साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलबाबुले लाइट निभाउन गाग्रीमा हाले

अनि रिसाएर भन्यो। ए दाह्रे लाइट कहाँ लगिस् ले ले भन्दै भर्याङबाट झरेको ऊ पनि लड्यो अनि उठेर गाली गर्दै गयो । ऊ भित्र मरी मेटेर निभाउनलाई फुक्दै रैछ ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

लोकवेदमा अधिक कहिने गरेका उखान टुक्काहरूमा ’बालो राम्रो आफ्नो, बाली राम्रो अर्काको’ भन्ने पनि एक हो। ’नाम बिगार्ने बा आमा, गाम बिगार्ने ठूलाठालु’ पनि भन्छन्। ’सानाको बान, कात्तिकको तान’ ’रूवा गुनको सुत, दूध गुनको पूत’ भने झैं आमा बाउ परिवारको छाप बालबालिकामा परेको हुन्छ। पारिवारिक संस्कार कस्तो छ तेस्तै छाप र प्रभाव बच्चामा परेको हुन्छ। किनकी छोराछोरीलाई शिक्षा त जे जसरी पनि आफ्नो आमत अनुसार लेलान् देलान् तर असल संस्कार दिनलिन संस्कारले पूर्ण भएकी आमा नै चाहिन्छ। किनकी घर पहिलो पाठशाला हो आमा पहिलो गुरू हुन् पिता त्यसको असल व्यवस्थापक मूली हुन्।

त्यसैले”घर गुरू जेठानै, सिकुसिकु देउरानै’ मान्छेले सिक्ने धेरै तरिका र आधार हुन्छन् त्यसमध्येको हेराइ देखाइ सुनाइ बोलाइ गराइ सिकाइ हिँडाइ पढाइ लेखाइ आदिबाट सिकिन्छ तसर्थ परिवारमा यी सबै कुरा पूर्ण र सुक्ष्म रूपमा वातावरण मिल्छ भने नै बालबालिकाले स्वत:सिक्न सक्छन्। बालबालिकालाई माया स्नेह र होसियारी सबै चाहिन्छ तर ज्यादा पुल्पुल्याउनु पनि चरित्र र संस्कार बिगार्नु हो। यिनै सेरोफेरोमा यो लोककथा ’पानीको गाग्रीमा टर्चलाईट’ पनि हो ।

सिरानघर वीरे बाका चार भाइ छोरा जेठो अपाङ्ग भएकोले र आमा पनि ऊ सात वर्षको हुँदा बितेकीले टुहुरो हो भनेर आफूले जो सकेको चलन चल्तिका शास्त्र तरतमसुक लघुकौमुदी दुर्गाकवच र ज्योतिष पनि घरैमा गुरू राखेर पढाए तन्नेरी भो आफै सबै व्यवहार गर्न पनि सक्ने भो । छोरो पनि जन्मियो। वीरे बालाई पनि दुई खोपीको कचकच सुन्नु भन्दा गरिखान सक्ने भै हाल्यो, केरा र छोरा फोरे बढ्छ भनेर बेलैमा राम्रो बन्दोवस्त गरि छुट्टिभिन्न गरेर घर बनाई राखिदिए। दाजु छुट्टिएको एक वर्ष पनि नहुँदै भाइ विवह गरेको तेस्रो सालमै बितिहाल्यो।

हुर्किएका छोरा एउटा छुट्टिभिन्न भयो, अर्को वीरे खोलातिर खेल्न गाको हलुको छाया छक्कलीमा हिँडुवाले भेट्टाएछ कि केहो कुन्नि छाती दुख्यो भनेर फत्र्याक फत्र्याक परेको एकैछिनमा रगतै छाद्याे अनि टक्लक्कै भयो। उता बुहारी बाल विधवा भै।

त्यसपछि छोरी छोरी दुईटा जन्मिए । बुढाबुढीलाई ए रात्तै छोरै हुनन् कि भन्ने पिर परिरहेको थियो छोरो जन्मियो । तर सिन्का र सुतली जस्तो। मान्छे पातलो गाँठीको भए नि दरो र निरोगी निस्क्यो। त्यसकाे चार वर्षपछि फेरि अर्को छोरो जन्मियो । त्यसकाे वर्ष पछि फेरि अर्को छोरै जन्मियो । तर लामो दिनको रहेनछ, चार वर्ष पालेर गयो। वीरे बुढा र चिप्ली बुढीलाई अघिल्लो फाल पनि रूनै पछिल्लो फाल पनि रूनै पारे छोराहरूको मृत्यूले । तेहि भएर होला मरीमरी बाँचेका हुनाले ठूलोलाई ठूलबाबु,सानालाई सानबाबु भनेर बोलाउँथे। बाहिर कुरा गर्दा पनि हाम्रो ठुलबाबु र हाम्रो सानबाबुनै भन्थे। मरीमरी सकिएका छोरा भएकाले बुढाबुढीले अति पुल्पुल्याएर ती दुई भाइलाई कामको नाममा सिन्का भाँची दुंई पनि गर्न लाएनन् सिकाएनन्। ती दुइ भाइ अरूको त कुरै नगरौं आफ्नै खेतबारीको मेलामा सम्म पनि गएनन् पठाएनन्। दुवै भाइ उनकै मनमौजी सुरमा हुर्कदै गए। गृहस्थी केहो ? परिवार केहो ? जिम्मेवारी केहो ? पत्तै नभै हुर्के।

यिनै ठूलबाबु र सानबाबु किशोर बयमा र तन्नेरी वयतिर लाग्दै गएका थिए। ठूलबाबु भन्दा सानबाबु बढि प्यारमा हुर्क्यो खान लाउन कुनै कुराको प्रवाह भएन अभाव बेहोर्न परेन। एक चोटी बाउ मौजामा जाँदा सानबाबुलाई लिएर गएका थिए। मुसापानी, झरीपानीतिर गएर आएका असामीहरूले कसैले बेलाइती धोती, कसैले केही कसैले केही ल्याएर साँवा ब्याज पैसा समेत केही गुनवापत सौगात राखेर सलाम गर्थे। एउटाले हातमा टर्चलाईट लिएको त्यसलाई यसरी बाल्ने यसरी ब्याटरी हाल्ने, यसरी निभाउनी भनेर उता पट्टि सिकाई राको सेतो टलक्क टल्किएको देखेर सानबाबु बहुतै लोभियो र बाउ छेउ आएर भन्यो, बाउ त्यो मान्छेले भनेको लाइट ल्यारछ मलाई नि लिन मन लाग्यो मागिदेऊ न भन्यो ।

वीरे बाले भने ए ! मुखिया त्यहाँ कल्ले लाईट ल्याछ रे हो ? हो बाजे। लौन मलाई मेरो सानबाबुले लान्छु भनेर पिर्याे भनिदिनु पर्याे । हस् बाजे म भनी हाल्छु, ए ! सलेम यता आऊ त । सलेम मुखिया भा ठाउँ आएर भन्यो, किन ?तिमीसँग लाईट छ हैन ? छ। यो साहु बाजेको छोरालाई मन पर्याे रे  देऊन है।ब रू पैसा कति लिन्छौ ? दुई रूप्या। ल हुन्छ जाऊ त लिएर आऊ। तुरून्तै सलेम गएर ल्यायो र मुखियालाई दियो। अनि मुखियाले यो सबै बाजेको छोरालाई सिकाइदे भने । तुरून्तै छेउमा लगेर सबै सिकाई दियाे।मुखियाले दुई रूप्या दिन लागेको बाजेले भने यो सलेम कसकाे छोरा हो ? रमजनको तल्लो घरको हो ? हो नि त्यसो भए मुखिया तिमी पैसा नदेऊ म दिन्छु। उसको बाउलाई बोलाऊ त भन्दाभन्दै रमजन तिं आइपुग्यो।

मुखियाले भनी हाले तिम्ले बुझाई सकेको हो ? काँ हुनु सलेम त हिजो आइपुग्यो। त्यसोभए बाजेलाई साँवाब्याज बाजेको छोरालाई लाईट देऊ कसो हुन्छ कि हुन्न ? हुन्छ नि किन नहुनु भनेकाले लाईट सलेमले बाजेको छोरालाई दियो। रमजनले भन्यो सलेम बाजेले खर्च दिएर त तँ मुसापानी गाको लौ सलाम गर र लाईट बाजेको हातमा सौगात है बाजे भनेर भन। सलेमले पनि त्यसै गर्याे र गयो। सानबाबु हातमा लाईट लिएर फुरफुर भयो।

मुखिया तिमीहरुको गाउँमा बसेको पनि तीनदिन भो म आज घरतिर जान्छु । एकजना तिमीहरूले सौगात बोक्ने मान्छे खोजीदेऊ। ए भै हाल्छ नि बाजेको घरमा जाने भनेपछि जो पनि रमाउँदै जान्छ। ए ऊ जुम्मे। ए भाइ यता आ मुखियाले बोलाएर भने तँ बाजेसँग एउटा झोला छ बोकेर जा है । हुन्छ कि हुन्न ? घरमा तपाईंले भन्दिए हुन्छ। बाजे पोहर पनि मै गाथ्यो हगि ? ए हो त नि। ल ल त्यसो भए यो झोला उठाऊ। जुम्मेले झोला बोकेर बाटो लाग्यो।

सानबाबुले घरमा पुग्ने बित्तिकै आफ्नो लाइट दाइ ठूलबाबुलाई देखायो। खोई ले त भनेर हातैमा लिएर हेर्न र बाल्न माग्यो । सानबाबुले मरिगए दिएन। बेलुका भात खाने बेलामा ठुलबाबुले मौका छोप्न खाेज्दैथ्यो। सानबाबुले काखमा लाईट राखेर भात खायो। त्यसपछि ठूलबाबु सँगसँगै ओच्छ्यानमा गए दुई भाइ सँगै सुत्थे। सानबाबुले भन्यो सुतुम् । हुन्छ भन्यो ठूलबाबुले दुबै सुते झैं गरे। ठुलबाबुको मन सुर्तै त्यो अद्भुत बल्ने उज्यालो बस्तुमा भएकोले निद्रा परेन।सानबाबु अलिकति हिंडेर थाकेकाले निदायो। ठूलबाबुले चाल बुझ्यो यसले त्यो अद्भुत चिज लाइट कहाँ राखेर निदायो भनेर बिरालाको चालले छाउनी खेल्न थाल्यो। सिरानी मुनि राखेर निदाएको रैछ।

ठूलबाबुले अलक्क लाइट झिकेर हातमा लिएर हनुमानले लंका जिते झैं लामो सास फेरेर मसार्न थाल्यो। मसार्दा मसार्दै लाइट बल्यो। अब ठूलबाबुलाई बित्यास पर्याे। उसको पालो बत्ती निभाए झैं फू फू गर्याे निभेन । झन् छटपटियो र उठ्यो हातले छोपेर निभाउन सक्छु कि भनेर लाइटको मुखमा पोल्छ कि भनेर डराई डराई हात लग्यो पोलेन । त्यस पछि सुरिएर हातले झ्याप् झ्याप् गर्याे निभेन अनि मार्छ भाइले भनेर छिटो छिटो भर्याङबाट झरेको लडी हाल्यो डरङङ्ग गरेको सुनेर सानबाबु ब्यूँझिएर लाइट खोजेको, छैन । दाइतिर हेर्याे  दाइ पनि छैन । अनि रिसाएर भन्यो। ए दाह्रे लाइट कहाँ लगिस् ले ले भन्दै भर्याङबाट झरेको ऊ पनि लड्यो अनि उठेर गाली गर्दै गयो । ऊ भित्र मरी मेटेर निभाउनलाई फुक्दै रैछ । अनि त भाइलाई देखेर निभाउनलाई आत्तुरी गर्दै गाग्रीको मुखबाट भित्र पानीमा खसाल्यो निभोस् भनेर ।

भाइ चाहिँले बेसरी गाली गर्दै गयो गार्गीमा केही प्रकाश आइरहेकोले जब भाइले गाग्रीमा हात हाल्न थाल्यो दाजुको पालो कराएर भन्यो ए पोल्छ पोल्छ हात नहाल बलिराछ भनेर तानेको भाइको हातले गौरेटाको टाँडको गाग्री भुईमा घतत पानी पोखिदै खस्यो अनि त घरैभरि खैलाबैला मच्चियो। सानबाबुले भन्यो थुक्क दारे मुर्दार यसरी निभाऊन पर्दैन चोर, अर्काको लाइट निद्रामा चोरेपछि भन्दै गयो ओच्छ्यानतिर। तलाबाट बाले भने भो भो अब गएर सुत झगडा नगर भोलि उज्यालामा भाइले देखाई दिन्छ ठूलबाबु जाऊ सुत भनेपछि ठूलबाबु नि सुत्न गयाे। पछि पछि गाउँ भरि हल्ला चल्यो सिरानघर “ठूलबाबुले लाइट निभाउन गाग्रीमा हालेछन्।”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

मर्ने कसरी रैछ मैले...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
कि जोत्, कि मेरो पैसा ले

कि जोत्, कि मेरो...

सुरेशकुमार भट्ट
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x