नन्दलाल आचार्यभ्रम
समाज ताली बजाइरहेको थियो । भ्रमलाई । सत्य भने चुपचाप लासघरमा पल्टिरहेको थियो ।

नन्दलाल आचार्य :
म्यासेन्जरमा एउटा अपरिचित सन्देश आयो ।
क्षणभरमै गायब भयो ।
सन्देश वर्षौँदेखि बेपत्ता मजदुर नेता रमेशको अकाउन्टबाट आएको थियो ।
निष्क्रिय अकाउन्ट अचानक सक्रिय भयो ।
गाउँभरि चर्चा चल्यो ।
खोजी गर्दै जाँदा त्यस अकाउन्टमा एउटा तस्बिर भेटियो ।
तल व्यङ्ग्यात्मक टिप्पणी थियो ।
टिप्पणीमा लेखिएको थियो-
“चन्द्रमाजस्तो मुस्कान । सगरमाथाजस्तो दाँत । नासादेखि विश्व नेतासम्मले प्रशंसा गरेका छन् । यो वर्षको उत्कृष्ट तस्बिर यही हो ।”
टिप्पणी अतिरञ्जित थियो ।
भ्रामक थियो ।
तर मानिसहरू रमाइरहेका थिए ।
कसैले हाँस्यो ।
कसैले ‘लाइक’ गर्यो ।
कसैले सेयर गर्यो ।
भर्चुअल दुनियाँ झुमिरहेको थियो ।
खोक्रो प्रशंसाको बजार तातिरहेको थियो ।
डिजिटल नशाले विवेक ढाकेको थियो ।
तर यथार्थ फरक थियो ।
प्रहरीले तस्बिरको प्राविधिक परीक्षण गर्यो ।
त्यसपछि भयावह सत्य बाहिर आयो ।
तस्बिर कुनै सुन्दरीको थिएन ।
कुनै चर्चित व्यक्तिको पनि थिएन ।
त्यो त साहुको अमानवीय शोषण सहन नसकी ज्यान गुमाएकी एक अनाम मजदुर युवतीको लास थियो ।
एआईले त्यसलाई उज्यालो, आकर्षक र जीवन्त बनाइदिएको थियो ।
समाज ताली बजाइरहेको थियो ।
भ्रमलाई ।
सत्य भने चुपचाप लासघरमा पल्टिरहेको थियो ।
०००
उदयपुर
२०८३-०२-२९
Subscribe
Login
0 Comments
Oldest











































