शेषमणि आचार्यखाइराइड
खाइराइडले कुरा ओकल्यो उसलाई ठुला मन्त्रीकहाँ जानुपर्ने रहेछ । भन्न त मन्त्रीले बोलाएर छिटो जानु छ, भन्यो । मलाई पत्यार लाग्दैन । थाइराइडलाई उसले गफ चुटिहाल्यो, दुबै आफ्नो गन्तव्यतिर लागे ।

शेषमणि आचार्य :
अचेल निकै मोटाघाटा भएछौ, खाइराइडलाई थाइराइडले सोधे। खाइराइडले पनि हाँजिरी जवाफी शैलीमा जवाफ फर्काए । थाइराइड पनि बोल्नमा त कम थिएनन्, कुरा खस्नै नपाउने, च्याप्प समाइहाल्ने ।महाभारतमा कर्ण र अर्जुन जस्ता धुरन्धर। कोही भन्दा कोही कम नहीँ ।
मैले पनि यी दुबैको चाखलाग्दो वार्ता सुनिरहेँ । थकाइ लागेको थियो हरायो । भोक लागेको थियो लुक्यो, तिर्खा लागेको थियो मुख गफैले रसायो, साथीलाई कुर्दा समय बिताउन गाह्रो हुन्थ्यो, हुँदै भएन।
थाइराइड त्यान्द्रोजस्तो सुकेको, पतेराले चुसेको बोट जस्तो थियो । खाइराइड मोटो, कहिले पान चपाउँथ्यो पिच्च थुक्थ्यो, कहिले खैनी माड्थ्यो दाँत र तल्लो ओठको बिचमा च्याप्प अँठ्याउँथ्यो । उसको रबाफै अनौठो थियो।
थाइराइड पनि अलि घमण्डी नै थियो, ऊ कसैसँग ननिहुरने कसैलाई जुम्लाहात नगर्ने भन्थ्यो। तर ऊ अहिले साँच्चिकै फुकिढल छ । खाइराइड भने छेपारो जस्तो रङ फेर्न सिपालु । मौकामा चौका हान्न उस्तै जण्ड। उसले नचिनेको ठुलाबडा कोही छैनन् भन्थ्यो। राजा’पालामा उनको दाहिने हात हूँ भन्थ्यो। अहिले पार्टीको पालाँ अध्यक्ष महामन्त्री घटी उसको सङ्गतै हुन्थेन । ऊ आज ठुलैको ढोकामा जान कस्सिएर आएको जस्तो लाग्दथ्यो । फुकिढललाई कसले गन्ने ?, ऊ सधैँ झुत्रे झाम्रेहरूको आँगन जान्थ्यो, के भन्थ्यो कुन्नि हात हल्लाउँथ्यो, मुख चलाउँथ्यो कहिले हात पड्काउँथ्यो, कहिले ओठ चलाउँथ्यो ।
एकछिन दुबै राइडहरूका घोचपेच रस्साकस्सी रमाइलो मानी मैले पनि सुनिरहेँ ।
खाइराइडले कुरा ओकल्यो उसलाई ठुला मन्त्रीकहाँ जानुपर्ने रहेछ । भन्न त मन्त्रीले बोलाएर छिटो जानु छ, भन्यो । मलाई पत्यार लाग्दैन । थाइराइडलाई उसले गफ चुटिहाल्यो, दुबै आफ्नो गन्तव्यतिर लागे । म पनि एकजना साथीको प्रतीक्षामा बसिरहेको थिएँ, अगि तीन जना, अहिले एक्लै म । खाइराइड भिआइपी टोलतिर लाग्यो, थाइराइड सँगैको फोहोरी झुप्रामा भ्वाङ परेको कलेठी लागेको सिरक ओड्ने, आँगनमा आगो तापिरहनेहरूको बिचमा खुट्टा फट्टाएर आफैजस्ता हात सेकिरहेका सबै उजस्तै फुकिढलसँग मिस्सियो।
मुखबाट धुवाँ उँडिरहेको, डढेकाे प्लास्टिकको कालो धुवाँले सबैको खोकी टाढासम्म सुनिएको थियो।
दुबै एउटै टोलका त थिए तर एउटा ज्यान लागेको,अर्को ज्यान गुमाउँदै गएको तर खुला मनको !
०००
तनहूँ
२०८१/०९/०७








































धन्यवाद!!साथै अन्यमा पठाउन मिले अनुमति पाऊँ।
हामीलाई पनि बहुत खुसी लागेको छ ! हार्दिक बधाई छ खाइराइड हजुरलाई !