्यो । सुस्ताउनु थकान हो, तर बस्नु आत्म-संवाद । पाका मान्छे बस्छन्—शरीर शिथिल भए पनि उनीहरू भित्रैभित्र आवाज बटुलिरहेका हुन्छन्, अनुभवका चिना जोडिरहेका हुन्छन् ।
पाका पुस्ता वाचिक ज्ञानका अमूल्य स्रोत हुन् । उनीहरूले देखेका परिवर्तन, झेलेका सङ्घर्ष र जोगाएका संस्कार आजका पुस्ताले पढेका पुस्तकभन्दा गहकिला छन् । आज टेक्नोलोजीको माध्यमले हामी ‘अपडेट’ छौँ, तर उनीहरूको अनुभव हामीलाई ‘अपग्रेड’ गर्न सक्छ ।
आजका पाका मान्छेहरू भविष्यद्रष्टा हुन् । उनीहरू जुन बीउ छर्छन्, त्यो साँझमा घाम लुक्छ भनेर होइन । भोलि बिहान उज्यालो नआउला भनेर हो । उनीहरूलाई थाहा छ, अहिले रोपेको करुणा, सहिष्णुता र मूल्यको बीउले आउँदो पुस्तालाई कस्तो बाली दिनेछ ।
हाम्रो समाज अझै पनि परिवारमा बुढापाको ‘थुन’ होइन, ‘धुन’ बनोस् भन्ने विश्वास बोकेर अघि बढ्नुपर्छ । जुन घरमा पाका मान्छेको सल्लाहलाई सम्मान गरिन्छ, त्यो घरमा अशान्ति हुँदैन । जुन संस्थाले पाका अनुभवलाई लत्याउँछ, त्यो संस्था कहिल्यै पूर्ण हुँदैन ।
भोलिको मार्गदर्शक शक्ति आजका वृद्धको मौन छ । त्यो मौनता गर्जन हो, चेतना हो, र विचारको बीज हो ।
हामी पुस्तान्तरणका सँघारमा उभिएका छौँ । नयाँ पुस्ता पाको पुस्ताबाट चोखो पुल बनाएर मात्रै अघि बढ्न सक्छ । यदि त्यो पुल भत्किन्छ, त समाज मूल्यहीनताको खाडलमा झर्छ ।
पाका पुस्ता केवल गतिका दृष्टिले ‘पछाडि’ देखिए पनि गन्तव्यका दृष्टिले ‘अगाडि’ छन् । उनीहरू नै हुन्, जसले जीवनलाई अर्थ दिएका छन्—टोललाई संस्कार, गाउँलाई गाथा र समाजलाई सन्तुलन ।
आफ्ना सन्तानको अनुहारमा भोलिको आशा देख्ने ती आँखा, आज वृद्धाश्रमका झ्यालमा टोलाइरहेका छन् । यो मात्र भावनाको मुद्दा होइन, यो मूल्य र सामाजिक उत्तरदायित्वको प्रश्न हो ।
कुनै बेला चाउरिएको हातले हाम्रो भोक मेटाइदिएको थियो । त्यो हात अहिले सहारा खोज्दै काँपिरहेको छ ।
“बाबा, तपाईंलाई केही चाहिएको छ ?”
“नत्र के… एक छिन तिमी बोलिदेऊ…”
यो संवाद म एकजना वृद्धसँगको भेटमा सुनेको थिएँ । पाका मान्छेहरू सधैं भौतिक सहायताभन्दा भावनात्मक संलग्नता खोजिरहेका हुन्छन् । उनीहरूलाई हामीले कहिल्यै पूर्ण रूपमा बुझ्न सक्दैनौँ, जबसम्म हामी आफूलाई उनीहरूका समयमा उभ्याउँदैनौँ ।
हामीले बोल्दै गएको ‘आधुनिक’ शब्दावलीमा एउटा शब्द जोड्नु पर्छ—‘अनुभवशीलता’ । त्यो अनुभवशीलता जसले हामीलाई मानव बनाउँछ, र संवेदनशील समाजको निर्माण गर्दछ ।
समाजलाई समुन्नत बनाउने मूल स्तम्भ भनेको उत्तरदायित्व हो । पाका मान्छेहरू आजको समाजका ‘बिहानका घाम’ हुन्—जसको ताप कम लागे पनि उज्यालो गहिरो हुन्छ । उनीहरूको जीवनले देखाएको सहनशीलता, समर्पण र सरलता नै हामीले अँगाल्नुपर्ने पाठ हो ।
आफ्नो समयको साक्षात्कार गरेर सन्तुलन राख्न सक्ने क्षमता पाको पुस्तासँग छ । त्यसैले, पाका मान्छेहरूप्रति हाम्रो सोच ‘बोझ’ होइन ‘बोकेको सम्पत्ति’ भन्ने हुनुपर्छ । उनीहरू केवल ‘हिजोका मान्छे’ होइनन्, ‘भोलिको दृष्टि’ हुन् ।
शिक्षा, संस्कृति, राजनीति, साहित्य, कृषि, निर्माण, र मूल्य– हरेक क्षेत्रमा योगदान पुर्याएका ती अनुहारहरू आज सडक छेउको कुर्सीमा केवल समय गनिरहेका छन् ।
यो यथार्थलाई सम्बोधन गर्नु भनेको ‘सम्मान’ मात्र होइन, ‘समर्पण’ हो ।
हरेक विद्यालयमा जीवन शिक्षाको पाठसहित पाका पुस्ताको साक्षात्कार गरौँ ।
प्रत्येक नगरपालिकाले ‘पाका दिवस’ मनाओस्, जहाँ बालबालिकाले वृद्धसँग अनुभव साट्न सकून् ।
सञ्चारमाध्यमहरूले उनीहरूको स्वरलाई प्रसारणमा ल्याओस्, उनीहरू पनि सञ्चारकर्मी हुन्— अवर्णनीय जीवनकथाका ।
भोलिको भविष्यद्रष्टा आजका पाका मान्छे हुन् । उनीहरू न त स्वार्थी छन्, न अहंकारी— उनीहरू केवल सम्झनाको ढोका हुन्, जहाँ जीवनको वास्तविक अर्थ झल्किन्छ ।
उनीहरूको मौनता भित्र इतिहास लुकेको छ । उनीहरूको मुस्कानमा भोलिको सपना छ । र उनीहरूको अस्तित्वमा समाजको अन्तर्नाद ।
त्यसैले, पाका मान्छेहरूलाई हाम्रा घरका कुनामा राख्ने होइन, हृदयको केन्द्रमा राख्नुपर्छ ।
०००
बेलका- २, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest






































