साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्व्यसनीको दर्जा

नसा भन्दा पनि मलाई चाहिँ नेपाली राजनीतिक दलका नसे प्यारका नसे र दुर्व्यसनी नसेको व्यारेक कुकुरको पुच्छर जस्तै बार वर्ष ढुङ्ग्रामा हाले पनि नसोझिएला झै लाग्छ ।

Nepal Telecom ad

शेषराज भट्टराई :

मान्छेका बहुपत्नी वा बहु लोग्ने छन् भने तिनलाई जेठी, माइली, साइली, ठाइली, कान्छी भनेर दर्जा दिएका हुन्छन् । सन्तान धेरै छन् भने ती सबैको आचरण र व्यवहार अनुसार दर्जा दिएका हुन्छन् । असल भए जिम्मेवारी र खराब भए जिम्मेवारीविहीन पनि बनाइन्छ । अनि आफूलाई अचाक्ली प्यारो लाग्छ भने खोटी भए पनि उच्च कोटिमा दरिन्छ र महिमा गानले निथ्रुक्क पारिन्छ । यसरी बाहनाबाजी होस् वा हाकाहाकी हरेक निकायमा दर्जा निर्धारण गर्ने परम्परा इतिहास जन्मिनु भन्दा पनि अगाडिको हो ।

राजनीतिक दल मानव सिर्जित सङ्घ संस्था, सङ्गठन नानाभातिका रङ्गीविरङ्गी समितिहरू, हरेक अड्डा, अदालत, व्यारेक, दुर्व्यसनीको अखडा सर्वत्र मत्स्य न्याय व्याप्त छ तर पनि भन्ने गरिन्छ कानुन छ । न्याय छ । संविधान छ । सार्वभौमसत्ता जनताप्रति बफादार छ । तर भैदिन्छ बिब्ल्याँटो । व्यवहार छ उल्टो ।

सशक्तको अगाडि अशक्तले चुइक्क बोल्यो भने अरु न्याय जस्तो लोतोपोतो होइन मत्स्य न्याय चाहिँ तुरुन्तै सक्रिय हुन्छ । तर असली न्याय चाहिँ निदाएको निदाएकै । अनि यस्तै यस्तो परिवेशमा दर्जा निर्धारण गरिएको हुन्छ । दर्जा अनुसार कम्मर मर्काइएन भने एउटा सन्काहाले प्याच्च घर्जा भन्न सक्छ । मर्जा भन्न सक्छ । भन्न त भन्छन् नि नियम कानुनले बाँध्न बाँधिनका लागि दर्जा अनिवार्य र अपरिहार्य नै छ । सेना, सशस्त्र सेना, प्रहरी प्रशासनदेखि अस्पतालका डाक्टर नर्सहरू पनि नियमबद्ध कर्म फत्ते गर्न दर्जा अनुसार नै घरको चुलो निभाएर भए पनि भूमिका निभाइरहेका हुन्छन् ।

सम्पादकको काम हकर वा संवाददाताबाट भयो भने व्यवस्थापन निको मानिँदैन । डाक्टरको काम नर्सले र ड्राइभरको काम खलासीले गर्दा खत्तम हुन सक्छ । त्यस्तै हरेक निकायमा दर्जालाई प्राथमिकतामा राखेर पाइला चाल्ने काइदा गरिन्छ । यदि त्यसो भएन भने त्यहाँ रक्तपात र लातलाई सामान्य मानिन्छ । टाउको फोराफोर र नङ्ग्रा कोराकोरको स्थिति उत्पन्न हुन सक्छ । त्यसै सिद्धान्त र व्यवहारलाई फलोअप गर्दै दुर्व्यसनीहरूले पनि आफ्नो अखडामा तकडा नियमको खोलो बगाएर आगन्तुक दुर्व्यसनी सज्जनवृन्दको दोहोलो काढ्ने गर्छन् । सास्तीका साथमा सातो पनि खान्छन् ।

भनिन्छ, स्वर्ग देख्नलाई जिब्रो टोक्नै पर्छ । सास रोक्नै पर्छ । त्यसैले होला उखान चरितार्थ छ नमरी स्वर्ग देखिँदैन । नर्क चाहिँ सबैले देख्न सक्छन् । वर्षाको भेलझैँ हरेकको आँगन करेसामा नर्क रुमल्लीरहेको हुन्छ । त्यसैले नर्क सर्वसुलभ र सस्तो छ । स्वर्ग चाहि नमरी नदेखिने भएका कारणले दुर्लभ र दुरुह नै भन्नुपर्छ । त्यसैले होला आफ्नै भ्रूण र दबाइ चुर्ण जस्तै प्यारो छ । नर्क चाहिँ झड्केलो बाबु सौतेनी आमाको सन्तान जस्तो नफ्रत योग्य हेला भनौँ न ।

समय जतिसुकै सुकिलोमुकिलो परिस्कृत भए पनि सौतेनी आमा र झड्केलो बाबु किन तिरस्कृत ? हुन त नर्कमा यस्तै हुन्छ र हुनुपर्छ तब न नर्क । नत्र के नर्क । तर स्वर्गमा सबै समान हुन्छन् चाहे त्यो जुनसुकै दर्जा वा दलका हुन् । नर्क भन्ने वित्तिकै नर्कको महाराज नै भए पनि अधर अँध्यारो बनाउँदै भाग्य नै बदर गर्न चाहन्छ ।

तर यहाँ कतिपय मानवहरू स्वादिष्ठ व्यञ्जन दुध, दही, घिउ, माछा, मासु, सागसब्जी, मैदा आँटा मसिनु, मोटा, बासमती, लङ्ग्रेन, सटग्रेनमा ब्रेन जोतेर आफूलाई भाग्यमानी प्रमाणित गर्दै स्वर्गको आभासमा लट्ठ परिरहेका हुन्छन् । त्यस्तै अर्को धारका सज्जनहरु गाँजा भाङ्सँगै भात मुछेर खाउला र स्वर्ग जाउँला झै गर्छन् । चरेस, ब्राउन सुगर, हिरोइनसँगै सुत्न हग्न, मुत्न पाए आफूलाई हिरो ठान्छन् र त्यसैलाई स्वर्ग मान्छन् ।

नसे दुर्व्यसनी मानवहरू मानव भित्रकै अत्यन्त चतुरमा दरिन हतार गर्छन् । दुर्व्यसनी पनि मानव अधिकार भित्रकै प्राणी हुन् र यिनको पनि आफ्नो रुची र इच्छाको कुरा हुन्छ भन्दै फलाक्न रुचाउँछन् । जसको सिङ्गो अक्कलमा लागु पदार्थ झुल्किने र सात पत्रेमा अस्ताउने गर्छ । राजनीतिक दलमा आबद्ध अत्यन्त प्रतिबद्ध नसेहरू राजनीतिको नुन तेल लागेर होला आफ्नो दलको दलदलमा चुर्लुम्म डुबेको बेला टट्टीको लिडले लघारेको पनि पत्तै पाउँदैनन् । दुर्व्यसनीको नसा लागेपछि यस्तै हो । मायामोहको नसाभन्दा पनि चर्को ।

त्यसैले दुर्व्यसनीको सुधार गृह जस्तै राजनीतिका गति छाडा नसेहरूलाई सुधार्न राजनीतिक सुधार गृह खोल्न सकेदेखि नेताको दुर्गन्ध यताको तेता हुँदैन थियो कि झैँ लाग्छ । किनकि अहिले लागु पदार्थका दुर्व्यसनी भन्दा राजनीतिक दलका नसेहरूले देशलाई नराम्रोसँग ङ्याकि रहेका छन् ।

सात्विक राजसी खुराकलाई एक थरीले रुचाउँदैनन् भने तामसी खुराकलाई त सरकारले सधैँ बक्र दृष्टिले चिहाइ रहेको हुन्छ । अनि यी दुई धारका दुर्व्यसनी जो पौष्टिक तत्त्व रुचाउने र नरुचाउने बिचको द्वन्द्व पुस्तौ पुस्ता रही रहन्छ । यिनको नश्ल त्यस्तो हो जो आफूलाई अत्यन्त चतुर, चलाख र चण्डालको रूपमा स्वीकार्ने गर्छन् । आफ्नो धन्दामा सारा नसे परिचालन गरेर दायाँबायाँ, वरपर, तलमाथि ओसारपसार देखि लिएर लछारपछार गर्न पनि उत्तिकै दत्तचित्त भएर जोतिन्छन् । एक देशबाट अर्को देश होस् वा आफ्नै देशको सुरक्षाकर्मीको आँखामा फुलो पारेर भए पनि काम तमाम गर्न माहिर मानिन्छन् ।

यसरी आफ्नो कला कौशलमा पारम्गत सिद्धहस्त भएपछि यिनको अन्तिम लक्ष्य भनेको मनपेट अघाउन्जेल कमाउने, रमाउने, र नशालु तत्त्व मगाउने अनि नसामा डुबेर धुताहा र सुताहा जिन्दगी जिउनु पिउनु नै सर्वस्व ठान्छन् र अधिक नसा पिपासुलाई नै गुरु मान्छन् र चेला उत्पादन गुरुभेटी चढाउन जान्छन् । त्यसैले दुर्व्यसनीलाई दुर्व्यसनीले मान्छन् र आवश्यक परे ढुङ्गाले पनि हान्छन् ।
सबैको स्तर हुन्छ । राजनीतिक दलका भ्रातृ मातृ सङ्घ सङ्गठनका कार्यकर्ताको जस्तै सबैको स्तर दर्जा निर्धारण गरेका हुन्छन् । सबै जना दर्जा र दर्ज्यानी चिन्हले वेष्ठित भएपछि छोइ नसक्नु, चलाइ नसक्नु गजक्क हुन्छन् भने दुर्व्यसनीका नसेहरू नहुने कुरै हुँदैन ।

आवश्यकता र खाँचोभन्दा अधिक भएपछि लत कुलत बन्न पुग्छ । कुलतमा चुर्लुम्म डुबेका सज्जन भद्रभलाद्मीको पनि दर्जा हुन्छ । मनपरी खर्च गर्ने भएपछि बैङ्कको कर्जा पनि हुन्छ । दर्जा र कर्जा एक अर्काका पर्यायवाची शब्द बन्न पुगेका छन् । एक नभए अर्को अपूणर् असम्भव । एउटाको अभावमा अर्को अधुरो अपुरो नै रहन्छ । तर दर्जा कर्जा जस्तो तिर्नु फर्काउनु पर्दैन । कागताली परेर ठूलो घोर्ले पद आइलागेछ भने ह्याकुलाले मिचेर पनि बैङ्कको धन हजम गर्न सकिन्छ ।

दुर्व्यसनीको मात्रै होइन, हरेकको दर्जा मजबुत हुन्छ । दाँत फुक्लिएर जाला, घुँडा फुक्लिएर जाला, गोली गाँठो फुक्लिएर जाला ज्यान जाला तर दर्जा फुक्लिएर कतै जाँदैन । आफ्नो दर्जा आफ्नो नाम कामसँगै टाँसिएर रहन्छ । मासिएर जाँदैन । त्यसैले भनिन्छ दर्जा अविनाशी, अक्षय हुन्छ । आफ्नो सानमान भनेको नै मानपदवी र दर्जा हो । आफ्नो पौरख र पाखुरीको असली पसिना । त्यसैले यो ऐरेगैरे जोसुकैले बसमा लिने चेष्टा गरे पनि असली लती मानवले मात्रै लत लागे बापत् हत्याउन सक्छन् । चाहे त्यो लत जुनसुकै विद्या वा क्षेत्रमा होस् । जुनसुकै धर्म वा जातको होस् । लत भनेपछि कुलत पनि ठिकै लाग्छ ।

सामान्य सामाजिक कुलत जस्तो जाँड, रक्सी, खैनी, बैनी, चुरोटका नसेहरू अधिक सेवन गरेपछि तिनलाई त्यो नर्कबाट उतार्न वा तार्न खोजिन्छ । जस्का लागि मादक पदार्थ सुधार केन्द्रमा लगेर शिक्षित भए पनि दीक्षित बनाउनु पर्छ । सुधार केन्द्र दुर्व्यसनीको अनेक धारबाट मार परेर ओइरिएका नसेहरूको ब्यारेक हो । जहाँ सयौ नसे सैनिक, नसे नै कमाण्डर, नसे नै इन्चार्ज, नसे नै हाकिम नसे नै सल्लाहकार, नसे नै न्यायाधीश, नसे नै चौकीदार, नसे नै कसाइ, नसे नै पुजारी, नसे नै पण्डित, नसे नै खेलाडी, नसे नै रेफ्री, नसेलाई नै तैनाथ गरेर सिङ्गो ब्यारेक हाँकेका हुन्छन् । सरकारी मान्यता प्राप्त दुर्व्यसनी अखडामा जे जस्तोसुकै नसा सेवन देखि सेल गर्न पनि पाइने भएपछि नेपालको विकास भन्दा तीव्र गतिले यो फैलिरहेको छ ।

यस सन्दर्भमा मेरा काकाको जेष्ठ सुपुत्र जसले नसै नसामा रत्तिएर जता मन लाग्यो त्यता बत्तिएर सर्वस्व गुमाएका छन् । उहाँ पटक पटक सुधार गृहमा बसेर बाबु बराजु कसैले नबटुलेको अनुभव बटुलेर आफ्नो कथा व्यथा सुनाउँदै भन्नु हुन्छ “म जाँड, रक्सी, भाङ धतुरोलाई छिछि नभनी एक तमासले खाएर गएकालाई ब्राउन सुगर, हिरोइन, चरेस, लगायत अधिक महँगो नसा सेवन गर्ने खुनखार टपर नसेले हामी जस्तालाई छिछि दुरदुर भन्दै तल्लो स्तरको गरिब कङ्गाल नसे सोचेर पार्नु अवगाल पार्छन् र सङ्गतै गर्न मान्दैनन् ।

महँगो खानेका ग्रुपमा सस्तो नसे पसे त्यसका साप्रा पिँडुला बसे भनेर जाने हुन्छ । थला पर्ने गरी भकुर्न तम्सिन्छन् । हैट ! कस्तो नसा ? नसा भन्दा पनि मलाई चाहिँ नेपाली राजनीतिक दलका नसे प्यारका नसे र दुर्व्यसनी नसेको व्यारेक कुकुरको पुच्छर जस्तै बार वर्ष ढुङ्ग्रामा हाले पनि नसोझिएला झै लाग्छ । विचरा ती नसे दुर्व्यसनीको व्यारेकभित्र किन पसे ? आउँदा दिनमा आफैले अनुसन्धान गर्दै गर्नु पर्छ है ।

०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x