डा. छायादत्त न्यौपाने ‘बगर’ठुला मान्छे
गरिबी हट्छ गरिबी हट्छ रे यो हुनै नसक्ने कुरा, कुनै बुद्धिजीवीले गरिब जनताका समस्या समाधान गरेर आफ्नै खुट्टाँ बन्चरो हान्छ ? हँ म यहाँ पनि झसङ्ग भएँ !
छायादत्त न्यौपाने :
आज अचम्म भो ! तपाईं सोध्नुहोला के भो हँ, के भो मलाई नि भन्न ! नहतारिनु भन्न भनेरै कुरो कोट्या हो ।
सुन्नुस् म भ्रममा रहेछु । हिजोअस्तिदेखि ठुलो भ्रममा ! ठुलो भुँडी ठुलो मान्छे ! ठुलो भुँडी धनी मान्छे, ठुलो भुँडी ठुलो मान्छे, ठुलो भुँडी सुखी मान्छे, ठुलो भुँडी त्यागी मान्छे ! मान्छे नै भुँडी भनेर भुँडी पूजामा जीवन बिताएँ ! तर यथार्थ तथ्य प्रमाण अरु नै क्यै छ रे !
सत्य बोल्ने मान्छेको भुँडी सानो हुन्छ रे ! किन भनेर प्रश्नको घोचो गाडिहाल्नुहोला पर्खनुहोस् एकछिन ! सत्य बोलेपछि लपनछपन लुकाउन पर्दैन । लपनछपन नभएसि मनमस्तिष्क तनावमा हुँदैन । मनमस्तिष्क तनावमा नभएसि आचिकुची खाइरहनुपर्दैन । आचिकुची नखाएसि भुँडी बढ्दैन । भुँडी नबढेसी रोग लाग्दैन, रोग नलासी ठुलो मान्छे भइँदैन । ठुलो मान्छे नभएसि सत्य बोल्न पाइन्छ र सकिन्छ ।
तपाईं फेरि बिचमा बोल्नुभो । सुन्नु के सुन्नुपर्छ । हेर्नु त २/२ ओटा कान, सुन्नका लागि हो नि । मुख एउटा भा थोरै बोल्न भन्नुहोला त्यसो होइन एक जना मात्र बोलिराख भनेको । नपत्याए हेर्नू त रेडियो कतिबेरसम्म एक्लै बोल्छ । त्यै भएर म बोल्छु बोलिरहन्छु तपाईं सुन्नु के सुनिरहनु । सुनिरहेसि नेपाली जनता भइन्छ के इमानदार नेपाली !
हामी नेपाली कति इमानदार छौँ जसले जतिपटक ढाँटे नि पत्याइरहन्छौँ । ढाँटेको थाहा पाउँदा पाउँदै पत्याउँछौँ । कति ओटा चुनावमा पटकपटक ढाँटियौँ पत्याइराछौँ । भ्रष्टाचार गर्छ, पटकपटक गर्छ र गर्दिनँ गर्न पनि दिन्नँ भन्छ पत्याइराछौँ । भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भन्छ खाइराछ हेरिराछौँ टुलुटुलु ! हामी इमानदार नेपाली बेइमानी गर्दैनौँ, अरुले बेइमानी गरेर छलिराछ चाल पाउँदैनौँ, नपाएझैँ गर्न जान्दछौँ । यो हाम्रो गजब प्रवृत्तिको विदेशीले पनि प्रशंसा गर्छन् ।
नगर्या भए विदेशभरि सडक सफाइदेखि बालुवा बोकाइ र चिहान खनाइसम्मका अवसर नेपाली नै नेपालीले पाउँथे ?
अरुको सिको गर्न नि सिपालु छौँ हामी । अरुका चाडपर्व सबै मान्छौँ हाम्रा चाडपर्व त सबै पाखे, अरुका रे नि त सभ्य ! कस्तो गजब छैन त हामीकहाँ चलन र चिन्तन ! नेताले निर्देशन मानिदिने कार्यकर्ताले संस्कृति भित्र्याइदिन्छौँ ।
मौका यही हो भनेर चिनेसि विदेशीले वर्चस्व बढाउँछन् र हामीलाई जागिर दिन्छन् हामी विदेशिन पाएर मक्ख !
हो नि हो, मागेर पाइने भएसि किन दुख गर्ने, पसिना किन बगाउने ?
माथिकाले धेरै धेरै माग्ने, तलकाले तलतलै माग्ने, रिन माग्ने, चन्दा माग्ने, भिख माग्ने, पाइने भएसि किन छाड्ने ? लोग्नेसित स्वास्नीले बाउसित छोराछोरीले माग्याझैं मागिरहने । गरिबलाई धनीले दिनुपर्छ भनेर अधिकार देखाएर माग्ने । कस्तो गजबको कला छ माग्ने ! श्रम गरेर स्वाभिमान उठाउनुपर्छ भनेर माग्ने ! हामी आत्मनिर्भर बन्नुपर्छ, हामी सक्छौँ भनेर माग्ने, होइन सिप भएसि त मागिरहन सकिनेरहेछ नि ।
अचेल झन् भिड बढेको छ । के को भिड होला भनेर सिंहदरबारतिर हेरेको त माग्नेहरू भनेर चिच्याएको सुनेँ । के रहेछ भनेर घोरिएको त माग्ने तर हात हातमा बटुको देखिनँ । छेउमै उभिएका साथीले मेरो मन पढेछन् क्यारे थैत् मोरा यी परम्परागत माग्ने हुन् र ? यी आधुनिक पनि अत्याधुनिक माग्ने ब्रिफकेस माग्छन् नि ! तिमी हामीजस्ता साना माग्ने हुन् र ! साना माग्नेले त क्युआरकोडमा माग्ने भए अब । बोड्काँ माग्ने त पाखे हुन् । हो.. याँ नि मलाई लाग्यो मेरो भ्रमको बाँझो भत्क्यो ।
बोलक्कड तपाईं भन्नुहोला शिक्षा, स्वास्थ्य, न्याय, कृषि धेरैतिर सुरक्षित छन् कर्म गर्ने हात र स्वाभिमान बाँच्ने नैतिकता भन्ने तपाईंको सुर । यस्तो सुरक्षाको कुरा घाममा सुकाएर हेर्नुस् त्यहाँ पनि अभाव देखाएर माग्ने, गरिबी देखाएर माग्ने, मागेर कमिसन खाने दावैदाउको डङ्गुर छ भन्ने भित्री कुराले सास काढेर बाहिरिन खोज्दै छ रे भनेको त साथीले थैट हुस्सु यो त अलिक टाठाबाठाको मुख टाल्ने मेलो हो । सही सत्य र सर्वसाधारणसम्म पुग्ने सेवासुविधा त देखाउने दाँत मात्रै हो । चपाउने दाँत त पहुच पुगेका लठैतबहादुरका हुन्। थाहा पाइराख्नु महाशय ! यहाँ कुनै पनि सहयोग लक्षित वर्गमा पुर्याउने अपराध गरिदैन । निमुखा त गरिबी छ हामीलाई देऊ भनेर देखाउनका लागि प्रमाण हुन् । प्रमाण भएसि माग्न सजिलो हुन्छ । त्यै भएर त प्रशस्त महलवासी र सवारीधनी सम्पत्तिवाला सुकुम्बासीको सुरक्षामा खटिएका हुन् नि हाम्रा अगुवा ! कुरो बुझ्नु छैन ।
गरिबी हट्छ गरिबी हट्छ रे यो हुनै नसक्ने कुरा, कुनै बुद्धिजीवीले गरिब जनताका समस्या समाधान गरेर आफ्नै खुट्टाँ बन्चरो हान्छ ? हँ म यहाँ पनि झसङ्ग भएँ ! पाइला पाइलाका भ्रमले थिचिएसि कहाँबाट खुलून् आँखा ? मान्छे किन निदाइराहोला यति धेरै बेथिति बोकेर भनेको त बाहिर सुविधै सुविधा लेखेका बौचा बोक्न पाएर रहेछ ! भित्र के छ ? के मतलब बौचो पाएसि भो खालि बौचा । अस्तु
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































