साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ रावण, यी रावण

अचेल पनि जसले केन्द्रीय सत्ताबाट वरदान र आशीर्वाद पाउँछ, त्यसमा रावणीय गुणहरू स्वतः विकसित हुँदै गएको पाइन्छ । तपस्या गर्नेले गरेकै छन्, वरदान दिनेले दिइरहन्छन् ।

Nepal Telecom ad

रावण दुष्ट, दुराचारी एवं अधर्मी थियो, वाल्मीकि रामायणमा मजासँग उल्लेख गरिएको छ । यता लगभग छ सय वर्षअघि तुलसीदासले भने रामचरितमानसमा रावणलाई ‘अहङ्कारी’ मात्र थियो भनेर व्याख्या गरेका छन् । तुलसीदास लेख्छन्- “सबै अहङ्कारीहरू, दुष्ट, दुराचारी र अधर्मी हुँदैनन् । सबै दुष्टहरू, दुराचारी, अधर्मी र अहङ्कारी हुन्छन् भन्ने पनि छैन ।” उनले रामको प्रशंसा त गरे तर रावणलाई ज्यादै पतित भनेर उल्लेख गरेनन्, जति अन्य ग्रन्थहरूमा गरिएको छ । के कारणले हो, तुलसीदासले रामको कद नघटाए पनि रावणको कद भने केही त बढाइ दिएकै हुन् ।

तुलसीदास कृत रामचरितमानसमा रावणलाई विद्वान र धर्मको मार्गमा चल्ने व्यक्ति भनि बताइएको छ । जसरी आधुनिक तुलसीदासहरूले वर्तमान रावणहरूको कद बढाउने गरेका छन् । जसरी लेखे पनि जसरी देखे पनि कसैले न हिजो प्रतिवाद गरेको देखियो न आज । हुन त रावणहरूका विषयमा प्रतिवाद गर्न मिल्दैन पनि होला । त्यसका लागि त निकै हिम्मत चाहिन्छ । बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने काम सजिलो छैन । किन कि रावणहरू अत्यन्त शक्तिशाली हुन्छन्, बलिया हुन्छन् र लुटेको कुबेरको सम्पतिले सम्पन्नशाली कहलिएका हुन्छन् ।

यथार्थमा रावणको चरित्र जस्तोसुकै होस्, वर्तमानमा भने यिनीहरूको कद आफैं बढिरहेको छ र बढाउने कसरत पनि भइरहेको छ । गगनचुम्बी हिमाल जस्तै उचाईमा पुगेको छ । बरु रामहरूको कद घटेको देखिन्छ । त्यसको बलियो प्रमाण भनेको अचेल मान्छेहरूले रामको आदर्शलाई चटक्कै भुलेर रावण पथमा हिँड्ने गरेको कुराले त्यसको पुष्टि हुन्छ । रावणका अनुयायीहरू नजानिँदो तरिकाले बढेका बढ्यै छन् ।

मान्छेहरूले कुरा गर्दा, भाषण गर्दा, आश्वासन बाँड्दा, भोट माग्दा, अर्कालाई उपदेश दिँदा रामको भेषमा गर्छन् तर उसको आकार, प्रकार र बानी व्यहोरा र तमाम गुणहरू नियालेर हेर्ने हो भने रामको भेषभित्र अदृश्य रुपमा रावणहरू भेटिन्छन् ।

केही पुराणहरूमा र अनगिन्ती ग्रन्थहरूमा रावणको चरित्र विभिन्न प्रकारले उल्लेख गरिएको पाइन्छ । कसैले के भन्छन् कसैले के ! तर एउटा मुख्य तत्त्व भने सबैमा उल्लेख गरिएको छ । त्यो के हो भने रावणले आफ्नो दानवी शक्तिलाई मजबुत बनाइ राख्न भगवानको तपस्या गरेको भन्दै शक्तिशाली ब्रह्माण्डीय सत्ताको चाप्लुसी र चाकडी गरि रहन्थ्यो । चाकडीबाट खुशी हुने परम्परा आदिमकालदेखि नै थियो । यसको निरन्तरता आजसम्म पनि देख्न पाइन्छ । जब उसले चाकडी गथ्र्यो, देवताहरू मक्ख पर्थे, त्यही मौका छोपेर, उसले वरदान माग्थ्यो- “गरुड़, नाग, यक्ष, मानव, दानव तथा देवताहरूबाट अवध्य हुन पाउँ ।

देवताहरू उसको चाकडीबाट प्रसन्न हुँदै मुसुक्क हाँसेर फ्याट्टै भनिदिन्थे ‘तथास्तु’ । जब उसको मागमा तथास्तु नामको लालमोहर लाग्थ्यो, फेरि के चाहियो र ? रावण छोइनसक्नु हुन्थ्यो । यो यथार्थ त्यस समयमा मात्र होइन, अझैसम्म पनि कायमै छ । अचेल पनि जसले केन्द्रीय सत्ताबाट वरदान र आशीर्वाद पाउँछ, त्यसमा रावणीय गुणहरू स्वतः विकसित हुँदै गएको पाइन्छ । तपस्या गर्नेले गरेकै छन्, वरदान दिनेले दिइरहन्छन् । प्रायः हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारमा लिप्त हुनेहरूले धेरै तपस्या गर्छन् । यति मात्र होइन त्यसबेलाका नीतिवादी र उदार भनिएका रावण पत्नी मन्दोदरीहरू अचेल भने, निकै अनुदार देखिन्छन् । सीताको मुकुट लगाएका सुपर्णखाहरू जस्तै ।

रावणले आफ्नै सौताने भाइ कुबेरमाथि आक्रमण गर्‍यो, उसलाई हराएर पुष्पक विमान हत्याउन सफल भयो । जुन, मनको गति भन्दा पनि छिटो उड्छ भनिएको थियो । जसमा विमानभित्र चढ्ने सिँढी स्वणर् एवं मणि माणिक्यहरू जडान गरिएको थियो । यसैगरी विभिन्न रत्नहरू जडित भरेङ् अझैसम्म पनि देख्न पाइन्छ । कुनै दिन रावणहरूको दरवारमा पुग्नु भयो भने ध्यान दिएर हेर्नुस् त ! कुबेरको सम्पत्ति मात्र होइन, यहाँ त कुबेरहरूलाई नोकर बनाएर राखेको देखिँदै छ ।

रावणले एउटा भाइसँग लुटेको धन र सारा मान मर्यादा र ज्यान समेत अर्को भाइले चित्त दुःखाएकै कारण तहसनहस भएको थियो । अहिले पनि यस्तै तथ्य कतै देखियो भने त्रेता युगको देखासिकी हो भनेर ढुक्क भए हुन्छ ।

एउटा ग्रन्थमा उल्लेख गरिएको छ, उसको पुष्पक विमान एकपटक भगवान शङ्करको क्रीडास्थान सिधा माथिबाट उडिरहेको थियो, अचानक विमानको गति अवरुद्ध भयो । विमान डगमगाउन लाग्यो । अहङ्कारी रावण हैरान भयो । उसले वाध्य भएर विमान अवतरण गर्नुपर्‍यो । शङ्कर भगवानका सेनाहरूले शङ्करको महिमा बताउँदै भने- “यो पवित्र स्थानमा विघ्नबाधा गर्न मिल्दैन ।” तब रावण क्रुद्ध हुँदै भनेको थियो- “को हो त्यो शङ्कर भन्ने ? म तेरो शङ्कर र यो समूल पर्वत नै उठाएर फाल्न सक्छु, मसँग निहु नखोज्नू ।” उसको घमण्ड देखेर स्वयं नन्दीद्वारा उसलाई सम्झाउने प्रयत्न भयो ।

“कस्ता कस्तालाई तह लगाइयो यो जाबो बाच्छो फुर्ति गर्दोरहेछ” भन्दै रावणले कैलाश पर्वत हल्लाउन थाल्यो । जब पर्वत हल्लियो, एक्कासि शङ्कर भगवान समेत हल्लिए । आवेशमा आएका शङ्करले पर्वतमा आफ्नो पैतालो टेकाए । शङ्करको पैतालोले रावणको हात च्यापिन पुग्यो । गम्भीर पीडा भएपछि रावण चिच्याउन लाग्यो । शङ्करसँग भिड्न नसक्ने बुझेपछि आफ्नो विमान लिएर रावण भाग्यो । उसले अब शङ्करको शक्ति बुझिसकेको थियो ।

त्यही रावण पछि गएर तिनै शङ्करको महान भक्त बन्यो । त्यसपछि के चाहियो, रावण झन उग्र भएर निस्क्यो । यस्तै प्रकारको थियो रावणको असली चरित्र र राजनीति । यो सिलसिलाको अन्त्य हुने लक्षण अझैसम्म पनि देखिएको छैन । त्यसैले राजनीतिमा भ्रष्टाचार, अहङ्कार, अधर्म र दुराचारको बिजारोपण गर्ने काममा ब्रह्मा, विष्णु र महेश्वरको ठूलो हात छ भन्ने लाग्छ । रावणको हरेक पटकको चाकडीमा, देवताहरूले खुरुक्क वरदान नदिने गरेको भए सायद आजसम्म यो विकृति फैलने थिएन ।

यो कुरा अरुले नबुझे पनि भगवान शङ्करले बुझ्नु पथ्र्यो । किन कि उनीसँग तेस्रो नेत्र पनि थियो, जुन नेत्रले भविष्यमा हुनसक्ने सम्भावित घटना, दुर्घटनाहरू स्पष्टसँग देख्न सकिन्थ्यो ।

आजपर्यन्त त्रिदेवलाई प्रसन्न गर्दै अनगिन्ती रावणहरूले आशिर्वाद पाइरहेका छन् र आफ्नो कद बढाइरहेका छन् । जब चाहिने भन्दा बढी यिनीहरू कद बढाउँछन् स्वयं त्रिदेवहरू माथि नै भारी बन्न थाल्छन् ।

आजभोलि मान्छेहरूले सुँगुर, भेडा, भैंसीलाई क्लोनिङ् विधिले विकास गरेको समाचार सुनिन्छ तर रावणको क्लोन कला वडो अनौठो थियो, त्यसै उसलाई वैज्ञानिक भनिएको होइन । आफ्नो दशवटा क्लोन त उसले त्रेतायुगमा पनि बनाएको हो । अचेल उसका हजारौं क्लोन समाजमा फैलिएका छन् । तिनले मुख ढाकेर हिँड्छन्, रामको मुकुन्डो लगाउँछन् । बाहिरी रुपमा राम र आवरण भित्र रावण बनेर ।

अचेल जनता पनि शक्तिशाली बन्दैछन् । त्यसैले देखावटी रुपमा जनता मुकदर्शक बन्दैनन्, रावणहरूलाई सत्तोसराप गर्छन्, धारेहात लगाउँछन् र अन्त्यमा यिनकै भरेङ् बनेर, दाह्रा किट्दै यिनैलाई भोट दिन्छन् र विजयमाला भिराएर पठाउँछन् । यिनै क्लोनहरूको सेवा गर्दछन्, चुपचाप यिनैलाई विश्वास गर्छन् । यिनैलाई महारावण बन्न मद्दत गरिरहन्छन् । जनताले जति गाली गरुन्, भोटले शक्तिशाली बनिसकेपछि यिनलाई जनताको नाथे तागतले के पो लछार्न सक्छ र ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x