अमर अधिकारीजय गोरुदेव !
धर्मको नाममा धन आर्जन गर्ने र ठूला कम्पनीहरुमा शेयर लगानी गर्ने कथित गुरुलाई “जय गुरुदेव !” होइन “जय गोरुदेव !” भन्दा पनि फरक पर्दैन। जय गोरुदेव !

अमर अधिकारी :
भारतबाट त ओइरिए ओइरिए विभिन्न ढोँगीहरु, अब देशभित्र पलाउनथाले बा ! ढोँगी अनि पाखण्डीहरु। कति नाटक ? कति चटक ? कति धोका ? अन्धभक्तहरु बोका ! विभिन्न वहानामा पैसा लुट्यो अनि गरिब शिष्यलाई लठ्ठीले चुट्यो। गेरुबस्त्र धारण गरेर मात्र हुन्छ ? सही तरिकाले धर्म सिकाउनुपर्दैन ? “हजारौँ वर्ष जीवित हुने ठाउँमा, कहिल्यै मर्नै नपर्ने ठाउँमा, सधै जवान हुनुपर्ने ठाउँमा लैजान्छौँ” भनेर महाठग कथित जोगीले के भनेका थिए अन्धभक्तहरुको ताँती लाग्नथाल्यो ती गोरुदेवको आश्रममा। काठको टुक्रालाई सुन बनाइदिन्छौँ र बालुवालाई नून बनाइदिन्छौँ भन्दै हजारौँ-लाखौँ-करोडौ लुटेर कुलेलम ठोक्ने र भ्रमजाल बोक्ने गोरुदेवहरुको कमी छैन यहाँ ।
“कालीलाई गोरी बनाइदिन्छौँ र केटालाई केटी बनाइदिन्छौँ अनि केटीलाई केटा बनाइदिन्छौँ” भनेर हजारौँमा जन्तर-मन्तर बेच्ने फटाहा जोगी अनि बलात्कारी भोगीहरु यहाँ खुलेआम आफ्नो धन्दा चलाइरहेको सरकारले टुलुटुलु हेरिबसेको छ। नेताहरुलाई समेत भागशान्ति पुर्याएको कारणले हुनसक्छ ती ठगहरुलाई सरकारले पाता कस्न नसकेको। “घरमा धनवर्षा गराइदिन्छौँ र परिवारमा सधै सुखशान्ति छाइदिन्छौँ” भनेर मनगढन्ते जन्तर-मन्तर बेच्नेहरुका पछाडि लाग्दैछन् जनानाभन्दा पनि ज्यादा मर्दानाहरु । घरमा पतीलाई वास्ता छैन, तर त्यस्ता ढोँगीको खुट्टा ढोग्ने अनि दाम चढाउने गृहिणीहरु यहाँ तमाम छन्। धेरै गृहिणीहरु पाखण्डीको भ्रमजालमा फसे अनि उसैका पछाडि दौड्न कम्मर कसे।
ती पाखण्डीहरुले गर्दा अहिले मन्दिर धाउनेको संख्यामा कमी आएको छ। उनकै आश्रम अनि धाममा लाम लाग्छन् हाम्रा जनताहरु। बलात्कारी, ठग, चोर जोगीका पछाडि लाग्न छोड्ने कहिले ? ज्यानमारा जोगीलाई झिनो धरौटीमा छोडिदिँदा ती पाखण्डीहरुको मनोबल झनै बढ्छ र आफ्नो ठगीधन्दा फस्टाउँदै जान्छ। भारतका जेलमा हावा खाइरहेका बलात्कारी, हत्यारा, ठग जोगीहरुको नेपालमा जयजयकार हुँदैआएको र नेपाली अन्धभक्तहरुले तीनैका भजनहरु गाएको यो लेखकलाई भरमार जानकारी छ। हुँदै नभएका कुराहरु ती पाखण्डीका दस्तावेजमा उल्लेख छन्। हरेक विहान सिरानी मुनी एकतोला सुन फेला पार्ने ती पाखण्डीका चेलाको काल्पनिक कुरा पनि त्यसैमा छ।
त्यसरी दिनहुँ सुन भेट्टाउने भए किन दुःख गरेर पढ्नुपर्योो? किन ठूलो मान्छे हुनुपर्योन। गर्दागर्दा “पढ्दै नपढी एमए पास गराइदिन्छौँ” भन्ने त्यस्ता पाखण्डीका पछाडि दौड्ने शिष्यहरु कस्ता? भेँडाबाख्रा जस्ता। नचाहिँदो धर्म होइन, चाहिँदा कर्म गर अन्धभक्तहरु हो। जीवनमा केही पाउनका लागि देखावटी धर्म होइन, कर्म गर्नुपर्छ। समाजमा सकारात्मक सन्देश छर्नुपर्छ।
नचाहिँदो र मनचढन्ते मन्तर सिकाउने माला औँठी बिकाउने, जति भन्दा पनि बन्द हुँदैनन् त धन्दा। थुक्क अन्धभक्तहरु हो घरको काम लथालिंग पारेर पाखण्डीका आश्रम धाउने उनकै गुनगाण गाउने ? रामायण विर्सियौ, महाभारत विर्सियौ, गीता विर्सियौँ, वेद विर्सियौँ? तिमीहरुलाई त हेर्नै मनलाग्दैन। पाखण्डीहरुले लेखेका मनगढन्ते पाठ घोक्छौ। गोजी खाली भएपछि बल्ल घरतिर कुलेलम ठोक्छौ। वुद्धि कता हराए सुद्धि कता हराए। कथित जोगीले तिमीहरुलाई बेबकुफ गराए। रातभरी कराए, दक्षिणा हराए। शिव मन्दिर जान छोड्यौ, गणेश मन्दिर जान छोड्यौ, धार्मिक परिधि तोडयौ।
त्यस्ता धर्मको नाममा ब्यापार चलाउनेहरु नेताहरुलाई समेत हल्लाउने ढोँग। कस्तो चल्यो यो देशमा कडा रोग ! महादेव विर्सिएर गोरुदेवतिर लाग्ने कस्ता काम हराएका कथित आश्रममा गएर दाम चढाएका। पाखण्डी ढोँगीलाई मन पराएका। राजमार्गका ठूलाठूला ढुंगामा अनि पर्खालका भित्ताभित्तामा लेखेको देखिन्छ- “सकारात्मक सोँचौँ-ज्ञानी बनौँ-जगतलाई शान्त र सुन्दर बनाऔँ।“ रामकृष्ण ढकालले गाएको गीत झैँ “यी त सब भन्ने कुरा न हुन् !” यस्ता आकर्षक शब्द र वाक्यहरुले जनतालाई तान्ने र पछि गएर हजारौँ नदिँदा लठ्ठीले हान्ने? मुखमा रामराम बगलीमा छुरा भएका यस्ता जोगीहरुलाई बेलैमा चिनौँ बरु त्यस्ता चढाउने दामले फलफूल किनौँ, त्यसैमा छ कल्याण सबैको।
जोगीको भेषमा सल्बलाउने ठगहरुलाई बेलौमा पहिचान गरौँ, दिमागमा वुद्धि भरौँ ! त्यस्तालाई “जय गुरुदेव !“ होइन “जय गोरुदेव !” भनौँ। किन कि गोरुले जोतेमा अन्न बाली फल्छ र खान पाइन्छ। पाखण्डी गुरुका पछाडि लाग्ने हो भने केही पनि पाइँदैन- धोका वाहेक। कोही कोही गुरु असल हुनसक्लान् सही ज्ञान दिने र तोकेर धन नलिने। तर यहाँ ज्ञान-चेतना दिने वहानामा च्याउ झैँ उम्रिएका बग्रेली आश्रम र कथित गुरुहरुको बिगबिगी छ। धर्मको नाममा धन आर्जन गर्ने र ठूला कम्पनीहरुमा शेयर लगानी गर्ने कथित गुरुलाई “जय गुरुदेव !” होइन “जय गोरुदेव !” भन्दा पनि फरक पर्दैन। जय गोरुदेव !
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































