ठाकुरप्रसाद अधिकारीनमिलेको नाउँ कसरी मिलाउँ ?
यही खाँचो पूरा गर्ने साँचो चाहिँ कता, कसले कसरी बनाउने होला ! म त्यसैको खोजीमा ज्यान फालेर लागेको छु । मेरो यो अभियानमा साथ दिने को को हुनुहुन्छ ?

म एउटा कलम चलाउने मान्छे भएकाले नाउँ नमिलेको मान्छेको नाउँ मिलाउने धुनको धोको लिएर आएको छु । एउटा सभ्य साहित्यको पोकोमा भव्यको भर्याङ चढेर दार्शनिक दिग्गजको पुस्तक बोकेर पनि बडो फसादमा पो परेको छु त । कताबाट पो अध्याय सुरु गर्ने ? साहित्य नजानेकै मान्छेका नाम साहित्यकार रे ! अनि नाममा पनि खोट देख्छ आँखा । के पो राख्ने । साहित्यको ‘स’को ठाउमा ‘द’ राखे के होला ? ए… दाहित्यकार पो हुनेरहेछ धत्तेरी !
उसको नाम राख्ने धुनको धोको हजारौ बर्ष बुढो हो । नाम पनि सेतै भएर पाकेर बुढो भएर जन्मिन्छ र बुढो भएर नै मत्र्यलोकमा लल्यालुलुक भएर मर्दछ । देवलोकबाट मत्र्यलोक कि मत्र्यलोकबाट देवलोकमा नाउँ जान्छ मलाई थाह छैन । घरिघरि मलाई यो कुराले कुरीकुरी गरेर जिस्काइरहेको छ ।
एउटा गाउँमा मेनुका नाम गरेकी मिठ्ठु बस्ने गरेकी थिइन् । उनी अबैंशे आइमाई हुन् । आमा र सासूलाई आफ्नो यौवनको तृप्ति दिनका लागि उनी उमेर घटाउन सक्दिनन् । मृत्यु आशाले पनि के गर्छ ? मृत्युले पनि उपद्रो गरेर एउटा ग्रहबाट अर्को ग्रहमा मान्छे उडान भर्छ जस्तो पो लाग्न थालेको छ मलाई । एउटा ग्रहको अडान भनेको मान्छेको स्वभाव जस्तै हो ।
झिसमिसे भन्दा अगाडि मान्छेले उठेर धेरै थोक तयार गर्न भ्याएको हुन्छ । त्यो भनेको भान्छेले दाल भात मात्र बाँड्दैन भात र जात पनि छुट्याउने काम गर्छ । अरु भोक पनि थोक पनि निम्ठो पार्ने काम गर्छ । त्यो समाजमा देखिन थालेको छ । पत्यार लाग्दैन भने समाजशास्त्र पढे हुन्छ ।
भान्छेले थाल तेसार्उन नाउँ पनि काड्छ । ए हर्के, थकर्,े काहिँलो, ठाइँलो, राइँलो, माहिलो र जेठो जे पनि हुन सक्छ । यसो भन्दा मेरो कलमको अर्को तोप पड्किन्छ । मान्छेको क्रुरता भनेको छटपटिमा पड्किन सक्छ ।
मान्छेको नाउँ राख्ने निर्धारित बिधि भनेको न्वारन हो । तर आजकल न्वारन पनि खोक्रो हुँदै गएको जस्तो लाग्छ । न्वारनमा राखेका नामसित न काम मिल्छ न दाम मिल्छ ।
उदाहरणको लागि दशैंको तिथिले दशमी विजया दशमी जनाएको हुन्छ भने त्यसलाई मनेगढन्ते गरेर नमवी तिथिलाई विजया दशमी भन्न मिल्दैन । सप्तमीलाई फुलपाती भनिन्छ । षष्टी चतुर्थी भन्न मिल्ने पनि हैन । मिल्ने भए सबै बलौ चले हुन्छ । नवरात्र ५ दिनमा सकिन्छ भन्न मिल्दैन । हो, यसैलाई बेतुके नाउँ भनिन्छ । अनि लाजको पसारो भनेको यहि हो ।
नाम कस्को पो मिलेको छ यो संसारमा ? उहिलेका हुक्कामा फस्ने हुक्के बैठकैहरू चाहिँ आजकल नाउँ फेरिएर दल दलमा फस्ने भएर होला दले दाइ रे ! कुरा गर्ने नै हो भने नाम मिलेको भन्दा नमिलेको धेरै भेटिन्छ । श्यामेको नाउ च्यामे राखेर त भएन । रावणको नाउँ राम राखेर भएन । हनुमानको नाउँ बाँदर राखेर पनि भएन । पहिरनमा हिप हिप हुन्छ भने कुरामा ठीक ठीक हुन्छ । सुनसान दिनलाई अर्थात घाम लागेको दिनलाई रात भनेर नाउँ काड्न राख्न पनि मिल्दैन ।
घरमा खुत्रुके राख्नेलाई खुन्तुरे बा भन्न पनि भएन । सुपारी टोक्नेलाई सुपारी बा भन्न पनि मिलेन । डोटीमा बसेर दिलको टोपी बेच्नेलाई के भन्ने ? फेवाताललाई बेगनास ताल भन्न मिलेन । रुपा ताललाई रानी तलाउ वा पोखरी भन्न पनि सकिदैन । ताल बाराहीलाई सालबारी भन्न पनि मिलेन । माछापुच्छे्रलाई मकैको जुँगा भन्न मिलेन । रारा ताललाई रारा चाउचाउ भन्न पनि कहाँ मिलोस् । उफ ! आजकल उषाकालीन देवीलाई वेवी रे । क्या फसाद ! टुँडीखेललाई ढुँडीखेल भनेर नाम रुपान्तर गर्ने कसको हिम्मत ? त्यो नाउँ मिलेको छैन कसले भन्न सक्छ ? यी र यस्ता कुरा मनको कुनाकन्दरामा बेसरी कवाज खेलेर दर्गुन थाल्छ । कसलाई सोध्ने अनेक कुरा मनमा चलमलाउँछु ।
एउटा अन्योलमा छु । यसो अनुहार छाम्छु हाड नभएको जिब्रो गिदीमा पुर्याए। फड्कार्छु । कतै बगरमा पुगेर आँखा नदीमा बगाएर हेर्छु नाम नमिलेकै मात्र देख्छु । चारैतिर जोर आँखा तन्काउँछु- ब्रह्माले बनाएकै पृथ्वीको नाम त मिलेको छैन रे ! पहाडको फाँट कुखुराको पखेटा पखेटा जस्तै पखेरा पखेरामा पाइन्छ । ब्रह्माले बनाएको भनिएको जमिन त कतै उवडखावड छ । यहाँ मान्छे जातकै नाक कुनै थेप्चा कुनै चुच्चे कुनै बुच्चे । अरुको रामतोरियजस्तो लाम्चे पो ! यसरी शीर्षक नै नमिलेपछि नाम र तह मिल्ने कुरै छैन ।
त्यहि भएर हाम्रा भैरव अर्यालले भने जस्तो भूगोलमा तह ‘नमिलेको पृथ्वी’ छ अनि नाउँ मिलेको मान्छे कहाँ भेटिन्छ ? यो भनेको हात्तीको नाउँ चप्पल राख्न भएन । हात्ती र हात्ती छाप चप्पल एकै हुँदा पनि हैन । गैडालाई बोका भन्नु पनि कसरी ?
देवलेकको प्रज्ञाको कुर्सीमा बस्नेलाई जुक्ति पहिल्याउन दिए कसो होला । मत्र्यलोकमा इच्छा शक्तिमा बिर्को लाउनु पर्ने भएको छ । दलबाहुरको दलान यो बागमती विष्णुमतीको ढलभन्दा अझ बढि गन्हाउने भएको छ । काठमाडौंको फोहर टुकुचाको भन्दा ठूलो भएर निस्कने ढलमतीका गोरखधन्धाहरू छन् । उसको शक्ति देखेर हामीले हरेस खाए पनि चरेस खानु पनि भएन ।
त्यसै भएर नाउँ मिलाउने कसरी ? गाउँमा एक दुई पाथी कोदो बेच्ने व्यापारी शहर छिरेपछि दुइ तीन करोडको जग्गाको दलाली गर्छन् । टुप्पीदेखि पैताला छोप्न दस ढलानमा बस्छन् । त्यसले उनीहरू रायोको साग खान छाडेर दुब्लो विरामी हुँदा पनि राय दिने काममा हिड्न थाल्दा रायो बाजे भएका छन् । यसैलाई दलेदाइ भनिन्छ । यसबाट लुड्याउँने पैसालाई कमिसन भनिन्छ । रायोको साग बेच्ने सागबहादुर अहिले गुन्द्रुक बेच्न पल्केका छन् । चिनबाट आयात हुने गुन्द्रुकको भाउ पनि नामले नै चर्को भएको छ ।
कसैको नाउँ छ हिले बहादुर रे ! उसको व्यवसाय हुन्छ सुनको व्यापार । कसैको नाउ गजबार रे । उसलाई किन आग्लोबहादुर किन नभनेको होला । ढोका बन्द गर्न गारैमा जडिएको आग्लो अर्थात गर्भे आग्लो नै गजबार हो । कतै टोपी लाउनेलाई टोपबहादुर रे ! म छक्क पर्छू । कोही जल खाएर बाँचेका छन् के जल बहादुर भन्ने ? पिँडालु खाएर बसेकोलाई पिँडाली भन्ने ? आलु खाएर बसेकोलाई आले भन्ने ? यसरी जता हेर्यो उतै नाउँ नमिलेको देखेर म हैरान हैरान हुने गरेको छु ।
कसैको गाउँले गाउँले मिलेका छैनन् । टोल मिलेको छ टोलिया मिलेका छैनन् । नाम नमिलेको गाउँ जस्तै मान्छे छन् । कोही खुर्सानी नभई घर नपस्ने कोही कोही खुर्सानी घरमा भए बाहिर बस्ने टोल पनि छ । मेरै टोलको नाउ मिलेको छैन । शिखरटोल रे ! जहाँ सगरमाथाको एक चिम्टी हिउँ कहिल्यै खस्दैन । जहाँ गुराँस फुलाउने गमला राख्ने ठाउ छैन । चुत्रो काफल रोपेर देशको दुर्गन्ध हटाउन एक जोर रुख रोप्न करेसावारी बनाउने ठाउँ छैन । आकाशका शारदीय घाम पनि मलिन भैसके । अब कसरी उसको नाउँ मिलाउँ म ? पूणर्िमाको जुन पनि ओइलाउन थालिसक्यो । रातो र चन्द्र सूर्य झण्डाको मगमग बासना हराउन थालिसक्यो । अनि यस्तो गाउँलाई म के नाम दिउँ ?
ओ ! महाशय !! नाम र प्रकृति वा प्रवृत्ति पटक्कै नमिलेकाहरूले हामीलाई खसि बोका जस्तो मोलमोलाई गरेर दाम्लामा बाँध्ने छन् । गाई बस्तुलाई झैं घाँस र कुँडो खुवाउने छन् । हजुरबाको पालामा हजुरबालाई पनि यसै गरे । बाको पालामा पनि बालाई यसै गरे । मेरा पालामा पनि मलाई यसै गर्दैछन् । अब मेरो छोराका पालामा पनि छोरालाई यसै गर्ने दाउमा छन् । यो घाउ म कसरी बिर्सन सक्छु र ? चलेका नाम नराखे दलेकोे दल दलमा फसेर उसैको दैलोमा दलिने पनि सक्छौँ । कतै पसलेले सामान किनबेच गरेजस्तो जोखेर खरिदबिक्रि गर्ने छन् ।
यदि कसैका नाउँ अनुसार उसको रुपअनुहार, विधिव्यवहार मिलेको छैन भने त्यो मिलाउन र त्यसै अनुसारको नाउँ दिलाउन एउटा नयाँ अभियानको खाँचो छ आज । यही खाँचो पूरा गर्ने साँचो चाहिँ कता, कसले कसरी बनाउने होला ! म त्यसैको खोजीमा ज्यान फालेर लागेको छु । मेरो यो अभियानमा साथ दिने को को हुनुहुन्छ ? लौ, फटाफट आफ्नो नाउँ र ठाउँ दिनोस् त ।
०००
हाल : सिड्नी, अस्ट्रेलिया
२०७९ आश्विन १९
Subscribe
Login
0 Comments
Oldest









































