साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘उप’ हरुको अवतार

कम्प्युटर ‘शो’ को निमित्त मात्र राखिएको भान हुन्थ्यो। विकलले टुपी समाती पछारे र भैरवले मोबाइल थुतिदिए। ऊ अक्क न वक्क पर्यो र कारण खोज्न थाल्यो। उनीहरू भने त्यतिखेरसम्म मूल सडकमा पुगिसकेका थिए।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

नापियोस डाँडा उपर खरको छाप्रोमा सिमसिम वर्षा अविराम चार घण्टादे‌खि चले पनि अझै ऐजन अवधि बोक्ने आशङ्‌कामाझ भैरव शयनकक्ष रोज्न वाध्य भए। नैऋत्योन्मूख सिरानीमा निर्दोष बालवनिता झै लुपुक्क अर्धनिद्रित लोचनाभाष भइरहेथ्यो । पल्लो इशानकोण‌मा चार्ज पिइरहेको विराजमान ‘प्रोम्याक्स सिक्स्टिन’ मोबाइलले भिडियो कलको आवाज निसृत गर्दै तन्द्रा टुटाइदियो । जुरुक्क उठे । मिठो सपनाको पूर्वतयारी माथिको बज्रप्रहार अनुभूत गरे । जरुरी होला र पो झ्वाट्ट संयम भइहाले ।

अहो ! विकल कसरी सुम्झियौ ? सात मासपूर्व चालिसे रोड (नन्दनवन) बाट आएको भिडियो कल यादगर भए। हजुर विकल। नारायण नारायण। अहो ! भैरव जय शम्भो । भैरव ! अनि स्मरणको उपचार केवल आराम सन्चोको थोर‌बहुत नालीबेलीको पोको फुकाऊ न । आफ्नो पनि । पहिला तिम्रो कि मेरो चावी ? आज चालिसे रोड व्यस्तता उग्राइरहेछ । निम्वस वादल आकाश स्वयंको वपौती सम्झेर मडारिरहेछ । वैतरणी मैलिएकी छे । पिँडालीको निकटको डाँडो खर्लप्प ओर्लिएर परिणाम यस्तो दिइरहेको रहेछ । आज स्वर्गका हरक्षेत्र वर्षाको एकसुरे आक्रमण भोगिरहेको पाइयो । गोठालेको मेलडाँडो, विजयको धयेंरे पाखो जनकलालको ढकालपुर, देवकोटाको म्हेन्दुपोखरी जनमग्नता भोगिरहेछ ।

नापियोस डाँडाको अवस्थावोधको लागि कल गरें भैरव। सिमसिमे वर्षा अविश्रान्त धावा उग्राइरहेछ यहाँ पनि । ठिहीको अनुभूतिले शयनकक्ष उपर न्याय हुँदै थियो। तिम्रो भिडियोकल नभए त नत्र…..। के नत्र…..? स्वीच अफको झटनी पाउँथ्यो त्यसले । शोभा कता नि भैरव ? भान्सतिरै लुटुपुटु होला उन‌को । मौस‌मविद‌को प्रक्षेपणले पर्सिबाट झलमल्ल दिन र टहटह जून पाउँछौं हामीले। हो र विकल ! हिजोको निकोर्सि कानेकोर्सिको हिजो। मेरै शैलीमा भलाकुसारीको चाँजो मिलाऊ न त। अहो ! ज्यादै राम्रो भैरव । कतिबेला ? ठ्याक्कै है भनेकै समयमा । भूतलमा हुँदा तिमी लुगा लगाउन नै दुई घण्टा लगाउँथ्यौ त्यस्तो नहोस् । लुगा लगाईवरि मलाई कल गर । म त १५ मिनेटमा नै तयार भई सक्छु । पून: गोकर्ण र तारे भिरमा गोठालो लाग्दाको जस्तै कुरा गर्छौ। यो स्वर्ग हो नि बुझ्यौँ कि नाईं? तिमीले पनि टोलबासीकै निद्रा भङ्‌ग हुने गरी बाँसुरी बजाउन छाड्यौ होला हैन ? भो, अब गलफत्ति नगरौँ पक्का भयो निकोर्सिलाई ।

आधा घण्टा बित्यो आगमन भएन भैरवको ? कि बिर्सिए ? विकल चौतारीको छेउकुना गर्दै बारम्बार पाइन्टको खल्तीमा हात घुसार्छन्। घरी रुमाल निकालेर ललाटको स्वेद पुस्छन्। परबाट एउटा अपत्यारिलो आकृति दृष्टिगोचर हुन्छ। भैरव पो हुन् कि अड्कलबाजी सुरु हुन्छ। पक्कै मर्त्यलोकको जस्तो हिँडाइ। घुँडासम्म लत्रिएको सुरुवालको इजार। ढल्किदै दोधारको हिँडाइ। भैरव यताउता। पाँच मिनेटपछि भैरव चौतारीमा पुगेर टुसुक्क बस्छन् । निशब्द सायद थकाइको परिणाम। अलि परसम्म हिँडौँ वात मार्दै। अस्वीकृति छैन । दुवै महिसपुरको मध्य रोडमा ट्राफिक पोस्टनेर पुग्छन्। जेव्राक्रस हाजिर हुन्छ ठिक अगाडि पारिपट्टि विशाल भवनको बाहिरी भित्तामा चिमाली भोजनालय देख्छन्। मांसाहार निषेध है। चित्तवृत्ति हुन्छ दुवैको। गेटबाट भित्र प्रवेशको तयारीमा नै गेटपाले रोक्न आउँछ। हामी पुराना मित्र। म नापियोस डाँडाबाट भैरव प्वाक्क बोल्छन्। मेरो नन्दनरोड सहस्रधारामाथि। गेटपाले हर्षित मुद्रामा स्वीकारोक्ति दिन्छ। दुवै एउटा सुकिलो राउण्ड टेबल छानेर बस्छन्।

मेनु विकलको हातमा। के खान्छौ ? यो महिषपुर नाम अनुसारकै परिकार पाइँदो रहेछ यहाँ बढी । भैँसीको दुधबाट बनाइएको खुवा, खिर, चिया, कफी, पनिरको तरकारी, दूध चकलेट। शाकाहारी भोजनमा पुलाउ, काउली, आलुको तरकारी, अचार (धनिया, केराउ र काँक्रोको) सलाद (मालभोग केरा र भैँसीको दहीबाट बनेको) भैरव हाँस्छन् रोस्ट र टोस्ट सम्झिएर। टोस्ट त यही त हो नि लाटा ! (सम्झिए विकलले मर्त्यलोकको होटलमा भएको कुनै घटना) बस्दै, आज खुवा र पनिरको तरकारी केराउ र काँक्रोको अचार खाँदै भैरवले प्रस्ताव राखे । मेनुमा त्यही रेजा धसे विकलले । अर्डर मुताविकको खानेकुरा आयो। बाबै ! कति मिठो भैरवले भने। यहाँ थोप्पो पानी मिसाउँदैनन्। ४/५ फेरि उमालेको दूधको के कुरा। लस्सी सलाद हाजिर भयो। मिनरल वाटरका बोतल प्याकिङबद्ध थिए टेबुल अगाडि। एउटा पत्रिका देखे रिसेप्सन अगाडि । भैरवले ल्याएर पल्टाए।

विकल पिँडालीसँग भिडियो कलमा व्यस्त थिए। शीर्षक खरर्र पढे। अमरावतीमा प्रदूषण आतंक, लिङ्कन बस्तीमा पहिरो, लुथरकिङ पार्कमा दिनदहाडै चोरी, देवकोटा सदन वरिपरि मुसलधारे वर्षा, पारिजात पार्कमा पछिल्लो ६ महिनामा अत्याधिक तापमान वृद्धि ! पल्ट्याउँदै गए चौथो पेजको दोस्रो लेखमा काठमाडौँ लगायत केही सहरमा ‘उप’हरुको आतंक। टक्क अडिए आँखा त्यही शीर्षकमा। त्यसबेलासम्म पिँडालीको फोन अफ गरिसकेका थिए विकलले। भैरव पढिरहेका थिए। विकलको पनि ध्यान त्यतै खिचियो। के हेर्दैछौ गहिरिएर ? हेर न यो त उही मर्त्यलोकीय कान्तिपुरी वरिपरिको खबर पो छापिएको रहेछ। बाक्लो चस्मा लगाउँदै विकलले आँखा दौडाए । लौ, पढ्न लायक शीर्षकको लाग्यो। पढ त पेटबोलीमा के रहेछ। मेरो स्वर अलि मसिनो छ। तिमीलाई थाहा नै छ। तिमी आरुबारीबाट गोकर्णको वनमा चरिरहेका गाईवस्तुलाई बोलाउन सक्थ्यौ। म त्यही दक्षिणढोकाबाट शिवचोकसम्म पनि बोलाउन सक्दिनथेँ। भो, यहाँ टेबुलमा त म सुनिहाल्छु नि विकलको अनुमतिले भैरव सहमतीय मस्तक हल्लाउँछन् र समाचारको पेट बोली वाचन गर्न थाल्दछन्।

‘उप’ को आतङ्क : कान्तिपुरे धन्दा
थुप्रै आतङ्‌कमध्ये कान्तिपुर ‌वरिपरि झाँगिएको आतङ्क हो: ‘उप’ आतङ्‌क । सरकारी कार्यालयमा निमित्त र विभिन्न संस्थान वा गुठीहरू‌मा ‘उप’ अवतारको विगविगी बढेको छ। साहित्यिक गुठीहरू‌मा पुरस्कार वितरणलाई आफ्नै निजी गुठीको परिचय दिलाउने यत्न भएको गन्ध जताततै फिँजिएको छ । औपचारिक कार्यसमिति सिफारिश समितिको नाटक मञ्चन भए पनि ‘उप’ अवतारले दर्विलो प्रभाव जमाएको छ । सिफारिश समिति कसको नेतृत्वमा गठन गर्ने भन्ने उसैको इशारा र निर्णयमा भर पर्दछ। पुरस्कारमा बार्गेनिङ पावर उसैको हातमा सुरक्षित छ। दृष्टान्त अनेक छन्: उत्कृष्ट आख्यानकार गुठी, सिंहगुठी, हास्यनिधि गुठी, विद्यापति गुठी, व्याकुल गुठी आदि । यी गुठीले आफ्नो सम्पर्कमा रहेका व्यक्ति वा चित्तवृत्ति गराउने प्रति सकारात्मक भई ओरिजिनल अभ्यासलाई आर्यघाटमा पुऱ्याएको देखिन्छ। (हिमचुली दैनिक, वर्ष ७, अङ्‌क ५३)

विकल बोल्छन, “जानुपर्दछ कि क्या हो भैरव एकचोटी मर्त्यलोक ?” मैले अनेक प्रयत्न गरेँ। तर प्रस्थान‌को शुभसाहित जुरेन। तिमी पनि फुर्सदमा छौ भने जाऊँ भैरवले भने । बृहस्पतिवारको दिवाकालमा प्रस्थानको शर्त राखौं । विकलले थपे। दिनभरि महिषपुरको स्वादिलो भैँसीको दूधबाट निर्मित परिकार खाँदै गफ गर्दै बिताए। बृहस्पतिबारको दिनमा पुष्पक विमानको बालकोनीको टिकट म अनलाइनबाट भरौँला। “टिकटको फोटो तिम्रो मेसेन्जरमा भोलि पठाइदिउँला”। -विकल बोले। साँझ सात बजे पुगे भैरव नापियोस् डाँडा। “आज भोजनमा नै अरुचि छ”। भैरवले भने । “जे रुच्दछ खानुपर्दछ नि अनि विकलजीलाई भेट्नुभयो ?” शोभाले प्रश्न तेर्साइन्। “आउँदो बृहस्पतिबार मर्त्यलोक प्रस्थान गर्ने सल्लाह मिलाएर आयौं ।” भैरव बोले। “परारै जानुहोस् भन्दा कानमा तेल हालेर बस्नुभएको थियो”। अहिले विकलले हुटहुटी लगाई दिएर हो कि क्या हो ? “साथीभाइले भनेपछि जस्तो पनि गर्न तयार हुने तर परिवारले भनेको कानमा तेल हाले झैँ गरी नसुन्ने बानी तपाईंको मर्त्यलोक देखि कै हो ।”

“भो पुरानो घाउ नकोट्याउ ।” भैरवले भुइतिर हेर्दै बोले। जाने भए केही सामान पठाइदिन्छु। अहिले देशको स्थिति बिग्रिएर महङ्गी उल्कापात भएको रहेछ। साङ्ले खोलामा पनि आधा लगिदिनु। आफ्ना छोराछोरी कहाँ पसेर आउनु। “फेरि घरिघरि जान पाइँदैन”। शोभाले एकै सासमा गफ तुर्न भ्याइन। एक क्विन्टल जति यहाँबाट मिल्छ रे। ह्यान्डक्यारीमा १५ किलो जति लैजान मिल्ला। त्यसमा त मेरा डायरी, स्वर्गमा प्रकाशित पुस्तक पनि लैजानुपर्ला। “बरु लुगा धोइ आइरन गरिराख”। भैरवले प्रस्ताव राखे।

पुष्पक विमान छुट्यो। अमरावतीबाट। १४ घण्टा ४६ मिनेटमा त्रिभुवन एयरपोर्टमा ओर्लियो। पूर्व शारीरिक रूप र बनोट लुकाए दुवैले। आआफ्ना लगेज घिच्याउँदै बाहिरिए एयरपोर्टबाट। ट्याक्सी लिएर सोझै आरुबारी पुगे। जेठो छोराको घरको बेल दबाए। आवाज आयो कतैबाट। किन होला ? तपाईँको बाबुको मित्रले पठाइदिएको सामान राख्नुहोला। भने दुबैले एकैपटक। पत्याए सोधखोज नै नगरी थुपुक्क राखिन् एउटी वनिताले। नातिनी बुहारी चिनिहाले। वरिपरि खुब नियाले आरुबारी। भैरव साथमा नै थिए विकल। जोरपाटी पुगे दुवै जना। एउटा बनिता देखा परिन् चत्वरमा। तपाईंका बुढा ससुराका साथीले पठाइदिएको भन्दै लगेज जिम्मा लगाए। त्यहाँ पनि आरुबारीका परिदृश्य दोहोरियो। तुरुन्तै भैरव पुस्तकालय पुगेर पुस्तक दराजमा राखिदिए। लेखक वकम्फुस शर्मा उर्फ खोलापारीको पुरेत। नवीन लेखकको पुस्तक आयो भन्दै दर्ता गरिन् लाइब्रेरियनले।

भोलिपल्ट भैरव र विकल महान् नाटककार पुरस्कार गुठीको कार्यालयमा प्रवेश गरे। कार्यालय अस्तव्यस्त थियो। पुस्तकहरू धुलोले छाेपिएर बिजोग थियो। शौचालय गए ढोकाको चुकुल भाँचिएको थियो। एक हातले ढोका ठेल्दै शौच गरे। पुस्तकको रेकर्ड अधावधिक थिएन ! एउटा १९/२० वर्षको तन्नेरी ठिटो बेलुकी ५:०० बजेतिर आयो र डाटा अन गरेर फेसबुक हेर्नथाल्यो। कम्प्युटर ‘शो’ को निमित्त मात्र राखिएको भान हुन्थ्यो। विकलले टुपी समाती पछारे र भैरवले मोबाइल थुतिदिए। ऊ अक्क न वक्क पर्यो र कारण खोज्न थाल्यो। उनीहरू भने त्यतिखेरसम्म मूल सडकमा पुगिसकेका थिए।

त्यसैगरी रिमाल र खनाल पुस्तकालय पुगे। कार्यालय सहायकको गालामा दुई थप्पड बजाए भैरवले । विकलले कुर्सीबाट घचेटीदिए। बिस्तारै उनीहरू हास्यनिधि गुठी पुगे। पुरस्कार गुठी कमाउने भाँडो बनाएका थिए केही धुर्तहरुले। आस्था भन्दा पनि नाम बिकाएर अर्थोपार्जन गरेको भन्दै बैठक कक्षमा प्रवेश गरी अध्यक्ष सहित सबै पदाधिकारीको कपाल समाती समाती जगल्ट्याए पनि। एक दुई उडुस उपैयाँ टाप ठोके। एकैछिनमा न्यौपाने र पौडेल पुस्तकालय पुगे। हालत त्यस्तै थियो। लेखनको आधारमा नभई राजनीतिक आस्थाको आधार पुरस्कार दिलाउने अध्यक्षको चस्मा भाँचिदिए भैरवले। विकलले पछाडिबाट चाणुरले झैँ मुड्की बर्साए। त्यो त्यही मुर्छित भई ढल्यो। उनीहरू त्यहाँबाट पनि हिँडे।

धेरैजसो गुठीका अवस्था र हालत उस्तै उस्तै थियाे। बाटामा सापकोटा पुस्तकालय देखे। त्यहाँको अवस्था पनि पूर्ववर्ती नै। दुवैलाई झोंक उठ्यो। एकैपटक टेबुलमा मुड्की बर्साउँदा सिसा फुटेर शतचूर्ण भयो। नेम्वाङ गुठीको दराज दमिराको टेबुलमा रूपान्तरण भएको देखी लात्ती बर्साए, दुबै गर्ल्यामगुर्लुम ढल्दा बाटामा सुतेका कुकुरहरू उठेर भुक्न थाले। त्यसपछि उनीहरूको अन्तिम लक्ष्य बन्यो व्याकुल गुठी। साहित्यिक योगदानलाई अनुदान याचनाबाट बिटुल्याएको भन्दै त्यसको अध्यक्षलाई कञ्चट फुट्ने गरी हाने विकलले। भैरवले झ्यालबाट झारीदिए। त्यसपछि दुवै भाइ सिंहदरबारका विभिन्न कोठामा पुगे। त्यहाँका निमित्त उपसचिव र सहसचिवहरू बढुवाका लागि मन्त्री क्वाटर धाएको देखे। दुई चार जनालाई टुप्पी समातेर पछारे। सरकारी काम क्वाटरबाट सम्पन्न गरेको देखे। केही मन्त्रीहरूको गाडीको टायर खुस्काइदिए। त्यसपछि सिंहदरबार हुँदै एयरपोर्टतर्फ लागे।

०००
काठमाडाैं
२०८१/०९/२२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

स्वर्गको चित्रणमा उच्चस्तरको कल्पनाशीलताको प्रयोग । मर्त्यलोकका साहित्यिक संस्थामा विद्यमान अव्यवस्थामाथि चोटिलो व्यंग्य । संस्कृत शब्दको भने भरमार प्रयोग । (आफू संस्कृत नजान्ने परें ।) राम्रो रचना ।

Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x