ह्यारी- ८०सधैँ हारेको दोहोरी
देशमा कसले सबैभन्दा तुच्छ दुर्गन्धित दोहोरी गाउँछ उसलाई प्रथम घोषणा गरौँ, अनि दोस्रो, तेस्रो हुँदै पङ्क्तिको अन्तिमकालाई मौका दिएर चौका हान्न दिऊँ कतै उसैले देश बिउँताउँछ कि ?

ह्यारी- ८० :
दोहोरी भनेको जुहारी हो । केटा तथा केटीहरू मिलेर सवालजवाफका रूपमा गाइने गीत दोहोरी हो । हुन त जनतामाझ दोहोरी शब्द उच्चारण गर्ना साथ दोहोरी साँझ भन्ने पर्न गएको छ । दिउँसोका गतिविधिले नपुगेरै होला साँझ पर्दै जान्छ, रात ढल्दै जान्छ अनि दोहोरीमा रम्नेको जिन्दगी नि विस्तारै डुब्दै जान्छ रासलिलामा । रसिलो पोसिलो रमझमका साथ दोहोरीमा माया, प्रेम, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयको उठान भई घम्साघम्सी हुनु स्वाभाविकै हो । यी कुरा सबैलाई ज्ञात भएकै छ । खाँटी कुरा त के हो भने दोहोरीको क्षेत्र फराकिलो हुँदै जाँदा यसले सवै वर्ग र तहका मान्छेलाई प्रभाव पार्दै यो रूपान्तरण हुँदै गएको छ ।
दोहोरी सुन्न सकिने र नसकिने हुँदा रहेछन् । केही दोहोरी कर्कश स्वरका उच्छृङ्खल, गतिछाडा हुने भएकाले यस्ता दोहोरी चाहेर नचाहेर सुन्नैपर्ने हुन्छ जुन भाइरल पनि हुन्छन् । अर्काथरि दोहोरी शिष्ट, सभ्य, शालीन हुने हुँदा यी दिउँसै बत्ती बालेर खोज्न पर्ने हुन्छ । यस्ता दोहोरी सरिसृप प्राणी डाइनोसर जस्तै लोप हुँदै गएर अहिले कङ्कालका रूपमा देखा पर्दै छन् । नेपाली समाजमा दोहोरीको आफ्नै इतिहास रहे तापनि यसका प्रस्तुतकर्ता र श्रोताको रुचि अरुचि आवश्यकता अनावश्यकता आदिलाई नियाल्नेका दृष्टिदोषले गर्दा दोहोरी गीत अब चुस्कीका बाजे हुस्की र रमको दम भएका मदमत्तहरूसँग लठारिने र बटारिने गरेको पाइन्छ ।
सांस्कृतिक, भाषिक, धार्मिक तथा विभिन्न टुक्का, थेगो, फाँकी, उखानादि जोडेर गाउँघर, झरना, खोलानाला, लेक बेँसीमा गुन्जिने दोहोरी आज भालेको डाँकसँगै बिउँतिने समाज रातभर झुम्दै र ब्रान्डसँग चुम्दै लरबरिन थालेको छ । लोकका भाका समेटिनुपर्ने लोकगीत, समाजका पीडा, व्यथा र मन बोलिनुपर्ने लोकगीत समयको आधुनिक वयसँगै आफ्नो श्लीललतातिरको बाटामा चुकेको छ । जड खोतल्दा राजनीति हावी देखिन्छ । बाटामा काँडा देखेपछि पन्छाउनुको साटो मलजल गरेपछि त्यहाँ उम्रेर बढ्नु कुन नौलो कुरा भयो र ?
दोहोरीमा एकातिर पुरुष र एकातिर महिला बसेर गीत गाउनुपर्ने हो तर हिजोआजको दोहोरीमा एकातिर नेता अर्कातिर नेता वा नेतृ बस्ने गरेको र राजनीतिक सवालजवाफ भन्दा सत्ताको सवालजवाफले भेलामा चर्काचर्की पर्ने गरेको देखिन्छ । दोहोरीमा सात दिन सात रातसम्म जुहारी खेल्ने गरे पनि हिजोआज एक बसाइको एक भुल्कामा सुनिनसक्नुका सामग्री पस्किएको देखिन्छ । मेलापाखा, रोदी चौतारी, विवाह, महोत्सवमा नेपालका प्रायः सबै ठाउामा घन्कने दोहोरी गीत अहिले अधिकांश रात्रिकालीन पेसेवरको पेवा भएको हो कि भन्ने छाँट देखिएको छ भनेर फतुरे काका फलाक्तै हिँडेका छन् ।
हिजोआज सबै ठाउँका मान्छे र भाषाका गीत हुने दुवैपट्टिका मान्छेले आफ्नो गीतमा अन्त्यानुप्रास मिलाउने हुँदा बजारमा यसको छिटै महोल बन्ने हुन्छ । देउडा गाउने कि कौडा सोरठी वा देउडा कि रोदी, कौडा वा झ्याउरेको मजा वेग्लै हुन्छ । प्रत्यक्ष गाएका लोकगीतको माहोलमा दोहोरीले स्वाद चखाएका हुनुपर्ने हो तर यिनले भेलामा भाले खेलेको देख्ता दोहोरीको बेग्लै स्वाद चखाएको भान हुन्छ ।
न्युरोडमा खेलेको दोहोरी र संसद्मा खेलिएका दोहोरीको परिणाम आउन टाढाको विषय नहुन सक्ला । दोहोरी गाउँदा जुँगा चलाएर कुरा बुझाउने, ओठ कँपाएर विषयको गाम्भीर्य प्रस्तुत गर्ने, स्थानीय, प्रदेश स्तरीय राष्ट्रव्यापी लोकदोहोरी अहिले कुर्सीका लागि घोचपेचमा रुपान्तरण भएको जगजाहेरै छ । यता स्वरपरीक्षा उत्तीणर् गर्नुपर्दैन उता चुनाउ जित्नुपर्दैन । समानुपातिकमा होस् वा जताततै धेरै धेरै भेष, कहीँ नभएको हाम्रै देश भनेर गाउँदा काकाले कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ होटेलैपिच्छे दोहोरी दोहोरीपिच्छे फोहोरीको मेला भएको भनेर गुनासो सुनेका रहेछन् । यो देशमा जतिसुकै राम्रो गाए पनि जो जो भए पनि प्रतिपक्षले दोहोरी हार्ने देश हो । सत्तामा आरोहण गरिरहेकाले जनताको मन जतिसुकै रुवाए पनि आफू दोहोरीमा जितिरहने देश हो । खिसिट्युरी गर्यो सत्ताले काम गर्न दिएन भन्ने प्रतिपक्षले यही भनेर अलापिरहने हुँदा पद, प्रतिष्ठा र शक्तिका लागि खेलिने दोहोरीले यो देशका जनताको गीत कहिल्यै समेट्न सकेन ।
जनता खाडीमा नेता राडी र गाडीमा भएपछि दोहोरी भाका मर्नु स्वाभाविकै हो । परिचित लोकदोहोरीका नायकहरू पश्चिमी भासमा जाकिएर वा भाइरलका नाममा अनपेच्छित वनमाराले लोकगीतका बिरुवा निमोठेपछि देशले कसरी काँचुली फेर्छ हँ ? दोहोरी घम्साघम्सी विचारका लागि, विकासका लागि सुखानुभूतिका लागि हुनुपर्ने हो तर केहीको विलासका निम्ति सबै लास बन्नुपर्ने भएपछि यो दोहोरी त मर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो । अनि किन नहुन् नीतिप्रति निराश । हुन त आधुनिक पुस्ता र पुराना पुस्ताबिच न्युरोड गेटदेखि चुनाउको भेटसम्म जुहारी चलिरहेछ । देश तँ बना म भत्काउँछु भइरहेछ । गिद्धले घेरेर मासु लुछिरहँदा पनि कन्याएको सम्झिरहने गैँडा बन्दा आज खाग लगिसकेर पनि हामी अझै बिउँझन सकेका छैनौँ । तिनका गीत गाउँदा गाउँदै निदाएकाले दोहोरीमा आएर स्यालहरू हुइइयाँ हुइइयाँ गरिरहेछन् । देशको बजेट दशतिरबाट आफैँमा फ्रिज गर्ने प्रवृत्तिले दोहोरी सङ्ग्राम टाट पल्टिरहेको जगजाहेरै छ ।
भाषण गर्नेलाइर्, आश्वासन दिनेलाई, नोट दिनेलाई मासु दिनेलाई, सासू बन्नेलाई आँसु देखाउनेलाई, धम्काउनेलाई आफ्ना भन्ने डाम्नालाई, राम्रा होइन हाम्रालाई भोट दियौँ र त आज देश यु क्रेनमा शव बनिरहेछ, खाडीमा सारी खोलिरहेछ, उता समुद्र पारितिर देश भासिइरहेछ अनि पो बन्सोले देश ढाकिसक्यो । आज मुटुभित्र हरि कङ्गाल बनिरहेछ । अब पनि एउटा उपाय छ है राष्ट्रिय दोहोरी प्रतियोगिता गरौँ । देशमा कसले सबैभन्दा तुच्छ दुर्गन्धित दोहोरी गाउँछ उसलाई प्रथम घोषणा गरौँ, अनि दोस्रो, तेस्रो हुँदै पङ्क्तिको अन्तिमकालाई मौका दिएर चौका हान्न दिऊँ कतै उसैले देश बिउँताउँछ कि यो दोहोरी साँझको चौतारीमा । आखिर गाइनेले चाहिने जति कहिल्यै खान पाएनन् । खाएर अघाएँ पनि भनेनन् ।
त्यसैले अब दोहोरी साँझमा भएकामध्येबाट दोहोरी खेलाऔँ कतै हाम्रो गीत गाउँछ कि ? यस्तो छानौँ जसले गाएको विश्वका कुना कुनाकाले होइन, हाम्रै मुटुका कोठाभित्र गुन्जिने गरी हाम्रै कानले सुनोस् । फतुरे काकाले भने,“हिजो जितेको इतिहास बोकेको देशको आज हारेको दोहोरी । कति सुन्नु यी कानले !”
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ जेठ २६ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest












































