साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा सुरक्षालय

निर्धक्कसँग  आयोग गठनको स्वागत गर्न सकिने देखिन्छ। तर, एउटा कुरा के भने अभूतपूर्व मन्त्रीलाई आयोगाध्यक्ष बनाइएमा स्वर्गमा बबण्डर मच्चिने प्रायः निश्चित छ ।

Nepal Telecom ad

माधव पाेखरेल गाेज्याङ्ग्रे :

श्री गणेशजी आफ्ना पिताजीसँग आज्ञा गर्नुहुन्छ ‘हे पर्वतालयका महामहिम । हिमालय पग्लिएर सगरमाचातिर चढ्दो छ। हाम्रो घर सुमेरु पर्वतालयको अवस्था हरेक दृष्टिले बिग्रँदाे छ । अब घरमन्त्रीले हाम्रो सुरक्षाप्रति सचेत नहुने हो भने भोलि हामीले सपरिवार झोलीतुम्बा बोकेर श्रीकृष्णजीले झैं गोपिनीहरूकासाथ जसरी वृन्दावन त्यागेका थिए, ठीक त्यसरी नै पर्वतालय त्यागे हुन्छ।” हुन त हाम्रो नेपालको सुरक्षा व्यवस्थाप्रति असहमति जनाउँदै अर्का आधुनिक कृष्णजीले एउटी गोपिनीलाई रुवाएर छाता, सुराही र ट्याङ्कासहित स्वर्गमा गए । त्यहाँ उनलाई सबैले घरवार बिहीन भनेर बस्नै दिएनन् । गिर्जा बाउ, गणेशमान, मङ्गलादेवी, शैलजादि किसुनजीको छाता, सुराही, ट्याङका खोसेर हातपात गरेछन् । मनमोहनजीले आश्रय दिन खोज्दा उहाँलाई पनि गिर्जा बाउले खाउँलाझैं गरी लखेटे रे !

गनतन्त्र आको नेपालाँ घर मन्त्रालयले आफ्नै थिति सम्हाल्न नसकेकोले अरुको बेथितिप्रति विज्ञप्ति निकालेर खुसियाली साट्नु बाहेक केही थिएन। ‘बिचरा किसुनजीले यस्तो अवस्थामा घर मन्त्रालय आफ्नो हातमा लिन पाए कमसेकम छाता, सुराही र ट्याङ्काको सुरक्षा त हुन्थ्यो।’ त्यो अवसर पनि नपाए पछि किसुनजीले स्वर्गमा पनि ठाउँ नपाएर आर्यघाट मै डेरा जमाउने बिचार गरे। जहाँ उनका लागि वीरेन्द्र र ऐश्वर्य स्वागत गर्न आतुरिएर बसेका थिए ।

गणेशजीको कुरा सुनेपछि पर्वतालयका महामहिम शिवजीले मुख खोले- ‘बम भोला रेष्टुरेन्टको छोले, भटुरे, देवालयको प्रसाद, मदिरालयको जल खाने र साँझ बिहान घाँसको बुझो हाल्नेलाई गिर्जाबाउ जस्ताले थान्को लाउनु नौलो होइन ।’

गणेशजीको चित्त बुझेछ क्यार र गललल हाँस्दै भने “पिताश्री पर्वतालय र मन्त्रालयमा मलाई त पर्वतालय नै ठूलोझै लाग्छ । किनभने हाम्रो देशाँ मन्त्रालय पस्नेहरू पसेर निस्कन जान्दैनन् । नपस्नेहरू पस्न पाए हुन्थ्यो भनि मरिहत्ते गर्छन् । तर, किसुनजीले भने पर्वतालय र गोठालय नै ठूलो ठाने । त्यसैले त गिर्जा बाउले स्वर्गमा पुगेका उनलाई आर्यघाटमै फर्काए ।

खै कताबाट हो आवाज आयो “अथ राजनीतिक उवाच अथ नेपाल देशस्य भ्रष्टराजनीतिक आचार संहिताय फेरि फेरि चुनावमा किसुनजीस्य विजेता घोषित रणनीति अख्तियार ग्रहण करोमी। स्वर्गलोकस्य निर्वाचन मण्डले आर्यघाटस्य निर्वाचन प्रभागस्य पराजितघोषणा करोमी उद्यत् ।”

यो आवाज गणेशजी, शिवजी सबैले सुने । दुवै तिनछक्क परे र सोच्न थाले “यो वाणी अवश्य पनि विष्णुको हुनु पर्दछ । उनले भनेका कुराहरू सबै सत्य हुन् तसर्थ किसुनजीको सुरक्षार्थ पर्वतालयकै तर्फबाट घर मन्त्रालय गठन गरी कुरक्षाकर्मीहरुलाई सुरक्षाको जिम्मा दिनु उचित हो।” दुवैले एकअर्काका भावना व्यक्त गरे, कुरा ठ्याक्कै मिल्यो र दुवैले आर्यघाटमा किसुनजी चुनाव लड्ने भएकोले सुरक्षा सहितको आवश्यक व्यवस्था मिलाउन आफ्ना गणहरूलाई आदेश दिए।

यता स्वर्गमा रहेका मनमोहनजी त खुशी भए तर गिर्जा बाउ भने शिवजी र गणेशजीको निर्णयप्रति क्रोधित भै शाब्दिक ज्वालाग्नि निकाल्दै उफ्रन थाले-“हे शिवजी ! तिमेरुले मेरो कुरा नसुनीकन घर मन्त्रालय गठन गरेर ट्याङ्के बुढालाई घुँडा धसाउने अवसर दियौ हगि ? अब म तिमेरु दुवै बाउ छोरालाई पार्टीका तर्फबाट खाँटी कारवाही गर्छ।”

गिर्जा बाउको कुरा सुनेर सुमेरु घुमेर थाकेका गणेशजीलाई जङ् चल्यो “हे आलु पनि नफल्ने तालु लिएर भालुको कन्पटझै भै स्वर्गमा पुगेका काङ्ग्रेसका भन्ऱ्याङ् अब तिमीले स्वर्गमा पनि ठाउँ पाउँदैनौँ किनभने विचरो ट्याङ्का कुमारलाई थाङ्नामा सुताएर मरेपछि घामपानीबाट जोगाउन छाता ओढाएर, सुराहीको पानी खुवाएर, पानले पुजा गरेर रुवाउन सम्म रुवायौ। अब तिमीले औँला ठड्याएर, मुख बङ्ग्याएर कुनै फरक पर्दैन । बरु तिमी भने हाम्रो घर मन्त्रालयको कालो सूचीमा परेकोले नर्कमा पुऱ्याई कारवाही गर्नु नपरोस् नि !”

शिवजीले पनि थपे वम भोला वर्षाउँछु शब्दका बारुद् गोला, कान खोलेर सुन्नु होला, मर्त्य लोकमाझै यहाँ छाडातन्त्र छैन। यहाँ त देवतन्त्र छ गणेशजीको गणतन्त्र छ, कुमारजीको कुतन्त्र छ, हाम्रो घर मन्त्रालय तिमेरुको गृह मन्त्रालय जस्तो होइन, यहाँ कानून पेलेर नुन निकालिन्छ । नियम मिचेर यम जन्माइन्छ । तसर्थ नियम कानुनको कुराले व्यवहार सप्रदैन भन्ने कुरा तिमीले खाएर पचाइसकेका छौ । पचेर बचेको जुठो पुरो पनि तिमीले विचरा ! ट्याङ्का कुमारलाई नदिएर थान्को लगायौ। जसको परिणाम आज स्वर्गमा तिमीले भोग्दैछौ ।”.

पर्वतालयका दुई महामहिमका कुरा सुनेर गिर्जाउ झस्याङ्ग भए र हतार हतार माफ मागे । “देवादी देव महादेव र छुसी मुसाका मालिक अब मैले जे जे गरे पनि आखिरी जानेरै गरेँ। भरे इन्द्रले स्वर्गमा थाहा पाए भने झाँको झार्छन्, त्यसैले मेरो तालु खुइलेर बुद्धि बिग्रेको भन्ठानेर एक पटकका लागि माफसँगै मेरो बुद्धिलाई साफ गरिदिनु होला ।”

गिर्जाउको कुराले गणेशजीको अङ्गरक्षकलाई सारै चित्त दुखेछ र मुख खोल्यो- “यो विश्वलाई थाहा छ को छुसी हो भनेर, तिमीलाई नेपाली जनताले छुसी बनाए, पार्टीभित्र जाबाे एउटा पाठी काटेर कार्यकर्ताको चित्त बुझाउन नसक्नेले हाम्रा कुरा काट्‌ने ! मेरो शक्तिसँग तिमी दाँजिन सक्तैनौ। यदि तिमी मसँग जोरी नै खोज्छौ भने छुसीको कर्तुतले तिम्रो सातो नजाओस् ।”

भो भो ! अब पुग्यो म अब स्वर्गबाट बाहिर निस्कन्नँ। बरु स्वर्गमै भूमिगत बसेर राजनीति गरें भने विश्वका अगाडि चुच्चे नाकले बुच्चे नभैकन सुँढ पसार्ने अवसर त पाउने थियो । गिर्जाउ मुसा भएर नै गणेशजीको अङ्ग रक्षकका अगाडि क‌ड्किए । स्वर्गमा आराम गर्न गएका राजनेताहरूको डार्रर्र र गाँड कोतराकोतरको अवस्था नयाँ भने होइन किनभने नेपालको घर मन्त्रालय अन्तर्गतका मन्त्रीदेखि जन्त्री, तन्त्री, खन्त्री, सन्त्री, सबैलाई स्वर्गमा पुगेपछि सुरक्षाकै चिन्ता छ। तर घर मन्त्रालयले यस विषयमा चासो दिएको देखिन्न । पूर्व प्रधानमन्त्री भै सकेका, घरमन्त्री, घर सचिव, तथा फौजी तर्फका प्रमुखहरूलाई पनि स्वर्गमा सुरक्षित ठाउँको र सुरक्षाको व्यवस्था गर्न नसक्दा कुन बेला ठूलो दुर्घटना हुने हो ठेगान छैन ।

अझ साँचो कुरा गर्ने हो भने स्वर्गमा ईन्द्र भगवान, यमराज लगायतका स्वर्गालयका महामहिम पर्वतालयका देवादिदेव महादेव गणेश, कुमार, पार्वती, साँढे, मुसा, मयूर आदि इत्यादि सबैका लागि घर मन्त्रालयले सामूहिक रूपमा सुरक्षालयको गठन गरी विवादलाई स्वाहा पार्ने प्रक्रिया अगाडि बढाउने छ भन्ने आशा गरे पनि भरोसा चाहिँ गर्न सकिन्न । किनभने नेपालको घर मन्त्रालय सधैं विवादमा परिरहने गरेको यथार्थतालाई टाढैबाट पनि सहजै अनुमान गर्न सकिन्छ । अझ भन्नै पर्ने कुरा के हो भने नेपालको सुरक्षाको अनुमान हनुमानले गरेपछि काटीकुटी मिल्छ। अर्को तर्फ कुरक्षाका तायकहरू सुरक्षाकर्मीमा भर्ति भएपछि भने सुरक्षाकर्मीको अनुमान् हनुमान्‌ले बढेमान्‌को शरीर बनाएर बिचार गर्दा चाहिँ फरक पर्दछ । जसका कारण स्वर्गमा गएका बिचरा राजनेताहरू स्वर्गमा आराम गर्न नपाई छट्पटिएर बस्न बाध्य भएको स्पष्ट छ । यसको उचित व्यवस्थापन गर्नका लागि पर्वतालय हिमालयको सरकारले स्वर्गालयमा विशिष्ट श्रेणीको स्वर्गाधीश पद सिर्जना गरी स्वर्गीय नेताहरूको कुरक्षागर्न सक्ने प्रवल र निश्चित सम्भावना छ ।

पर्वतालयका महामहिमहरू देवादिदेव महादेव गणेश, कुमार, पार्वती लगायतकाहरूको बीचमा भएको लामो विवाद नै मुख्य रूपमा स्वर्गीय भएर पनि वर्गीय चिन्तनमा व्यस्त नेताहरूको फेहरिस्त तयार पार्दा देखिको हो। अब यस्तो अवस्थामा सुरक्षाका लागि हाम्रा वर्गीय चिन्तनका स्वर्गीय नेताहरूले मुसाको प्राविधिक सहयोग लिई सुरुङ खनेर स्वर्ग नामक तुरुङ्खवाट उम्कने अवसर नपाउलान् भन्न सकिन्न । तसर्थ स्वर्गीय नेताहरूको नियत प्रति वदनियतपूर्ण व्यवहारबाट सुरक्षाको समस्या देखिएको कुरा पर्वतालयका महामहिमहरूले स्वर्गका महामहिमहरूसँग लिएको बयानबाट स्पष्ट हुन्छ ।

घर मन्त्रालयले यो विषयलाई महत्वका साथ प्राथमिकता क्रममा राखेर स्वर्गीय मामिला छानविन आयोग गठन गर्नु उचित ठहर्छ । नवगठित आयोगले अनुसन्धान पछाडि सारेमा घरमन्त्रीको जागिरले स्थायित्व पाउने कुरामा ढुक्क नभए पनि निर्धक्कसँग  आयोग गठनको स्वागत गर्न सकिने देखिन्छ। तर, एउटा कुरा के भने “अभूतपूर्व मन्त्रीलाई आयोगाध्यक्ष बनाइएमा स्वर्गमा बबण्डर मच्चिने प्रायः निश्चित छ । यसको नेतृत्व स्वर्गीय शान्ति प्रक्रियाका महापण्डित गिर्जावाले गरेमा सबैले धारे पारेर स्वागत गर्ने कुरालाई इन्कार गर्न सकिन्छ ।”

तर, एउटा प्रमुख कुरा के हो भने “यदि स्वर्गमा गिर्जाउ नगएको भए, नर्कमा मात्र होइन मर्त्यलोकमा समेत उनको गुनगान गाउन सबै तम्सिन्थे होलान् ।”

०००
उदयपुर
सिंहदरवारका नरसिंहहरू (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
सोह्रखुट्टे बैशाखी

सोह्रखुट्टे बैशाखी

माधव पोखरेल गोज्याङ्ग्रे
च्यूरा चपाऊ तिमी

च्यूरा चपाऊ तिमी

माधव पोखरेल गोज्याङ्ग्रे
नाङ्गो भो सरकार

नाङ्गो भो सरकार

माधव पोखरेल गोज्याङ्ग्रे
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
आधा सत्य आधा भ्रम – ४४

आधा सत्य आधा भ्रम...

अर्जुन दाहाल (क)
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x