सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ हाकिम त्यसरी मुस्कुराए

भोलिपल्ट अखबारमा छापियो- ‘एक महिनामा चालीस लाख झ्वाम्’ । तल्तिर खबरमा हाम्रा नयाँ हाकिमको नाम थियो । यो सारा सही गर्ने उनै थिए । सधैं १० बजे कार्यालयमा पुग्ने नयाँ हाकिमको १२ बजेसम्म पत्तो थिएन । तल हावामा प्लाष्टिकका खोसेला बजिरहेका थिए ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

हामी स्वागतमा उभिएका थियौँ; नयाँ हाकिम एकपल्ट मुस्कुराए । उनले देब्रे हात मुड्की पारेर हावामा उचाले, तनक्क तन्किएर जिउ उचाले अनि थचक्क कुर्सीमा बसे ।

बिस्तारै कार्यालयमा क्रान्तिकारी परिवर्तन ल्याउनेतर्फ म उन्मुख भएँ । यो नयाँ हाकिमको प्रतिज्ञा थियो । लेखाप्रमुखसँग सल्लाह गरेँ, वास्तवमा लेखा र प्रशासनको सहयोग बेगर हाम्रो देशका कुनै पनि कार्यालयमा परिवर्तन हुन सक्दैन ।

पहिलो दिन चियाखाजाको मौका पारेर नयाँ हाकिमकोमा पसेँ । उनी अझै अप्ठ्यारो मानेर बसिरहेका थिए । खाजा आयो । ठीक त्यसैबेला उनको टेबलमा एउटा लाभ्रेकिरो सरसर कुध्न थाल्यो ।

“यो त भएन नि गोपीजी, खाने बेलामा यस्तो घीनलाग्दो…” नयाँ हाकिम बोले ।
म झसङ्ग भएँ । पीएलाई बोलाएँ, पीएले गार्डलाई बोलाइन् । गार्डहरू उफ्रेर त्यहीँ पुगे । गार्डले कुचीकारलाई बोलाए । एकै छिनमा १५-२० जना भेला भएपछि बल्ल लाभ्रेकिरो बढारेर पन्छाइयो ।

हाकिम तर्सिरहेका थिए । मैले सुटुक्क उनलाई भनेँ- “हाकिम सर, यो अघिल्ला हाकिमको अवशेष हो ।”
“कसरी ?” उनले जिज्ञासा राखे ।

“ती गमलामा दिनदिनै नयाँ फूल रोप्नु पर्ने, पुराना उखेल्नै पर्ने, मरेका फूल र पात टक्टक्याउँदै, लाभ्रेकिरा झार्दै, उर्वरक मल भर्‍यो, पानी भर्‍यो, पाँचजना माली दिनरात खटाउनु पर्ने । अघिल्लो हाकिमलाई हामीले भन्यौँ-

“आज हङकङ, सिङ्गापुर, जापान, थाइल्याण्ड र चाइनाका उत्कृष्ट फूलहरू बजारमा किन्न पाइन्छ । अनेक रङ्गका, आकारका, साइजका । एकपल्ट खर्च गरौँ, त्यो सस्तो पर्छ । तर अघिल्लो हाकिमलाई लाभ्रे कीराबाटै फाइदा हुने हुनाले हाम्रो प्रस्ताव मानेनन् ।”

त्यसपछि नयाँ हाकिमले गम्भीर हँुदै भने “गोपीजी, जे गर्नुपर्छ गर्नोस्, म तयार छु तर क्रान्तिकारी परिवर्तन नल्याई हुँदैन यो कार्यालयमा ।”

त्यसको सात दिनभित्र लेखाप्रमुखलाई लिएर म असन, इन्द्रचोक पसेँ, विशाल बजार, काठमाडौँ मल, भाटभटेनी, सारा घुमेँ र एक ट्रक फूलहरू किनियो । कोही लहरे, कोही सुनाखरी, कोही बारमासे- अनेक ।

शनिवारको दिन ओटीमा पचासजना ज्यामी र माली बोलाएर कार्यालय परिपरिको सम्पूर्ण फूलबारी समाप्त गरायौँ, गमला फुटायौँ, माटो झार्‍यौँ, सम्यायौँ, इँटा ओछ्यायौँ- यो एउटा क्रान्ति थियो ।

आइतबारको दिन सारा छक्क परे- पित्तलका गमला, टिलिक्क टल्केका । रङ्गीचङ्गी फूल, लहरा, पात, झुप्पा, फलिरहेका आँप र दारिम- कहिल्यै नझर्ने, नमर्ने, कुनै लाभ्रेकिरा नचढ्ने । नयाँ हाकिम प्रसन्न भए तर उनले कमेन्ट गरे- “वासना मात्रै नहुने यो, अरु ता भव्य । काठमाडौँमा हाम्रो अफिस भव्य भयो, सिंहदरबारलाई जितेन गोपीजी ?”

“नेपालभरिमा यस्तो उत्कृष्ट कार्यालय अर्को छैन हाकिमसाप” मैले थपेँ ।
केही निकृष्ट कर्मचारी खासखुस पनि गर्दै थिए तर हामीले वास्ता गरेनौँ । नयाँ हाकिमको टेबलमा यस्तै फूल राख्यौँ, भित्ताभरी अङ्गुरका झुप्पा र सुन्तलाका रुख टाँस्यौँ, त्यहीँ सुनाखरी झपक्क फुले । त्यो देखेर उनी प्रसन्न भएको बुझेपछि मैले भनेँ-

“सर गार्डेन त ठीक भो, अब दुईटा कुरा बदल्नु छ ।”
“के के भन्नुस् मात्रै गोपीजी ?”
“यो हजूरको कोठा भएन, माथि हलमा सारौँ, यी कुहेका फर्निचर फालेर नयाँ राखौँ अनि यो पीए भइन । छ महिनाको नानी छ, दूध खुवाउन जान्छु भन्दै भागिरहन्छे । त्यसले गर्दा कार्यालयमा नराम्रो असर पर्न गएको छ ।”

“तपाईं अघि बढ्नोस्, म भएँ ।” नयाँ हाकिम बोले ।
त्यसपछि एक शनिवार पारेर हामीले अर्को क्रान्ति गर्‍यौँ । नयाँ हाकिमको कोठा माथिको हलमा सार्‍यौँ । त्यहाँ भएका सम्पूणर् कार्पेटहरू उक्कायौँ, टेबल कुर्सी, फर्निचर, दराज, भित्ताका तस्वीर सारा पाखा निकाल्यौँ । त्यतिमात्र होइन कतिपयले आफ्नो कोठाका सारा फर्निसिङ्ग उक्कायौँ, टेबल कुर्सी निकाल्यौँ । हाकिमको भने नयाँ कम्प्युटर, नयाँ टिभी, नयाँ साउन्ड सिष्टम, नयाँ टेलिफोन सेट- सारा अर्कै भयो ।

दुइतीन ट्रक नयाँ सामान आए । त्यति नै सामान सेलाउन पठायौँ । ती हाम्रा घरघरमा पुगे । बूढो पियन भन्दै थियो— “यो ता भएन हजूर, मेरो भागाँ एकसेट सोफा र एउटा पुरानो दराज पर्ला भनेको; त्यो गार्डले चाहिँ एक ट्याक्सी नै लग्यो… ।”

मैले उसलाई हकारेँ “बूढामान्छे राम्रो काम गर, अर्को नयाँ हाकिमका पालामा तिमीलाई विचार गरौँला ।”
भोलिपल्ट हाकिम सवारी भएर दङ्ग परे । अब आउने आइतबार निरीक्षण गर्न मन्त्री आउने भए । मैले नयाँ हाकिमलाई भनेँ- “दुईतीनवटा काम युद्धस्तरमा गर्नुपर्‍यो हजूर ।”

सर्वप्रथम मैले त्यहाँको फिल्टर प्लान्ट उक्काएर होमप्याक गरिदिएँ अनि भनेँ- “यसरी डाइरेक्ट लाइनको पानी पिउनु हँुदैन । उहाँ प्रधानमन्त्री निवासमा एकैचोटि २२ जनालाई जन्डिस भएको थाहा छ छैन ? भोलि देखिन हामी मिनरल वाटर नै मगाउने ।”

सबै चूप लागेका थिए । छुचो खरदार बोल्यो- “गोपी सर, उसोभए यो वाटर प्लान्ट चाहिँ हाम्रो क्यान्टिनमा जडान गरौँ, त्यत्रो लाख रुप्याँ पर्ने प्लान्ट राखेको चार महिना पुगेको छैन ।”

मैले भनेँ- “त्यो कवाडीमा गइसक्यो, कता क्यान्टिनमा !’ (मैले आफ्नो घरमा लगेँ भन्नु आवश्यक थिएन, बोल्न नसके पनि एकदुई गार्डलाई थाहा थियो । मैले उनीहरूलाई भनेको थिएँ- “यो हल्ला भएछ भने सम्झिनू- जागिर समाप्त भयो ।’)
अनि मैले नयाँ हाकिमलाई भनेँ- “यहाँ पीएको लागि ता मिस नेपालका विजेतालाई मात्र राख्ने । अफिसको इज्जत चाहिएन हजूर, मन्त्रीज्यूको सवारी हुँदैछ, नानीकी आमालाई पीए देख्ता के भन्नुहोला ?”

मैले तुरुन्तै हाकिमको आदेश लिएर सूचना गरेँ । एकसेएक ब्यूटी क्वीनले निवेदन दिए । एउटी मिस नेपाल रनरअप थिइन्- मिस क्विन्सिया । तिनैलाई अन्तर्वार्ताद्वारा छनौट गरी पीएमा नियुक्ति गराएँ अनि नानीकी आमालाई भण्डार शाखामा सरुवा गरिदिएँ ।

अफिस अर्कै भयो । सारा कार्यालय न्यू फर्निशिङको बिल आयो, भित्तामा चूना, भूइँमा कार्पेट, नयाँ टेबल कुर्सी, सारा नयाँ जगमग, जगमग ।

नयाँ ब्यूटी क्वीन पीए र अफिसमा सानले बसेका हाकिम । पुराना टेबलकुर्सी समाप्त भए, जग, थर्मस, गिलास, कुचा, बाल्टी, डष्टविन, बिजुलीका सारा बल्बहरू, फिलर प्लान्ट सारा टुटे । एकैचोटि पाँचवटा मोटरसाइकल र हाकिमको लागि नयाँ कार पनि आइपुग्यो ।

मानिस निकै खासखुस गर्थे । तर म डगेको थिइँन । यी सारा आदेश र निणर्यमा नयाँ हाकिमको हस्ताक्षर थियो । त्यो दिन निरीक्षणमा मन्त्री आउने भए । मैले अनेकौँ गार्ड, पिउन र कुचिकार उतारेँ । तिनीहरूलाई एकएक अत्तरका सिसी दिएर प्रत्येक बोटमा बेग्लाबेग्लै सेन्ट छर्किन लगाएँ ।

मन्त्री आउँदा मगमग मगमग… मान्छे लडाउने अत्तरले फूलबारी ढाक्यो । अलेलि बतास पनि चल्यो । प्लाष्टिकका बोट जबर्जस्ती हल्लिए- खोसेला बजेजस्तो आवाज भयो । नयाँ हाकिमले मन्त्रीलाई भन्दै थिए- “यो सारा, आमूल परिवर्तन, मैले गराएको हुँ…” तर मन्त्रीले केही बुझिरहेका थिएनन् ।

हाकिमको रुमसित जोडिएको किचेनमा हरेक सामान थियो । ब्यूटी क्वीन त्यहाँ पसिन्, फ्रिज खोलेर एकएक गिलास म्याङ्गो शेक ल्याइन् र टेबिलमा राखिन् । त्यसबेला मैले भनेँ- “मन्त्रीज्यू, ब्यूटी क्वीनका हातको यो सर्वत लिस्योस्न…”

“धन्यवाद…” क्वीनतिर हेरेर मन्त्रीले टाउको उठाए ।

भोलिपल्ट अखबारमा छापियो- ‘एक महिनामा चालीस लाख झ्वाम्’ । तल्तिर खबरमा हाम्रा नयाँ हाकिमको नाम थियो । यो सारा सही गर्ने उनै थिए ।

सधैं १० बजे कार्यालयमा पुग्ने नयाँ हाकिमको १२ बजेसम्म पत्तो थिएन । तल हावामा प्लाष्टिकका खोसेला बजिरहेका थिए ।

०००
२२ साउन २०६४  
‘धुम्रलोचन शर्मा उर्फ टियर पोयट फ्रम द इष्ट’ उपनामबाट
‘फित्कौली’ पूर्णाङ्क- १५,  (भदौ, २०६४)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
प्रथम साहित्यिक शहीद ज्यामिरे काइँलाको अन्तिम अन्तर्वार्ता

प्रथम साहित्यिक शहीद ज्यामिरे...

डा. गोविन्दराज भट्टराई
विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइँदैन !!

विदेशी पुस्तक चाहिँदैन !...

डा. गोविन्दराज भट्टराई
नीलडाम कम्पनीमा एक रात

नीलडाम कम्पनीमा एक रात

डा. गोविन्दराज भट्टराई
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
रियलसलको पदवी

रियलसलको पदवी

माणिकरत्न शाक्य
‘च’ महात्म्य

‘च’ महात्म्य

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x