दाँत
दाँत जस्ता भए पनि तिनको निन्दा र तारिफ दाँतवालाको स्थिति अनुसार हुन्छ । शक्ति अभ्यास गरिरहेका मान्छेको दाँत बन्चरे छ भने पनि त्यसले पालिसदार तारिफ कमाउँछ परन्तु अभागी अनारदाना दाँतले गाली मात्र पाउँछ ।
युगल बसेल :
प्रायः ओठद्वारा ढाकिएका र गिजामा अडिएका मुखभित्रका सेता अवयव नै दाँत हुन् । ‘मुखको शोभा दाँत, रातको शोभा चाँद’ भनेर परापूर्वदेखि नै दाँतलाई या उच्चस्थानमा विराज गराइएको पाइन्छ । हाँस्ने र रिसिनेको क्रियात्मक प्रयोगका लागि होस् पुरै दाँतको भूमिका सधैँ उच्च रहने गरेको छ ।
हुनत सबै दाँत हाडैबाट बनेका हुन्छन् तर देखाउने र खाने दाँत बेग्लाबेग्लै हुन्छन् । देखाउनेको दाँत डन्टिस्टले पनि जडिदिन सक्छ तर चपाउने दाँत प्रकृतिले मात्र जडिदिनसक्छ । शान्तिका लागि सुकिला परेवा उडाउँदा – फिस्स हाँस्दै सबैलाई देखाइने दाँत ‘देखाउने दाँत’ हुन् भने उसै दिन – साँझ उही परेवा आफ्नै मान्छेले मात्र देख्ने गरी धुल्याउने परेवा जस्तै सुकिला दाँत चपाउने दाँत हुन् । त्यसैगरी घातक हतियार निर्मूल गर्नुपर्छ भन्ने नारा जोडदार ढङ्गबाट लगाउँदा सार्वजनिक गरिने दाँत देखाउने कोटिका हुन् भने आफ्नो आदेश नमान्नेलाई तहसनहस गर्न महाघातक हतियार प्रयोग गर्दा रिसले कटकट गर्ने दाँत चपाउने कोटिका हुन् । केही गरी मान्छे दुवै थरी दाँतलाई ‘मुखमा दाँत दाँत, झरेपछि हाड’ भन्ने गर्छन् ।
हुन त दाँत प्रायः मुखमै हुन्छन् तर कसैकसैका दाँत कोखामा समेत हुने गर्छन् । यी कोखाका दाँत ज्यादै तिलस्मी खालका हुन्छन् । थाहै नदिई यिनले “मै हूँ” भन्नेका थैली छिनभरमै कैँचीले झैँ काटिदिन्छन् । अहिलेको हाँकपूर्ण जमानामा प्रतिस्पर्धीले आफ्ना प्रतिद्वन्द्वीहरूलाई माथ गर्न सकेसम्म कोखाका दाँतहरू सान लगाएर धारिला पार्नु जरुरी छ । लडाकुका कोखाका दाँत जति धारिला हुन्छन् उसले उति नै बढी उपलब्धि अँठ्याउँछ ।
कोहीकोही मानिस आफ्नै दाँतले चपाएर निल्न मन पराउने हुन्छन् भने कुनै मानिसहरू अरुका दाँतले चपाएको निल्न बेस ठान्दछन् । अरूका लागि चपाइदिने दाँतवालाहरू पर्दा पछाडि बस्न रुचाउँछन् भने तिनले चपाएको निल्नेहरू सामुन्ने पर्न जोसिन्छन् । यी जोसिला मानिसहरू अरुले चपाइदिएको भोजनलाई ज्यादै पोषिलो ठान्छन् ।
हीराले हीरा काटेझैँ हाडले पनि हार्ड मजैले काट्छ । मुखभित्रको यो सानो हाडले बडाबडा बोइलर कुखुराका फिलादेखि लामकाने खसीका पाँसुलासम्म र जरायोका नलीहाडदेखि कालिजको ढाडसम्म मूला चपाएझैँ चपाउन सक्छ । हाड चपाउँदा प्राय सबै दाँत रमाउँछन् तर कुनै जुठा हाड चपाउँदा रमाउँछन् भने कुनै दाँत चोखा हाड चपाउँदा मात्र रमाउँछन् ।
सबै दाल हाडकै भए पनि यिनका आ-आफ्नै भिन्नता छन् । कुनै देखाइमा फरक त कुनै भोगाइमा फरक छन् । थरीथरीका दाँत थरीथरीकै काममा अभ्यस्त र व्यस्त हुन्छन् । कुनै-कुनै दाँत भुटेका मकै चपाउँदा पनि दङ्ग पर्छन् भने कुनै दाँत काजु किसमिस पिस्न पाउँदा पनि भोकै छु भन्ने ठान्छन् । यी भोका दाँतहरू काँचो मासु चपाएर क्षुधा मेटाउँछन् र बिस्कुट टोकेर अघाउँछन् । अरु कुरा विकारी भए पनि सुनका बिस्कुट अविकारी भएकाले उनीहरू यसका लागि रहराएका हुनसक्छन् । अविकारी वस्तुको सेवनले आफू पनि अविकारी बन्ने इच्छाले उनीहरूले त्यसो गरेका हुनसक्छन् ।
दाँतका आफ्नै निन्दा र विरुदावलीका शब्दावली छन् । जस्तै बन्चरे दाँत, छिँचरे दाँत, दाह्रे दात, छ्वाँके दाँत, अनारदाना दाँत, मोतीपङ्क्ति दाँत, आदि आदि । दाँत जस्ता भए पनि तिनको निन्दा र तारिफ दाँतवालाको स्थिति अनुसार हुन्छ । शक्ति अभ्यास गरिरहेका मान्छेको दाँत बन्चरे छ भने पनि त्यसले पालिसदार तारिफ कमाउँछ परन्तु अभागी अनारदाना दाँतले गाली मात्र पाउँछ ।
हुन त दाँत मान्छे जन्मिसकेपछि विकसित हुने र जिउँदो छँदै पतन हुने अङ्ग हो तैपनि यसको महत्त्व ज्यादै उच्च छ । त्यसैले मानिसहरू नाक गुमाएर भए पनि दाँत जोगाउने अभियानमा लागेका हुन्छन् । अरु गुमाएर भए पनि दाँत जोगाउनेहरूको जमात निकै ठूलो छ ।
०००
गाेरखापत्र (२०५६)
माणिकरत्न शाक्यकाे खाेजिपाँसुलीबाट
Subscribe
Login
0 Comments
Oldest