माधव पोखरेल गोज्याङ्ग्रेकुर्सीमाथि बुर्कुसी
तर देशका अधिकांश कुर्सीमा त्यस्तैहरुले आसन जमाएर कुर्सीकै रासन पानीले ढ्याउढ्याउ गरेर पछि म्याउँ-म्याउँ गर्दै बसेको पनि यो नाङ्गो आँखाले रमिता हेरेको छ ।

माधव पाेख्रेल गाेज्याङ्ग्रे :
यो कुर्सीको उचाई यसको रचनाकारले खै किन हो ? अमिल्दो बनाएसम धेरैजना रुष्ट भएका छन् । सबैखालको उचाई भएकाहरूलाई मिल्ने गरी बनाएकाे भए कुर्सीमाथि सबैले बर्कुसी मारी चढ्न पर्दैनथ्यो होला । हुन त यस कुरामा ब्रह्माजीको पनि सोह्रै आना गल्ती छ किनभने मान्छेका आकार प्रकार लगायत कुराको उचाई मोटाइ लम्बाई मिलाउँदा कमसेकम कुर्सीको त ख्याल राख्नु परे हो । तर कुनै कुराको बिचार नगरी मान्छेको निर्माण गर्ने सोच नै त्रुटीपूर्ण रहेको मेरो ठहर छ ।
भनौं काठेमिस्त्री र ब्रह्माजीले पूर्व योजना विनानै कुर्सी अनि मान्छे बनाएका कारण मान्छेलाई कुर्सीमा बुर्कुसी मार्न सकस भएको छ भने कुर्सी एकैनासका नहुँदा अर्को समस्या थपिएको छ। कुर्सि मोहमा फसेको मान्छेले पटक-पटक एउटै कुर्सीमा बुर्कुसी मार्दा पनि वस्न सकेको छैन । यसको कारणमा कुर्सीको र त्यो मान्छेको उचाई, लम्बाई र मोटाई नमिलेर हो भन्ने निष्कर्षमा म पुगेको छु ।
मान्छेले बुर्कुसी मार्ने कुर्सी एउटै नापको हुँदैन । एउटै प्रकारको पनि हुँदैन । विभिन्न नापको विभिन्न थरिको र विभिन्न प्रकारका सामानबाट तयार पारिन्छ । कुनै काठको, कुनै प्लाष्टिकको, कुनै फमको, कुनै फाइबरको त, कुनै फलाम, स्टील आदिको हुन्छ । आफू कुन कुर्सीमा बुर्कुसी मारेर बस्ने वा सरक्क बस्ने वा हाम्फालेर उफ्रेर वा दौडेर गएर बस्ने त्यो मान्छेका स्वभाव र प्रवृक्तिमा भरपर्ने कुरा हो।
नेपालमा राष्ट्रपतिदेखि वडाका वडा सदस्यसम्मकाले कुर्सीमा बस्ने मौका पाएका छन् । कुर्सीमा पनि शक्ति र भक्ति हुन्छ । कोही शक्तिको कुर्सीमा बुर्कुसी मारेर बस्छन् भने कोही भक्तिको कुर्सिमा कसैले थाहै नपाई सुटुक्क बसेका छन् । तर कोही भने शक्ति भएर पनि भक्ति बन्न नसक्दा पाएको कुर्सी त्यागेर बसेका छन् । भनौ यो कुर्सी महिमा कसैका लागि पीर चिन्ताको विषय बनेको छ भने कसैका लागि खुशी र सुखी जीवन यापनको पर्याय बनेको छ ।
कुर्सीमा बस्न कोही वर्षोंदेखि अहिलेसम्म प्रयासरत छन भने कोही आफू बसेको कुर्सीमा अरु नबसुन् आफैमात्र थेच्चिरहूँ भनेर भगवानसँग अनि शक्ति र भक्तिसँग पुकारा गरिरहेका छन्। कोही कुर्सीको नजिक पुगेर चढ्न नसकेर वा भनौं बुर्कुसी मार्न नसकेर बाटैबाट फर्किएका छन्। कुर्सी चुम्बकझै छ तर नजिक ल्याएर बस्न नपाउँदै पछार्छ पनि । गुरुत्वाकर्षण शक्ति भएको कुर्सीले धेरैलाई आफूतिर तानेर पछारेको छ। सायद कुर्सी पूजामा कुनै कमिकमजोरी भएर नै होला कुर्सीमाथि बुर्कुसी मार्न तम्सनेहरू प्राय बम्कने गरेका छन् ।
कुर्सी चाहे फर्सिकै किन नहोस् त्यसमा पनि बुर्कुसी मारेर बस्न तम्सनेहरू हाम्रो समाजमा कम छैनन् । गाउँमा सिंहदरबार पुगेपछि त कुर्सीमा लिसो टाँसिएकै टॉसिनेहरूको ओइरो लागेको छ । ओइरो लाग्दा खोइरो खन्नेहरूको जमात पनि कुर्सीकै लागि तँछाड मछाड गरेर बुर्कुसी मार्न छाडेका छैनन् । कोही फर्से कुर्सीमा विराजमान भएका छन् त कोही गर्भे कुर्सीमा । कोही तर्से कुर्सीमा त कोही भर्से कुर्सीमा विराजमान भएर नरमानको चिनारी दिइरहेका छन् ।
तर मलाई एउटा अचम्म के लाग्छ भने कुर्सीमा बुर्कुसी मार्न नसक्नेहरूका लागि काठेमिस्त्रीले भुइँ कुर्सीको आविष्कार गर्नु आवश्यक छ। काठे कुर्सीमा बुर्कुसी मार्दा पनि बस्न नसक्नेहरूका लागि भुइँ कुर्सी उपयुक्त हो जस्तो लाग्छ । भुइँ कुर्सी जो जमिनको सतहबाट माथि उठ्न नसक्नेहरूका लागि समाजले नै परिकल्पना गरेर काठे मिस्त्रीलाई नक्सा दिएर आविष्कार गर्न लगाएमा नेपालका लागि नयाँ उदाहरणीय काम मात्र होइन कुर्सी प्रकरणको नयाँ संस्करणीय काम पनि हुन सक्छ ।
यो कुर्सीको भेलमा तालमेल नमिल्ने खेल खेल्दा कहिले काही झेलमा परेर जेलतिर पनि सेल पकाउन बुर्कुसी मार्नु पर्ने अवस्था आउँछ। कुर्सी न हो देखेपछि सबैको मुखबाट ऱ्याल चुहुन्छ । कसैले कुर्सीमै ऱ्याल झार्छन् त कसैले परैबाट चुहाउँदै जान्छन् । कसैले पुरानो कुर्सी फेरेर बस्छन् त कसैलाई जस्तो कुर्सी भए पनि बस्न पाए भयो। कसैलाई स्प्रिङवाला कुर्सी चाहिन्छ त कसैलाई डनलप भएको घुम्ने कुर्सी चाहिन्छ । तर ती बुर्कुसी मार्दा भाँचिने, भत्कने, बिग्रने कुर्सीहरू भन्दा भुईं कुर्सी नै सबैभन्दा उपयुक्त हो भन्ने मेरो ठम्याई छ ।
कुर्सी सबैको घरमा हुन्छ। तर घरमा भएका कुर्सीको भन्दा राष्ट्रपति कार्यालयदेखि वडा कार्यालयसम्मको कुर्सीको महत्व घटीया हुन्छ । किनभने घरको कुर्सीमा बस्न कसैले पनि ऱ्याल चुहाउदैनन् र तँछाड मछाड पनि गर्दैनन् भने त्यो ठाउँको कुर्सीमा बस्न ऱ्याल चुहाउँदै तँछाड मछाड गरेको र नपाउँदा बुर्कुसी मारेर गै कुर्सी नै भाँचेको घटना पनि हाम्रो कानले श्रवण गरेको छ। काँचो मान्छेले पाकेको कुर्सी भाँच्नु र पाकेको मान्छेले काँचो कुर्सी भाँच्नु फरक हुने भएकोले कुर्सीको महत्वका बारेमा आलाकाँचा र ठेट्नाहरू सबैलाई बुर्कुसी मार्दाका काइदाका फाइदाका बारेमा कुर्सी पण्डितहरूको भेला बोलाउनु आवश्यक देखेको छु ।
एउटा कुरा अचम्म के लाग्छ भने मलाई जन्मजात कुर्सी नदेख्नेहरू कुर्सी पण्डित भएर कुर्सीमा बुर्कुसी मार्न अघि सरेका छन् । कुर्सी जस्तो महत्वपूर्ण कुरामा देख्ने बितिकै बुर्कुसी मारेर बस्न खोज्नु भनेको उहिलेका कुरा सम्झदा राजकाज ताक्नु जस्तो भए पनि अहिलेको कुरामा प्रतिस्पर्धा मात्र हो ।
कुर्सीले कुनैबेला त्यहाँ बस्नेलाई तलबाट माथि पुऱ्याउँछ भने कुनैबेला माथिबाट तल झारेर फेरि कहिल्यै माथि सार्न सक्दैन । बरु तलको कुर्सीमा बसेका मान्छे माथि गएर अरुको साथी बन्न सक्छन् तर माथिको मान्छे तलको कुर्सीमा झरेको छ भने ऊ कहिल्यै पनि तलको कुर्सीमा बस्नेको साथी हुन सक्दैन। न माथि नै बस्नेको साथी हुन सक्छ ।
घुम्ने कुर्सीमा बस्ने साथीको रम्ने पाराले कतिपय ठाउँमा निकै गम्नुपर्ने नारा पनि लागेका छन् । कुर्सीको सदुपयोग गर्न नजान्नेले बुर्कुसी मारेर बस्न जानु भनेको ‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भन्नु जस्तै हो। तर देशका अधिकांश कुर्सीमा त्यस्तैहरुले आसन जमाएर कुर्सीकै रासन पानीले ढ्याउढ्याउ गरेर पछि म्याउँ-म्याउँ गर्दै बसेको पनि यो नाङ्गो आँखाले रमिता हेरेको छ ।
कुर्सीमा बस्न नजान्नेहरूले पहिले कुर्सीका वारेमा जानकारी लिएर फाइदा बेफाइदाका बारेमा बुझेर बसे पछि हुने घाटा नाफाका कुरा गर्न सजिलो हुन्थ्यो । कुर्सी जहाँ जसरी राखिएको छ त्यहीं बस्ने वा ठाउँ सारेर वा कुर्सी फेरेर बस्ने हो वा नयाँ कुर्सीमा शान, मान, गानका साथदेखि जान्ने सुनि जान्नेलाई माथ गर्ने हिसाब किताबले बस्ने त्यो व्यक्तिमा भर पर्ने कुरा हो। जसरी बसे पनि बसुन् तर कुर्सीमा बस्दा जीउ ज्यान जोगाएर नबसे कुर्सीले टाउकोमा तेरो बाउको हो भनेर कुर्सी मोहीहरूले गोहीको आँसु नबगाउन् ।
अन्त्यमा म कुर्सीका बारेमा घुर्कीका कुरा धेरै किन गर्नु । कुर्सीमा बुर्कुसी मारेर पछि कतिपय साथीहरूले माथि पुगेको भानमा परेर साथीभाइहरूको त कुरै नगरौ बाउ आमा समेत चिन्न छाडेका छन् भने बढी कुरा गरेर म गोज्याङ्ग्रेलाई चन्द्रमामा पुग्नु पनि छैन र भुइँमा बस्नु पनि छैन । टाँडे घरमा बास बस्न पाएकै छ । कुर्सीभन्दा अग्लो घर भएकोले मैले कुर्सीमा बुर्कुसी मार्नु पनि परेको छैन । बरु भुईं कुर्सी नै ठिक भएकोले अरुको लहैलहैमा लागेर बुर्कुसी मार्न पनि जान्न ।
०००
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































