देवीप्रसाद चापागाईंबुर्कुसी
कुमार-प्रवृत्तिबाट हैन गणेश-प्रवृत्तिबाट बुर्कुसी मारे मात्र प्रगति होला नभए प्राप्तिको सम्भावना नेटो काट्ने आशङ्कामा सुइँकुच्चा ठोकी म त्यहाँबाट घरतर्फ बुर्कुसी मारेँ ।

देवीप्रसाद चापागाईं :
आदरणीयदेखि अनादरणीयसम्म सबै तहका मनुवालाई बेवास्ता गरी बेंपत्तिनु बुर्कुसी मार्नुहोला । दृश्य वा अदृश्य, आंशिक वा पूणर् रूपमा बुर्कुसीका प्रचुर उदाहरण भेटिन्छन् । सिरानघरे कालेदेखि माझघरे भालेसम्म सबै आ-आफ्नै पारा र मर्जीमा बुर्कुसी खेप्छन् । कतिपय पछुवाहरू आफ्नो करामत उच्च भएको दाबी गरी अशक्तलाई हेप्छन् । फाइदा र काइदामा जे-जे भए पनि हुत्ती र ह्याउअनुसार सबै बुर्कुसी मार्दछन् । कोही चस्मा अड्याउँदै, कोही फरिया मुज्याउँदै, कोही दाहिने हातले देब्रे हातले कन्याउँदै, कोही छेडेको कान बुज्याउँदै, कोही छिमेकीलाई पेच हानी खोक्दै, कोही पण्डित बाले दिएको मन्त्र घोक्दै आ- आफ्नै पारामा बुर्कुसी मार्दछन् ।
प्रतियोगितात्मक चौरको दौडमा प्रतियोगीहरू सोचेको लक्ष्य हासिल गर्न बुर्कुसी मार्दछन् । कोही नहार्न बुर्कुसी मार्दछन्, कोही हारेर मुख लुकाउन बुर्कुसी मार्दछन्, कोही सिंहदरबारमा पसी जुँगामा बडप्पनको नौनी घसी विपक्षीका कन्चट सेकाउन बुर्कुसी मार्दछन् । कति त माल अड्डामा किर्नेटारको एक हजार भारी मकै आउने बारीलाई एक कौडी नतिरी सम्ठ्याउन घरीघरी मालअड्डा र मालहाकिमका आश्रयमा बुर्कुसी मार्दछन् ।
बुर्कुसीका नौमुरी उदाहरण छन्,- चिट बुर्कुसी, नाठो बुर्कुसी, पाहुना बुर्कुसी, बुजो बुर्कुसी, दम्पच बुर्कुसी, नाना बुर्कुसी, दाना बुर्कुसी, कुर्सी बुर्कुसी, लात्ती बुर्कुसी, धक्कु बुर्कुसी उदाहरण कतिकति पर्गेलौँ छिटफुट अभ्यासहरू ।
‘गजबबहादुर’ ले थानसिङ्टारको शारदा मा.वि.को गेटमा पुगेर यसो नियाल्यो । केही युवायुवती हातमा पुस्तक लिएर ’आयो ! आयो !!’ भन्दै दौडिरहेका थिए । पछिपछि विद्यालयका प्र.अ. हातमा लाठो लिई बुर्कुसी मार्दै थिए । ऊ अक्क न बक्क भयो । न यहाँ त आउनै नहुने पो रहेछ । भन्दै ऊ त्यहाँबाट भाग्नासाथ हेडमास्टर उसतर्फ दौडदै आई लाठो बर्साए । बित्थामा सजाय पाउँदा रिसले चूर भई उसले आफ्नो हातले लाठो पक्री हेडमास्टरलाई के सोझ्याएको थियो अन्य शिक्षकहरूमा कोलाहल मच्चियो । सबै त्यतै बुर्कुसी मारे । अन्त्यमा रहस्य खुल्यो ’चिट’ का लागि गोता पायौँ भन्दै सबै सबै आ- आफ्नो कार्यकक्षतर्फ बुर्कुसी मारे ।
थाङ्पाले पाटाकी माइला खत्रीकी छोरी पम्फे, ऐँसेलु घारीबाट फुत्त निस्की र थानसिङ्गे पाटोको कुनैकुना बुर्कुसी मारी। काफल खान जाने सबै जिल्ल परे । के भयो भन्दै सबै उसैका पछिपछि लागे । सबै आफैँतर्फ दौडदै आएको देखी रहस्योद्घाटन हुने भयले भुइँमा लडी रुन थाली । अरू सबै दङ्गदास गरे । कोही भन्दै थिए, पेटमा पीडा भएकाले ऐँसेलुले निको हुन्छ रे भनेर खान गएकी होली । एकै छिनमा बारुले काइँलो देखा पन्यो । आशङ्का बढ्ला भनेर केटीकै तर्कमा सही थाप्दै भन्यो, “हैन, हैन यिनी अरू काममा गएकी । उनी ऐँसेलु खान लागेकी मैले एक घण्टा अगाडि एउटै झ्याङमा देखेको ।“ रहस्य खुल्यो सबै मुखामुख गरी तातो न छारो भन्दै काफलको रुखतर्फ बुर्कुसी मारे ।
खरेलथोककी माहिली बज्यै हस्याङफस्याङ गर्दै राजुगैराबाट कुद्दै थिई । बाटामा गाउँका दत्तनाथ मरासिनीसँग भेट भयो । उनले भने “हैन, भाउजू के भयो निकै आतुरता देखाइरहनुभएको छ नि !“ बाबु त्यस्तै छ । अप्ठ्यारो मान्नु पर्दैन ्र घरमा पाहुना आएका छन् । हाम्रो घरमा पाहुनालाई दाल खान नदिए इज्जत जान्छ रे । घरमा एक ’फाको’ दाल पनि नभएकाले पल्लो गाउँकी चिप्लेकान्छीकहाँबाट दाल मागेर ल्याएकी । ’पाहुनालाई आइदे भयो, भुरालाई रोइदे भयो’ सबै त्यस्तै त हो नि ! भाउजूको कुरा सुनी उनी एकछिन अल्मलिए । कुरो बुझेको भान गरी बिदा भए । भाउजू पाहुनाले कुरो बुझ्ला भनी त्यहाँबाट छिटोछिटो घरतिर बुर्कुसी मारिन् ।
गाडीमा एक महिला यात्री फत्फताउँदै थिइन् । एउटा छोरो, एउटी छोरी छन् । दुवै गतिला छन् । छोरो डाक्टर र छोरी कमर्स । छोरीको बिहे गरेपछि छोराले डाक्टर केटी भित्र्याउँछ । त्यतिखेर ती गिज्याउने गाउँलेले के भन्लान् नि ! डाक्टरको सासू हुन तिनीहरूको ललाटमा पनि लेखेको हुनु पर्यो नि ! उनको एकोहोरो फत्फत् अर्का यात्रुलाई मन परेन । उनी निहुँ बनाई अर्को खाली सिटतर्फ हानिए । फेरि अर्को यात्री त्यही सिटमा आई बसमरस बस्यो । मुखमा सोमरसको बास्ना आएको अनुभूति भएपछि पछ्यौराले मुख थुन्दै बूढीले भनिन्- “बाबु । मेरो छोराबुहारी डाक्टर भएपछि सबैलाई रक्सी नखाऊ भन्न लगाउँछ ।” बुढीको कुरामा ध्यान थिएन, त्यस मनुवाको । उसले बीचैमा कुरो काट्यो र भन्यो । “ओइ । बूढी चुप लाग् । तेरो छोरो डाक्टर हुँदैमा मेरो आनन्द हर्न सक्छ ? फूर्ति नलाऊ, नाकसॉक उडाइदिन्छु ।” बूढी भयभीत भइन् र झटपट ओर्लने स्थल आएको भान पारी बस रोक्न लगाई अपरिचित ठाउँमा बेपचाकमा बुर्कुसी मारिन् ।
आज राजधानीमा निकै चहलपहल थियो । नेपाली पोसाकको परिधानमा धेरै बसयात्रीहरू देखापरे । कोही कारमा, कोही मोटरसाइकलमा, कोही पैदलमा यस्तैयस्तै देखिए । म टुडिखेलको छेउमा के पुगेको थिएँ। त्यहाँ लगभग पाँच सयजना व्यक्तित्वहरू राष्ट्रिय पोसाकमा कवाज खेल्दै थिए । राष्ट्रिय पोसाकमा परेड खेलेको देखेर म अड्कल काट्न नसकी एकछिन अल्मलिएँ। फेरि सोचें, तालिम दिनेलाई सोध्छु । केही समय विश्रामको सङ्केत गर्दै तालिमका गुरु शौचालय हानिएका थिए । त्यही मौकामा म त्यतै कुदै र भट्पट् सोधे उनलाई- “यो कस्तो कवाज हो ? म पनि सामेल हुन पाउँछु ?” उनले आश्चर्यचकित भएर भने,- “यो राजा लुक्नेदेखि मन्त्री भुक्ने दरबारसम्म जो अघि दौडेर पुग्दछ उसैलाई प्रधानमन्त्री र मन्त्री पद दिने नौलो व्यवस्था भएकाले तालिम लिइरहेका ।” अनि मलाई पनि रहर जागेर आयो र जिज्ञासा पोखें, “गुरु, म पनि सामेल हुन पाउँछु ?” अहँ, पाइन्न । राष्ट्रिय पोसाक र शैक्षिक यौग्यता मात्रै भएर हुन्न । अन्य लाइसेन्स पनि आवश्यक छ । मैले पुनः जिज्ञासा राखेँ । कस्तो लाइसेन्स ममा पनि छ कि ? उनले सम्झाउँदै भने सामेल हुने मन भए अनुमतिका लागि खेलाडी छनौट हुने कार्यक्रम छ, त्यसको लागि अन्तर्वार्ता दिन तयार भई आउनु धनुषा बैठकमा । म हौसिए । ए ! मन्त्री पो होइन्छ कि !
चार जनापछि अन्तर्वार्ता दिने पालो आयो मेरो । म फुत्त भित्र पसें । उनै गुरु थिए प्रश्नकर्ता । अहिले उनी कडास्वरमा प्रस्तुत भइरहेका थिए । दुवैपट्टि ’एम सेभेन्टिन’ भिरेका सैनिक तैनाथ थिए उनका सुरक्षार्थ । उनको पहिलो प्रश्न थियो
“तपाईंले छोप्न जान्नुभएको छ ?”
“छ ।”
“के छोप्न जान्नुभएको छ ?“ उनले अर्को थप प्रश्नको झटारो जोडे । मैले जवाफ दिएँ-
“बिस्कुनमा जाने कुखुरा, तताएको पानी, पाकेको खाना, देखिन लागेको लाज आदि आदि ।”
“यस्ताले पनि मन्त्री खान्छ ?” मैले भनेको कसैको राम्रो इतिहासमा टिपेक्स लगाई छोप्न जानेका छस् भनेको ।
“छैन हजुर, त्योचाहिँ छैन ।”
“शक्तिको भक्ति गाउन आउँछ ?”
“आउदैन हजुर ।”
“त्यही झलकमानको बाबाले सोध्लान् नि भन्ने आउँछ, त्यति हो ।”
“शाहवंशको वीरता कण्ठै आउँछ ?”
“सबैको त आउँदैन, उही राम शाह, पृथ्वीनारायण, त्रिभुवन, महेन्द्रको मात्र आउँछ गुरु ।”
“सबैभन्दा असल राजा इतिहासका को-को हुन् ?”
“मलाई त उही माथि भनेकै जस्तै छ हजुर ।”
“कहिल्यै धन्दा गरेको छस् ?”
“छ हजुर, भात पकाउने, लुगा धुने, गाईबस्तुलाई घाँस-पराल दिने आदि आदि ।”
“ त्यस्तो होइन ! मूर्ति चोरेको छस् ? घर फोरेको छस्, मारेको छस् ?”
“छैन, यी सबै कार्य छैन हजुर ।”
“बेलाअनुसार बोली फेर्न सक्छस् ?”
“सक्दिनँ ।”
“बाहिर धन थुपारेको छस् ?”
“छैन ।”
“खोलो नभएको ठाउँमा पुल हाल्न सक्छस् ?”
“सक्दिनँ ।”
“कानुन मिचेको छस् ?”
“छैन ।”
“बन्दुक तेस्र्याउँदा बोलीको लोली फेरिन्छ ?”
“फेरिदैन ।”
“फेरि अहिलेको समयमा यस्तो कर्म नगर्नेको स्थानै छैन ।”
म किंकर्तव्यविमूढ भएँ। अनि गुरु अनायसै गुन्गुनाउँदै दुर्योधनको मन्त्री कणर्िकको भनाइलाई प्रस्तुत गरे-
झपक्क फुल्दिनु किन्तु कत्ति पनि नफल्दिनु
राम्ररी फुल्दिनु किन्तु टिप्न सक्ने नभैदिनु
काँचो भए पनि किन्तु पाके रसिलो हुनु,
देखाउनु धनी भएजस्तो धन कति नखर्चिनु ।
त्यसपछि उनले लमजुङ बैठकमा जान सङ्केत गरे । म झटपट सङ्केतित कोठातर्फ लम्किएँ । अघिल्लो कोठामा अन्तर्वार्ता दिइसकेकाहरूलाई बाँकी प्रश्न सोधिँदोरहेछ त्यहाँ । बाघजुँगे प्रश्नकर्ता बीच कुर्सीमा ढसमस्स लेपास्सिएको थियो । दुवै छेउमा चार-पाँच जना बर्दीवाल आदेशपालक थिए । बस्नासाथ प्रश्नहरू ममाथि ओइरिन थाले । उसको पहिलो प्रश्न थियो-
“जगेर्ना गर्न आउँछ ?”
मैले भनें- “आउँछ ।”
“के-केको जगेर्ना गर्न आउँछ ?” उसको थप प्रश्न ।
“मातृभूमिको, कानुनको र स्वधर्मको”- मेरो जवाफ । उसले पड्कँदै भन्यो-
“भ्रष्टाचार, कमिसनतन्त्र र अव्यवस्थाको नि ?”
मैले भनें “आउँदैन ।”
“राष्ट्रियताको सवालमा कुन बेला र कतिखेर बोल्नुपर्दछ ?” मेरो जवाफ “जहिले पनि जहाँ पनि ।”
ऊ कङ्क्यो- “सत्ताको स्वाद नपाउँदा हैन ?”
“सीमा मिचिएको कुरा कुनकुन बेलामा नउठाउने ?”
मैले जवाफ दिएँ- “चुनावताका र सरकारबाट बाहिरिएको बेला ।”
“पृथ्वीनारायणको दुई ढुङ्गाबीचको तरुललाई आजको सन्दर्भमा कुन पर्यायवाची शब्द सुहाउला ?”
मैले भनेँ- “बेलुन ।” उसले भन्यो- “किन ?”
“सरकारमा छँदा हावा खुस्काइदिने, प्रतिपक्षमा हुँदा फुकिदिने ।”
“कुन देशको शासक हुन गाह्रो छ ?”
मैले उत्तर दिएँ- “स्वाधीनता र देशभक्तिको पाठ घोकाउने राष्ट्रको ।”
दौडबाट फैसला हुने आशा मेरो निराशामा फेरियो । राजा द्रव्य शाहको- शैलीमा मन्त्री खाने मेरो दाउ र जुँगामा लगाएको ताउ आखिर खेर गयो । कुमार-प्रवृत्तिबाट हैन गणेश-प्रवृत्तिबाट बुर्कुसी मारे मात्र प्रगति होला नभए प्राप्तिको सम्भावना नेटो काट्ने आशङ्कामा सुइँकुच्चा ठोकी म त्यहाँबाट घरतर्फ बुर्कुसी मारेँ ।
०००
‘बुर्कुसी’ हास्यव्यङ्ग्य सङ्ग्रहको शीर्ष व्यङ्ग्य निबन्ध
Subscribe
Login
0 Comments
Oldest









































