आर.सी. रिजाललाहुरे-चाउरे
तर अनौठो चैँ हाम्रो देशमा के छ भने एउटै मान्द्रोमा सुतेका, एउटै काखमा मुतेका, एउटै आन्द्रोबाट छुटेकाहरू एकआपसमा भिड्न जुटेका छन् । यहाँ मान्छे भुट्ने र कुट्ने कुटीर उद्योग फस्टाएको छ ।

आर.सी रिजाल :
“लडाकूहरूको देश भन्नाले कुन देशलाई जनाउँछ ?” सामान्यज्ञानको पुस्तकमा यसको उत्तर ‘नेपाल’ लेखेको पाइन्छ । म ठोकुवासाथ भन्नसक्छु- यस्तो लेख्नुको पछाडि पहिलो र दोस्रो विश्वयुद्धमा तपाइँहरूको पुर्खाले भाडाको सिपाही भएर पराई देशमा नडराई लडेका र कैयौँ वीर त उतै सडेका कारणले हो ।
नेपालको बिजुली बत्तिझैँ बेलाबेलामा आउने र बेलाबेलामा जाने बहुदलीय ब्यवस्थाको पछिल्लो पटकको चटक आगमनपछि यो राष्ट्र गृहयुद्धको दलदले भासमा बास बस्न पुगेको हो । यो युद्धले नेपालीहरू वास्तवमा लडाकूनै हुन् भन्ने भरिलो, झरिलो र दरिलो प्रमाण पेश गरेको छ ।
अस्ति एकजना मित्रले मेरो कानभित्र सुटुक्क भने- यो देश लडाकूको मात्र हैन ल, डाँकूको पनि हो ।” उनको कुरा सुन्दा हो जस्तो लाग्यो । कतै राष्ट्रिय डाँकूहरूकै कारण राष्ट्रिय लडाकू जन्मेका त हैनन् ? दमाहाजस्ता पेट हुनेहरूले यो राष्ट्रको सम्पत्ति आफ्नै दम्पतिझैँ भोगचलन गरेका कारण दावा लागेका पेटहरूमा जलन भै लडेको ठेट लडाईँ त हैन ?
आणविक शक्तिको भक्ति गर्ने राष्ट्रले विश्वमा हालिमुहाली गर्न जाँगर चलाएर गमलाजस्ता राष्ट्रमा बीउ नै नभएको कुराको निहूँ झिकी हमला गरेको त थाहा थियो । तर अनौठो चैँ हाम्रो देशमा के छ भने एउटै मान्द्रोमा सुतेका, एउटै काखमा मुतेका, एउटै आन्द्रोबाट छुटेकाहरू एकआपसमा भिड्न जुटेका छन् । यहाँ मान्छे भुट्ने र कुट्ने कुटीर उद्योग फस्टाएको छ ।
यो देशमा हुनेवाला लाहुरे र लाहुरे हुन नसक्ने चाउरेहरूको तालिम भैरा’छ । दुबै तालिमको उद्देश्य मान्छे मार्ने सेवाको सामान्य ज्ञान दिलाउनु हो रे ! फरक चैँ के छ भने लाहुरे तालिम हुनेखानेका छोराहरूले र चाउरे तालिम नहुने नखानेका (नभएपछि के खानु ?) छोराछोरीले लिन्छन् रे ! लाहुरे तालिम स्वइच्छाले सहरमा सःशुल्क र चाउरे तालिम जङ्गलमा अनिवार्य तर निःशुल्क प्रदान गर्छन् रे !
मैले माथि ‘रे’ का ‘रे’ लेख्नुको कारण चैँ ‘रे’ नलेख्दा आफ्नै घाँटी रेटिने त्रासले हो । तपाईँहरूले ‘रे’ हटाएर पढ्नुभए हुन्छ ।
अब चाउरे भन्या के ? यसको अर्थ पनि मैले तपाइँहरूलाई आफ्नै दानापानी खाएर अर्थ्याउने पर्ने भो । धन्य हुनुहुन्छ यहाँहरू !
“होर … र … र पचपचपच भन्दै गोरु नचाउने, पेटमा हालेको अन्न चाँडै पचाउने, जुङ्गा आको झट्ट हेर्दा दिन नखाको, उमेर नपुग्दै गाला बत्तीसमुजा भा’कोलाई चाउरे भन्दा रैछन् । यिनीहरूको मुख्य खुराक बेकसुरमा मालिक भनाउँदाको हप्की, दप्की, खप्की खानु हो । जसमा भिटामीन ‘ए’ को त के कुरा भिटामीन ‘जेड’ पनि पाइँदैन । अनि उमेरले युवा भनेर के गर्नु हेर्दा जीबा जस्तो चाउरी परेका देखिन्छन् ।
यस्ता दुःखीदाखी जसको कण्डो छोप्न पाखीलेसमेत सौभाग्य प्राप्त गर्न सक्तैन, त्यस्ताको खिल्ली उडाउन सिल्लीहरूले “चाउरेपचाउरे कोदालाको बिँड, के खान्छस् चाउरे सुँगुरको लिँड” भन्ने उखान रचेर मरेछन् ।
०००
हेटौंडा- ४, भैरवपथ
‘फित्कौली’ प्रवेश अङ्क- १, भदौ २०६२
Subscribe
Login
0 Comments
Oldest





































