शेषराज भट्टराईपक्राउ पुर्जीको परिभाषा
राज्यले जनता वा पर्यटकका लागि तोक्ने यात्रावधी वा बस्न घुम्न तोकिएको सीमित वा असीमित समयसीमा भिसावधी पनि एक किसिमको पुर्जी नै हो । पुर्जी नाम एक भए पनि काम फरक फरक हुन्छ ।
शेषराज भट्टराई :
मलाई धनी पूर्जा वा लाल पूर्जा भन्ने चाहिँ थाहा थियो तर यो पुर्जी भन्ने चाहिँ त्यही पुर्जाकी श्रीमती होला भन्ने ठानेको थिएँ । तैपनि जिज्ञासा शान्त पार्न यात्रामा आफ्नै अगाडि गाडी कुदाउने गुर्जीलाई सोधेँ- “गुर्जी पुर्जी भनेको के हो ?” उहाँले खैनीको झोल पिच्च थुक्दै खित्का छोडेर नम्र भावमा विनम्र बन्दै भन्नुभयो- “पुर्जी प्रहरीको अधिनमा हुन्छ । हामी गुर्जीसँग चाहिँ गाडी गुड्काउन पाउने पुर्जी हुन्छ । जसलाई अङ्ग्रेजीमा लाइसेन्स भनिन्छ । आवश्यकताअनुसार यसको उत्पादन बढाउन घटाउन सकिन्छ ।
यो एक किसिमको कठोर आदेशात्मक बस्त्रहीन अस्त्र हो । जसले जहाँ जहिलेसुकै जसरी तसरी जोकसैको ज्यानलाई यो जारी भएपछि वारीपारी जहाँ भए पनि खोजेर हाकिमको नाकै अगाडि ठड्याइदिनुपर्छ । यात्रुका हकमा चाहिँ जहाँ पुर्याउनु पर्ने हो त्यहाँ पुर्याइ दिनुपर्छ । झ्याप्ले खोलाको जस्तो पहिरोमा पारियो भने चाहिँ बिचरा यात्रुहरू पृथ्वीमा अलमल नगरी सोझै स्वर्ग जान्छन् । पुर्जी अनुसार सहि काम गर्न सकिएन भने असक्षम, असफल र उस्तै परे डिमोसनको भागीदार बन्नुपर्छ । त्यसैले पुर्जी जारी भएपछि प्रहरी प्रशासनको पहुँच र पावर आकाश, पाताल, रसातल सर्वत्र बलशाली बन्न पुग्छ । सोझासिधा जनताको हकमा यो जारी भयो भने चेपुवामा राखेर खसी पारी हत्कडी वा छडी लगाएर हाजिर गराइन्छ ।
शक्तिशाली बाहुबली पहुँचवालाको हकमा पक्राउ पुर्जी जारी भएको छ भने त्यसलाई आधा बाटामै दमपच पारिन्छ या त अस्पताल पुर्याएर क्याविनमा सुविधा सम्पन्न तालले उपचार गरिन्छ । यति गर्दा पनि जनताको गनगन साम्य भएन भने विना हतकडी बिरामीको भावभङ्गीमा सोफामा बसाएर हाजिर गराइन्छ । त्यसैले पुर्जीले पहुँचवाला, पावरवाला र सर्वसाधारण बिचमा कित्ताकाटको राम्रो काम पनि गर्छ ।
नेपालमा सत्ता परिवर्तनको सङ्घारमा शासक र आन्दोलनकारीको पौरखबाट जे जति मारिए पनि त्यस्तो विकट अवस्थामा पक्राउ पुर्जी प्रायः निस्कृय बन्ने गर्छ । तत्कालीन सरकार शेरबहादुर देउवाले आन्दोलनका नाइके प्रचण्ड र बाबुरामको टाउको ल्याउनेलाई प्रति टाउको पचास पचास हजार दिने भनेको थियो । पछि पचास हजार भए पनि किन खर्च गर्ने भनेर राज्यकोषमा नै जम्मा गर्यो र मात्रै तिनको टाउको आज हामीले देख्न पाएका छौ । नत्र ज्यान मात्र देखिन्थ्यो मुर्कुटा जस्तो ।
जे होस् आन्दोलनमा उपद्रो गरेर रमाइ रहँदा सर्वसाधारण जनता साँढेहरूको सङ्ग्रामको शिकार बन्ने गर्छन् । यस्तो चर्को पिरलो परेको बेलामा पुर्जी जारी गरी साध्य नै चल्दैन । त्यही भएर होला दश वर्षे जनआन्दोलनमा दोहोरो बन्दुकले सत्र हजार सिध्याउँदा पक्राउ पुर्जी जारी भए पनि ति सबै निकम्मा निस्क्रिय बने । पक्राउ पुर्जी नेपालको हकमा चाहिँ सर्वसाधारण मानवमा मात्रै हाउगुजी झै सक्रिय र फलदायी बन्छ ।
बैंक लुट्ने, मान्छे कुट्ने, सम्बन्ध टुट्ने, साइबर अपराध, भ्रष्टाचार, करणी, अत्याचार व्यभिचार, दूराचार, लोकाचार, पापाचार, चोरी, डकैती, फकैती, ठगी गरेर प्रसिद्धि कमाएमा त्यस्तालाई ठिगुरामा ठोक्न पक्राउ पुर्जीको अहम् भूमिका रहेको हुन्छ । प्रहरी प्रशासनले जनतालाई न्यायको आभास दिलाउन अभियुक्तलाई मुसो, माकुराको दुलोमा खोजेर भए पनि गलहत्याएर ल्याउनु भनेर माथिल्लो घनटाउकेले तल्लो डण्ठे घनटाउकेलाई आदेश सूचक शैलीमा हाजिर गरा भन्ने नब्बे डिग्रीको आदेश सूचक अनुमति नै पक्राउ पुर्जी भित्र पर्छ । अन्तर्राष्ट्रिय मामलामा कतै कठोर र कतै नरम पनि हुने गर्छ । त्यही भएर उत्तरकोरिया र अमेरिकाको विचार दुध फाटेझै फाट्ने गर्छ । दुई मुलुकको बुझाई र्याङको ठ्याङ नमिल्दा एक अर्कालाई वर्ग शत्रुको रूपमा वरण गरेको पाइन्छ ।
हाम्रा बा हजुरबाका पालामा पञ्चायती तन्त्रमा भनौ न चतुर मानवहरुको तेजोबध गर्न पुर्जी काटेर वा विना पुर्जी पनि ठिगुरामा ठोक्ने चलन थियो । राणा शासन त्यो भन्दा पनि उखर्माउलो चर्को भन्छन् । अहिले संघीय गणतन्त्र नयाँ नेपालमा सुधारिएको सुविधा सम्पन्न भन्छन् तर उघारिएको र दुविधाजनक मात्रै हात लागिरहेको छ । उच्च कोटिको न्याय पाउने आशमा जनता चिच्याई चिच्याई बुलन्द अधिकारको आश गर्छन् तर सरकार प्रादेशिक सरकार धान्न नसकेर रनमा परेको छ । तै पनि जिउँदो साबित हुन आफ्ना धुपौरे, दही चिउरे चम्चे बाहेक अरूलाई पक्राउ पुर्जी जारी गर्नेसम्मको अथाहा क्षमता सुरक्षित रहेको धम्कीले हम्की रहेको हुन्छ ।
जनताको रगत पसिना बगाएर आर्जेको करोडौँ धनराशि अपचलन, विचलन गर्ने गराउने, राष्ट्र बैंकको पनि अहम् भूमिका रहेको हुन्छ । राष्ट्रबैकले पैसा सोहोर्ने अनुमति दिएपछि सोहोरेको पैसा जे गर्छ गरोस् भनेर राष्ट्रबैंक मुकदर्शक बन्न पाउँदैन । त्यसैले सहकारीको रकम हिनाबिना गर्ने एक सदस्यमा राष्ट्रबैंक पनि पर्छ । किनकि अनुमति इजाजत दिने बैंकहरूको टाउके बैंक यही हो । त्यसैले पक्राउ पुर्जी राष्ट्रबैंकतर्फ पनि सोझिनुपर्छ । धेरै गृहमन्त्रीहरू अदलबदल हुन्छन् तर रकम विचलन गर्ने विरुद्ध चाहिँ आलटाल पुर्जी मात्रै जारी भएको पाइन्छ । यसरी देशमा लगातार उल्टो बतास चल्दा जनता निरास उदास र उदेक लाग्दो स्थितिमा बहिर्गमनकारी नीतिमा रमाइरहेका छन् ।
कतिपय स्वास्थ्यकर्मी डाक्टरहरूले गर्भवती महिलाहरूलई ठ्याक्क तोकेर यो मितिमा सितिमिति ढिलो नगरी अस्पताल भर्ना हुनु भनेर बिरामीको हितार्थ दिइने आदेशसूचक प्रेसकृप्सन पनि एक किसिमको पुर्जी नै हो । कतिपय सरकारी कर्मचारी निःशुल्क यात्रा गर्न पाउने पुर्जी पनि जारी गरेका हुन्छन् । यो चाहिँ सुविधाभोगी पुर्जी भयो । कसैलाई गलगिद्ध हसुर्न पाउने अनुमतिपत्र पनि एक किसिमको पुर्जी नै हो । यो मेरो मान्छे हो भनेर जानकारी दिने पुर्जीलाई चाहिँ जनाउ पुर्जी भन्नुपर्छ । राज्यले जनता वा पर्यटकका लागि तोक्ने यात्रावधी वा बस्न घुम्न तोकिएको सीमित वा असीमित समयसीमा भिसावधी पनि एक किसिमको पुर्जी नै हो । पुर्जी नाम एक भए पनि काम फरक फरक हुन्छ । यसरी राज्यका तर्फबाट उसैको तजविजमा जारी हुने पक्राउ पुर्जीले मानव चोलालाई सास्ती, मस्ती र सुविधा वा दूविधालाई मध्यनजर राखेर हावा खानुपर्ने बाध्यात्मक अवस्था आइलाग्ने गर्छ ।
गुर्जी ज्ञानी र बुद्धिमानी लाग्यो । गुर्जीले पुर्जीका बारेमा पुरापुर लामै पुराण सुनाउनुभयो । अब म पनि घर पुगेर अनुशरण गर्नुपर्ला र श्रीमतीलाई एउटा खुर्ची पुर्जी थमाउने विचारसँगै गुर्जीलाई बाइबाइ भन्दै फेरि भेट्ने बाचा का साथ बसपार्कबाट बिदा भएँ ।
०००
शिवशक्ति मार्ग, फूलबारी-११, पोखरा, कास्की
फोन ९८०६६७७५९४
Subscribe
Login
0 Comments
Oldest








































