साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुला मान्छे

गरिबी हट्छ गरिबी हट्छ रे यो हुनै नसक्ने कुरा, कुनै बुद्धिजीवीले गरिब जनताका समस्या समाधान गरेर आफ्नै खुट्टाँ बन्चरो हान्छ ? हँ म यहाँ पनि झसङ्ग भएँ !

Nepal Telecom ad

छायादत्त न्यौपाने :

आज अचम्म भो ! तपाईं सोध्नुहोला के भो हँ, के भो मलाई नि भन्न ! नहतारिनु भन्न भनेरै कुरो कोट्या हो ।
सुन्नुस् म भ्रममा रहेछु । हिजोअस्तिदेखि ठुलो भ्रममा ! ठुलो भुँडी ठुलो मान्छे ! ठुलो भुँडी धनी मान्छे, ठुलो भुँडी ठुलो मान्छे, ठुलो भुँडी सुखी मान्छे, ठुलो भुँडी त्यागी मान्छे ! मान्छे नै भुँडी भनेर भुँडी पूजामा जीवन बिताएँ ! तर यथार्थ तथ्य प्रमाण अरु नै क्यै छ रे !

सत्य बोल्ने मान्छेको भुँडी सानो हुन्छ रे ! किन भनेर प्रश्नको घोचो गाडिहाल्नुहोला पर्खनुहोस् एकछिन ! सत्य बोलेपछि लपनछपन लुकाउन पर्दैन । लपनछपन नभएसि मनमस्तिष्क तनावमा हुँदैन । मनमस्तिष्क तनावमा नभएसि आचिकुची खाइरहनुपर्दैन । आचिकुची नखाएसि भुँडी बढ्दैन । भुँडी नबढेसी रोग लाग्दैन, रोग नलासी ठुलो मान्छे भइँदैन । ठुलो मान्छे नभएसि सत्य बोल्न पाइन्छ र सकिन्छ ।

तपाईं फेरि बिचमा बोल्नुभो । सुन्नु के सुन्नुपर्छ । हेर्नु त २/२ ओटा कान, सुन्नका लागि हो नि । मुख एउटा भा थोरै बोल्न भन्नुहोला त्यसो होइन एक जना मात्र बोलिराख भनेको । नपत्याए हेर्नू त रेडियो कतिबेरसम्म एक्लै बोल्छ । त्यै भएर म बोल्छु बोलिरहन्छु तपाईं सुन्नु के सुनिरहनु । सुनिरहेसि नेपाली जनता भइन्छ के इमानदार नेपाली !

हामी नेपाली कति इमानदार छौँ जसले जतिपटक ढाँटे नि पत्याइरहन्छौँ । ढाँटेको थाहा पाउँदा पाउँदै पत्याउँछौँ । कति ओटा चुनावमा पटकपटक ढाँटियौँ पत्याइराछौँ । भ्रष्टाचार गर्छ, पटकपटक गर्छ र गर्दिनँ गर्न पनि दिन्नँ भन्छ पत्याइराछौँ । भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भन्छ खाइराछ हेरिराछौँ टुलुटुलु ! हामी इमानदार नेपाली बेइमानी गर्दैनौँ, अरुले बेइमानी गरेर छलिराछ चाल पाउँदैनौँ, नपाएझैँ गर्न जान्दछौँ । यो हाम्रो गजब प्रवृत्तिको विदेशीले पनि प्रशंसा गर्छन् ।

नगर्‍या भए विदेशभरि सडक सफाइदेखि बालुवा बोकाइ र चिहान खनाइसम्मका अवसर नेपाली नै नेपालीले पाउँथे ?
अरुको सिको गर्न नि सिपालु छौँ हामी । अरुका चाडपर्व सबै मान्छौँ हाम्रा चाडपर्व त सबै पाखे, अरुका रे नि त सभ्य ! कस्तो गजब छैन त हामीकहाँ चलन र चिन्तन ! नेताले निर्देशन मानिदिने कार्यकर्ताले संस्कृति भित्र्याइदिन्छौँ ।

मौका यही हो भनेर चिनेसि विदेशीले वर्चस्व बढाउँछन् र हामीलाई जागिर दिन्छन् हामी विदेशिन पाएर मक्ख !
हो नि हो, मागेर पाइने भएसि किन दुख गर्ने, पसिना किन बगाउने ?

माथिकाले धेरै धेरै माग्ने, तलकाले तलतलै माग्ने, रिन माग्ने, चन्दा माग्ने, भिख माग्ने, पाइने भएसि किन छाड्ने ? लोग्नेसित स्वास्नीले बाउसित छोराछोरीले माग्याझैं मागिरहने । गरिबलाई धनीले दिनुपर्छ भनेर अधिकार देखाएर माग्ने । कस्तो गजबको कला छ माग्ने ! श्रम गरेर स्वाभिमान उठाउनुपर्छ भनेर माग्ने ! हामी आत्मनिर्भर बन्नुपर्छ, हामी सक्छौँ भनेर माग्ने, होइन सिप भएसि त मागिरहन सकिनेरहेछ नि ।

अचेल झन् भिड बढेको छ । के को भिड होला भनेर सिंहदरबारतिर हेरेको त माग्नेहरू भनेर चिच्याएको सुनेँ । के रहेछ भनेर घोरिएको त माग्ने तर हात हातमा बटुको देखिनँ । छेउमै उभिएका साथीले मेरो मन पढेछन् क्यारे थैत् मोरा यी परम्परागत माग्ने हुन् र ? यी आधुनिक पनि अत्याधुनिक माग्ने ब्रिफकेस माग्छन् नि ! तिमी हामीजस्ता साना माग्ने हुन् र ! साना माग्नेले त क्युआरकोडमा माग्ने भए अब । बोड्काँ माग्ने त पाखे हुन् । हो.. याँ नि मलाई लाग्यो मेरो भ्रमको बाँझो भत्क्यो ।

बोलक्कड तपाईं भन्नुहोला शिक्षा, स्वास्थ्य, न्याय, कृषि धेरैतिर सुरक्षित छन् कर्म गर्ने हात र स्वाभिमान बाँच्ने नैतिकता भन्ने तपाईंको सुर । यस्तो सुरक्षाको कुरा घाममा सुकाएर हेर्नुस् त्यहाँ पनि अभाव देखाएर माग्ने, गरिबी देखाएर माग्ने, मागेर कमिसन खाने दावैदाउको डङ्गुर छ भन्ने भित्री कुराले सास काढेर बाहिरिन खोज्दै छ रे भनेको त साथीले थैट हुस्सु यो त अलिक टाठाबाठाको मुख टाल्ने मेलो हो । सही सत्य र सर्वसाधारणसम्म पुग्ने सेवासुविधा त देखाउने दाँत मात्रै हो । चपाउने दाँत त पहुच पुगेका लठैतबहादुरका हुन्। थाहा पाइराख्नु महाशय ! यहाँ कुनै पनि सहयोग लक्षित वर्गमा पुर्‍याउने अपराध गरिदैन । निमुखा त गरिबी छ हामीलाई देऊ भनेर देखाउनका लागि प्रमाण हुन् । प्रमाण भएसि माग्न सजिलो हुन्छ । त्यै भएर त प्रशस्त महलवासी र सवारीधनी सम्पत्तिवाला सुकुम्बासीको सुरक्षामा खटिएका हुन् नि हाम्रा अगुवा ! कुरो बुझ्नु छैन ।

गरिबी हट्छ गरिबी हट्छ रे यो हुनै नसक्ने कुरा, कुनै बुद्धिजीवीले गरिब जनताका समस्या समाधान गरेर आफ्नै खुट्टाँ बन्चरो हान्छ ? हँ म यहाँ पनि झसङ्ग भएँ ! पाइला पाइलाका भ्रमले थिचिएसि कहाँबाट खुलून् आँखा ? मान्छे किन निदाइराहोला यति धेरै बेथिति बोकेर भनेको त बाहिर सुविधै सुविधा लेखेका बौचा बोक्न पाएर रहेछ ! भित्र के छ ? के मतलब बौचो पाएसि भो खालि बौचा । अस्तु

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x