चिरञ्जीवी दाहालऊ रावण, यी रावण
अचेल पनि जसले केन्द्रीय सत्ताबाट वरदान र आशीर्वाद पाउँछ, त्यसमा रावणीय गुणहरू स्वतः विकसित हुँदै गएको पाइन्छ । तपस्या गर्नेले गरेकै छन्, वरदान दिनेले दिइरहन्छन् ।

रावण दुष्ट, दुराचारी एवं अधर्मी थियो, वाल्मीकि रामायणमा मजासँग उल्लेख गरिएको छ । यता लगभग छ सय वर्षअघि तुलसीदासले भने रामचरितमानसमा रावणलाई ‘अहङ्कारी’ मात्र थियो भनेर व्याख्या गरेका छन् । तुलसीदास लेख्छन्- “सबै अहङ्कारीहरू, दुष्ट, दुराचारी र अधर्मी हुँदैनन् । सबै दुष्टहरू, दुराचारी, अधर्मी र अहङ्कारी हुन्छन् भन्ने पनि छैन ।” उनले रामको प्रशंसा त गरे तर रावणलाई ज्यादै पतित भनेर उल्लेख गरेनन्, जति अन्य ग्रन्थहरूमा गरिएको छ । के कारणले हो, तुलसीदासले रामको कद नघटाए पनि रावणको कद भने केही त बढाइ दिएकै हुन् ।
तुलसीदास कृत रामचरितमानसमा रावणलाई विद्वान र धर्मको मार्गमा चल्ने व्यक्ति भनि बताइएको छ । जसरी आधुनिक तुलसीदासहरूले वर्तमान रावणहरूको कद बढाउने गरेका छन् । जसरी लेखे पनि जसरी देखे पनि कसैले न हिजो प्रतिवाद गरेको देखियो न आज । हुन त रावणहरूका विषयमा प्रतिवाद गर्न मिल्दैन पनि होला । त्यसका लागि त निकै हिम्मत चाहिन्छ । बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने काम सजिलो छैन । किन कि रावणहरू अत्यन्त शक्तिशाली हुन्छन्, बलिया हुन्छन् र लुटेको कुबेरको सम्पतिले सम्पन्नशाली कहलिएका हुन्छन् ।
यथार्थमा रावणको चरित्र जस्तोसुकै होस्, वर्तमानमा भने यिनीहरूको कद आफैं बढिरहेको छ र बढाउने कसरत पनि भइरहेको छ । गगनचुम्बी हिमाल जस्तै उचाईमा पुगेको छ । बरु रामहरूको कद घटेको देखिन्छ । त्यसको बलियो प्रमाण भनेको अचेल मान्छेहरूले रामको आदर्शलाई चटक्कै भुलेर रावण पथमा हिँड्ने गरेको कुराले त्यसको पुष्टि हुन्छ । रावणका अनुयायीहरू नजानिँदो तरिकाले बढेका बढ्यै छन् ।
मान्छेहरूले कुरा गर्दा, भाषण गर्दा, आश्वासन बाँड्दा, भोट माग्दा, अर्कालाई उपदेश दिँदा रामको भेषमा गर्छन् तर उसको आकार, प्रकार र बानी व्यहोरा र तमाम गुणहरू नियालेर हेर्ने हो भने रामको भेषभित्र अदृश्य रुपमा रावणहरू भेटिन्छन् ।
केही पुराणहरूमा र अनगिन्ती ग्रन्थहरूमा रावणको चरित्र विभिन्न प्रकारले उल्लेख गरिएको पाइन्छ । कसैले के भन्छन् कसैले के ! तर एउटा मुख्य तत्त्व भने सबैमा उल्लेख गरिएको छ । त्यो के हो भने रावणले आफ्नो दानवी शक्तिलाई मजबुत बनाइ राख्न भगवानको तपस्या गरेको भन्दै शक्तिशाली ब्रह्माण्डीय सत्ताको चाप्लुसी र चाकडी गरि रहन्थ्यो । चाकडीबाट खुशी हुने परम्परा आदिमकालदेखि नै थियो । यसको निरन्तरता आजसम्म पनि देख्न पाइन्छ । जब उसले चाकडी गथ्र्यो, देवताहरू मक्ख पर्थे, त्यही मौका छोपेर, उसले वरदान माग्थ्यो- “गरुड़, नाग, यक्ष, मानव, दानव तथा देवताहरूबाट अवध्य हुन पाउँ ।
देवताहरू उसको चाकडीबाट प्रसन्न हुँदै मुसुक्क हाँसेर फ्याट्टै भनिदिन्थे ‘तथास्तु’ । जब उसको मागमा तथास्तु नामको लालमोहर लाग्थ्यो, फेरि के चाहियो र ? रावण छोइनसक्नु हुन्थ्यो । यो यथार्थ त्यस समयमा मात्र होइन, अझैसम्म पनि कायमै छ । अचेल पनि जसले केन्द्रीय सत्ताबाट वरदान र आशीर्वाद पाउँछ, त्यसमा रावणीय गुणहरू स्वतः विकसित हुँदै गएको पाइन्छ । तपस्या गर्नेले गरेकै छन्, वरदान दिनेले दिइरहन्छन् । प्रायः हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारमा लिप्त हुनेहरूले धेरै तपस्या गर्छन् । यति मात्र होइन त्यसबेलाका नीतिवादी र उदार भनिएका रावण पत्नी मन्दोदरीहरू अचेल भने, निकै अनुदार देखिन्छन् । सीताको मुकुट लगाएका सुपर्णखाहरू जस्तै ।
रावणले आफ्नै सौताने भाइ कुबेरमाथि आक्रमण गर्यो, उसलाई हराएर पुष्पक विमान हत्याउन सफल भयो । जुन, मनको गति भन्दा पनि छिटो उड्छ भनिएको थियो । जसमा विमानभित्र चढ्ने सिँढी स्वणर् एवं मणि माणिक्यहरू जडान गरिएको थियो । यसैगरी विभिन्न रत्नहरू जडित भरेङ् अझैसम्म पनि देख्न पाइन्छ । कुनै दिन रावणहरूको दरवारमा पुग्नु भयो भने ध्यान दिएर हेर्नुस् त ! कुबेरको सम्पत्ति मात्र होइन, यहाँ त कुबेरहरूलाई नोकर बनाएर राखेको देखिँदै छ ।
रावणले एउटा भाइसँग लुटेको धन र सारा मान मर्यादा र ज्यान समेत अर्को भाइले चित्त दुःखाएकै कारण तहसनहस भएको थियो । अहिले पनि यस्तै तथ्य कतै देखियो भने त्रेता युगको देखासिकी हो भनेर ढुक्क भए हुन्छ ।
एउटा ग्रन्थमा उल्लेख गरिएको छ, उसको पुष्पक विमान एकपटक भगवान शङ्करको क्रीडास्थान सिधा माथिबाट उडिरहेको थियो, अचानक विमानको गति अवरुद्ध भयो । विमान डगमगाउन लाग्यो । अहङ्कारी रावण हैरान भयो । उसले वाध्य भएर विमान अवतरण गर्नुपर्यो । शङ्कर भगवानका सेनाहरूले शङ्करको महिमा बताउँदै भने- “यो पवित्र स्थानमा विघ्नबाधा गर्न मिल्दैन ।” तब रावण क्रुद्ध हुँदै भनेको थियो- “को हो त्यो शङ्कर भन्ने ? म तेरो शङ्कर र यो समूल पर्वत नै उठाएर फाल्न सक्छु, मसँग निहु नखोज्नू ।” उसको घमण्ड देखेर स्वयं नन्दीद्वारा उसलाई सम्झाउने प्रयत्न भयो ।
“कस्ता कस्तालाई तह लगाइयो यो जाबो बाच्छो फुर्ति गर्दोरहेछ” भन्दै रावणले कैलाश पर्वत हल्लाउन थाल्यो । जब पर्वत हल्लियो, एक्कासि शङ्कर भगवान समेत हल्लिए । आवेशमा आएका शङ्करले पर्वतमा आफ्नो पैतालो टेकाए । शङ्करको पैतालोले रावणको हात च्यापिन पुग्यो । गम्भीर पीडा भएपछि रावण चिच्याउन लाग्यो । शङ्करसँग भिड्न नसक्ने बुझेपछि आफ्नो विमान लिएर रावण भाग्यो । उसले अब शङ्करको शक्ति बुझिसकेको थियो ।
त्यही रावण पछि गएर तिनै शङ्करको महान भक्त बन्यो । त्यसपछि के चाहियो, रावण झन उग्र भएर निस्क्यो । यस्तै प्रकारको थियो रावणको असली चरित्र र राजनीति । यो सिलसिलाको अन्त्य हुने लक्षण अझैसम्म पनि देखिएको छैन । त्यसैले राजनीतिमा भ्रष्टाचार, अहङ्कार, अधर्म र दुराचारको बिजारोपण गर्ने काममा ब्रह्मा, विष्णु र महेश्वरको ठूलो हात छ भन्ने लाग्छ । रावणको हरेक पटकको चाकडीमा, देवताहरूले खुरुक्क वरदान नदिने गरेको भए सायद आजसम्म यो विकृति फैलने थिएन ।
यो कुरा अरुले नबुझे पनि भगवान शङ्करले बुझ्नु पथ्र्यो । किन कि उनीसँग तेस्रो नेत्र पनि थियो, जुन नेत्रले भविष्यमा हुनसक्ने सम्भावित घटना, दुर्घटनाहरू स्पष्टसँग देख्न सकिन्थ्यो ।
आजपर्यन्त त्रिदेवलाई प्रसन्न गर्दै अनगिन्ती रावणहरूले आशिर्वाद पाइरहेका छन् र आफ्नो कद बढाइरहेका छन् । जब चाहिने भन्दा बढी यिनीहरू कद बढाउँछन् स्वयं त्रिदेवहरू माथि नै भारी बन्न थाल्छन् ।
आजभोलि मान्छेहरूले सुँगुर, भेडा, भैंसीलाई क्लोनिङ् विधिले विकास गरेको समाचार सुनिन्छ तर रावणको क्लोन कला वडो अनौठो थियो, त्यसै उसलाई वैज्ञानिक भनिएको होइन । आफ्नो दशवटा क्लोन त उसले त्रेतायुगमा पनि बनाएको हो । अचेल उसका हजारौं क्लोन समाजमा फैलिएका छन् । तिनले मुख ढाकेर हिँड्छन्, रामको मुकुन्डो लगाउँछन् । बाहिरी रुपमा राम र आवरण भित्र रावण बनेर ।
अचेल जनता पनि शक्तिशाली बन्दैछन् । त्यसैले देखावटी रुपमा जनता मुकदर्शक बन्दैनन्, रावणहरूलाई सत्तोसराप गर्छन्, धारेहात लगाउँछन् र अन्त्यमा यिनकै भरेङ् बनेर, दाह्रा किट्दै यिनैलाई भोट दिन्छन् र विजयमाला भिराएर पठाउँछन् । यिनै क्लोनहरूको सेवा गर्दछन्, चुपचाप यिनैलाई विश्वास गर्छन् । यिनैलाई महारावण बन्न मद्दत गरिरहन्छन् । जनताले जति गाली गरुन्, भोटले शक्तिशाली बनिसकेपछि यिनलाई जनताको नाथे तागतले के पो लछार्न सक्छ र ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































